ऐतिहासिक प्राचीन शहर टोखा एक चर्चा

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

टोखा दुई हजार वर्षभन्दा पहिलेदेखि अस्तित्वमा आएको हो भन्ने कुरा यहाँ प्राप्त पुरान अभिलेख वास्तु मुर्ति प्रस्तर आदि कालका भौतिक अवस्थिति, आदिकालिक प्रतिविम्वका रुपमा देखिने नाग प्याखँ, माकः प्याखँ, लाखे प्याखँ लगायतका नृत्य र यस क्षेत्रका सम्वन्धमा प्रकाश पार्ने विभिन्न ग्रन्थहरुबाट प्राप्त प्रमाण पाइन्छ ।

टोखा ऐतिहासिक प्राचीन साँस्कृतिक नगरी हो भन्ने कुरामा कसैको पनि दुर्इमत रहेन । प्राचीनतम मौलिक कला संस्कृति, रीतिरिवाज तथा मठ-मन्दिरहरु तथा यहाँ छरप्रस्त छरिएर रहेका विभिन्न कालखण्डहरुमा कोरिएका शिलापत्र तथा वास्तु-प्रस्तर मूर्तिहरुले टोखाको ऐतिहासिकतालाई सबै सामु दर्शाईरहेको छ । टोखालाई सतही रुपमा हेर्ने र देख्नेहरुले यहाँ ठहरिएका कंक्रितका इमारतका झुण्डहरुलाई मुल्यांकन गरी आधुनकि सहरको संज्ञा दिने गरेको सुन्न पाईन्छ । तिनीहरुको कुरा पनि सहि नै हो जे देखिन्छ त्यही अभिव्यक्त गर्ने मानवीय प्रवृत्ति नै हो । तर कुनै पनि वस्तुको वास्तविकता थहाँ पाउनका लागि त्यसको गहिराइसम्म पुग्नु नितान्त आवश्यक छ । एक समय टोखामा यस्तो चलन आयो । जुन बेला मान्छेहरुले जग्गा बेचेर आधुनिक कंक्रितका घरहरु धमाधम ठहराउन थाले ।

घरमात्र होइन मठ-मन्दिरसमेत कंक्रितले बनाउने प्रचलनको विकास हुन पुग्यो । त्यस बेला पिगण द्यः, गणे द्यः, सपन द्यः का मन्दिरहरु त्यही समयमा नै पुनः निर्माण भएका थिए र यसरी विस्तारै टोखाले आफ्नो मौलिक परम्परागत संरचना र शैलिलाई त्यागी आधुनिक कंक्रितलाई आत्मासाथ गर्न पुगे । तर यस्तो कार्यको थालनी भएको धेरै भएको छैन झण्डै दुई दशकको हाराहारी मात्र भएको छ । यी दुई दशकभित्र टोखामा एउटै पनि मौलिक शैलिकका घरहरु बाँकी रहेन ती सब आधुनिक शैलिका कंक्रित घरहरुमा परिणत भए । कारण कंक्रितबाट बनेका घरहरु बलियो र टिकाउ हुन्छ भन्ने जनमानसिकता हावी हुनु नै थियो । केहि बाँकी रहेका पुराना संरचनाहरु पनि बैशाख १२ को भुकम्पले नष्ट गरे ।

हामीले आधुनिकतालाई अँगाल्दै गर्दा विकास र परिवर्तनका नाममा आफ्नै मौलिक पहिचान बोकेका सम्पदाहरुको पनि नष्ट गर्दै गयौँ । हामीले जानी नजानी पाटी पौवाहरुको नष्ट गर्यौं । ढुङ्गे धाराहरुलाई विस्थापित गर्न खोज्यौँ र उद्धारका लागि सदियौँदेखि पर्खिएर बसेका धेरै सम्पदाहरुलाई खोजि तथा उद्धार गर्न सकिरहेका छैनौँ । यही दुइ दशकभित्र टोखामा रहेका बहुमुल्य मन्दिरहरुको प्रस्तर मुर्तिहरु श्रृङ्खलाबद्ध रुपमा चोरी भए र हामीले आफ्नो गरिमा र पहिचानलाई केहि हदसम्म गुमाउन पुग्यौं । यसले यही भनिरहेको छ कि हामीले हाम्रा मौलिक सम्पदाहरुलाई संरक्षण गर्न नसक्दा ती चोरी भए अझ भनौ गुमाउन पुग्यौ । यसबाट हामीले पाठ सिक्नु पर्दछ र भएका सम्पदाहरुको अभिलेख तयार गरी संरक्षण गर्नु अत्यावश्यक छ । तर टोखाका ती कंक्रितका घरहरु मात्र देख्ने महाशयहरुले त्यहाँको मौलिक ऐतिहासिक कला, संस्कृति, चार्डपर्व रीतिरिवाज, परम्परा तथा संस्कारहरुलाई जोगाई रहेको छ भन्ने कुराको पनि हेक्का हुनु अत्यावश्यक छ । भलै घर र परिवेश आधुनिकताबाट जकडिएको होस् तर तिनीहरुले आफ्नो पहिचान र परम्परालाई बिर्सेका छैनन् ।

टोखाको ऐतिहासिकतालाई अझ प्रष्ट पार्न हामीले इतिहासका ती पानाहरुलाई पल्टाएर हेर्नु पर्ने हुन्छ । यहाँ टोखा ऐतिहासिक प्राचीन शहर भनेर किन गौरव गर्छौ त आखिर आउनुस हामी एकचोटि टोखाको ती इतिहासका पानाहरु पल्टाएर हेरौं ।

शिलापत्र

टोखाको जीवनत इतिहास बोकेका विभिन्न कालखण्डमा रचिएका शिलापत्रहरु

प्राचीन सहर टोखाको ऐतिहासिक पक्ष
नेपालको प्रमुख परम्परा हिन्दु परम्परामा स्थान, सम्मान र महत्व पाएका ३३ कोटी देवी देवतासँग गाँसिएको चौसठ्ठी शिवलिङ्गमध्ये यस टोखा क्षेत्रमा तीन शिवलिङ्ग चण्डिकेश्वर, धर्मेश्वर र गोकर्णोश्वर पर्ने कुरा उल्लेख छ । हालको गोकर्णगाउँको पश्चिम् बाग्मती नदीको किनारमा अवस्थित गोकर्र्णोश्वर महादेवलाई टोखाको सुप्रसिद्ध तर्ीथका रुपमा नेपाल महात्म्यले चिनाउन खोजेको छ । माथिको कुराले प्राचीन कालमा टोखाको फैलावट हालको भौगोलिक सिमानाभन्दा निकै विशाल थियो भन्ने थाहा हुन्छ । हिमालयकी पुत्री पार्वतीले श्री महादेवलाई पतिको रुपमा प्राप्त गर्न टोखाको पिण्डारक तीर्थमा नुहाई चण्डिकेश्वर महादेवको पूजा तथा आराधना गरेको स्वस्थानीमा उल्लेख गरेको पाइन्छ । यसबाट टोखा कति प्राचीन नाम र बस्ती हो भन्ने समेत अनुमान सहजै गर्न सकिन्छ ।

लिच्छवि राजा शिवदेव द्वित्तीय र महासामन्त अंशुवर्माका शासन समयमा निर्मित तथा स्थापित टोखा चण्डेश्वरीको सांस्कृतिक केन्द्र तपलाछिमा अवस्थित नारायणस्थान नजिकको लिच्छवि सम्वत् ५१९ को शिलापत्रले यहाँको ऐतिहासिक गरिमालाई प्रकाश पार्न मद्दत पुर्‍याएको छ । सो शिलालेखमा तिलमक -कुलो) र गुल्म शब्दको समेत उल्लेख छ । सो समयको यस्तो पुरानो शिलालेखमा यस्ता वैज्ञानिक शब्दहरुको उल्लेख हुनुले एकातिर टोखामा त्यतिबेलैदेखि नै सिंचाइको राम्रो बन्दोबस्त गरी खेती गर्ने वैज्ञानिक कृषि विकास भइसकेको दर्शाउँछ भने अकोतिर टोखाले आफूलाई उतिखेरै सुरक्षात्मक दृष्टिकोणले मजबुद शक्ति – किल्लाको रुपमा स्थापित गरिसकेको पनि स्पष्ट हुन्छ ।

ने.सं. ३७४ आश्विन कृष्ण चतुदर्शीका दिन रातिको समयमा भ्वन्त श्री जयदेव प्वहले टोखा किल्लामा जबरजस्ती पसी किल्लामा रहेको सुन कब्जा गर्न खोज्दा आफ्नो अस्तित्व रक्षाका लागि नेपिंक्वाठ र टोखाक्वाटले त्यसको विरुद्ध व्रि्रोह गरेको कुरा इतिहासका पानाले स्पष्ट पारेका छन् । यस कुराले टोखालीहरु स्वभूमिको रक्षा र प्रतिष्ठाको लागि त्यतिबेलै संगठित भइसकेको स्पष्ट हुन्छ ।

त्यसैगरी नेपाल सम्वत् ४६० मा पनि टोखालाई अधिनमा राख्न खोज्ने बाहिरीया शक्तिका बिरुद्ध टोखानगरले सक्रिय युद्ध गरी आफ्नो गरिमालाई जोगाएर राखेको ऐतिहासिक तथ्य समेत भेटिन्छ । देवमाला वंशावलीमा टोखाको ऐतिहासिक विशेषता तथा प्राचीनताको वर्ण्र्ाागर्दै भनिएको छ ः- ‘श्री राजा रत्न मल्लका पालामा टोखामा नेपाल सम्वत् ६२९/३० सालमा कुं कुं नाम गरेका भोटे देवानहरुको रखबारी निमित्त ३ सय घरको शहर बनाई प्रजा बसाएका हुन् । त्यस्तै गरी वंशावलीले शहरका मुख्य देवताका रुपमा चण्डेश्वरी देवीलाई अगाडि सारेको छ ।’ यस अर्थमा प्राचीनताको कुनै काल खण्डमा टोखा एक छुट्टै राज्य थियो भन्ने दर्शाउँछ वा कम्तीमा यो सो राज्यको केन्द्र थियो भन्ने अनुमान गर्न सकिन्छ । साथै, शहरकै तत्कालीन मुख्य मन्दिरका रुपमा मानिएको चण्डेश्वरी यहीं स्थापना गरिनु र हुनुले सो समयमा यो केन्द्रीय स्थान थियो भन्ने तर्कमा जोड मिल्छ ।

यता १६ औं शताब्दीमा यस टोखा नगरीलाई जयपुरी र लक्ष्मीपुर नामले चिनिन्थ्यो भन्ने पनि थाहा पाइन्छ । सोही शताब्दीतिर वि.सं १७४४ मा प्रताप मल्लका नाति भूपालेन्द्र मल्ल कान्तिपुरका राजा भएको बेला आफ्ना पिता पार्थिवेन्द्र मल्ललाई विष खुवाई मार्न लगाएको शङका गरी व्यभिचारीणी आमा ऋद्धिलक्ष्मी मल्ललाई उनले टोखामा कैद गरेको प्रसङ्ग नेपालका मल्लकालीन अभिलेखमा उल्लेख गरेको छ । यस तथ्यले पनि टोखाको प्राचीन केन्द्रताको बारे थप प्रमाणको काम गर्दछ । टोखा चण्डेश्वरी देवलको सिंडीमा अंकित अभिलेखले नेपाल सम्वत् ७९३ को महत्वपुर्ण ऐतिहासिक तथ्यलाई प्रस्तुत गर्न खोजेको देखिन्छ । बनेपाको चण्डेश्वरी मन्दिरमा नेपाल सम्वत् ८३५ र भक्तपुरको चण्डेश्वरी मन्दिरमा ने.सं. ८४८ सम्मका मात्र अभिलेख भेटिएका छन् ।

सो अनुसार टोखाको चण्डेश्वरी मन्दिर भक्तपुर र बनेपामा रहेका चण्डेश्वरी देवीका मन्दिरभन्दा पहिले नै निर्माण भएको प्रष्ट हुन्छ । यस तथ्यले समेत टोखालाई सुदुर प्राचीनस्थलका रुपमा उभ्याउन मद्दत गरेको छ । भाषा वंशावलीको सातौं पृष्ठमा ६४ शिवलिङ्गको नामावली दिइएका छन् । यी ६४ शिवलिङ्गमध्ये ५२ औं स्थानमा रहेको पिण्डारक तर्ीथ ‘श्री चण्डिकेश्वर टोखामा अवस्थित’ भनी उल्लेख गरिएको भेटिन्छ । यस सम्बन्धमा विभिन्न आंकलन प्रस्तुत गर्दै आएकाले स्पष्ट निष्कर्षा पुग्नका लागि थप अध्ययनको खाँचो देखाइएको छ ।

टोखाको ऐतिहासिक तथा पुरातात्विक महत्वका बारेमा यसले थप तथ्य र तथ्याङ्क प्रस्फुटन गर्न सक्दछ ।पौराणिक भनाईतर्फफर्किंदा जनताहरु चण्डेश्वरी मन्दिरको दक्षिणमा रहेको माटाको कालो थुम्को, दक्षप्रजापतिको बोकाको टाउको भएको प्रस्तर मुर्ति तथा दक्षको यज्ञशाला भएको विश्वास गरिने ठाउँ देखाउँदै टोखाको यही चण्डेश्वरी मन्दिरनिर दक्षप्रजापतिले यज्ञ गरेको र सतीदेवीले यज्ञकुण्डमा हाम्फालेको भन्ने कुरामा विश्वस्त हुँदै आएका छन् । लोककथनमा नै सिमित यस विषयमा इतिहासवेत्ता र पुरातत्वविदहरु भने एकमत भएको पाइन्न । यसको थप अध्ययन गरी प्रष्ट तथ्य बाहिर ल्याउनु जरुरी छ ।

समग्रमा टोखाको प्राचीनता दर्शाउने ऐतिहासिक तथ्यहरु ः-
– नेपाल महात्म्यले गोकर्र्णोश्वर महादेवलाई टोखा अर्न्तर्गत देखाएको छ ।
– टोखाका राजा धर्मदत्तले विशाल नगरादि जितेर साँखु अथवा वज्रयोगिनीदेखि दक्षिणमा शङखमूलसम्म आफ्नो राज्य विस्तार गरेको पाइएको छ ।
– अहिलेसम्म पनि ‘तीनसय टोखा सातसय फेरा’ भन्ने आहान चल्दै आउनुले टोखाको सिमाना अति फराकिलो थियो भन्ने अझ स्पष्ट हुन्छ ।
– भ्वन्त श्री जयदेव प्वहले आक्रमण गरी सुन लिन खोज्दा टोखाले विद्रोह गरेको ने.सं ३७४ को मिति मात्र हेरे पनि टोखामा संगठित बसोबास आजभन्दा ७४५ वर्षअघिदेखि नै अस्तित्वमा रहेको देखिन्छ ।
– तपलाछिटोलमा अवस्थित लिच्छवि सम्वत ५१९ को शिलालेखलाई हेर्दा टोखा नगरी आजभन्दा १४२३ वर्षपुरानो ठहरिन्छ ।
– पौराणिक भनाइ जस्तो लाग्ने र स्पष्ट प्रमाण नभेट्दा नभेट्दै पनि टोखाका राजा धर्मदत्तको राज्यकालमा उनका समकालीन छिमेकी राजा विक्रमादित्यको नेपाल आगमन र सोही समयदेखि विक्रम सम्वतको आरम्भ मान्दा पनि टोखाको प्राचीनता २००० वर्षन्दा अगाडि पुग्छ । राजाको आज्ञा जारी गर्ने प्रसङ्गमा सोझो प्रमाणको रुपमा आएको लिच्छवि सम्वत ५१९ को अभिलेखको विषय र यसमा प्रयोग भएको तिलमक शब्दको अर्थ तथा उपयोग आरम्भको समयलाई खोतल्ने हो भने पनि यहाँको इतिहास २००० वर्षपुरानै ठहरिन्छ । विद्वानहरुले ‘तिलमक’को अर्थ ‘कुलो’ बताउँदै यो शब्द किराँत भाषाबाट आएको बताएका छन् ।
– यसलाई हेर्दा टोखामा लिच्छविभन्दा अघि किराँत काल अघिदेखि नै तिलमक अथवा कुलाको प्रयोग गरी खेती गर्ने चलनको विकास भइसकेको विश्वास हुन्छ ।
अतः यस्ता विभिन्न आधार, प्रमाण र तथ्यलाई अगाडि सारेर हर्ेदा टोखाको इतिहासले स्पष्ट २००० वर्षपुरानो परम्परा बोकेको थाहा पाइन्छ ।

टोखाको ती गौरवमय इतिहास प्रभात सापकोटाद्वारा लिखित “प्राचीन शहर टोखा एक अध्ययन, २०५६” पुस्तकका बाट साभार गरिएको हो ।

प्रस्तुतीः सुबिन्द्र श्रेष्ठ

प्रकाशित मिति २०७४ श्रावण १२ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>