देश

हिक्मतको 'प्रारम्भ' छिट्टै आउदै

हिक्मतको 'प्रारम्भ' छिट्टै आउदै

न्युुुज अफ टोखा । पत्रकार तथा साहित्यका हिक्मत डंगोलको नयाँ कथासंग्रह बजारमा आउने तयारीमा रहेको छ । पाश्चात्य देश युरोप र अमेरिकाका प्रसिद्ध लेखकहरूका कथालाई नेपाली भाषामा अनुवाद गरिएको संग्रह "प्रारम्भ" नामक अनुदित कथासंग्रह छिट्टै नै बजारमा आउने तयारीमा रहेको लेखक हिक्मत डंगोल बताउनु हुन्छ ।

विदेशी कथाको अनुवाद किन - भन्ने प्रश्नमा डंगोल भन्छन्,-"उनाइसौ शताब्दीमा पाश्चात्य देशहरूका लेखकहरूले गरेको साहित्यिक विकास आधुनिक साहित्यमा यथार्थवादको नामले परिचित छ । साहित्यमा भएको यही नवीन विचारलाई नेपाली साहित्यप्रेमी पाठकहरूको माझ ल्याउनका लागि मैले यो युरोप र अमेरिकाका प्रसिद्ध लेखकहरूका कथालाई अनुवाद गरेको हुँ ।"

उनका अनुसार, यथार्थवादले मानिसहरूको जीवनमा घटेका र घट्न सक्ने सुखदुःखका यथार्थहरू चित्रण गर्ने गर्दछ । यसले मानिसको हरेक सुन्दर जीवनलाई अत्यन्त सूक्ष्म मानवीय पक्षहरू जस्तै आशा, निराशा, सुखदुःख र गुण दोषका पक्षहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको हुन्छ । तर्सथ विश्व साहित्यमा यस नव यथार्थवादलाई बुझ्नको लागि विदेशी साहित्यको अध्ययन गर्नैपर्छ । मोती समुन्द्रको गहिराइमा पाइन्छ । जसरी मोती खोज्न समुन्द्रमा डुबुल्की मार्नैपर्छ, त्यसरी विदेशी साहित्यको नव यथार्थवाद बुझेपछि मात्र हाम्रो मनमस्तिष्कमा नवीन सोच पलाउनेछ ।

कथा संग्रह प्रारम्भमा समेतिएका कथाहरुका बारेमा उनी भन्छन्,-"यी विदेशी कथाहरू अङ्ग्रेजीमा लेखिएकोले सबै पाठकहरूलाई रसास्वादन गर्न गाह्रो हुन्छ । फेरि विश्व प्रसिद्ध कथाहरूलाई आफ्नो मातृभाषामा अनुवाद गर्नु निकै जटिल काम हो । मैलै अनुवाद गर्दा सकभर भावानुवाद गर्ने प्रयास गरेको छु । यो अनुवादबाट नेपाली पाठकहरूले मूल कृतिको मर्म नेपाली भाषामै जादुमयी आस्वादन गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु । यी विदेशी कथा मूलग्रन्थबाटै अनुवाद गरेको छु । यी कथाहरू पढ्दा हामी आफैले आफैलाई बिर्सिएर कथाकारले बयान गरेको ठाउँसम्म पुग्छौँ । अनि जादुमयी प्रस्तुतिले हामी मन्त्रमुग्ध हुन्छौँ । विदेशी कथाहरूको यो सङ्ग्रहले नेपाली पाठकहरूलाई केही नवीन शिक्षा एवम् उत्प्रेरणा दिन सक्नेछ भन्ने मैले आशा गरेको छु ।"

लामो समयदेखि अमेरिकाको मेरिल्यान्डमा बस्दै आइरहेका डंगोलको यस भन्दा पहिले "प्रारम्भ" कथासंग्रह भाग १ प्रकाशित भईसकेको छ , भने यो उनको दोस्रो कथासंग्रह हो ।


News Tokha times

nentravel

कमेन्ट