विचार / दृष्टिकोण

को वामपन्थी ? कस्तो वामपन्थी ?

को वामपन्थी ? कस्तो वामपन्थी ?

केही दिनअघि पर्वतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको ५० वर्षसम्म नेपालमा कम्युनिस्टले शासन गर्ने भाषण गरे । देश वामपन्थीमय भएको अड्कल गरेरै उनले यस्तो भनेका होलान् । तर माओवादी अध्यक्ष प्रचण्डको यस प्रकारको अभिव्यक्तिले सामान्य लोकतान्त्रिक संस्कार अनि मूल्य मान्यतालाई पनि नजरअन्दाज गरेको छ । किनकि लोकतन्त्रमा २०औँ वर्ष कुनै अमूक दलको एकलौटी शासन चल्न सक्दैन ।

हामीले राजनीतिक अस्थिरताको कुरा गरिरहँदा यहाँ कुनै प्रकारको तानाशाह जरुरी छ भन्न खोजेको पटक्कै होइन । व्यवस्था र पद्धतिमा चल्ने, लोकतान्त्रिक पद्धतिअनुसार अनि निश्चित समयसीमामा मात्र अदलबदल हुने प्रकारको राजनीतिक स्थिरता खोजेको हो । यसको लागि कुनै अमूक दलले वा दलीय गठबन्धनले बहुमत वा अल्पमत ल्याएर मात्र हुँदैन । 

हाम्रो आफ्नै विगतले के देखाएको छ भने हालको संसदीय व्यवस्थामा कुनै अमूक पार्टी वा दलीय गठबन्धनले बहुमत ल्याए पनि यही शासकीय स्वरूपले राजनीतिक स्थायित्व कायम गर्न सक्दैन । यदि देशमा साँच्चिकै राजनीतिक स्थायित्व कायम गर्ने हो र देशलाई विकास, समृद्धि र प्रगतिको दिशातर्फ अग्रसर गराउने हो भने यो देशको शासकीय स्वरूपमा बदलाव आउनैपर्छ । आम नागरिकले प्रत्यक्ष मतदानबाट चुनिने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली अवलम्बन गर्नुपर्छ । त्यसले मात्र यहाँको राजनीतिक स्थायित्व ग्यारेन्टी गर्न सक्छ । यो हाम्रै विगतको इतिहासले सिद्ध गरेको कुरा हो । 

तर एमालेसँग चुनावी एकता गर्नुअघिसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिलाई आफ्नो चुनावी एजेन्डा बनाउने उद्घोष गरेको माओवादी केन्द्र र एकता घोषणासभामा समेत यही मुद्दालाई मुख्य बनाउने घोषणा गरेका दुई कम्युनिस्ट पार्टीहरूले आफ्ना चुनावी घोषणापत्रमा भने यसलाई उल्लेख गरेका छैनन् । बरु उनीहरू ५० वर्षसम्म शासन चलाउने भाषण गर्दै अधिनायकवादी शैलीमा प्रस्तुत भइरहेका छन् । के आम नागरिकले कुनै अमूक पार्टीको वा दलीय गठबन्धनको ५० वर्षे शासन परिकल्पना गर्न सक्छ ? लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने दल र तिनका नेताले सार्वजनिक रूपमा किन यसरी अधिनायकवादी शैलीमा भाषणवाजी गर्छन् ? यहीँनेर स्पष्ट हुन्छ, पुराना शक्तिहरूको लोकतन्त्रको नाउँमा दलतन्त्र, नेतातन्त्र अनि झुटतन्त्र र लुटतन्त्रको अधिनायकवादी अभिव्यक्ति ।
अब अलिकति वामपन्थी राजनीतिको बारेमा चर्चा गरौँ । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा देशमा ‘वामपन्थी राजनीति’ अर्थात ‘लेफ्ट विङ्ग पोलिटिक्स’ को खुब चर्चा छ । सार्वजनिक कार्यक्रममा मन एकै भएको अभिव्यक्ति दिने नेताहरू साँच्चिकै घोषित पार्टी एकताको लक्ष्यसम्म पुग्लान् ? वा यो एकता चुनावी प्रयोजनपछि स्वतः निस्प्रभावी होला ? यो भने भोलिका दिनमा थाहा हुने कुरा हो । यद्यपि अहिले दुई दलको चुनावी एकतासँगै समाजमा वामपन्थी राजनीतिप्रति अलिक बढी नै चासो देखिन गएको छ । तर, पनि चुनावी परिणाम र त्यसपछिको शक्ति सन्तुलनको अवस्थाले नै दुई पार्टीको गन्तव्य निर्धारण हुने कुरा स्वतः स्पष्ट छ । 

एकातिर दुई ठूला पार्टी र अर्कोतिर आफूलाई लोकतन्त्रको पहरेदार अनि इतिहास निर्माण गरेको पार्टीको रूपमा व्याख्या आएको पहिलो ठूलो दल नेपाली काङ्ग्रेसको गठबन्धन चुनावी प्रतिस्पर्धामा अगाडि देखिएका छन् । काङ्ग्रेसले आफू एक्लै पनि चुनावी प्रतिस्पर्धामा सबैलाई भारी हुने आँकलन गरेको देखिन्छ ।

तर एउटा यथार्थ के हो भने चुनावी मैदानमा उत्रिएका सबै दल र उम्मेदवारहरूको हैसियत समान हो । अनि सबैलाई तिनै नागरिकले मतदान गर्ने हुन् । फेरि प्रत्येक चुनावमा आम मतदाताको मानसिकता स्थिर पक्कै हुँदैन । दल अनि उम्मेदवारको विजय र पराजयको मापन चुनावी परिणामले नै गर्छ । तर, उम्मेदवार अनि दलले श्रेष्ठता भने उनीहरूले उठाएको एजेन्डा र नैतिक धरातलले मापन गर्दछ । चुनावी विजय, पराजय प्राविधिक पक्ष हो तर, मुख्य कुरा राजनीतिको गति र लय बदल्ने विषयमा कसले कस्तो योगदान गर्यो भन्ने नै हो ।

यस अर्थमा चुनावी प्रयोजनका लागि निर्माण भएका सबै प्रकारका दलीय गठबन्धनहरूले त्यस्तो श्रेष्ठता हासिल गर्छन् नै भन्ने छैन । जहाँसम्म वामपन्थी गठबन्धनको सवाल छ, यो आफैंमा गलत भाष्यको शिकार भएको छ । किनकि यहाँ एकातिर साम्यवादी लक्ष्य बोकेका कम्युनिस्ट नामधारी पार्टीहरूले नै प्रगतिशील ‘वामपन्थी कार्यदिशा’ समेत अवलम्बन गर्न सकेका छैनन् भने अर्कोतिर समाजवादको लक्ष्य बोकेको नेपाली काङ्ग्रेसले सामान्य लोकतान्त्रिक अभ्यास समेत अवलम्बन गरेको देखिँदैन । 

वामपन्थी राजनीति (लेफ्ट विङ्ग पोलिटिक्स) को शाब्दिक अर्थ हुन्छ, सामाजिक रूपले प्रचलित सोपानक्रम (सोसियल हाइरार्की) र सामाजिक असमानता (सोसियल इनइक्वालिटी) का विरुद्ध सामाजिक समानता (सोसियल इक्वालिटी) र समानतावादी सिद्धान्त (इक्वालिटेरियनिज्म) को पक्षपोषण गर्ने राजनीति नै वामपन्थी राजनीति हो । वामपन्थ शब्दको जन्म विश्व कम्युनिस्ट आन्दोलनबाट भएको होइन । यो शब्द फ्रान्सेली राज्यक्रान्तिको गर्भबाट पैदा भएको हो । यस मानेमा वामपन्थी शब्दसँग कम्युनिस्ट पार्टीको प्रत्यक्ष साइनो देखिँदैन ।

फ्रान्सको राज्य क्रान्ति (सन् १७८९–१७९९) ताका त्यहाँको व्यवस्थापिका एवं परामर्श सभा (स्टेट जेनेरल) का सदस्यहरूको बसाइको दिशालाई आधार मानेर राजनीतिमा ‘वाम’ र ‘दक्षिण’ अर्थात्, ‘लेफ्ट’ र ‘राइट’ शब्दको प्रादुर्भाव भएको देखिन्छ । यद्यपि त्यो सभासँग कुनै विशेष अधिकार भने थिएन र त्यसले केवल तत्कालीन फ्रान्सका राजालाई औपचारिक रूपले सल्लाह दिने काम मात्र गर्दथ्यो । त्यो बेला जो राजतन्त्रको विरोध गर्दथे र राज्यक्रान्तिलाई समर्थन गर्दथे, तिनीहरू देब्रेतिर अर्थात् ‘लेफ्ट रो’ मा बस्दथे भने पारम्परिक शासन व्यवस्था र पुरानो सत्तालाई समर्थन गर्नेहरू दक्षिण अर्थात् ‘राइटर रो’मा बस्दथे । त्यहीबाट लेफ्ट शब्द राजनीतिमा प्रवेश भएको हो । यसर्थ, लेफ्ट अर्थात् वामसँग कम्युनिस्ट शब्दको कुनै प्रत्यक्ष सम्बन्ध देखिँदैन । 

यसरी हेर्दा तत्कालीन शासन व्यवस्था अर्थात् विद्यमान ‘स्टाटस् क्यो’को विरुद्ध उभिनु नै वामपन्थी अर्थात् लेफ्ट हुनु हो । त्यसो हो भने नेपालमा जजसले विद्यमान सत्ताको विरुद्ध अर्थात् व्यवस्था फेर्ने आन्दोलनमा सरिक भए, ती सबै स्वतः वामपन्थी हुन् । वामपन्थी हुनु भनेको अग्रगामी हुनु हो । अग्रगमनका कुरा गर्नु हो, अगाडिको कुरा गर्नु हो । अनि प्रगतिशील सोचाइ र चिन्तन राख्नु हो । समाजको तल्लो तहमा रहेका मानिसहरूको पक्षमा बोल्ने शक्ति नै वामपन्थी शक्ति हो । समाजमा भइरहेको विभेदको विरुद्ध बोल्नु र त्यसलाई बदल्ने प्रयत्न गर्नु नै वामपन्थी राजनीतिको कार्यदिशा हो । यसर्थ, वामपन्थलाई आमूल परिवर्तन र सुधारको पक्षमा उभिने एवं समाजवादको कुरा गर्ने शक्तिको रूपमा बुझिन्छ । 

वामपन्थी शब्दको यो परिभाषाभित्र हेर्दा बीपी कोइराला तत्कालीन समयका सबैभन्दा प्रखर वामपन्थी नेता थिए । उनले २००७ सालमै तत्कालीन राणाशाही विरुद्ध कठोर सङ्घर्षमा भाग लिए । त्यो बेला राणाविरुद्ध सशस्त्र सङ्घर्षको सङ्खघोष गर्ने बीपीको राजनीतिक लाइन निःसन्देह वामपन्थी लाइन हो । फेरि वामपन्थी लाइन भनेको राजनीतिक कार्यदिशा हो, यो कुनै वाद या दर्शन होइन । जसले समाजमा प्रगतिशील विचार राख्छ र समाजलाई परिवर्तन गर्नुपर्ने आवश्यकता बोध गर्छ, त्यो राजनीतिक पार्टी स्वतः वामपन्थी हुन जान्छ । काङ्ग्रेसले २००७ सालमा राणा शासनविरुद्धको राजनीतिक सङ्घर्षको अगुवाइ गर्यो, त्यसैले त्यो बेला काङ्ग्रेस वामपन्थी पार्टी हो । त्यस्तै २०४६ सालमा पनि पञ्चायती व्यवस्था अर्थात् तत्कालीन राजनीतिक व्यवस्था फेर्ने आन्दोलनको अगुवाइ गर्यो । फेरि पनि काङ्ग्रेस वामपन्थी नै भयो । अनि माओवादीको जनयुद्ध अनि त्यसयता लोकतन्त्रका लागि सबै दलको सहभागिता वामपन्थी कार्यदिशा हो ।

तर यहाँ जसरी वामपन्थी शब्दलाई नै कम्युनिस्ट कित्तामा धकेलिदिने काम भएको छ, त्यो भने गलत हो । किनकि नेपालमा साँच्चिकै कम्युनिस्टहरू न इतिहासमा थिए, न त आज नै छन् । यहाँ केवल कम्युनिस्ट नाम गरेका पार्टीहरू छन् तर कम्युनिस्ट छैनन् भन्दा फरक पर्नेछैन । यद्यपि कम्युनिस्ट एउटा निश्चित दर्शन हो, जुन दर्शनले कम्युनिस्ट समाजको निर्माण गर्ने लक्ष्य बोकेको हुन्छ, जसमा आर्थिक एवं समामाजिक उत्पादनका साधानहरूको सामुहिक स्वामित्व हुन्छ र त्यहाँ व्यक्ति वा निजत्वको कुनै भूमिका हुँदैन । अर्थात् त्यस्तो समाज जसमा समाजिक वर्ग, धन र राज्यको विलोपीकरणको कल्पना गरिएको हुन्छ, त्यो कम्युनिस्ट राज्य हो । 

तर, नेपालका पारम्परिक राजनीतिक दलहरूको यही नै सबैभन्दा ठूलो असङ्गति हो । यहाँ जे होइन, त्यो भनिन्छ र जे हो त्यसलाई स्वीकार गरिँदैन । दर्शन जे जस्तो अँगाले पनि कार्यक्रमिक एवं कार्यदिशाको हिसाबमा यहाँ कम्युनिस्ट पार्टी नै छैन र आम नागरिक पनि कहिल्यै कम्युनिस्ट भएर बसेका छैनन् । अनि न त त्यसरी बस्ने अभ्यास नै गर्दछन्, न त त्यसरी हाम्रो समाज नै चल्न सक्छ । तर, यहाँ कम्युनिस्ट भनिन्छ र भनाइन्छ । यो नै अहिलेको सबैभन्दा टड्कारो रूपमा देखिएको असङ्गति हो । 

नेपालको भूराजनीतिक अवस्था, यहाँको अर्थराजनीतिक चरित्र अनि त्यसको वैश्विक प्रभावलाई आँकलन गर्ने हो भने नेपालमा न त शास्त्रीय ढङ्गको कम्युनिस्ट शासन नै सम्भव छ, न त अब फेरि कुनै प्रकारको तानाशाही व्यवस्था नै । अब देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनिसकेको सन्दर्भमा बढीभन्दा बढी लोकतान्त्रिक संस्कारले सुसज्जित समुन्नत नेपाल बनाउने हो । त्यसकारण यो वा त्यो नाउँमा कुनै प्रकारको अधिनायकवादी शासन व्यवस्था केवल भ्रमपूर्ण सपना मात्र हो । अब आफूलाई कम्युनिस्ट हुँ भन्नेहरूले पनि यो बुझ्नुपर्छ कि कम्युनिस्ट हुनु र वामपन्थी हुनु एउटै कुरा होइन । 

यहाँका कम्युनिस्ट पार्टीहरूले ल्याउने चुनावी मत समाजको वामपन्थी चरित्रको जनमत मात्र हो, त्यो कसैगरे पनि कम्युनिस्ट आदर्श र सिद्धान्तको जनमत होइन । राजनीतिक नेतृत्वले यो धरातलीय यथार्थ स्वीकार गरेर आफूलाई लोकतान्त्रिक वामपन्थी बनाउँदै लैजाने कि अधिनायवादी शासन गर्ने सोँच पाल्ने ? अनि हामी कुनै अमूक पार्टी र नेताको फलोअर कार्यकर्ता बन्ने कि यो देशको सचेत नागरिक ? निःसन्देह वैकल्पिक राजनीतिले यो देशमा सचेत नागरिक बनाउने उद्घोष गरेको छ, नकि राजनीतिक कार्यकर्ता ।

अनि सचेतन ढङ्गले प्रश्न गर्ने, प्रगतिशील सोच राख्ने, समाजमा सधैँ परिवर्तन चाहने निर्भिक र स्वनिर्णित नागरिक नै साँचो अर्थमा वामपन्थी हो, न कि कुनै अमूक कम्युनिस्ट नामधारी दलका नेता वा कार्यकर्ता ।
manikar.nibartaman@gmail.com


nentravel

कमेन्ट