साहित्य

संघर्षका पाईलाहरु

संघर्षका पाईलाहरु

सुनिता डंगोल (अभिलाषी)- ऋतुराजले सधै सधै वसन्ती बहारलाई अंगाल्न कहाँ सक्छ र अनि जीवनबीच सधै सधै सुन्दर गुलाब बनी मुस्कुराउन कहाँ सक्छ र ? सारा ब्रमाण्ड अनि ब्रमाण्डका तत्व सधै एकनाश स्थिर बनी शालिक झै कहाँ अडिक हुन सक्छ र ? आली आली छेउ लागि गन्तव्य ताक्ने ती नदी असार साउनको बर्खे झरीको वेग झै सधै सधै कहाँ एकनाशले बग्ने गर्छ र ? रातपछिको दिन अनि दिनपछिको रात, सुखपछिको दुख अनि दुखपछिको सुख र आशुपछिको हाँसो अनि हासोपछिको आशुलाई यहाँ कसले पो थाम्न सक्छ र ?


प्रश्नै प्रश्नबीचमा उत्तर खोजिरहन्थे । मनमा अनेकौ कुरा खेल्दथे । दोष कसैको छैन । एउटा स्त्री जो आमाबुबाको निर्देशनमा आफू खुसी नभई जन्जिरको डोरी बाधी एउटा मानिसको पत्नी बनी सदैव सेवामा लाग्छिन् अनि एउटा पति जसले एउटी नारीको मनको चाह र खुसीलाई वेवास्ता गर्छन् । स्मृतिका हरेक पन्नाहरु आज छताछुल्ल पोख्न मन गरेकी छु । अतितका सारा सारहरु अनि जीवन भोगाईका उकाली र ओरालीहरु आज छर्लङ्ग पार्ने कोसिस गर्दैछु ।


म सुनाउँछु अतित वा जन्मदेखि वर्तमानसम्मका कथाहरु जुन संघर्षमय छ, कहानीहरु छन्, जनु कहानी तिता र मिठा जीवनको गीत बनी कहिले कोइली त कहिले काग बनी गाइने गर्दछन् । मन भारी हुन्छ । मनभरीका उकुसमुकुसहरु अनि छटपटीहरुलाई शान्त पार्न यो हृदय आतिन्छ । आतिएको मन र छटपटीएको तनलाई शान्त पार्न पन्ना पन्ना कागजका टुक्रामा कलमबाट म केही लेख्ने गर्छु । म लेख्छु एउटी छोरी भएर जन्मदा घर, परिवार र समाज अनि समाजका मानिसहरुले गर्ने व्यवहार । म लेख्छु तबसम्म जबसम्म तपाई मलाई पढ्न चाहानुहुन्छ । म पोख्छु हृदयभरिका आशु र हाँसोका पाताहरु यदी तपाई मलाई साथ दिनु हुन्छ भने । नथाकी, नरोकी म मेरो हृदयको बहहरु नियमित पोख्ने छु । अनियमित रुपमा कथाभित्रका व्यथाहरु क्रमशः गर्दै एकपछि अर्को गरी तह तहमा जीवन भोगाईका मेरा तिता मिठा सारहरु लिएर म आउने छु ।


म स्नेह, स्नेहको डुंङ्गा चढी मजबुद मायाको डोरी समाई यो धर्तीको एक बोझ नभई सृष्टिको सुन्दर बरदानको रुपमा म पनि आफूलाई पाउन चाहान्थे ।

सायद भगवानलाई मेरो मृत्यु सैय थिएन । म बाचे अरे त्यस्तो नाजुक अवस्थामा पनि । आमा भन्नु हुन्छ – छोरीको जन्म हारेको कर्म । जब आज म यी कुराहरु बुझ्ने भए तब लाग्न थाल्यो समयले मानिसलाई त्यही सिकाउँछ जसले भोग्नु पर्ने हुन्छ । म बचे । धेरै समयपछि बाबा पनि घर फर्कनु भयो तर कहिल्यै ‘छोरी’ भन्ने शब्द त्यो मुखबाट म प्रति कहिल्यै भनेको सुन्नमा पाइन । समय यसरी नै वित्दै गए । घरमा गाईवस्तु थिए म दैनिक रुपमै गोठालो हिड्थे ।


गाउँ वरपरका मेरो उमेरका साथीहरु स्कूल पढ्न जाँदा आऊ भनेर मलाई पनि भन्थ्यो तर आमा सुत्केरी हुनुहुन्थ्यो । सानो उमेरमै मैले घरमा सक्दो सहयोग गर्नु पथ्र्याे । बाबा यो पाली छोरा भएकोमा दङ्ग पर्नु भएको थियो । आमालाई पनि माया गर्नु हुन्थ्यो । आमालाई मन पर्ने परिकार खुवाउनु हुन्थ्यो । एकदिन म पनि स्कूल जान्छु बुबा भनी सोध्दा प्रतिउत्तरमा तँ अर्काको घरको घर गरी खाने जात, तँलाई पढाएर आफ्नो टाउको दुखाउनु छैन भनी भन्नु भएको मलाई आजै जस्तो लाग्छ । अनपढ आमाबाबा, त्यो अन्ध परम्परा र संस्कारमा हुर्केको जीवन अन्धविश्वास र कुप्रथालाई आत्मसाथ गर्नेहरुले शिक्षाको महत्व बुझ्न कसरी सक्थे र ? म झुत्रा झाम्रा नै लगाएर भएपनि ती नाङ्गा खुट्टामा विना चप्पल नै गाईवस्तु पाखामा छाडेर गाउँकै सरकारी स्कूलमा मैले पहिलो पटक पाईला टेकेकी थिए ।


मलाई अहिले पनि याद छ सावित्री मिसले माया गरी नानी तिम्रो नाम के हो ? भनी सोध्नु भएको । जिङ्रिङ्ग परेको कपाल, मैला ती घाऊचोट लागेका मेरा हातखुट्टाहरु, टालेको कपडा मेरो स्कूल पोसाक थियो । मलाई एउटा कापी र कलम पनि दिइयो र पहिलो पटक यति धेरै माया र स्नेहरुपी ममता पाएर म पनि दङ्ग थिए । मिसले मेरो कपाल कारिदिनु भयो र हातखुट्टा पनि धुनुपर्छ है भनी धुन लगाउनु भयो । स्कूलमा रहँदा गाईवस्तुको याद भएन जब स्कूल छुट्टी भयो मलाई चिन्ता भयो र कुदेर आइपुगे ।


गाईबाख्रा सबै कोदोबारीमा गएर घरमा बाबाले ल्याउनु भएछ । त्यो दिन मैले नराम्ररीसँग पिटाई खाएँ । सायद त्यो पिटाईको सट्टा आशिर्वाद दिनु भएको भए, मलाई स्कूल पढाउनु भएको भए म पनि पढ्न पाउथे । त्यसपछि मेरो स्कूल जाने चाहा मात्र चाहामा मात्रै सीमित भयो । म सँग पढ्ने मेरा साथीहरु स्कूलबाट आउँथे । म गाईवस्तु घर फर्काइ पानी लिन जाने निहुमा साथीबाट पढ्न लेख्न सिक्थे । क, ख, ग, घ अनि ब्, द्य, ऋ, म् सँगसँगै शब्दहरु लेख्न र पढ्न सिकें । घरमा मात्र बाबाको कुरा नै सही हुन्थ्यो । उहाँको छोरा माथि छोराको चाहाना आमाले पुरा गर्नै पथ्र्यो । भगवानले पनि फेरी अर्को सन्तान छोरा नै दिनु भयो । म छोरी घरको काम अरे छोरा चाही बोर्डिङ्ग स्कूल अरे । दुबै भाईहरु बोर्डिङ्ग स्कूल गए अनि म धाँस, दाउरा अनि गोठ र पधेरी धाउन्थे । तर पनि यी सबै काम भ्याएर म पढ्न भनी साथी मिना कहाँ कुदिहाल्थे । विस्तारै म पढ्न र लेख्न सक्ने भए । साथीले मलाई किताब पनि दिन्थ्यो । घरमा भाईहरुकै किताब पनि म लुकीलुकी पढ्थे ।


केही समयपछि मेरो ठूलोबाबा विदेशबाट घर फर्कनु भयो । उहाँहरु सहरमा बस्नुहुन्थ्यो । मैले ठूलोबाबालाई म पनि हजुरसँगै सहर जान्छु भने । खै के सोचेर हो बाबाले सहजै जा भनेर भन्नु भयो । जिन्दगीमा बाबाले पहिलो चोटी मेरो लागि केही गुण गरेको जस्तो आभाष भयो । ठूलो बुबाले मलाई आफूसँगै लानुभयो । म बिहान बेलुकी ठूलीआमालाई सघाउँथे अनि दिउसो भने स्कूल पढ्न जान्थे ।


स्कूल पढ्ने मेरो सपना साकार हुँदा म निक्कै खुशी थिए र राम्ररी पढ्न थाले । पढ्न थालेपछि कहिले असफल भइन सधै प्रथम नै भए । साहित्यमा असाध्यै रुची थियो । म कथा, कविता पनि लेख्थे । एक दिन कक्षामा कविता सुनाएकी थिए । सबै साथीहरु वा–वा गर्दै थिए अनि मिसले पनि स्याबासी दिनुभयो । मेरो आँखाहरु रसाउन थाल्यो, अनवरत रुपमा आशु बग्न थाल्यो । सायद यती धेरै माया मैले कतैबाट कहिल्यै पाएकी थिइन ।
कक्षा १० को अन्तिम परीक्षा आउँदै थियो । उता गाउँबाट आमा निक्कै विरामी भएको खबर आयो । बाबाले फेरी आमालाई दुःख दिनु भएको र कुटपिट गर्ने गरेको कुरा थाहाँ पाएँ । म आँतिदै र हतासिँदै घर पुगेँ । आमा ओछ्यानमा पल्टिरहनु भएको थियो । साना ती भाईहरु आमाको नजिक बसेर रोइरहेका थिए । बाबा र आमाको झगडा भएको रहेछ । सामान्य परिवार, छोराहरुको पढाई खर्च, घर व्यवहार त्यसमाथी जाड रक्सीको सौकिन मेरा बाबालाई के भएछ कुन्नी अर्की श्रीमति लिएर गए रे भन्ने सुन्नमा आए ।


यस्तै हो जिवन कहिले हाँसो त कहिले रोदन । आमाले हिम्मत हार्नु भएन तर आमा दमको रोगी । बाबाले दिनु भएको पीडालाई कसरी बिर्सने । अब भाईहरुको पढाई खर्च, घर व्यवहार चलाउने खर्च, खेतीपाती अनि गाईवस्तुको हेरचाह जीवन अझै कठीन हुदै गए । जेनतेन आमालाई सम्झाएर मैले एस.एल.सी. परीक्षा दिने वित्तिकै घर फर्कन्छु भन्दै म सहर तिर आएँ । परीक्षा पनि सकियो । परीक्षाको अन्तिम दिन घर फर्के । घर फर्कदा आमा फेरी विरामी भई सुतिरहनु भएको थियो । चिसो र बढी कामको चापले गर्दा थला परेको रहेछ । उता हजुरबाले पनि वास्तै गर्नु भएन छ । म विहानै मामाघर गएर केही सय पैसा मागेर आमालाई जचाएँ । बोर्डिङ्गबाट भाईहरु अब सरकारी स्कूलमा सरियो । आमा दिनप्रतिदिन व्यथाले थलिन थाल्नु भयो ।
साथीहरु सदरमुकाम गएर यो विषय पढ्ने, यस्तो गर्ने, त्यस्तो गर्ने भन्ने कुराहरु सुनाउँथे तर नियतीले मलाई कहिल्यै आफ्नो मनमानी गर्ने बाटो देखाएन । घरखेत, वस्तुभाउ चराउनु अनि मेलापातबाट म आफ्नो घरको लागि खाना र आवश्यकताहरु पुरा गर्थे ।


एकदिन मिना कराउँदै आइन् र भन्न थालिन । एस.एल.सी. परीक्षाको नतिजा आएछ, हेरिस् भन्दै कराइन । पल्ला घरे काकाकोमा गएर ठूलाबाबालाई फोन गरी सोधे । म त प्रथम श्रेणीमा पास भइछु । ठूलाबाबाले अब के गर्छेस् – पढ्छौ कि पढ्दिनौ भन्नु भयो । मैले कसरी पढ्ने ? यता आमाको र भाईहरुको रेखदेख गर्ने कसले ? गाउँमा पनि क्याम्पस त छ तर पढ्न पैसा छैन भने । ठूलाबाबा पनि त स्वार्थी नै थिए । पहिले पो बिहान बेलुकी काम सघाउँथे र त पढ्न सरकारी मै भएपनि पढाउनु भयो । केही बोल्नु भएन, मैले पनि ल त ठूलाबाबा राखिदिन्छु भनी फोन काटिदिए ।


रातभरी मनमा एकप्रकारको हलचल भैरह्यो । ती अध्यारा कोठाका भित्ताहरुमा आफ्ना सपनाका मीठा झलकहरु बुनिरहेँ जून साकार गर्ने ममा कुनै साधन थिएन । जूनका किरणहरु ती भित्तामा एकपछि अर्को स्थान चुम्दै हराए तर म निदाउन सकिन । सबै बलेको आगो मात्रै ताप्छन् मैले हिम्मत हार्नु हुँदैन । जीवनको अर्को नाम संघर्ष हो । मैले अझ संघर्ष गर्नु पर्छ । जीवनपथमा अगाडी बढ्नु पर्छ । सुख दुःख जीवनका सहयात्री हुन् र यसको अर्को नाम नै जिन्दगी हो । मानिसहरु संसारमा त्यसै सफल भएका छैनन् कति कति चोट खाएर त मानिसहरु आत्तिएका छैनन् भने मैले हार मान्नु हुन्न भनी त्यो दिन आफ्नो मनलाई सम्झाए र संघर्षको पाइलाहरु चाल्ने संकल्पमा पुगेँ ।


News Tokha times

nentravel

सम्बन्धित समाचारसाहित्य

कमेन्ट