देश

केरुङ-काठमाडौं रेलमार्ग टोखा क्षेत्रबाट प्रवेश गर्ने

केरुङ-काठमाडौं  रेलमार्ग टोखा क्षेत्रबाट प्रवेश गर्ने

९ जेठ, काठमाडौं । चीनले केरूङ-काठमाडौं रेलमार्गको सम्भाव्यताको अध्ययन थालेको छ। रेलमार्गको अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारी सोमबार काठमाडौं आएका थिए।

रेलवे विभागसँग समन्वय गरी उनीहरूले मंगलबारदेखि काम सुरु गरेका छन्। ‘अध्ययन गर्न केरूङसम्म पुग्छौं, आज ठाउँ-ठाउँमा अध्ययन गर्दैछौं,’ अध्ययन टोली सहभागी विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले भने।

नेपाल र चीनका अधिकारीबीच वैशाख दोस्रो साता बेङजिङमा यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो।

चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरेको थियो।

‘अध्ययनको सबै खर्च चिनियाँ पक्षले नै ब्यहोर्छ,’ उपाध्यायले भने, ‘अगस्ट (भदौ १५)सम्ममा कम्पनीले प्रतिवेदन दिनेछ,’ उपाध्यायले भने।

रेल विभागका एक अधिकारीले सुरुमा आउने प्रतिवेदनले केरुङ-काठमाडौं रेलमार्ग बनाउन कसरी काम सुरु गर्ने भन्ने मार्गनिर्देश गर्ने बताए । यसले भौगोलिक कठिनाइहरु पनि पत्ता लगाउनेछ भने सम्भावित स्टेशनहरु पनि खोज्नेछ ।

रेलललाई काठमाडौंमा कुन क्षेत्रबाट गुडाउने भन्ने विषय पनि यही प्रतिवेदनमा समावेश हुनेछ । सम्भवतः केरुङ-काठमाडौं रेलमार्ग काठमाडौंको टोखा क्षेत्रबाट प्रवेश गर्ने रेल विभागका एक अधिकारीले बताए । तर, अन्य क्षेत्रबारे पनि अध्ययन भइरहेकाले अहिले नै कहाँबाट रेलमार्ग बन्छ भन्ने विषय फाइनल नहुने उनको भनाइ छ ।

यो अध्ययनका लागि आवश्यक खर्च चिनियाँ पक्षले नै ब्यहोरेको छ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माण अघि बढाउने उल्लेख गरेको छ ।


nentravel

कमेन्ट