साहित्य

कथाः मालाहरु रोइरहेछन्

कथाः मालाहरु रोइरहेछन्

दशैंको विदाइसँगै तिहारको चहलपहल सुरु भयो । समय आफ्नै रफ्तारमा चलिरहेको थियो । दिलासाले पनि यसपालीको तिहार अविस्मरणीय बनाउने उत्साह मनमन्दिरमा सजाएकी थिइन् । उनका दाजु भाउजु सहरमा बस्थे । उनले चानचुने खुद्रा पैसा जम्मा गरेर भाइटिकाको पूर्वसन्ध्यामा सप्तरङ्गी टिका, मसलाका पोकाहरु, फलफूल, ओखर, कहिले नओइलाउने मखमली फूलको माला आदि किनेर ल्याइन् । सञ्चारका माध्यमबाट टिकाको शुभ साइत थाहाँ पाइन् । सहरबासी आफ्नो दाइलाई टिका र माला पहि¥याइदिन गाउँबाट आइन् । दाजु तास खेल्न गएको थियो । उनी दाजुपूजा गर्न बसेकी थिइन् ।

दिलासाले दाईलाई बोलाउन भदाहालाई पठाइन् । दिलम्बर ढिलो घर फर्कियो । उनले दाईलाई नमस्कार गरेर टिका ग्रहणको लागि तयारी अवस्थामा बस्न आग्रह गरिन् । दाईले मुन्टो बटार्यो । उसले आफ्नो धर्म परिवर्तन गरी नयाँ धर्ममा प्रवेश गरेको कुरा बतायो । पार्टी परिवर्तन जस्तै यस्तो धर्म परिवर्तन गरेको अचानक सुन्दा दिलासा दिउँसै तारा देख्न थालिन् । उनलाई यो कुरा पत्याउन गाह्रो भयो । भाउजुले उनलाई अर्कै धर्म अँगालेको कुरा भनेपछी मात्र थाहाँ पाइन् । दाईले त आफ्नो प्राणभन्दा प्यारो पहिचान विदेशीको मिथ्या प्रलोभन र भ्रममा परेर बेचिदिएछन् । नाम पनि परिवर्तन गरेको रहेछन् । उनलाई यी सबै कुराहरु चलचित्रका घटना जस्तै लाग्न थाल्यो । दिलासा छाँगाबाट खसिन् । उनले सपनामा पनि सोचेकी थिइनन् कि आफ्नो दाजुले पुर्खौंपुर्खादेखि मान्र्दै आएको धर्म, सँस्कृति र संस्कारको एकाएक हत्या गर्दछन् भनेर । उनको हृदय भक्कानिएर आयो । उनको जोर नयनबाट अनायासै बलिन्द्र आँसुका थोपाहरु तप्पतप्प खस्न थाले । सलको सरकोले आँसु पुस्दै अतीतका भाइटिकालाई सम्झिन् । आमा छँदा आफूलाई माला उन्न सिकाउनु भएको, दाईको वरिपरी घुमेर दीर्घायुको कामना गरेको, दैलोमा ओखर फुटाउन लगाउनु भएको, मसला, सेलरोटी अनि फलफूल दाईलाई सगुन दिन ल्याउनु भएको । त्यसै गरी दाई पनि सानै भएकोले पैंतालीस रुपियाँ दाईमार्फत मलाई दक्षिणा दिन लगाउनु भएको इत्यादि । यी सबै विगतका सम्झ्नाका पलहरु उनको मानसपटलमा ताजा वर्तमान बनेर सल्बलायो ।

आमाले सानैदेखि सिकाउनु भएको संस्कार भावुक हुँदै सम्झन थालिन् । दिलासाले आँखा चिम्लिएर आफ्नो परम्परागत धर्म, संस्कृति र संस्कारलाई पुनः स्मरण गर्न थालिन् । उनको मन मस्तिष्कमा स्वर्गीय आमाको झझल्को जीवन्त बनेर आउन थाल्यो । उनलाई एउटै आमाको कोखबाट जन्मिएका दाईको पहिचानघाती, कुलद्रोही र धर्मघाती कुकर्म देखेर घृणा पैदा हुन थाल्यो । उनले भाईटीकाको दिन हात खाली राख्नु हुँदैन भन्ने सोचेर एकजना गाउँले दाईलाई टीका लगाईदिने अठोट गरिन् । उनले दाजु भाउजु दुबैलाई विदा मागिन् । दाजु भाउजुले टाउको हल्लाएर सानो स्वरमा के भने कुन्नि उनले बुझिनन् । भाईटीकाको पवित्र दिनमा एउटी चेलीले विदा माग्दा पनि ती दुबै दम्पतिले आज यतै बससम्म भनेनन् । उनले मनमनै प्रश्न गरिन, “विदेशी धर्मको प्रभावमा परेर आफ्नै परिवारभित्र पनि बेमेल, विचलन र बेचैनी किन हुन्छ ?”

दिलासा भारी मन लिएर गाउँले बलनाथ दाईलाई टिका लगाईदिने सोच बनाएर अगाडि बढिन् । बाटो सोध्दै बल्ल तल्ल घर पत्ता लागईन् । त्यहाँ पुग्दा साना नानी–बाबुहरु भाईटिका कार्यक्रम समापन गरेर खानेकुराहरु खाइरहेका देखिन्थे । उनले बलदाईलाई बोलाउन सानी नानीलाई पठाइन् । भाउजु सेलरोटी खाँदै बाहिर निस्किइन् । उनले दिलासालाई देख्ने बित्तिकै भित्र बोलाइन् । उनी भाउजुसँग भित्र गएर बुझ्दा त बलनाथ दाई टिका लगाउन सानीमाको छोरीको घरमा गएका रहेछन् । उनलाई त्यहाँ खाना खाने सम्बन्धमा साधियो उनले त्यहाँबाट बसपार्क जाने निधो गरिन् । उललाई त्यहाँ बस्नको लागि पनि अनुरोध गरियो । उनलाई खाली हात बस्न पटक्कै मन लागेन । उनी त्यस घरबाट विदा मागेर बाहिरिइन् । उनी हिँडेरै बसपार्कम गाडी पर्खेर बसिन् । केही क्षणपश्चात् माकक्रो भरिएर आयो । उनले हात उठाउनु परेन । माइक्रो ठीक ठाउँमा रोक्यो । उनी ढोकाभित्र प्रवेश गरिन् । महिला सिटमा पुरुष बसेको देखिन् । उनको मनभित्र पीडाका आँधीबेहरी चलिरहेको हुनाले महिला सिट हो भनेर दावी गर्न चाहिनन् । उनले उभ्भिएर भए पनि भोको पेट लिएर आफ्नो गन्तव्यतर्फ यात्रा गरिरहिन् गरिरहिन् ।


nentravel

सम्बन्धित समाचारसाहित्य

कमेन्ट