संस्कृति / सम्पदा

पाहाँ चर्‍हे नखः (विशेष)

पाहाँ चर्‍हे नखः (विशेष)

(टोखामा मनाइने पाहाँ चर्‍हे नखको बारेमा एक चर्चा) 

नेवार समुदायले हरेक वर्षचैत कृष्ण चतुर्दशीका दिन अजिमा द्यः, सपनविनायक र यँसि लिङ्गेश्वर महादेवको पूजा गरेर  पाहाँ चर्‍हे जात्रा मनाइने गरिन्छ । यस दिनलाई पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ । पाहाँ अर्थात पाहुना र चर्‍हे अर्थात पर्व, बिहे गरि पठाइसकेका छोरीहरुलाई घर व्यवहारले नभ्याइ रहने हुँदा वर्षो एक दिन भए पनि अनिवर्य रुपमा यस पर्वको उपलक्ष्यमा निम्तो गरेर भोज खुवाउने परम्परा छ । नेवार समुदायको स्थान परिवेश अनुसार आ-आफ्नै मौलिक परम्परा अनुसार पाहाँ चर्‍हे मनाइने गरिन्छ । पाहाँ चर्‍हेलाई टोखाको पुलांगु नखः (पुरानो जात्रा) पनि भन्ने गरिन्छ । स्मरणका लागि टोखामा दुई पटक विस्काः जात्रा मनाईने गरिन्छ ।

अन्य नेवार समुदायमा मनाइने पाहाँ चर्‍हे भन्दा टोखामा भने विशेष भिन्न रुपमा मनाइने गरिन्छ । यस दिन विहान थनेलाछीमा रहेको यँसि गाल्य यँसि (लिङ्गो) उठाइन्छ । यँसि गुठीका सदस्यसहित जनसमुदायहरु होइस्ते र हइस्ते गर्दै एक आपसको सहकार्यमा यँसी उठाइन्छ । यँसि उठाउनु पूर्व यँसि गुठीका खलकहरुले यँसिको आफ्नै मौलिक र प्राचीन विधिबाट विशेष पूजाआजा गरिन्छ । यँसिलाई महादेवको प्रतीकका रुपमा मानिन्छ । यसरी उठाइएको यँसिले टोखामा जात्रा शुरु भएको संकेत गर्दछ ।

त्यस्तै गरि यसै दिन राति द्यः छेँ बाट वंतुली (अजिमा द्यः) र सपनविनायकको मुर्तीलाई खटमा राखी जात्रा गरिन्छ । अजिमा द्यः (पार्वती) आमा, यँसि (शिव) पीता र सपनविनायक (गणेश) लाई छोराको प्रतीकका रुपमा लिइन्छ । साँझपख टोल, चोक, ननी, बहालमा निगालो बालेर बाजागाजा सहित अजिमा द्यः र सपन विनायकको मुर्तीलाई खटमा राखि टोखा नगर परिक्रमा गरिन्छ । जसलाई लखद्यः (लुकिरहेको महादेव) जात्रा पनि भनिन्छ । टोखाको धार्मिक तथा सामाजिक मान्यतालाई अघि सारेर हेर्दा अजिमा द्यः (आमा) र सपनविनायक (छोरा) दुबै मिलेर लुकिरहेको महादेवलाई खोजि हिडेको प्रतीकको आभाष मिल्दछ । यसै समयदेखि "हे राम गन वने गन च्वने, वने थास मदु दैब..." भन्ने करुणा रसले भरिएको राग गाउने गर्दछ ।

यस पर्व सम्बन्धी किम्वदन्ती अनुसार- सत्ययुगमा पार्वतीले श्री महादेवलाई भन्नुहुन्छ  "हे इश्वर, तपाई देवको पनि देव महादेव, तपाइको अर्धांगिनी हुन पाउँदा म निकै खुसि छु । तर म अनेक रुप धारण गरि बेला बेलामा मध्यपान, माँस ग्रहण गर्ने गर्दछु तर तपाई भने यस्तो खानेकुरा कहिले पनि खानुहुन्न, त्यसैले मलाई अलि अप्ठेरो महसुस भएको छ । त्यसपछि श्री महादेवले त्यसो होइन भनि आफै सुटुक्क कसैले नदेख्ने गरि लुकेर पिसाच रुपी महादेवले माँस, मदिरा, लावाजन्य खानेकुरा खाएर पार्वतीलाइ देखाउनु भयो !"

त्यसैगरी गरी "महाकाल तन्त्रे शिव बचन" शास्त्र अनुसार यस दिन महदेव -लुकुमहा द्यः)लाई मासु, लाभा, रक्सी, थ्वं, लुँबु, बह बुँ, आदि चर्ढाई, बत्तिबाट बनाइएको गाजल लगाएर अष्टमात्रिका अजिमाहरुको दर्शन गर्नाले र्सवसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

भने भोलि पल्ट अस्वयात्रा गर्नाले भविष्यमा ज्ञान पनि प्राप्त गर्न सकिन्छ अर्थात् घोडा जति बेघले दौड्न सक्छ त्यतिनै देशमा दुःख कस्ट हराउने र सत्रुहरु नाश हुन्छ भन्ने मान्यताका साथ घोडे जात्र मनाउने परम्परा रहिआएको जन विश्वास गरिन्छ  । धार्मिक किम्वदन्ती जेसुकै भए तापनि हामीले मनाइने मौलिक पर्वको स्थान र परिवेश अनुसार त्यसको छुट्टाछुट्टै महत्व, विधि र आस्था रहेको हुन्छ ।

पाहाँ चर्‍हेको भोलिपल्ट औंसी अर्थात् घोडे जात्राका दिन यसै दिन साँझपख यँसि गुठी खलकहरुले यँसिमा विशेष प्रकारको हलिपता (विश्वध्वज) फहराउने गरिन्छ । विश्वमा शान्तिको कामना गर्दै हलिपता फहराइने प्रचलन रहँदै आइरहेको छ । हलपतामा ३३ कोटी देवीदेवताका चित्रहरु अंकित गरिएको हुन्छ । त्यसको अलावा टोखामा विशेष जात्रा चलिरहेको सन्देश पनि दिने गर्दछ ।

वंतुलिमा अवस्थित अजिमा द्यः, सपनतिर्थमा अवस्थित सपनविनाय र थनेलाछिमा रहेको यँसिको अगाडी बेलुका विशेष पूजा गरिन्छ । अजिमा द्यः लाई भने खटमा राखि तरख्यः (गणेश मन्दिरको पुर्वपती रहेको स्थान) ल्याई विसाइन्छ । नाय् खिँ बाजाको तालमा देवीको विशेष पूजा गरि बोकाको बलिदिईन्छ । यसै दिन सपनविनायक, अजिमा द्यः र यँसि यी तीनै मन्दिरको अगाडि पट्टि डंगोल थरका दुई कन्या र ६ कुमार गरी जम्मा आठ जना कुमारकुमारीलाई मरः जा (विशेष प्रकारले पकाएको भात) खुवाउने चलन छ । त्यस लगत्तै साँस्कृतिक बाजागाजा सहित र सुकुन्दाले बत्ती देखाइ अजिमा द्यः को खट जात्रा गरि ताहलयमा ल्याएर बिर्साईन्छ भने उता सपनतिर्थबाट सपनविनायकमा मर जाः खुवाइ सकेपछि साँस्कृतिक बाजागाजा सहित सुकुन्दाले बत्ती देखाउँदै जात्रा गरि नाटेश्वरी मन्दिर परिसरमा ल्याई विर्साईन्छ । देवीदेवताको खट अगाडी रातभरी भजनकृतन गरि जागा बस्ने चलन छ ।

भोलिपल्ट पारु अर्थात् प्रतिपदाका दिन धुमधामसँग जात्रा गरिन्छ, जसलाई नेवारी भाषामा द्यः ल्वाकेगु पनि भन्ने गरिन्छ । पारुकै दिनमा टोखामा रहेका बाँसुरी खलः र बाजा खलःको सहभागितामा साँगीतिकमय वातावरणमा सपना विनायकको जात्रा अगाडि बर्ढाई न्याः प्वा ल्वहं -पाँच प्वाल भएको चक्रढुङ्गा) मा ल्याएर अजिमाद्यः र सपनाविनायक दुवै खटको भेट गराइन्छ । यस न्याः प्वा ल्वहलाई आमा र छोराको सीमाना क्षेत्रको रुपमा मानिन्छ । सपनविनाय मन्दिर खलकले अजिमा द्यः को विशेष पूजा गरिन्छ । पूजा लगतै सपनविनायक -छोरा)ले अजिमा द्यः -आमा)लाई ढोगेको प्रतीक सपन विनायको खटले अजिमाद्यःको खटलाई ढोगाइन्छ । तीन पटक ढोगेपछि आमा छोरा मिलि यँसि लिङ्गो पितालाई ढोगाइन्छ र त्यस पश्चात् आ-आफ्नो मन्दिर घरमा लगिन्छ । यस प्रकार बिहानभरिमा जात्रा समाप्त गरिन्छ । तर यँसि भने बैशाख १-४ गते सम्म मनाईने विस्काः जात्रा सकिसके पश्चात् बैशाख ५ गते विहान मात्र यँसि खलक र जनसमूदायको सहभागितामा ढालिन्छ ।

यसरी हेर्दा टोखामा मनाइने यस जात्रालाई आमा बुबा र छोराको ममता र प्रेमभावनाले भरिएको पर्वको रुपमा लिन सकिन्छ । यस पर्व अर्थात जात्राले समाजमा छोराछोरीहरुले आफ्ना आमा बुबालाई सम्मान गर्नुपर्छ । परिवारमा माया ममता र समाझदारी कायम गर्न सके सबैको भलो हुने शुभ सन्देश दिन खोजिएको देखिन्छ ।

 

यँसि गुठी

पाहाँ चर्‍हे नखः जात्रामा यस यँसि गुठीको विशेष भूमिका रहेको छ । यस गुठीले यँसि उठाउने, ढाल्ने, ढालिसके पश्चात् सुरक्षित स्थानमा व्यवस्थित तरिकाले राख्ने, यँसि चर्किएमा अथवा भाँचिएमा नयाँ ल्याउन व्यवस्था गर्ने आदि काममा सक्रियता देखाउँछ । यसको संचालनमा तीन जना व्यक्ति संलग्न रहन्छन् । पाहाँ चर्‍हे अर्थात् घोडे जात्राको समयमा यँसी गुठीका यी तीन जना व्यक्तिहरुको संलग्नता र निर्देशन बमोजिम लिङ्गो उठाउने गरिन्छ । भोलिपल्ट मरःजा अर्थात कुमारकुमारीहरुलाई भात खुवाउने र यँसिमा हलपता लगाइन्छ । हलपतामा तेत्तीस कोटी देवीदेवताका चित्रहरु अंकित गरिएको हुन्छ । टोखाको मान्यता अनुसार यस यँसिलाई सपनतिर्थको पिता र सङ्कटा देवीको पतिका रुपमा स्वीकारिन्छ । यँसि भाँचियो अथवा मक्किएर काम नलाग्ने भयो भने पत्र लेखेर गुठी संस्थानमार्फ तोक लगाई पायक पर्ने जङ्गलबाट अग्लो र सोझो सल्लाको रुख काट्न व्यवस्था मिलाउने काम यँसी गुठीले गर्छ । रुख काटेर ढाल्नु अगावै थकालीद्वारा पूजा गर्नुपर्ने चलन छ । रुख ढालेपछि गाउँका सबै मानिस मिलेर घिसार्दै ल्याइन्छ र सहयोगीहरुलाई गुठीको आफ्नै व्यवस्था अनुसार खाजा खुवाउने गरिन्छ ।

अजिमा द्यः (सङकटमाई) को महिमा

यो मन्दिर टोखाको मूलबस्तीबाट उत्तरपुर्व चण्डेश्वरी मन्दिर जाने बाटोको बीच तिर वंतुलीमा अवस्थित छ । पहिले पहिले यस मन्दिरमा जान मान्छेहरु निकै नै डराउने गर्दथे । यो मन्दिरको आध्यात्मिक शक्ति निकै नै शक्तिशाली भएको पनि जनविश्वास छ । यस मन्दिरमा हरेक हप्ताको शनिवार दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । आफ्नो दोष निवार्न गर्न पूजाआजा गर्न आउने गर्दछ । यस मन्दिर तथा देवीको रेखदेख सम्बन्धित मन्दिर खलकहरुले गर्दै आईरहेको छ । वर्षो एक चोटी मन्दिर खलकहरुको घरमा आलोपालो गरि जान्छ अझ भनौँ आलोपालो गर्ने चलन रहेको छ ।

यस मन्दिरको मूर्ति हेदैमा भयंकर र डरलाग्दो देखिन्छ । हेदा हँसमुख देखिए पनि मूर्तिको दायाँ कानबाट हात निस्कि रहेको दुश्यले मनमा एक प्रकारको भय उत्पन्न गराउँछ । पहिले मानव बस्ती भन्दा पर एकान्तमा रहेको यस मन्दिर अहिले बढ्दो मानव बस्तीसँगै यसको क्षेत्रफल साँघुरिँदै गइ रहेकोछ ।

यस अजिमा द्यः को बारेमा यस्तो किम्बदन्ती सुन्न पाईन्छ । उहिल्यै एकजना पुरेत दिनहुँ मध्यरात छँदै मन्दिरमा गएर सङ्कटमाईको पुजापाठ गर्थे । एकदिन सङ्कटमाईले तिनै पुजारीलाई खान खोजिछन् । पुरेतले र्सतर्क भएर सङ्कटमाईसँग र्सत राखेछन् । सो अनुसार भाले नबास्दै देवीले कानबाट हात निकालेर पुरेतलाई खानुपथ्र्यो । देवीले कानबाट हात निकालेर पुरेतलाई खान खोज्दा भाले बासिहालेछ । पुरेतलाई सङ्कटामाईले बाचा भङ्ग भएको हुनाले खान सकेन भन्ने कथा प्रचलित छ । कानबाट देवीले हात निकालेको दृश्य चाहिं अहिले पनि देख्न सकिन्छ ।

यस देवीको वर्षा एकचोटी पाहाँ चर्‍हेमा मात्र विशेष जात्रा गर्ने गर्दछ । चैतकृष्ण चतुदर्शीका दिन देवी घरमा विशेष पूजा गरिन्छ । साँझपख विशेष खटमा देवीको मूर्ति प्रतिस्थापना गरि निगालो बालेर धिमे बाजाका साथ नगरपरिक्रमा गरि जात्रा गरिन्छ । यसका साथै सपनविनायकको खटसमेत साथमा रहने गर्दछ । यसरी गरिने जात्रालाई लुक्महाद्यः जात्रा भनिन्छ । औशीका दिन वंतुली मन्दिर परिसरबाट तरखय्मा ल्याई विशेष पूजा गरिन्छ । मन्दिर खलकका २ जना कन्या र ६ जना कुमार गरी ८ जनालाई मरजा खुवाईछ । तत् पश्चात जात्रा गरी ताहालय्मा लगि विर्साईन्छ र रातभरी भजनकृतन गरिन्छ । भोलिपल्ट पारु अर्थात् प्रतिपदाका दिन धुमधामसँग जात्रा गरिन्छ । स्मरण रहोस यस मन्दिरका खलक डंगोल थरका हुन्छन् ।                                                                                     

                                                 -सुबिन्द्र श्रेष्ठ


News Tokha times

nentravel

कमेन्ट