संस्कृति / सम्पदा

सेतो मत्स्येन्द्रनाथ रथयात्रासँग जोडिएको किंवदन्ती

सेतो मत्स्येन्द्रनाथ रथयात्रासँग जोडिएको किंवदन्ती

नेपाल विविध धर्म र संस्कृतिमा संसारमै धनी मानिन्छ । काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएकोे सहर हो, जहाँ बाह्रैमहिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अझ भनौं नेवार समुदायभित्र हुने अनेक चाडपर्वहरुमध्ये काठमाडौंमा हुने सेतो मत्स्येन्द्रनाथ रथयात्रा पनि एक हो । वर्षा र सहकालका देवता मानिने आर्यावलोकितेश्वर करुणामयको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो ।

श्वेतवर्ण आर्यावलोकितेश्वर करुणामय भएकोले सेतो मत्स्येन्द्रनाथ भनिएको हो, नेवारहरुले ‘जनबाहा द्यः’ भन्दछन् । विशेषतः सेतो मत्स्येन्द्रनाथको शिरमा अभिताभ बुद्धको मूर्ति छ । दायाँबायाँ दुईटा स–साना हरियो र रातो मूर्तिहरु राखिएका छन् । जसलाई आर्यतारा र पद्मताराको रुपमा मानिन्छ । ताराको प्रतीक भएकोले तिब्बती लामाहरु आर्यावलोकितेश्वर करुणामयलाई ‘जामन कार्पोभ’ सेतो ताराको रुपमा मान्दछन् । उनीहरु सेतो मत्स्येन्द्रनाथलाई निकै श्रद्धाले लिन्छन् । 

कनक चैत्य महाविहार (जनबहाल)को स्थापनाको सम्बन्ध लिच्छविकालीन राजा नरेन्द्रदेवको हस्तलिखित अभिलेखमा (ने.सं. २५६) उल्लेख गरिएको छ । जनबहालको प्राचीन नाम कनकचैत्य महाविहार रहेको र त्यहाँ कनक चैत्य पनि रहेकोले यो विहार कनकमुनि बुद्धको संस्मरणमा बनाइएको भान हुन्छ । सुप्रसिद्ध इतिहासकार धनबज्र बज्राचार्यले  राजा यक्ष मल्ल (ने.सं. ५९०–६०२)को पालामा लेखिएको एउटा हस्तलिखित ग्रन्थमा यस बिहारको बारेमा कोलियग्रामको जगग्रन्थि विहार हुनुपर्ने मान्यता राख्नु हुन्छ । जगगन्थि विहारबाटै आजभोलि जनबाहाः भन्ने गरिएको हुन सक्छ ।
 
किंवदन्तीअनुसार २६ सय वर्ष अघि कौशल नरेश विरुद्दनद्वारा कपिलवस्तु र देवदह राज्यका शाक्य कोलियको आमहत्या भएको थियो । त्यहाँबाट भागेर उपत्यका प्रवेश गरेको कोलियहरुले बस्ती बसाल्ने क्रममा कोलियाग्राम नाम रहन गएको, जसलाई आजभोलि केलटोल भन्ने गरिएको छ । उनीहरुले नै पहिले हालको मत्स्येन्द्रनाथको मन्दिर अगाडिको कनक चैत्य स्थापना गरेको मूल सर्वास्तिवाद विनयबाट स्पष्ट हुन्छ । पहिले कनक चैत्य महाविहार नामले प्रख्यात सो मन्दिर शिखरशैलीमा र पछि प्यागोडाशैलीमा निर्माण भयो ।
सेतो मत्स्येन्द्रनाथको उत्पत्ति
परापूर्वकालमा उत्तर कोलियग्राम (जमल क्षेत्र)को खेतमा एक जना ज्यापुले खेत खन्दा मत्स्येन्द्रनाथको मूर्ति फेला पारेको थियो । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्यो । त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहराई जनबहालस्थित कनक चैत्यमा ल्याई स्थापना गरिएको जनश्रुति छ । यसैको सम्झनामा हाल पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने प्रचलन छ । जमलमा सो मूर्ति कसरी फेला फ¥यो भन्ने सन्दर्भमा एकअर्को कथन यस्तो पनि रहेको छ । 
 
कुनै समयमा मागल नामका पश्चिमका राजाले उपत्यकामा आक्रमण गरी बहुमूल्य वस्तुसहित सेतो मत्स्येन्द्रनाथको मूर्तिसमेत लुटेर लगे । सो मूर्तिलाई लगेर गण्डकीमा फालिदिए । जसको परिणाम मागलका राजालाई शरीर सुन्निने रोग लाग्यो र यसै रोगले पछि मृत्यु पनि भयो । त्यस रोगले उनका ६ पुस्तासम्म छोडेन । पछि बुझ्दै जाँदा गण्डकी नदीमा मत्स्येन्द्रनाथको मूर्ति खसालेकै कारण यस्तो रोग लागेको थाहा पायो । सो मूर्तिलाई निकालेर याबार भन्ने स्थानमा स्थापना गरियो । एकदिन मागल राजालाई सपनामा ‘मत्स्येन्द्रनाथले मलाई नेपालमै लग’ भनेपछि राजाले आर्यावलोकितेश्वरको मूर्तिलाई जमलमा खाल्टो खनेर माटोमुनि छोडेर गयो । केही समयपछि सो स्थानमा कुमालले माटोका लागि खनेको थियो । तर माटो खन्दा मूर्ति भेटिएको हुनाले त्यही ठाउँमा मन्दिर स्थापना गरे ।
 

पहिले नेपालमा जन्मेका मानिसको मृत्युपश्चात् प्राणवायु भई सुखावती भुवनमा वास हुन्थ्यो । यमदूतहरुलाई यसले निकै वाधा पु¥याएको थियो । यो कुरा यमराजलाई सुनाएपछि ध्यान दृष्टिले हेर्दा स्वयम्भू भगवान्को सेवाको कारण यसो भएको थाहा पाए । यमराज र चित्रगुप्त भेष बदलेर स्वयम्भू दर्शन गर्न पृथ्वीमा अवतरित भए । कर्म अनुसारको फल दिने यी दुई जना पृथ्वीमा आएको थाहा पाए । यहाँका राजा यक्ष मल्लले भेट्ने इच्छा प्रकट गरे । राजाको निमन्त्रण स्वीकार गरी दरबारमा उपस्थित भएछ । यमराजलाई राजा तथा प्रजाले भव्य स्वागत गरी खुसी बनाएछ । राजाको यस्तो अगाध सेवा र सुषुश्राले यी दुवै भेषधारी यमराज र चित्रगुप्तले राजालाई बरदान माग्न अनुरोध गरे । राजाले यमराजलाई बिन्ति गरी सदैव निरोगी हुने, सदा जवान हुने र जनताहरु कहिल्यै मर्नु नपर्ने गरी अमरताको बरदान मागे । यमराजले यस्ता बरदान आफूमा नभएको कुरा बताए । आफूहरुले मागेको बरदान नदिए यहाँबाट बाहिर नपठाउने राजा तथा लोकले निर्णय गरेछ । हाम्रा गुरु बज्रपाणीले तन्त्र बन्धनमा पारिसकेकीले तपाईहरु यहाँबाट जान नसक्ने राजाले सुनाएछ । यस्तो विलखबन्धनमा परेपछि यमराजले यस्तो बरदान सुखाबती भुवनमा बस्ने आर्यावलोकितेश्वर करुणामयले मात्र दिन सक्ने अवगत गराए । बिरक्त भएर यमराजले करुणामयको पुकार गरे । करुणामय यक्ष मल्लले स्नान गर्ने पोखरीबाट अमिताभ बुद्धलाई शिरमा राखी प्रकट भएर सबैलाई दर्शन दिए । यक्ष मल्ल सहित प्रजाको सम्पूर्ण वृतान्त सुनेपछि करुणामयले भने– जसले मेरो नित्य भक्ति भाव गर्नेछ, त्यस व्यक्ति निरोगी हुनेछ, रुप लावण्यले पूर्ण हुनेछ । रोगी भएपनि पाप क्षय भइ सरल मृत्यु प्राप्त हुनेछ । आफूलाई मन्दिर बनाई स्थापना गर्न आज्ञा दिनु भयो । राजा सहित प्रजाको चित्त बुझाई यमराजलाई छोडि दिएछन् । राजा यक्षमल्लले आफ्नो छोरा रत्न मल्लसँग मिली एक पवित्र स्थानमा करुणामयलाई स्थापना गरे । बिहार बनाई दिएपछि त्यहाँ करुणामय सिद्ध हुनुभएछ । यक्षमल्लको मृत्युपछि छोरा रत्न मल्लले श्री करुणामयको नित्य भक्तिभावले स्तुति गरे । वर्षमा एकपटक अशक्त वृद्धवृद्धाले समेत दर्शन गर्न सकुन् भन्ने उद्देश्यले रथयात्रा चलाएको भन्ने छ ।
 
१७ औं शताब्दीको उत्तराद्र्धतिरको कुरा हो । कान्तिपुरका राजा लक्ष्मीनरसिंहको पालामा रथ तानेर लगनतिर लाने क्रममा मरु गणेशस्थानतिर पुग्दा कल्पवृक्ष मानिसको भेष गरी हेर्न आएको रहेछ । सो कुरा पुजारीले उक्त मानिस कल्पवृक्ष हो भनी थाहा पाए । उनले तुरुन्तै तन्त्रमन्त्र बलले समाए । जबसम्म एउटै रुखको (कल्पवृक्ष) काठबाट मन्दिर बनाउँदैन्, तबसम्म नछाड्ने भनेपछि कल्पवृक्षले एउटा रुख पठाइदिने बाचा गरे पछि बल्ल उनलाई छाडिदिए । चार दिनपछि कल्पवृक्षले एउटा रुख पठाइदिए । राजाको आज्ञा लिएपछि पुजारीले उक्त रुखबाट मरुमा एउटा वृहद् सत्तलपाटी बनाए । यसलाई मरुसत्तल वा ‘सिंहसतः’ पनि भनिन्छ । यो एउटै रुखको काठले बनाएकोले काष्ठमण्डप वा काठमाडौं पनि भनिन्छ । यस जनश्रुतिको कथनअनुसार मत्स्येन्द्रनाथको रथ यात्रा कति पुरानो भन्ने अनुमान गर्न सकिन्छ ।
रथ यात्रा र चलन
यो रथयात्राको प्रचलन कहिलेदेखि भयो भन्ने तथ्य त्यति स्पष्ट छैन । तथापि राजा शिवसिंह मल्लले ने.सं. ७०८ देखि देवताको मूर्ति भेटिएको स्थान जमल हो भने चैत्र शुक्ल अष्टमीमा रथारोहण गराउने परम्परा रहि आएको छ ।
 
पहिला जमल–असन र असन–लगन टोल रथयात्रा चलाइन्थ्यो । राजा लक्ष्मीकाम देवको पालादेखि लाय्कूयाः पनि चलाइएको हो । बंशावली अनुसार राजा प्रतापमल्लको पालदेखि सेतो मत्स्येन्द्रनाथको रथयात्रा सञ्चालन भएको भनेर धनबज्र बज्राचार्यको एउटा लेखमा उल्लेख छ । शायद बीचमा रथयात्रा रोकिएर प्रतापमल्लले पुनः नयाँ व्यवस्था गरेर सञ्चालन गरेको हुन सक्छ । यसबारे विस्तृत अनुसन्धान हुन बाँकी छ । 
 
हरेक वर्षको चैत्र शुक्ल अष्टमी (चैतेदसैँ) देखि रथयात्रा सुरु गरिन्छ । यो यात्रा तीन भागमा बाँडिएको पाइन्छः असंयाः, लाय्कूयाः र लगंयाः ।
 
करुणामय र आर्यावलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथलाई जनबहालबाट ल्याउने गरिन्छ । त्यसलाई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगरपरिक्रमा गर्ने प्रचलन छ । रातो मत्स्येन्द्रनाथको रथ बनाएझैं सेतो मत्स्येन्द्रनाथको पनि शिखर शैलीको ३२ हातको ठूलो रथ बनाइन्छ । चार पांग्रालाई भैरवको प्रतीकको रुपमा मान्दछन् भने हरेक पांग्रामा तीन वटा नेत्रहरु अङ्कित गरिएको हुन्छ । एउटा लामो घःमा हुन्छ, यसलाई नागको प्रतीक मानिन्छ भने घःमाको अगाडि हृयग्रीव भैरवको प्रतिमा मुकुट राखिएको हुन्छ । विशेषगरी ३२ हाते रथमा दस तल्ला रहेको हुन्छ, जसलाई माथिबाट दस तल्लालाई इन्द्र, बरुण, कुबेर, अग्नि, नैर्ऋत्य, वायुब्य, ब्रह्म, महादेव र नारायणको प्रतीक मानिन्छ । चैत्र शुक्ल अष्टमी, नवमी र दशमी गरी तीन दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोक रहेको देवदेवताहरुलाई देखाउन रथ जात्रा गरिने भनाइ रहिआएको छ भने अर्को भनाई अनुसार अशक्त रोगी र वृद्धवृद्धाहरुलाई स्वास्थ्य स्वस्थ पार्न र उद्धार गर्न सेतो मत्स्येन्द्रनाथले दर्शन दिने गरेको हो भनिन्छ ।
अष्टमीका दिन दिउँसो जनबहालबाट सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई बाजागाजा साथ खतमा राखेर बांगेमुढा, असन, कमलाछी हुँदै जमलमा ल्याई रथारोहण गरिन्छ । त्यतिखेर मालीगाउँका मुनिकारहरुले रथ सिंगार्ने र सजाउने काम गर्दछ र सोही दिन साँझपख गुरुजूको पल्टनका साथ तोप पड्काई जमलदेखि घण्टाघर, भोटाहिटी हुँदै रथ तानेर असनको अन्नपूर्णको अगाडि पु¥याएपछि असंयाः सम्पन्न भएको मानिन्छ ।
 
दोस्रो दिन असनबाट रथ तानेर केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकास्थित कालभैरवको अगाडि ल्याई पु¥याई लाय्कूयाः सम्पन्न गरिन्छ । 
 
तेस्रो दिन हनुमानढोकाबाट रथ तानेर मरु, चिंकमुगल, जैशीदेवल हुँदै लगन टोल पु¥याइन्छ । रथ लगन टोल पु¥याउने बित्तिकै जात्रा देखाउन जीवितदेवी कुमारीलाई खटमा राखी बाजा बजाउँदै लगन टोलमा ल्याई जात्रा देखाउने गरिन्छ । करुणामयको आमा भनिने सेतो अवलोकितेश्वरको मन्दिर र त्यही रहेको माँ सिमा (आमा रुपको) रुखमा तीन पटक परिक्रमा गराइन्छ । यसलाई ‘माँ सेवा” अर्थात् आमाको सेवा भन्ने जनाइन्छ । यसरी तीन पटक परिक्रमा गराएपछि सेतो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न हुन्छ अर्थात् लगंयाः सम्पन्न भएको मानिन्छ । रथयात्रा सकिएको भोलिपल्ट सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई खटमा राखी बाजागाजाका साथ जनबहालमै फर्काइन्छ । सो रथ यात्रा गर्नाले देशमा अनिकाल, अनिष्ट नभइ सहकाल र शुभ हुन्छ भन्ने जनविश्वास रहेको छ ।
 
यसबीचमा रथ असन पुग्दा स्थानीयवासीहरुले रथको अगाडि १०८ देवा बत्ती बाल्दछन् भने रथ तानेको हेर्न र देखाउनका लागि स्थानीयवासीहरुको आफन्तहरुलाई निम्तो दिने समेत गरिन्छ । यस्तै रथ तान्नेक्रममा जनबहाल पुग्दा स्थानीयवासीहरुले चताँमरी, योमरी (चामलको पीठोले बनाएको एक प्रकारको रोटी) खसाली ‘धली लुइगु’ भनी रमाइलो गर्छन् भने हनुमानढोका पुगेपछि स्थानीयवासीहरुले यहाँ पनि १०८ देवा बत्ती बाल्दछन् । प्रत्येक दिन रथ गन्तव्यमा पुगेपछि हर्ष बढाइँको रुपमा गुरुजूको पल्टनले दुईपल्ट बन्दूक पड्काउँछन् । यसलाई ‘याः न्यागु’ अर्थात् यात्रा सफल भएको भन्दछन् । मत्स्येन्द्रनाथलाई कानफट्टा जोगी नाथ सम्प्रदायले गर्ने जुगी चक्र पूजामा एउटा सानो राँगो बलि दिने गरिंदै आएको थियो तर जात्रा गर्ने गुथियारहरुले बौद्ध देवतालाई बलि दिनु हुँदैन भनेकाले नरिवल फुटाउने गर्दै आएको हो भनिन्छ ।
 
धार्मिक सहिष्णुताको प्रतीक सेतो मत्स्येन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायान तथा वज्रयान सम्प्रदायले आर्यावलोकितेश्वरका रुपमा पुज्ने परम्परा छ । यिनै मठ, मन्दिर नै हाम्रा जीवित सम्पदा हुन् । यसको सम्वद्र्धन र प्रवद्र्धन गर्नाले ऐतिहासिक धरोहरको जगेर्ना हुन्छ भने संस्कृतिमा समेत यसबाट टेवा पुग्नेछ । 
                                                                   -त्रिचन्द्र प्रतीक्षा
 
साभारः गोरखापत्र दैनिकबाट

nentravel

सम्बन्धित समाचारकला / संस्कृति

कमेन्ट