संस्कृति / सम्पदा

आज माघे संक्रान्ति देशैभर हर्षोल्हासका साथ मनाईदै

आज माघे संक्रान्ति देशैभर हर्षोल्हासका साथ मनाईदै

माघे संक्रान्तिलाई मकर संक्रान्ति, थारु समुदायले माघी पर्व, मैथीलीभाषीहरुले तिला संक्रान्ति, नेवार समुदायले घ्यः चाकु सल्हु जस्ता नामहरुबाट समेत मनाउँदछन् ।

न्युज अफ टोखा २०७४ माघ १ । हाम्रो देश नेपाल भौगोलिक विविधताले भरिएको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । यहाँ बसोबास गर्ने भिन्न जातीय समुदायहरुको आ–आफ्नै धार्मिक, परम्परागत, सामाजिक, सांस्कृतिक चाडपर्व र रीतिरिवाजहरु पाइन्छ ।

आज माघ महिनाको पहिलो दिन परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर धुमधामसँग मनाइँदैछ । माघे संक्रान्तिलाई मकर संक्रान्ति, थारु समुदायले माघी पर्व, मैथीलीभाषीहरुले तिला संक्रान्ति, नेवार समुदायले घ्यः चाकु सल्हु जस्ता नामहरुबाट समेत मनाउँदछन् ।

नेपालमा चाड अनुसारको भिन्न भिन्न परिकार खाने बिशेष चलन रहेको छ । असार १५ मा दही चिउरा, श्रावण १५ मा खिर, पुस १५ मा खिचडी, तिहारमा सेलरोटी खाने प्रचलन जस्तै आज मकर संक्रान्तिमा चाकु, तिल मिठाई, नरिवलको लड्डु र उसिनेको तरुल, सगरखण्ड खाने परम्परा रही आएको छ ।

माघे संक्रान्तिका दिनमा मकर स्नान गरी घिउ, चाकु, तरुल, तिलको लड्डु खाएमा शरीर निरोगी हुने तथा बन तरुललाई आगोमा पोलेर त्यसको टिका लगाएमा पुण्य प्राप्त हुने कुरा भविष्यपुराण र धर्मसिन्धुमा उल्लेख छ । मकर स्नान सकेपछि तिलको सुकेको बुट्टाको दाउरा बालेर आगो ताप्ने चलन पनि छ । यसो गरेमा पापमोचन हुने जनविश्वास समेत रहेको पाइन्छ ।

पुस मसान्तको दिनमा उसिनेर राखिएको तरुललाई भोलिपल्ट अर्थात माघ एक गते खाने भएबाट यो पर्वलाई पुसमा पकाएर माघमा खाने पर्वका रुपमा समेत चिनिन्छ ।

ज्योतिष शास्त्र अनुसार सौैर्य तिथिको हिसाबले यसै दिनदेखि सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुन्छ । सूर्यले सबै राशीलाई उत्तिकै प्रभाव पार्ने गरेको भए तापनि मकर राशीमा प्रवेश गरेको समयलाई मकर संक्रान्ति र कर्कट राशीमा प्रवेश भएको समयलाई कर्कट (साउने) संक्रान्तिका रुपमा विशेष महत्व दिइएको पाइन्छ ।

यो दिनदेखि सूर्य उत्तरी गोलार्धमा प्रवेश हुने हुँदा क्रमशः दिन लामो र रात छोटो हुँदै जाने गर्दछ । कृषिकर्म सकाएर बर्षभरि खाने अन्न बाली भिëयाई सकेपछिको फुर्सदिलो समयमा यो चाड पर्ने भएकोले यसको महत्व अझ बढेको पाइन्छ ।

नेवाः समुदायले माघ १ गतेको दिनलाई घ्य चाकु सल्हु (घिउ र चाकु खाने संक्रान्ति)का रुपमा मनाउने गर्दछन् । यस दिनमा बिवाहिता महिलाहरु माइतमा भेला भई घिउ, चाकु र तरुल खाने गर्दछन् । यस दिनमा श्रीमानको कमाई खान नहुने कतिपय पाकाहरुमा विश्वास रहेको पाइन्छ । अन्य चाडपर्वहरुमा ज्वाईलाई बोलाएर भोज खुवाउने चलन भएता पनि यस दिन भने ज्वाईहरुलाई बोलाईदैन ।

यस दिन घरका अभिभावकहरुले सबैलाई टाउको र कानमा शुद्ध तोरीको तेल हालिदिने परम्परा समेत रहेको छ । यसरी टाउकोमा तेल हाल्नाले स्मरण शक्ति बढ्ने र कानमा तेलहानाले श्रवण शक्ति बढ्ने जनविश्वस गरिन्छ । यसका साथै घाममा बसेर तेल लगाउनाले शरिरको मेरुदण्ड मजबुद हुने भएकाले ज्युउँमा तेलसमेत घस्ने परम्परा रहेकोछ ।

सम्हे बजि भनिने परिकार यस दिनको विशेष परिकार हो, जसमा चिउरा, भटमास, माछा, मुला, तरुल, घिउ, चाकु, हाम्बो (तिलको लड्डु) मिश्रण गरी बनाइन्छ र परिवारहरु मिलीजुली खाने खुवाउने चलन छ ।

आदिबासी जनजाति समुदायहरुमध्ये मगर जातिले यो पर्वलाई भव्य रुपमा मनाउँदछन् । उनीहरुको आफ्नै बिशिष्ट संस्कार, भाषा, संस्कृति र परम्परा रहेको छ जुन उनीहरुको पहिचान पनि हो । मगर समुदायले पवित्र नदिहरुमा मकर स्नान पश्चात् नदि किनारमा केराको पातमा एक माना चामलमा एक माना मासको दाल भिजाएर मुछी पितृहरुको प्रतिक मानी बेसार, अदुवा र मर्चा राखी दिवंगतहरुलाई सम्झेर घ्युको घुप हालेर पुजा गरिने भएकोले यो दिन मगर समुदायको पितृपुजा गर्ने दिन पनि हो । जसलाई उनीहरुकेै शब्दमा ‘डि डाँके’ भनिन्छ । तारो हान्ने, झोम्प्लेनी लगाउने, रैयाँ फोर्ने, पुल्ली जलाउने, श्याम्भो गाउने, रङ अबिर खेल्ने चलन समेत यो समुदायमा पाइन्छ ।

थारु समुदायले यस पर्वलाई नयाँ बर्षको प्रारम्भ भएको दिनका रुपमा मनाउने गर्दछन् । जसलाई उनीहरु माघी ंपर्वका नामबाट पुकार्दछन् । यो दिनमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन रहेको र खिचडीलाई उनीहरुकै मातृभाषामा माघी भनिने हुनाले पर्वको नामसमेत माघी रहन गएको बताइन्छ । पुस महिनाको अन्तिम दिनलाई जिता मरना दिन भनी सुंगुर काटेर खाई रातभर जाग्राम बस्ने चलन रहेको छ । सङ्क्रान्तिको दिनमा उनीहरु सामूहिक भेला, नाचगान (धमार), खानपिन गरी यो चाड मनाउने गर्दछन् ।

गत बर्षको समीक्षा तथा आगामी बर्षको कार्ययोजना समेत उनीहरू यो दिनमा गर्ने गर्दछन् । बिवाहिता चेलीहरुलाई घरमा बोलाई खुवाउनुका साथै दान दक्षिणा समेत गर्ने गरिन्छ । यसै पर्वको अवसर पारेर थारु बहुल गाउँहरुमा नयाँ वडघर (मुखिया) छान्ने चलन अहिले समयक्रमसँगै हराउँदै गएको छ । उनीहरुले पुस मसान्तमा पुराना लेनदेनहरु चुक्ता गर्ने र माघ १ गतेबाट नयाँ खातापाता सुरु गर्ने हुनाले यो दिनलाई नयाँ आर्थिक बर्षको रुपमा समेत लिने चलन छ ।

माघे संक्रान्तिकै दिनलाई मिथिलाञ्चलका मैथिली भाषी समुदायले तिला सक्राइतका नामले धुमधामसँग यो पर्व मनाउँदछन् भने गुरुङ समुदाय यो पर्वलाई खिसरी पर्वका रुपमा चिन्दछन् । यसरी भिन्न जातीय, भाषिक र धार्मिक समुदायहरुले यसरी एउटै दिन र पर्वलाई अलग अलग नामबाट मनाइनुले जातीय अन्तरसम्बन्ध, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई पुष्टी गर्दछ । नेपाल सरकारले २०६४ सालदेखि यो पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिने गरेको छ ।

यस पर्वको अवसरमा माघ १ गते देशका विभिन्न तिर्थस्थलहरुमा मेला पनि लाग्ने गर्दछ । झापाको कानकाई, चितवन र तनहुँको सङ्गमस्थल देवघाट, पाल्पा गुल्मी र स्याङ्जाको सङ्गमस्थल रिडी, सुनसरीको चतरा बराहक्षेत्र, पर्वतको सेतिबेनी, काठमाडौँ शङ्खमुलको बागमती नदी किनार, नुवाकोटको देवीघाट, काभ्रेको दोलालघाट, इलामको माईबेनीका साथै भारतका प्रसिद्ध तिर्थस्थलहरु गङ्गासागर, प्रयाग, हरीद्वार, ऋषिकेशमा मेला लाग्नुका साथै नदी, त्रिवेणी तथा जलाशयहरुमा मकरस्नान गर्ने श्रद्धालुहरुकोे बिहानैदेखि घुइँचो लाग्ने गरेको छ ।

माघे संक्रान्तिका दिनमा दानपुण्यको काम गर्ने प्रचलन समेत रहेको छ । यो पर्व नेपालका साथै भारतका हिन्दु धर्मावलम्बीहरुले समेत उत्तिकै महत्वका साथ मनाउने गरेका छन् ।


nentravel

कमेन्ट