कविता : हकदाबी

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

छवि अनित्य

सरकार !
सदियौँदेखि तपाईँले देखाई आएको त्यो भोटोको हकदार
मै हूँ त्यो ‘ज्यापू’,
जसले हरायो आफ्नै खेतको आलीमा
बहुमूल्य रत्नजडित उपहार–त्यो भोटो
के फर्काउनुहुन्छ आउने सालको जात्रामा ?
मसँग छैन कुनै प्रमाण यसपाला पनि
कि मेरै हो त्यो भोटो ।
म ज्यापू,
भन्नुस् मलाई्–बाउचा, बेखामान, पासा या साहुजी
जो लाग्छ सजिलो तपाइँलाई
हुँ त म आखिर एक ज्यापू नै
तर छैन मसँग मेरो भोटोको कुनै लालपूर्जा

न दिएर गयो नागराज कर्कोटकले
यो भोटोको कुनै प्रमाणपत्र
छैन कुनै प्रमाण मसँग यसपाला पनि
कि मेरै हो त्यो भोटो
न फेरि आउँछन् कर्कोटक स्वयम्
टौदहबाट मेरा साक्षी ।
बेमान एउटा भूतको आँखा लागेपछि भोटोमा
गुणकामदेव राजादेखि आजसम्म पनि
धाउँदै छु सरकार हरेक वर्ष पेसी
म यो मच्छिन्द्रनाथको रथको पछिपछि
र यस वर्षपनि रहेन कुनै प्रमाण मसँग
कि मेरै हो त्यो भोटो ।
तर सरकार ! भोटो त मेरै हो
दाबी गरिरहेछु गुणकामदेवकै पालादेखि हरेक साल म
कि भोटो मेरै हो
नरेन्द्रदेव सरकारलाई पनि बिन्ती गरेकै हुँ
सिद्धिनरसिं, श्रीनिवास सरकारहरु हुँदै
एघारै पुस्ता शाही सरकारहरुलाई भनेकै छु
कि भोटो मेरै हो ।
जबजब मीननाथ भगवानका पछिपछि लागेर
गाःबहालबाट निस्कन्छन् मच्छिन्द्रदेव
म्वाली, नायखी बज्छन् पाटनका गल्लिगल्ली ब्यूँझाउँदै
म फेरि झसङ्ग हुन्छु र हेर्छु,
वर्षौैँअघि आफूले त्यो भोटो छोडेको रित्तो आली
र दौडन्छु रथको पछिपछि जावलाखेलसम्म
वर्षौँअघि जहाँ मैले चिनेको थिएँ,
नागराज कर्कोटकको उपहार त्यो भोटो
बेमान भूतले लगाइराखेको
ख्याल गर्नु हुन्न सरकार !
छैन मसँग कुनै प्रमाण यसपाला पनि
कि मेरै हो त्यो भोटो ।
कि थाहा छ–मच्छिन्द्रनाथलाई, सन्त गुरु करुणामयलाई
कि थाहा छ–पद्मपाणी बुद्ध भगवानलाई
रथको बुर्जाबाट हरेक वर्ष देखाइने त्यो भोटोमा
खालि मेरै हक छ,
कालो मखमलको कपडाभित्र मणिमाणिक,
बहुमूल्य नवरत्न जडित त्यो भोटो
अझै कतिदिन बन्द गरिराख्ने सरकार लाहाछाप मारेर ?
के त्यो भोटोको अधिकार होइन –
उसको हकवालाको ज्यानमा सजिने ?
के मेरो अधिकारै छैन– त्यो भोटो लगाएर हिँड्ने ?
यौटा बेमान भूतका लागि
कतिन्जेल वन्चित गरिराख्ने सरकार भोटोको अधिकार ?

भोटोको वास्तविक हकवालाको अधिकार ?
कि सिलबन्दी गरिराख्ने भोटो सदासदाका लागि ?
भोटो चोर्ने भूतहरु –
यतिबेला मेरो भोटोभन्दा पर
दाउ लाउँदैछन् मेरो घरमाथि, मेरा जमिनमाथि,
मेरो जलमाथि, मेरो ढुंगा–माटो, मेरो बाटो,
मेरो विधानमाथि,
कि सिलबन्दी गरिराख्ने सरकार यी सबैलाई
र देखाइरहने मेरो हातले नभेट्ने अग्लो रथको बुर्जाबाटै
जात्राजात्राहरुमा मात्रै ?
जगजाहेर छ –
म हुँ यौटा ज्यापू, त्यो भोटोको असली हकदार
फेरिपनि सरकार !
छैन कुनै प्रमाण मसँग यसपाला पनि
कि मेरै हो त्यो भोटो,
के फर्काउनुहुन्छ आउने सालको जात्रामा मेरो भोटो ???

 —- –

१. लोकोक्ति अनुसार टौदहका नागराज कर्कोटक, जसले आफ्नी नागिनीको आँखाको रोग निको पारिदिए वापत उपहारस्वरुप रत्नजडित भोटो एक किसानलाई दिएको र सो भोटो एक भूतले किसान काममा व्यस्त भएको मौका पारी चोरेका थिए । पछि मच्छिन्द्रनाथको जात्रामा भूतले भोटो लगाएर आएको देखेपछि ती ज्यापूले आफ्नो भोटो चिनेर दाबी गर्दा विवाद उत्पन्न भएको र तत्कालिन लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनी निर्णय गर्न नसक्दा प्रमाण लिएर नआउन्जेल सो भोटो मच्छिन्द्रनाथको जिम्मा लगाएर रथमा राखी अर्को वर्ष कसैले प्रमाण लिएर आएमा उसैलाई दिने भनी भोटो देखाइएको थियो । सोही अनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट घुमाउँदै देखाउने प्रचलन रहीआएको छ ।

२. लिच्छवी राजा नरेन्द्रदेवको पालादेखि राष्ट्रप्रमुख भोटोजात्राको प्रमुख अतिथि हुने प्रचलन रहिआएको छ ।

३. मीननाथलाई मच्छिन्द्रनाथको पिताको रुपमा वर्णन गरिएको पाइएको छ । जात्राका क्रममा मीननाथको रथलाई अघि लगाएर मच्छिन्द्रनाथको रथलाई पछिपछि तान्ने गरिन्छ ।

४. मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बी सन्त गुरु करुणामयको रुपमा र बोद्ध धर्मावलम्बी पञ्चबुद्धमध्येका चौथो बुद्ध पद्मपाणीका रुपमा पूजा गर्ने गर्दछन् ।

प्रकाशित मितिः २०७१ पौष ८

साभारः उज्यालो अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>