विचार / दृष्टिकोण

बहस : धर्मनिरपेक्ष मुलुकको धार्मिक झण्डा !

दिनेश पन्त र प्रतीक गुरुङ

गत साउन १५ गते मार्टिन चौतारीको आइतबारे छलफलमा त्रिभुवन विश्वविद्यालय मानवशास्त्रका प्राध्यापक डम्बर चेम्जोङले नेपालको संविधान २०७२ ले कसरी पृथ्वीनारायण शाहको डिजाइन र इच्छाको “असली हिन्दुस्तान” बनाउने काम गरिरहेको छ भन्ने विद्यावारिधिको शोधपत्र बारे प्रस्तुति दिए । नेपालको संविधान र नेपाली राज्य सीमित हिन्दुहरूको कसरी बनेको छ र सीमित हिन्दुइतरका जनताको अपनत्व कसरी छैन भन्नेबारेमा प्रस्तुति केन्द्रित थियो । 

उनको शोधपत्रको निचोड नेपालको संविधानमा उल्लेखित तीन शब्द “सनातन”, “गाई” र “आर्य”ले हिन्दु “हेजिमोनी” अर्थात वर्चस्व लाद्न नियतवश प्रयोग भएको भन्ने थियो । यी तीन शब्दबाहेक नेपालको चन्द्र सूर्य अङ्कित द्वित्रिभुजीय झण्डा जसलाई नेपाली राज्य र संविधानले अङ्गीकार गरेको छ, त्यसले पनि यो देशलाई सच्चा हिन्दुस्तान बनाउने काम गरेको छ भन्ने हाम्रो ठहर रह्यो । 

डम्बर चेम्जोङको अध्ययनको दायरामा नेपालको झण्डा पर्न नगएकाले, हामीले झण्डाबारे केही खोतल्ने प्रयास गर्यौँ र हामीले हाम्रो मुलुकको झण्डा हिन्दुवादी मात्र नभई ब्राह्मणवादी पनि भएको पायाँै ।

झण्डा एक परिचय
सामान्यतया राज्य एक निश्चित सार्वभौम भूगोल, शासन व्यवस्था र त्यसभित्र पर्ने राष्ट्र वा राष्ट्रहरू बुझिन्छ । राष्ट्र अर्थात निश्चित संस्कृति, चालचलन, परम्परा र धर्म मान्ने समुदाय बुझिन्छ । राष्ट्रहरूको उत्पत्ति भएदेखि राष्ट्रलाई चिन्ह छापले चिनाउने गरिन्छ । यी चिन्हहरूलाई समाज शास्त्री इमाइल दुर्खिमको भाषामा “टोटेम” भनिन्छ । 

मान्यतया राष्ट्रको झण्डा, राष्ट्रिय गीत, जनावर, फूल, चरालाई टोटेम मानिन्छ । यी टोटेमहरू संस्कृति, सामाजिक धार्मिक विकास वा राज्यका ठूला परिवर्तन अर्थात क्रान्तिका “एस्पिरेसन” आकाङ्क्षाले जन्मिन्छन् । यी टोटेमले मुख्यतया दुई काम गर्छन्, एक विशिष्ट पहिचान झल्काउने काम गर्छ र दोस्रो आफूलाई अरू राष्ट्र समाजबाट पृथक देखाउने काम गर्छ । यसइतर आफ्नो राष्ट्रप्रति श्रद्धाभाव, प्रेम र बफादारिता देखाउन पनि यी टोटेमहरूको प्रयोग हुन्छ । 

कुनै पनि मुलुक, समूह, पन्थको झण्डाले पनि यही काम गर्छ । हामीले यस आलेखमा झण्डा भनेर मुलुकको झण्डा बुझेका छौँ । भेक्सिलोलोजिस्ट (झण्डाविद) ई.एम.सी ब्यराक्लगको पुस्तक “फ्ल्याग्स अफ द वल्र्ड” मा रहेको झण्डाको परिभाषालाई सर्वमान्य रूपमा लिइएको हुन्छ । जसअनुसार झण्डाको परिभाषा यस्तो रहेको छ– “राष्ट्रको समग्र इतिहास, संस्कृति र आकाङ्क्षालाई प्रतिविम्बित गर्ने पवित्र उद्देश्यले सान्दर्भिक र अर्थयुक्त रङ्ग तथा चिन्ह विन्यासलाई प्रतीकात्मक रूप दिएर राष्ट्रकै अखण्ड सार्वभौमिकतालाई निर्विवाद अभिव्यक्त गर्न उच्च स्थानको हावामा फहराइरहने सामान्य रूपले आयातकार कपडा नै राष्ट्रिय झण्डा हो ।” 

माथिको परिभाषाअनुसार झण्डा हावामा फर्फराइरहने कपडाको टालो मात्रै होइन, यो त राष्ट्रको हरेक नागरिकको आस्था, विश्वास, अपनत्व र एकताको प्रतीक हो । झन्डाले मुलुकका हरेक समुदायको नागरिकको इतिहास, अपनत्व र पहिचान बोक्ने गरेको बुझिन्छ । त्यसैकारण झण्डाको अहमियत धेरै हुन्छ र यसको उच्च सम्मान हुन्छ र झण्डा प्रयोगको आफ्नै नियम र संहिताहरू हुन्छन् ।

अब प्रश्न उठ्छ, हाम्रो मुलुकको चन्द्रसूर्य अङ्कित द्वित्रिभुजीय झण्डाको ऐतिहासिकता के ? यसको उत्पत्तिको कसरी भयो ? के यो झण्डाले नेपालका हरेक नागरिक समुदायको इतिहास बोक्दछ ? के हरेक नागरिकले यो झण्डामा अपनत्व महसुस गर्छन् ? के हाम्रो झण्डाले गणतन्त्र र धर्मनिरपेक्षताको मर्मलाई मनन गरेको छ कि छैन ?

जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनपछि नेपाललाई कसरी “मोडर्न स्टेट” अर्थात आधुनिक राज्य बनाउन सकिन्छ भनेर विभिन्न गम्भीर सङ्कथन, छलफल र मन्थन भइरहेको छ । यी बहसमा झण्डा अछुतो रहनुहुन्न, माथि उल्लेखित प्रश्नको उत्तर खोज्नैपर्नेहुन्छ ।


nentravel

कमेन्ट