छोरी… ‘कविता’

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार ०८:३९

घामबाट मुस्कुराउँदै स्वागत गर्न आएका ती किरणहरु

मेरो निधारमा ठोक्किँदै जब आँखा हुँदै  ओठसम्म

पुगेर नाच्न थाल्छन्

अनि, बल्ल गएर अरु ठाउँमा आसिन हुन्छन् ।

हरेक दिन मसँग ठट्यौली गर्दै मुस्कुराउँदै

 निस्किने ती सूर्यका किरणहरु

एक्कासी आजै म सम्म आइपुग्न अक्मकाइरहेका छन्

आमा, थाहा छ ?

घामले पनि म छुई भएको कुरोको पत्तो पाएछ नि !

आमा, थाहा छ ?

घामले पनि म छुई भएको कुरोको पत्तो पाएछ नि!

गूट्मुटिएको सोच र च्यातिएका टाला

अल्झिएका नियन र बाङ्गेकाभाडा

गाँठो बनाई पठाउँदैछौ आमा

मलाई फेरि त्यो छाप्रो जस्तो देखिने नर्कमा

आमा, थाहा छ ? मलाई अस्तिको पाली त्यो

छाप्रोमा सर्पले झन्डै डसेको नि !

आमा, थाहा छ ? हिजो भर्खर तल्लाघरे काकी

त्यै छाप्रोमा पुरिएकी थिइन नि !

आमा, सुन्नस् न आमा, हप्ता पहिले साहिंला काका किछोरीलाई

बाघले सिकार झम्टेझै रातभर

ती मान्छेजस्ता देखिने राक्षसहरुले पालैपालो

तन उधारेर उनको सास नै झम्टिए नि !

यस्तो हुदाँहुदै तिमी ति ढुङ्गा रिसाउँछन्भनेर

आफ्नी मुटुकी टुक्रालाई फेरि आज

त्यो गोठ पठाउन खोज्दै छौ

हेर त आमा मलाई, के म तिमी छायाँ होइन र ?

विहान Bye Bye मामु भनेर ठीकठाक स्कुल गएकी छोरी

भरे ४ बजे स्कुल छुट्टिएर ४;१० सम्म घर आइनपुग्दा

ती मामु छागाँबाट झरेझै हुन्छिन्

दशठाउँमा फोन गर्छिन, अनि गहभरि आँशुपार्दै

घरबाट खोज्न निस्किन्छिन्

र जब उनले आफ्नी छोरीलाई बाटोमा सकुशल पाउँछिन

सायद, त्यस्तो ढुक्क र खुसीको क्षण

उनी संसारमा कहिं कतै खोजेर पाउँदिनन्

यहाँ छोटा लुगालाई दोष दिइन्छ

यहाँ घर बाहिर निस्किनेलाई दोष दिइन्छ साथी हो

यहाँ रजस्वला हुदाँ शीला छोएकालाई दोष दिइन्छ

यहाँ दाइजो नल्याएकालाई दोष दिइन्छ साथी हो

यहाँ असहाय, अपाङ्गलाई दोष दिइन्छ

यहाँ गरिबी, धर्म अनि जातलाई दोष दिइन्छ

तर, हामी यहाँ कोहि दोषी छैनौँ

दोषी हाम्रो सोच हो, हाम्रो विचार हो

सक्दिन नभनौँ है साथी

सोच बदलौँ

आफैँबाट सुरु गरौँ

अनि समाज बदलौँ

स्नेहा बराल

राम मन्दिर सामुदायिक बाल क्लब

यो कविता मिति २०७५/१०/०२ देखि ०४ सम्म टोखा नगरपालिकाको आयोजनामा तिलिंगाटार मा.वि., धापासीमा बाल क्लब संजालकाप्रतिनिधित्व गर्ने बालबालिकाको लागि संचालित आत्म रक्षा तालिम(Self-Defense Training) मा प्रस्तुती गरिएको हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *