विचार / दृष्टिकोण

बामएकताले बिर्सन खोजेका वजनदार पात्र !!

बामएकताले बिर्सन खोजेका वजनदार पात्र !!

बाबुलाल भण्डारी, पुराना संघर्षशील बाम नेता , वरिष्ठ पत्रकार र कुटनीतीज्ञ का. कमल कोइरालाको अस्तिको अभिव्यक्तिले झस्कायो " नेकपा माले र नेकपा मार्क्सवादी एकीकरण पछि चुनाव आयोगमा नेकपा एमाले पार्टी दर्ता गर्न म आफै गएको थिएं । आज एमाले र माओवादी केन्द्रको पार्टी एकता पछि नेकपा दर्ताको लागि साथीहरु चुनाव आयोगमा जांदैछन् ; म भने घरमै छु ।"वहाँका शब्द मोटामोटी यिनै हुन् ।


पार्टीहरु र नेतृत्वका कथनी र करनीबारे जनताको तहमा तमाम आशंका र अविश्वास हुंदा हुँदै पनि मुलुकमा एउटै कम्युनिष्ट केन्द्र हुनुपर्छ भन्ने विगत ७० वर्ष देखि सपना देख्ने सबै बाम प्रगतिशील तप्काले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको हिजो सम्पन्न पार्टी एकताको निम्ति दिलो ज्यानले माहोल बनाउने काम गरे र यसमा उर्जा थपे । कारण जगजाहेर छ । कम्युनिष्ट घोषणापत्रको एक ठाउँमा मार्क्स र एङ्गेल्सले मजदुर किसानहरुका समानान्तर कम्युनिष्ट पार्टी गठन हुने छैनन् भनेर स्पष्ट गरे पनि नेपालमा थोरै बोंशो लाग्दा बित्तिकै शिर्ष नेता हुनै पर्ने महत्वाकांक्षा र कारण/अकारण पार्टी फुटाइहाल्ने चरीत्रले गर्दा विगतमा ६ दर्जनको हाराहारीका कम्युनिष्ट नामका पार्टीको अस्तित्व र उपस्थिति भोग्न हामी विवस थियौं । परिणामत: बाम आन्दोलन कमजोर भयो , प्रतिकृयावादी शक्ति सधै निर्णायक स्थितिमा रहे र मुलुक र जनताको हुनुसम्म दुर्गती भयो । देशभक्त प्रगतिशील जनताको तहमा यसैले पनि बाम एकता एउटा मृगतृष्णा जस्तो बन्यो । आज यस्तो चीर प्रतिक्षित एकता सम्पन्न भए पछि एकीकृत पार्टीले इमानदार भई ठूलो छाति बनाएर पहल लिने हो र साना पार्टीहरुले पनि संकिर्णता त्यागेर समयोचित तवरले रिसिप्रोकेट गर्ने हो भने अब " सबै बाम एक ठाम" को सपना सार्थक हुने दिशामा अवश्य अनुकूलता थपिएको छ ।

का. कमल कोइरालाको माथिको पिडाजनित अभिव्यक्तिका धेरै आयामहरु छन् । हिजो क. मनमोहन र क. सहाना प्रधान संगै कमल कोइराला, भरत मोहन अधिकारी ,गोविन्द ज्ञवाली र अरु पनि थुप्रै नेता कमरेडहरु माले मार्क्सवादी एकताको शुत्रधार थिए । मनमोहन जी र सहाना जी वाहेक त्यो नेतृत्व पंक्ति अहिले पनि नीजी जीवन, लेखन र राजनीतिमा सक्रिय छ । तर यस पटक एकता प्रकृयामा वहाँहरुलाई सम्झने सम्म प्रयत्न भएन । माओवादी धारमा पनि यस्तो ज्येष्ठ र अनुभवी नेतृत्व पंक्ति होला तर एक प्रकारले दुबै तर्फका यस्ता मूल्यवान अनुभवको उपेक्षा जस्तै भयो । कमसे कम इतिहास बोक्ने यस्ता ज्येष्ठ र अनुभवले खारिएका कमरेडहरुलाई सल्लाहकार वा स्थायी आमन्त्रितको हैसियतमा मात्र राख्दा पनि सम्मान हुन सक्दो हो ।


उता हालैको नेकपाको नवगठित केन्द्रीय कमिटी संरचनाले निश्चित रुपमा दुबै तर्फ प्रसस्त असन्तुष्टीलाई सतहमा ल्याएको छ ।आकांक्षी धेरै भएकोले गुनासा हुनु त्यति अस्वाभाविक होइन र सबैलाई समेट्न सायद संभव थिएन पनि होला । तर कहीं कहीं योग्यता, इमानदारीता , निरन्तरता र योगदानको इतिहासलाई पुरै इन्कार गर्न खोजेको देखिन्छ , जो नाइन्साफी हो ।


यस्तै एउटा ओझेलका पात्र बनेका छन् , का. लोक कृष्ण भट्टराइ । कतिपयले उनलाई दरबारमा आयल निगमबाट नियमित रुपमा पुर्‍याइने थैली भेटको रकमलाई सार्वजनिक गरिदिएर दरबारको कोपभाजन मोल्न नडराउने निर्भिक नेताको रुपमा चिन्दछन् । खासमा उनी नेकपाका संस्थापक पुष्पलालका सहयोद्धा र सबै सजिलो अप्ठ्यारो परिस्थितिमा पुष्पलालजीको साथमा रहेर संघर्ष गरेका निष्ठावान पुराना बाम नेता हुन् । आजको विडम्वना यही हो कि क. पुष्पलाललाई हिजो गद्धार , संशोधनवादी र उनको संयुक्त जनआन्दोलनको कार्यनीतिलाई लिएर उनलाई कांग्रेसको पुच्छर भनेर जेहाद आक्रमण गर्ने व्यक्ति र प्रवृत्ति नै आज उनै पुष्पलाललाई ट्रेडमार्क बनाएर गर्व गर्दैछ्न् । पुष्पलालका जीवन पर्यन्तका अनुयायीहरु लाखापाखा भएको अवस्था छ । भूमिगत अवस्थाबाट सार्वजनिक भएको लगत्तै जसो बिराटनगरमा मदन भण्डारी कामरेडले अरु बामलाई धरहराबाट नियाल्नु पर्छ भन्ने अभिमान बोल्दा र स्वयं मनमोहन जी र सहानाजीले माले विश्वसनीय शक्ति होइन , संगै जान सकिन्न भन्दा भन्दै पनि विमतिहरुमा सहजिकरण गरी पटक पटक भेटवार्ता छलफल र दुबैतर्फ विश्वासको वातावरण बनाउंदै अत्यन्त कुशलता पूर्वक अन्तत: पार्टी एकतासम्ममा उतार्न क्याटलिष्टको भूमिका निभाउने गिनेचुने नेता भित्र पर्छन् क. लोक कृष्ण भट्टराई । तर जुन मनोगत र बस्तुगत परिस्थितिमा माले मार्क्सवादी एकीकरण भयो , यसले पूर्व मालेलाई एमालेको नाममा अन्तर्राष्ट्रिय पहिचान दिलायो तर पूर्व मार्क्सवादीका एकाध शिर्ष नेतालाई औपचारिक नेतृत्वमा थपना गरे पनि सारा मार्क्सवादी नेता कार्यकर्तालाई संगठित रुपमा दरकिनार गर्दै नियतबश: पलायन र विस्मृती तर्फ धकेलिन बाध्य गरियो । फलत: मार्क्सवादीहरुको सांगठनिक धरातल त सिद्धियो नै प्रकारान्तरले उनीहरुको पुंजीको रुपमा रहेको पुष्पलालको बिराशत पनि अपहरणमा पर्‍यो ।


यस्तो नियोजित असहजतामा पनि एमाले भित्र इमानदारीता, सकृयता र निरन्तरतामा रहेर एमालेलाई वैचारिक र बौद्धिक आयाम दिने सिमित व्यक्ति भित्र पर्छन् उनी । सायद चाप्लुसी , खुशामदी, स्तुतिगान र गुटनिर्माणको अरुचि नै उनी र पूर्व मार्क्सवादी तर्फका सबैको आम कमजोरी थियो ।


धेरैलाई थाह छैन, का. भट्टराई २०४६ सालको जन आन्दोलनमा सर्वमान्य नेता गणेशमान जी र मदन भण्डारी एबं जीवराज आश्रीत कामरेड बीचमा संयुक्त जन आन्दोलनको पृष्ठभुमि तयार गर्न स्व. का. देव नारायण महर्जनको घर सामाखुशीमा भेटघाट र वार्ताको संयोजन गर्ने र का. मोहन विक्रम सम्मलाई गोरखपुर देखि बोकेर ल्याई बाम मोर्चा गठनमा अग्रसरता लिने प्रमुख शुत्रधार पनि हुन् । उनी माओवादी जनयुद्धकालको अन्ततिर का. प्रचण्ड र गिरिजा प्रसाद कोइरालाको बीच संपर्क शुत्र बनेको कारणले २१ दिन सम्म आंखामा पट्टि बांधेर निर्घात यातना दिइएका र पटक पट गरी ८ वर्ष जेल जीवन बिताएका बाम नेता हुन् । गतवर्ष पुष्पलाल स्मृति दिवशको अवसरमा एमाले पेशागत महासंघको कार्यक्रममा हालै सम्पन्न एमाले माके पार्टी एकता हुनै पर्छ भन्ने पहिलो आवाज बुलन्द गर्दै कार्यपत्र पेश गर्ने व्यक्ति उनै थिए । त्यस यता एकताका लागि सबै तर्फबाट माहोल बनाउन उनले आफ्नो पक्षबाट कुनै कसर छोडेनन् ।


अहिले अचम्म के भयो भने नेकपा अण्डरलाइनको ४४१ सदश्यीय केन्द्रीय कमिटिमा उनी अटाउन सकेनन् जब कि उनैबाट दिक्षित हुने पहिलो र दोश्रो पुस्ताका कैयौं नयाँ अनुहार त्यहाँ समेटिएका छन् । निरपेक्ष दृष्टिमा उनको अनुभव र योगदानको उचाई सामु अहिले केन्द्रीय समितिमा समेटिने मध्येको ठूलो संख्या सांच्चै पुड्को देखिन्छ । बरु अहिले नेतृत्वमा रहने ठूलो पंक्तिको पदबाट हटेको भोलीपल्ट पदचिन्ह खोज्दा फेला पर्ला नपर्ला तर उनी आफ्नो उज्यालो कर्मले गर्वीलो पहिचान बनाएका एउटा बेदाग, निष्कलङ्क र मार्क्सवादको गहिराइबाट विश्लेषण गर्ने क्षमताबान बौद्धिक नेता मध्येमा पर्छन् ।


यहाँनेर ओलीजी र प्रचण्डजीलाई ख्याल हुन नसकेको मुख्य कुरा के हो भने पार्टीको जम्बो केन्द्रीय समिति निर्माणमा वहाँहरुले जे जस्ता मापदण्ड अपनाउनु भयो त्यसमा लोक कृष्ण सम्मको व्यक्तित्व अट्दैन भने त्यो मापदण्ड अवश्य त्रुटीपूर्ण हुनुपर्छ । कर्मशील हुनु नै कम्युनिष्ट स्वभाव हो र उनले यसबारे कहीं कतै गुनासो गरेको पनि सुन्नमा आएको छैन । यद्यपि , इतिहास र ईतिहास निर्माताको अवमूल्यन गरेर पार्टीले गति लिन सक्दैन भन्नेमा कसैको विमती हुन सक्दैन । यस्ता सबै पक्षमा ख्याल गर्दै समयमै असन्तुष्टिहरुमा जेनुइन मर्का परेको मामिलाको सिघ्र र यथोचित व्यवस्थापन नै वृहत्तर पार्टीको हीतमा हुनेछ । यसमा विलम्ब हुनुहुन्न ।


जनताका लागि र जनताकै बीचबाट उठेको र उच्च नैतिक मूल्य कायम गर्ने भनिएका कम्युनिष्ट पार्टीबाटै राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरको आइडेण्टिटी बनेको उच्च्स्तरको बुद्धिजीवी नेतामाथि अन्याय हुनु दुखद हो । अझ भन्नु पर्दा त्यत्रो लामो सूचिमा पूर्व मार्क्सवादी पक्षका १ जना सम्म पनि समेटिन नसकेको तथ्यले सबैलाई एकफेर घोत्लिन बाध्य पार्छ ।
यो असाबधानी कि नियतको दोष वा प्रतिशोधको राजनीति ?
के यसरी नै होला "समृद्ध नेपाल र सुखी नेपाली" भन्ने लक्ष्य हासिल ?

हैन, पूर्व माले र पूर्व मार्क्सवादीको आग्रहबाट वहांहरु आज २७ वर्षसम्म मुक्त हुन सक्नु भा छैन भने आज का. प्रचण्ड र का. ओलीको द्वैध नेतृत्वबाट अहिलेका एकता यात्राका घटकमाथि परस्पर हिजो मार्क्सवादी माथिको प्रकरण नै दोहोरिने छैन र समान र सम्मानजनक व्यवहार हुनेछ भनेर त कसरी पत्याउनु र ?


News Tokha times

nentravel

कमेन्ट