संस्कृति / सम्पदा

'इहि' भ्रम र यथार्थ

'इहि' भ्रम र यथार्थ

न्युज अफ टोखा ,२०७४ माघ ६ शनिवार । इहि को शाब्दिक रुपान्तरण ‘बेलबिबाह’ हैन । ‘बेल’ उक्त समारोहमा साक्षिमात्र हो, तर डेडअक्कल पण्डितका ब्याख्या सुन्नेहरु, मनगढन्त व्याख्यामा रमाउनेहरु र गहिराइ बुझ्नु भन्दा लहलहैमा बग्न रुचाउने बहुसंख्यक नेवारहरु समेत अझै पनि ‘इहि’ लाई “बेलबिबाह“ कै रुपमा लिन्छन ।


छोटकरीमा भन्नु पर्दा ‘इहि’ नेवार समाजको आधारशीला रहेको दशकर्म बिधिको एक महत्वपूर्ण कर्म हो । नेवार समाज दर्शन कर्म र तन्त्रमा आधारित छ, जसले उनीहरुलाइ कर्मयोगी बनाउने उत्प्रेरणा दिन्छ । जीवनको परिवर्तित जिम्मेवारी र आवश्यकता बोध गराउने ती कर्म मध्य ‘इहि’ ले छोरी÷चेलीलाई आमाबुबाको ममता घेराबाट बाहिर ल्याउने अनुमति दिन्छ र त्यहाँ देखि जीवन–अध्ययन शुरुवात हुन्छ । यसरी अध्ययन शुरु गर्दा अनेक चुनौति र खतरा सामना गर्नु पर्ने हुनाले प्रतिरक्षाको निमित्त कुलदेवतालाई छोरी अर्पण गरिन्छ र त्यो कार्यको साक्षि ‘बेल’ लाई राखिन्छ । नेवारहरु कुलदेवतालाई सार्वजनिक गर्दैनन् (जस्तै ः आगं माँ कुनै बाहिरीयालाई दर्शन वर्जित हुन्छ) तर साक्षिलाई सार्वजनिक नराख्न सक्दैनन्, यसैले बेललाइ पुजा गरेको सबैले देख्छ, तर कुलदेवता भने पञ्चमकार सहितको तान्त्रिक पुजाविधि द्वारा उपस्थित गराइन्छ । यो कुरो हेक्का नराखेका मानिसहरु ‘इहि’ विधिको कन्यादानलाई बिहे भन्ठान्छन्, जुन नितान्त गलत अवधारणा हो । त्यो कन्यादान खस–बाहुन चलन अनुसार ‘लौ ज्वाँइसाहेब मारे पाप पाले पुण्य’ भनेर कन्या हस्तान्तरण गरे जसो हैन । त्यो कन्यादान ‘हे कुलदेवता, हाम्री छोरी अब कर्मयोगको पाठशालामा जाँदैछिन, आइपर्ने खतरा र समस्याहरुबाट रक्षा गरिदेऊ, तिम्रो भरोसामा हामीले छोडें’ भनी बेललाई साक्षी राखी जिम्मा लगाएको हो । कुलदेवताको शक्तिलाई जीवनोपयोगी अध्ययनमा लगाउनेछु भनी छोरीलाई भाकल गराएको साक्षी बेललाई राखिएको हो ।


परम्परागत नेवार देखा दुपिं ब्रम्हु र गुभाजुहरु यो तान्त्रीक पुजाविधिमा निपुण हुन्छन् र उनीहरुसित सम्पर्क राखेर मन्त्रोच्चारणमा प्रयुक्त शव्दावलीहरुको अर्थ अध्ययन गरे यो कुरो स्पष्ट बुझिन्छ, तर अचेल धेरै जसो सुगा रटाइ मात्रै जान्ने पण्डितहरु यसलाई सामान्य बिहेको कन्यादान जस्तै गर्ने गरेको पनि देखेको छु । त्यसमाथि दानदक्षिणाको लोभमा गैर नेवार समुदायका पण्डितहरु पनि ‘नेवारको इहि कति गराइयो कति’ भन्दै ‘इहि’ गराउन तम्सिन्छन्, जसलाई न तन्त्र सम्बन्धी ज्ञान छ न पञ्चमकार सहितको पुजाविधि नै गर्न जानेका हुन्छन् । पण्डितको खडेरी परेको ठाउँहरुमा त्यस्ता तन्त्र नजानेका पण्डितहरु ‘जसो जसो यजमान उसो उसो स्वाहा’ गर्दै अलि अलि श्लोक भट्टाएर विधि पुर्‍याए जसो गर्छन् र दान दक्षीणा कुम्ल्याउँछन् । सर्वसाधारणमा परेको ‘बेल सित बिबाह’ भन्ने गलत छापको कुरो त के गराइ भो र ? पण्डित भनाउँदोहरु नै त यस्ता कतिपय कुरोहरुमा बेखबर छन् । त्यसैले चेतनशील नेवारहरु यस्तो तन्त्र नजानेका र पञ्चमकार नचल्ने पण्डितहरुबाट टाढै रहनु बेश हुन्छ र अरुलाई पनि यो कुरोको जानकारी दिदै जानु पर्छ ।

स्रोतः ज्वजलपा सकसित


nentravel

कमेन्ट