देश

अब यस्तो बन्नेछ बौडेश्वर झरना क्षेत्र (भिडियो सहित)

अब यस्तो बन्नेछ बौडेश्वर झरना क्षेत्र (भिडियो सहित)

काठमाडौँ — पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित टोखा नगरपालिकाले बौडेश्वर झरनाको गुरुयोजना तयार गरेको छ । पारागन कन्सल्टेन्सीसँगको सहकार्यमा उक्त गुरुयोजना तयार गरिएको र यसैका आधारमा आगामी ७ वर्षभित्र योजनालाई साकार रूप दिने तयारी रहेको मेयर प्रकाश अधिकारीले बताए ।

शनिबार एक कार्यक्रमका बीच राजधानीका स्थानीय तह र सरोकारवालाबीच २५ करोड रुपैयाँ लागतको उक्त गुरुयोजना सार्वजनिक गरेको हो । धार्मिक र प्राकृतिक हिसाबले पनि महत्त्वपूर्ण वडा नं. १ झोरस्थित वरुणेश्वर महादेवसँगैको बौडेश्वर झरनाको प्राकृतिक स्वरूप नबिगारी पार्क, लगायतका संरचना बनाइने गुरुयोजनामा उल्लेख छ ।

चक्रपथमा पर्ने सामाखुसीबाट झन्डै १० किलोमिटर पर पर्ने झोरमा पत्थरको पहाडका बीचबाट झर्ने झरना पर्यटकीय आकर्षणको केन्द्र हो भने गुफाभित्र वरुणेश्वर महादेवको मन्दिर छ । त्यहाँको मुख्य झरना क्षेत्रमा रहेको पत्थरमा शिवको मूर्ति कुँद्ने योजना छ । असोजपछि झरनामा पानी विस्तारै कम हुने भएकाले केही माथि बाँध तयार गरी त्यहाँ पानी जम्मा गर्ने र त्यसैलाई सुक्खा मौसममा झार्ने तयारी छ ।

झरनाको पश्चिमी भागमा पिकनिक स्पट रहनेछ । पार्क, चौर र रक क्लाइम्बिङको पनि सम्भावना राम्रो रहेको इञ्जिनियर नारायण रिजाल बताउँछन् । उनले भने, ‘भूबनोट जोगाउने गरी संरचना बनाइनेछ । त्यो क्षेत्रमा ठूला पत्थर भएकाले रक गार्डेन बनाए त्यो आकर्षणको केन्द्र बन्न सक्छ ।’

त्यसैगरी पूर्वतर्फ पनि पार्क बनाइनेछ । बालबालिकाका लागि खेल्ने क्षेत्र, चौर, पिङ तथा अन्य संरचना, बस्ने, खेल्ने ठाउँ पनि बनाइनेछन् । त्यसैगरी पदमार्गका लागि पनि प्रस्ताव गरिएको छ । योजना निर्माणमा संलग्न आर्किटेक्ट अष्ट श्रेष्ठका अनुसार झन्डै साढे १३ किमि पदमार्ग निर्माण गरिनेछ ।

‘चण्डेश्वरीदेखि टोखाको झरना हुँदै तारकेश्वर नगरपालिका पुग्ने यो पदमार्ग माथिको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको फेद हुँदै जान्छ,’ श्रेष्ठले भने, ‘यहाँ तामाङ समुदायको बसोबास रहेको क्षेत्र नजिकबाट अध्ययन गर्न सकिन्छ भने मनोरम वातावरणको आनन्द लिन सकिन्छ ।’

अर्थ अभावका कारण तत्कालका लागि उक्त क्षेत्रमा बालबालिकाको पार्क मात्र थालिने मेयर अधिकारीले बताए । उनले भने, ‘३ करोड रुपैयाँ लाग्ने देखिएको छ । त्यसका लागि महानगरपालिकाले १ करोड रुपैयाँ सहयोग गर्ने भएकाले अन्य रकम कतैबाट सहयोग लिएर काम थाल्नेछौं ।’

कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरका तर्फबाट योजनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले पार्कभित्र कफी सप, खाने स्थानका साथै संरचनाहरू संस्कृति झल्काउने किसिमको हुनुपर्ने सुझाव दिए । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले स्रोतसाधनको सीमितताका बावजुद योजना ल्याउनु सराहनीय कदम भएको भन्दै यसको कार्यान्वयनमा आफूले सक्दो सहयोग गर्ने बताए ।


News Tokha times

nentravel

कमेन्ट