देश

पाहाँ चर्‍हे जात्रा सम्पन्न

पाहाँ चर्‍हे जात्रा सम्पन्न

काठमाडौं आईतवार, चैत ४, २०७४। आज पारु अर्थात् प्रतिपदा पाहाँ चर्‍हे जात्रा विधिवत रुपमा सम्पन्न भएको छ । आज विहान थनेलाछिमा अजिमाद्यः र सपनविनायको खटलाई विशेषा सिन्दुर जात्राकासाथ द्यः ल्वाका (ढोगाई) मनाएसँगै जात्रा सम्पन्न भएको हो ।

हिजो विशेष जात्राका साथ ताहालय् र नासलमा राखिएको अजिमाद्य र सपनविनायको खटलाई विभिन्न बाँसुरी र बाजा खलःको सहभागितामा साँगीतिकमय वातावरणमा सपना विनायकको जात्रा अगाडि बढाई थनेलाछिमा रहेको न्याः प्वा ल्वहं (पाँच प्वाल भएको चक्रढुङ्गा) मा ल्याएर अजिमाद्यः र सपनाविनायक दुवै खटको भेट गराइन्छ । यस न्याः प्वा ल्वहलाई आमा र छोराको सीमाना क्षेत्रको रुपमा मानिन्छ । सपनविनाय मन्दिर खलकले अजिमा द्यः को विशेष पूजा गरिन्छ । पूजा लगतै सपनविनायक (छोरा)ले अजिमा द्यः (आमा)लाई ढोगेको प्रतीक सपनविनायको खटले अजिमाद्यःको खटलाई ढोगाइन्छ । तीन पटक ढोगेपछि आमा छोरा मिलि यँसि (लिङ्गेश्वर महादेव) पितालाई ढोगाइन्छ र त्यस पश्चात् आ-आफ्नो मन्दिर घरमा लगिन्छ । यँसि गुठिले यँसिमा राखिएको हलपता निकालेर जात्राको सम्मापन भएको घोषणा गरिन्छ । यस प्रकार बिहानभरिमा जात्रा समाप्त गरिन्छ । तर यँसि भने बैशाख १-४ गते सम्म मनाईने विस्काः जात्रा सकिसके पश्चात् बैशाख ५ गते विहान मात्र यँसि खलक र जनसमूदायको सहभागितामा ढालिन्छ ।

पाहाँ चर्‍हे जात्रा टोखाको पुरातन् अर्थात सदियौंदेखि चलिआएको पुरानो मूल बिस्का नखः (जात्रा) हो । बैशाख १-४ गतेसम्म मनाईने बिस्का नखः पछिमात्र मनाउन थालेको जानकारहरु बताउछन् । जेहोस टोखाको मौलिक पुरानो बिस्का जात्राको रुपमा निरन्तर रुपा हर्षोल्हासका साथ पाहाँ चर्‍हे मनाईदै आईरहेको छ ।

यसरी हेर्दा टोखामा मनाइने यस जात्रालाई आमा बुबा र छोराको ममता र प्रेमभावनाले भरिएको पर्वको रुपमा लिन सकिन्छ । यस पर्व अर्थात जात्राले समाजमा छोराछोरीहरुले आफ्ना आमा बुबालाई सम्मान गर्नुपर्छ । परिवारमा माया ममता र समाझदारी कायम गर्न सके सबैको भलो हुने शुभ सन्देश दिन खोजिएको देखिन्छ ।

 


News Tokha times

कमेन्ट