विचार / दृष्टिकोण

किन बढ्दै छ आत्महत्या ?

किन बढ्दै छ आत्महत्या ?

आजभोलि पत्रपत्रिका एवं सञ्चार माध्यमहरुमा दिनहुँजसो आत्महत्याको समाचारले ठाउँ ओगटेको पाइन्छ । एक प्रकारले मन्द विषसरी फैलिरहेको छ, हाम्रो समाजमा आत्महत्याको शृङ्खला । किन यसरी तीव्र गतिमा फैलिरहेको छ ? यो सोचनीय र चिन्ताको विषय हो ।


स्वभाविक रुपमा मान्छे संवेदनाले भरिएको हुन्छ । जीवनका उतारचढावहरुलाई उसले जसरी पनि समाधान गर्नुपर्ने हुन्छ । सामान्यतयाः कुनै कारणबाट उत्पन्न मानसिक पीडा वा यातनाबाट उन्मुक्तिका लागि मानिसले देखेको उपयुक्त बाटो र उपाय नै आत्महत्या हो । विभिन्न कारणबाट आत्महत्या गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै छ । नेपालमा सामान्यतयाः प्रेमको बहानामा बसेको अनैतिक गर्भ, पतिको कुटाइ, सौताको आगमन, दाइजो, पढाइ तथा व्यवसायमा असफलता आदिजस्ता विकृत मानसिक दबाब नै आत्महत्याको प्रमुख कारण हुन पुग्छन् । अझ १२ वैशाखको भूकम्पपछि नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ । सामान्यतयाः कसैले दिएको मानसिक यातना वा पीडा नै आत्महत्याको कारक हो । कसैको रहर र इच्छाका कारण भने होइन, आत्महत्या ।


नेपालमा आत्महत्या गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । हिजोआज हुने गरेका आत्महत्याको घटना र प्रकृति हेर्दा अधिकांश मात्रामा घरेलु हिंसाकै कारण हुने गरेका छन् । मनोविश्लेषक रमा कार्कीका अनुसार आत्महत्याको प्रमुख कारण भनेको मानसिक समस्या नै हो । आजको हाम्रो परिवेश मानसिक स्वास्थ्यप्रति संवेदनशील छैन । सामान्य उदाहरणका लागि टाउको दुख्यो भने चिकित्सक कहाँ गइन्छ, मन दुख्यो या तनाव भयो भने कहाँ उपचार गर्न जाने ? यस्तो द्विविधामा मानिसहरु छन् ।


कार्कीको तर्क छ, ‘आत्महत्या तत्कालीन कारणको उपज मात्र हुन सक्दैन । जब मानिसले आफ्ना समस्याहरु गुम्साएर राख्न थाल्छ, या त्यो समस्याबाट आफू कमजोर भएको महसुस गर्न थाल्छ र तत्कालीन रुपमा समस्याको निकास भेट्दैन, उसले रोज्ने भनेको आत्महत्या नै हो ।


आत्महत्याको कारण मानसिक रोग भएको अर्का मनोचिकित्सक निराकारमान श्रेष्ठको ठम्याइ छ । ‘उदासपन, मादक पदार्थको सेवन, लागू औषधका दुव्र्यसनी र व्यक्तित्वमा असमझदारी यसका कारण हुन् । लागू औषध दुव्र्यसनीमध्ये १५ प्रतिशतले आत्महत्या गरेको तथ्यांक रहेको उनी बताउँछन् ।


प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान शाखाको ७ वर्षको तथ्यांक अनुसार नेपालमा दैनिक सरदर ११ जनाले आत्महत्या गर्ने गरेको पाइन्छ । पछिल्लो ७ वर्षमा २१ हजार २ सय २७ जनाले आत्महत्या गरेका कुरा तथ्यांकमा उल्लेख गरिएको छ । २००६ देखि २०१३ सम्मको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या बर्षेनी बढ्दो छ । कतिपय सामाजिक प्रतिष्ठा, कानुनी झन्झट आदिले गर्दा प्रहरी कहाँ यस्ता घटना नआइपुग्ने हुनाले यो तथ्यांक अझै स्पष्ट छैन ।


मनोचिकित्सक निराकारमान श्रेष्ठका अनुसार यथार्थमा आत्महत्या गर्नेको संख्या अझै बढी छ । प्रतिष्ठा, कानुनी कारबाही र झन्झटिलो प्रक्रियामा फस्नुपर्ने डरले धेरै आत्महत्याका घटना प्रहरीसम्म नपुग्ने हुनाले यसको वास्तविकता प्रहरीले सार्वजनिक गरेको तथ्यांकभन्दा दोब्बर हुने उनको दाबी छ ।


प्रहरीको वार्षिक तथ्यांकअनुसार हरेक सय जनामा ७० जना झुन्डिएर, १८ विष खाएर र १२ पानीमा वा आगोमा जलेर आत्महत्या गर्छन् । आर्थिक वर्ष २०७१÷०७२ मा ४ हजार ३ सय ५० जनाले आत्महत्या गरेका छन् । त्यसमा ३ हजार १ सय ५ जनाले झुन्डिएर आत्महत्या गरेको र १ हजार ९० जनाले विष खाएर आत्महत्या गरेको अपराध अनुसन्धान विभागको तथ्यांक छ । बाढी पहिरो तथा भूकम्पजस्ता प्राकृतिक विपदमा परेकामध्ये धेरैजसोमा मानसिक तनाव र निराशा पाइएकाले आत्महत्या गर्नेको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठन र आत्महत्या रोकथामका लागि अन्तर्रा्ष्ट्रिय संघले यस वर्ष आत्महत्या रोकथाम गर्न मुख्य प्रतिबद्धता जनाएका छन् ।


मनोवैज्ञानिक, समाजशास्त्री र मनोचिकित्सकहरुले आत्महत्या गर्नुमा मनोवैज्ञानिक कारणको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा निश्चित गरेका छन् । समाजशास्त्री इमाइल दुर्खिमले व्यक्तिमा तनाव बढेर चरम निराशा पैदा भएपछि आत्महत्या गर्ने र सामाजिक कारणबाट निराशा पैदा हुनेजस्ता आत्महत्या सम्बन्धी कुराहरु आफ्नो सिद्धान्तमा उल्लेख गरेका छन् । तनावको प्रमुख कारक एउटा गरिबी पनि हो । यसलाई उनले समाजको संरचनागत प्रकार्यका रुपमा हेरेका छन् ।


मनोविज्ञ गंगा पाठकको भनाइमा मानिसले आफू चारैतिरबाट समस्याले घेरिएर अगाडि जाने स्थान छैन भन्ने ठानेपछि आत्महत्याको बाटो रोज्छ । हाम्रो समाजमा आत्महत्या गर्नेलाई कायर मानिन्छ । तर, उसले त्यसो गर्नुपर्ने बाध्यता किन आइलाग्यो भन्नेतिर कसैले ध्यान दिँदैनन् ।


मानिसले जुनबेला आफ्नो जीवनमा नमीठो महसुस गर्छ, त्यसबेला ऊ चिन्ता र पीडाको सागरमा डुबुल्की मारिरहेको हुन्छ । आत्महत्याको मुखमा पुर्‍याउने मात्र पनि चिन्ता नै हो । यस्ता घटनाका पछाडि मुख्यतयाः पीडा, चिन्ता र दुःख नै भेटिन्छ । तर, यसको राम्रो अध्ययन गरी रोकथाम गर्ने व्यवस्था भने कतै छैन र देखिँदैन पनि ।


आर्थिक दुरावस्था, बेरोजगार, कोलाहलयुक्त सहरी परिवेश र निम्न आयबाट महँगो सहरमा जिउनुपर्ने बाध्यताले निराशा बढ्छ भन्छन् अपराधशास्त्री प्रा. माधवप्रसाद आचार्य । अहिलेको बढ्दो निराशा र यसकारण बढिरहेको आत्महत्यालाई राज्यविहीनताको स्थितिका रुपमा लिएका छन् । यसलाई सामान्य ढंगले लिएर राज्य पन्छिन पाउँदैन । राज्यले नागरिकका लागि गर्नुपर्ने दायित्व निर्वाह नगरेकाले यस्तो भयावह स्थिति आएको हो भन्ने उनको मत छ ।


विश्व स्वास्थ्य संगठनको एक अनुसन्धानमा सबैभन्दा बढी आत्महत्या गर्ने मुलुकहरुमा नेपाल आठौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा प्रति १ लाख मानिसमा आत्महत्याको दर २४ दशमलव ९ प्रतिशत छ । अर्थात् १ लाखमा झन्डै २५ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार सन् २०१२ मा नेपालमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये महिलाको संख्या २४ सय ६७ र पुरुषको संख्या ३१ सय ४ रहेको छ ।


विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि लिङ अङले नेपालमा आत्महत्या विरुद्धको राष्ट्रिय नीति नै आवश्यक रहेको र ग्रामीण तहसम्मको कार्यान्वयन र सामुदायिक सक्रियतामा यो न्यूनीकरण हुन सक्ने बताएका छन् । आत्महत्या व्यक्तिको आत्मनिर्णय भएकाले स्वेच्छाले आत्महत्या गर्न पाउनुपर्ने विचार पनि केहीको होला, तर अपराधशास्त्री प्रा. आचार्य भने सामाजिक अमनचयन तथा सांस्कृतिक सुव्यवस्था कायम राख्न पनि आत्महत्याका कारकमाथि कारबाही गर्ने कानुन बन्नुपर्ने आवश्यकता रहेको औंल्याउँछन् ।


सरकारी तथ्यांक अनुसार अझै पनि मुलुकमा ४३ प्रतिशत बेरोजगार र एक चौथाइ जनता गरिबीको रेखामुनि रहेको देखिएको छ । आत्महत्याका विभिन्न कारणमध्ये राष्ट्रले जनतालाई न्यूनतम शिक्षा, स्वास्थ्य र गाँसबासको सुविधा दिलाउन नसक्नु पनि हो । अर्थशास्त्री प्रा. विश्वम्भर प्याकु¥याल सरकारले सामाजिक सुरक्षा बढाउनैपर्ने ठान्छन् । आत्महत्या भएका र उन्मुखहरुको तथ्यांक राख्न केन्द्रीस्तरमा एउटा निकाय बनाउन सकिन्छ भन्ने उनको तर्क छ । यसले आत्महत्याका कारणहरु पहिल्याई त्यसको न्यूनीकरणका नीति बनाउन सहयोग गर्न सक्छ भन्ने उनको धारणा छ ।


व्यक्तिलाई आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्था भनेको अत्यधिक चिन्ता र तनाव नै हो । जब मानिसलाई पीडाबोध हुन थाल्छ, त्यति बेला जीवन नै भारी बनेर आउँछ र जीवनका चौबाटाहरु ठप्पै भएको ठान्छ अनि आत्महत्याजस्तो जघन्य अपराधपूर्ण बाटो समाउन पुग्छ । त्यति बेला उसलाई आवश्यक परामर्श उपलब्ध गराउने र जीवनका अप्ठ्यारा बाटाहरुमा निभर्यका साथ हिँड्न दृढ मनोबल प्रदान गर्न सक्ने हो भने आत्महत्या रोकिन सक्छ ।


हुन त, हामीले अन्य मृत्युका कारणहरु झैं आत्महत्यालाई निदान गर्न सक्दैनौं, तर रोकथामका लागि दुईवटा कुरामा ध्यान दिनु नितान्त जरुरी देखिन्छ । एउटा, आत्महत्यासम्म पु¥याउन सक्ने रोग लागेको छ भने सो रोगको मनोपरामर्शको माध्यमबाट निदान गर्ने प्रयास गर्नुपर्दछ । अर्को, आत्महत्या मात्र समस्याको समाधान होइन, आत्महत्याबाहेक अरु पनि समस्याका निदान छन् । जीवनका बाटा अनगिन्ती छन् भनेर जीवनसीप समेत सिकाउनु जरुरी छ । यसका लागि विशेषगरी घरका सदस्य र अविभावकहरु सचेत हुनुपर्ने नितान्त आवश्यक भएको मनोचिकित्सहरुको भनाइ छ ।

(टोखा टाइम्स मासिक पत्रिका,अकं १० मा प्रकाशित)


nentravel

कमेन्ट