नेपाल संवत् र भ्रम

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

[त्रिचन्द्र प्रतीक्षा]नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको देशमात्र नभई इतिहासको विविध कालखण्डमा विविध संवतको प्रयोग भएको देश पनि हो । हालसम्मको अध्ययनले नेपालमा सबभन्दा पहिले प्रयोगमा आएको संवत् शक संवत् हो । आजभोलि नेपालमा मुख्यतयाः ३ वटा संवत् प्रचलनमा छन् । केही विदेशी चाड (जस्तैः नयाँ वर्ष जनवरी १, क्रिसमस आदि) मनाउँदा इस्वी संवत्,  त्यसपछि सरकारी कामकाज तथा घरायसी कामका लागि विक्रम संवत् तथा चाडवाड, शुभकार्य तथा जन्ममरणका तिथिमितिमा नेपाल संवत् प्रयोगमा छन् ।

नेपाल संवतको प्रवर्तक उत्तर लिच्छविकालमा भएको हो । यो संवतको प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा हुन् । नेपाल सम्वतको स्थापना निम्न समयकालमा भएको पाइन्छ कलिगत सम्वत ३९८०, बिक्रमसंवत् ९३६, इस्वी संवत् ८७९, शक संवत् ८०२, मानदेव संवत् ३०३ आदि नेपालमा संवत् फेर्न मुलुकका तमाम ऋणीहरुको ऋण तिरिदिनुपर्ने प्रचलन पहिलेदेखि नै थियो । यसै मान्यता अनुरुप शंखधरले मुलुकका तमाम ऋणीहरुको ऋण तिरी नेपाल संवत चलाएका हुन् भन्ने भनाई रहिआएको पाइन्छ ।

नेपाल संवतले चन्द्रशम्शेरको शासनकाल वि.सं १९६० अघिसम्म राष्ट्रिय संवतको मान्यता पाएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिए । ‘‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् राणाशासनसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।’’

‘तत्कालीन व्यापारी शंखधर शाख्वाले आफ्नो निजी सम्पत्तिबाट प्रजाहरुको ऋण तिरिदिएको र उनीहरुलाई ऋणमुक्त गरेपछि नेपाल संवतको सुरुवात गरेको’ अधिकांश इतिहासविदहरुले दाबी गरे पनि यसमा उनीहरुको राय एकमत छैन । यद्यपि हामी सजिलै अनुमान गर्न सक्छौं कि ‘शंखधर शाख्वाः’ ले केही राष्ट्रिय गौरव तथा स्वाभिमानको काम गरेकै हुनुपर्छ । प्रजाहरुको ऋण तिरिदिएकै कारण सामन्ती युगका राजा राघवदेवले आफ्नै पुर्खाको नाममा स्थापित मानदेव संवतलाई खुसुक्क प्रतिहरण गरी लुसुक्क नेपाल संवत् प्रचलनमा ल्याएको भन्ने कुरा विश्वास गर्न कठिन भने अवश्य छ ।

प्रारम्भमा नेपाल संवतको प्रचलन छिमेकी राष्ट्र भारतमा पनि थियो । भारतको आसाम कुच बिहारका राजा प्राणनारायणले पनि नेपाल संवत् अंकित मुद्रा निकालेका थिए । राजा प्रतापसिंह शाहको पालामा ल्हासासित भएको सन्धिपत्रमा ने.स. ५३५ उल्लेख गरिएको छ । नेपाल संवतको उत्पतिबारे खोजकर्ता र इतिहासकार फ्रान्सेली विद्वान सिल्भाँ लेभीले आफ्नो पुस्तक नेपाल (हिन्दू अधिराज्यको इतिहास)मा लेख्छन् नेपाल ईशाको सातौं शताब्दीदेखि नवौं शताब्दीसम्म त्यस समयको वृहत् भोटको अधीनमा रहेको र भोटका तत्कालीन राजाको अत्याचारी नीतिविरुद्ध त्यहाँका जनताले विद्रोह गरी साम्राज्य कमजोर हुन पुगेको अवस्थामा नेपाल भोट साम्राज्यबाट स्वतन्त्र भएको थियो । त्यसैको सम्झनामा ई.सं. ८७९–८८० तिर नेपाल संवतको उठान भएको भनेका छन् ।

नेपाल संवत् स्थापनाबारे राजभोगमाला वंशावली, केशर–पुस्तकालय वंशावली आदिमा लेखिएको बेहोराबाट के थाहा हुन्छ भने लिच्छवि राजा राघवदेवको राज्यकालमा भक्तपुरका शासक आनन्ददेव प्रथमले काठमाडौंको लुँखु तीर्थ (लु ! सुन, खु ! खोल्सो, काठमाडौं कङ्केश्वरी स्थानपारि विष्णुमतीको पश्चिमी किनारमा स्वयम्भूतिरबाट मिल्न आउने स्वर्णावती भनिने तत्कालीन सहायक नदीको दोभान) बाट ज्योतिषीले तोकिदिएको साइतभित्र ठीक पारेर बालुवा झिकेर ल्याउन भरिया पठाएका थिए । भक्तपुरे भरिया स्वर्णावती (लुँखु, हाल अप्रभंश भएर लखु पनि भनिने गरिन्छ) खोलाबाट झिकिएको बालुवाको भारी विष्णुमतीको पूर्वी किनारस्थित (आजकाल कङ्केश्वरी मन्दिरको दक्षिणतिर झोलुङ्गे पुलको छेउमा भत्किएको) पाटीमा बिसाएर बसिरहेका बेला त्यसै ठाउँका शंखधरले भरियासँग उक्त बालुवा किने । सुन मिसिएको बालुवाबाट सुन बटुलेर धनी भएका शंखधरले पछि राजा राघवदेवको हुकुमद्वारा जनताका सबै ऋण तिरी नेपाल संवत् चलाउन लगाए । यी भनाईलाई पूर्णरुपमा मिथ्या भएको कुरा केही इतिहासकार र लेखकहरुले लेखेका छन् । जस्तै इतिहासकार केबी उदय (२०६४ कात्तिक २७ गते गोरखापत्रमा) लेखेका छन् – ‘राजा राघवदेवको समयमा शंखधर भन्ने पूँजीवाल काठमाडौँमा थिए भन्ने प्रमाण छैन ।’ म्हःपूजाकै अवसरमा यो संवत् उठान भएकाले नेवार समुदायहरुले नेपाल संवतलाई नयाँ वर्षको रुपमा मनाउनु स्वागतयोग्य छ । यो संवत् सबै नेपालीको साझा हो । यस संवतलाई जातीय संवत्को रुपमा मात्र लिनु हुन्न । अझ बालुवाको विषयमा एमालेका नेता प्रदीप नेपालले (गोरखापत्र २०६६ कात्तिक १२ गते) लेखेका छन् – ‘नेपाल संवतलाई सबै भाषाभाषीका लागि सुपाच्य बनाउन सकिएको छैन । नेपाल संवतको तिथिमितिको गणना पनि समस्या हो । तीन सय ६५ दिनको कुनै रातमा पनि बालुवा सुनमा परिणत हुँदैन । मध्यरातमा झिकिएको बालुवा बिहान उज्यालो हुनासाथ सुनमा परिणत भयो भन्ने कथा अपत्यारिलो र आधारहीन बन्न पुग्छ, भाषा र संवत् सैद्धान्तिक बहसका विषय होइनन् । तिनको व्यावहारिक प्रयोग विज्ञानसम्मत हुनुपर्छ ।’

अन्तमा चाहे नेपाल संवत् होस् वा विक्रम दुवै राष्ट्रिय संवत् हुन् । विश्वमा नेपाल राष्ट्रको अलग पहिचान दिने यहाँ अनेक मौलिक कला संस्कृतिहरु छन् । त्यसको जगेर्ना गर्न सक्नु राष्ट्रको दायित्व हो । तर पनि नेपाल संवत् नेवारको मात्र हो भन्ने जुन धारणा वा मानसिकता छ त्यसलाई हटाउनु जरुरी छ । संवत् जस्तो अति सम्बेदनशील कुरामा पनि सरकार गम्भीर हुन नसक्नु विडम्बनाको विषय हो ।

प्रकाशित मिति २०७४ कार्तिक ३(ने.स.११३८)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>