विचार / दृष्टिकोण

टोखामा पर्यटन विकासको दीर्घकालिन सोच कसका लागि ?

कुमार रञ्जित- अपार सम्भावना भएको तर कुनै गतिलो पुर्वाधार नबनिसकेको प्राचीन टोखामा पर्यटन उद्यमको खेती गर्न केही उत्साहितहरु अघि सरेका छन् । पर्यटन उद्यमका लागि अत्यावश्यक आधारभूत पूर्वाधार पनि नबनिसकेको अवस्थामा नैतिक तथा स्थानीय जन आकांक्षाका आन्तरिक ज्वारभाटा उर्लिरहेको छ अहिले टोखामा ।


माघे जाडोको मध्यतिर टोखा संस्कृति सम्पदा संरक्षण दबूले पर्यटन सम्भाव्यता सम्बन्धमा अन्तक्रिर्यात्मक कार्यक्रमको आयोजना गर्‍यो । त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य अर्थात् नेकपा एमालेका महासचिवर् इश्वर पोख्र्रेलदेखि स्थानीय वडाका सदस्यसम्म र काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारी, पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहाल, नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य कृष्ण कुमार अर्याल साथै विज्ञका रुपमा कार्यरत् प्रा. डा. प्रेम खत्रीसम्मको उपस्थिति र मन्तव्य रहेको थियो । तर विडम्बना नै भन्नु पर्दछ, स्थानीय विज्ञ कोही देखिएनन्, चाकुका लागि प्रसिद्ध टोखामा चाकु उद्यमिको समेत अनुपस्थितिमा यस्तो कार्यक्रम हुनु लज्जाको विषय बन्न पुग्यो ।


वास्तवमै भन्नु पर्दा कार्यक्रम 'बेहुली बिनाको जन्ती' जस्तो देखिएको थियो । कार्यक्रममा आयोजकका तर्फाट अध्यक्ष मनिराज डंगोलले एक पेटी माग प्रस्तुत गर्ने बित्तिकै अतिथि वक्ताहरु 'तिमीहरु आपसमा मिलेर आओ, हामी कोशिस गरिदिन्छौं' जस्ता भाका ओकल्न थाले । स्थानीयहरु भने 'लगानी कहाँबाट आउँछ र कसरी जुटाउने -' जस्ता प्रश्न गर्दै थिए । कुनै योजना बिना आश्वासनका ठेली खोल्नेहरुको पनि कमी थिएन त्यहाँ ।


यथार्थ भन्ने हो भने टोखा आफ्नो विगत मेट्दै जाने क्रममा छ । बागद्वार, विष्णुद्वारदेखि बुढानिलकण्ठ र सपनर्तीथसम्मका आदिम पदयात्रालाई नै टोखाले आधुनिक 'ट्रेकिंग रुट' बनाउन सक्थ्यो । त्यसका लागि यत्रो 'राजनीतिक जन्ती' को आवश्यकता नै थिएन । हज्जारौं वर्षेखि चल्दै आएको प्रकृतिमा संस्कृति मिसिएको पदयात्रा मार्गमा विदेशी पर्यटक ल्याउनका लागि पर्यटन व्यवसायीहरु नै पर्याप्त थिए ।


टोखालाई लिच्छविकालमै शासकहरुले आवश्यक व्यवस्था गरिदिएका थिए । मल्लकालमा टोखा उन्नत बस्ती बन्न पुगेको थियो । राणा शासकले टोखामा भरपूर प्राकृतिक दोहन गरे । पञ्चायती व्यवस्थाले बेवास्ता गरेपछि यो क्षेत्र पिछडिन पुगेको देखिन्छ । बहुदलिय व्यवस्थाको पुनर्स्थापनापछि खुल्ला वातावरणमा यहाँका वासीन्दामा प्रगति र विकासप्रति स्वाभाविक आकांक्षा बढेको देखियो । २०४८ सालमा सम्पन्न बहुदलीय व्यवस्था पुनर्स्थापनापछिको पहिलो आम निर्वाचनमा बामपन्थी उम्मेदवार बन्नुभएका पद्मरत्न तुलाधर सपनतीर्थसम्म पैदलै हिँड्नु परेको थियो । अर्थात् त्यतिबेलासम्म टोखामा बाटोको आधाारभूत व्यवस्था राम्रो भैसकेको थिएन । अहिले भूतखेलमै मालपोत कार्यालय आएकोमा स्थानीय दंग छन्, आफ्ना घर-जग्गा क्रमशः अर्काको नाममा हुँदै गएकोमा खेद छैन ।


टोखावासी सैयौं वर्षेखि हिँडेरै ज्यामि, डकर्मी तथा व्यापारका लागि काठमाडौं आउने गरेका थिए । ठाउँ-ठाउँमा पानी खान दिन उहिलेकाले ढुंगेधाराहरु बनाइदिएका थिए । 'मय्जु हिति' पनि एउटा त्यस्तै धारा थियो, जो कुनै अज्ञात् नारीले बटुवाको तिर्खा मेट्न बनाइदिएका थिए । भानुभक्तको 'घाँसीकुवा' जस्तै कथा बोकेको 'मय्जुहिति' आज अस्तित्व मात्रै देखिन्छ । बटुवालाई एक जार पानी खान दिने व्यवस्था नसक्ने नगरपालिकाले प्राचीन टोखा बनाउनु पर्दछ भनेको सुन्नु परेको छ ।


टोखामा यत्रतत्र छरिएका मल्लकालिन सम्पदा कुनै गतिलो अवस्थामा छैनन् । पुरातत्व विभागका महानिर्देशक भन्छन्- 'तपाईहरु एकमत भएर आउनोस्, हामी बनाइदिन्छौं ।' संसारका कुन ठाउँका शत्प्रतिशत् मानिसहरु एकमत छन् - राष्ट्रिय सम्पदा संरक्षण गर्न पनि जनमत संग्रह गरेर बहुमतको म्याण्डेट लिनुपर्ने जस्तो कुरा गरिन्छ । यस्तोमा पनि 'कार्यकर्ता टाइप' का मान्छेहरु ताली पिट्छन् । तीनसयदेखि चारसय वर्षम्म पुराना सैंयौं सांस्कृतिक तथा पुरातात्विक सम्पदाले टोखा भरिएको छ । हिँड्दा हिँड्दै बाटोमै ठोक्किन्छन्, त्यहीँ पुगेर सोधिन्छ- के बनाउनु पर्छ, भन्नोस् ।


संस्कृति मन्त्रालय र पुरातत्व विभागले आजसम्म टोखामा एउटा पनि गतिलो काम गरेको छैन । आधारभूत पुरातात्विक अन्वेषण पनि भएको छैन । 'लिच्छविकालिन अभिलेख' मा धनवज्र वज्राचार्यले जति व्याख्या गरे, त्यसपछि कसैले कुनै अन्वेषण र व्याख्या नहुनु टोखाका लागि विडम्बना नै हो । यसतर्फपुरातत्वको ध्यान पुगेको देखिन्न । सिंगो नगरको महत्व बढाउन केही मन्दिर जीर्णोद्धार भन्दा पूर्व सिंगो नगर बनाउने योजना बनाउनु राम्रो हुन्छ । सानातिना मन्दिर त स्थानीय वडा कार्यालय र उपभोक्ता समितिले नै पनि बनाउन सक्छन् ।


उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारी आफ्नो विशेषज्ञता अनुसार नयाँ संरचना बनाउनका लागि नयाँ ठाउँ खोज्न सिपालु छन् । पुराना संरचनाको महत्व सायद उहाँले पढेको विषय नै होइन । बाटो फराकिलो पार्ने र नयाँ संरचना बनाउँदा पुरानालाई कसरी संरक्षण गर्ने भनेर उनलाई कसले सिकाइदिने हो - पुराना जति रद्दीकै टोकरीमा फाल्ने हो भने किन चाहियो इतिहास र संस्कृति, किन चाहियो आफ्नो मौलिकपना - प्रा. डा. प्रेम खत्रीले एउटा गज्जबकै प्रसंग हावामा फ्याँक्नु भयो- 'उहिलेका मानिसहरु परिवार नियोजन गर्दैनथे, ८-१० जना छोराछोरी हुर्काउँथे, घर सानै भएपनि पुग्थ्यो । अहिलेकालाई २-३ भन्दा बढी छोराछोरी पाउन गार्‍हो भएको छ, घर भने जत्रो भए पनि पुगेको छैन ।' मानिसमा बढेको महत्वाकांक्षा र व्यवस्थापनमा तालमेल नमिलेपछि विसंगति उत्पन्न हुनु स्वाभाविकै हो । टोखामा पनि यस्तै भएको छ । घरहरु आधुनिक बनाइए, अहिले प्राचीनता जोगाउनु परिरहेको छ । किनकि दीर्घकालिन महत्व त्यसैमा छ । टोखाको महत्व डा. भाइकाजीको हाउजिंगमा कुनचाहीँ मूर्खले खोज्न जाओस् ।


अब टोखावासीले स्पष्टै भन्नु परेको छ, टोखामा पर्यटन विकासको दीर्घकालिन सोच कसका लागि - भावी सन्ततिका लागि योजना कसले बनाउने - पर्यटनका पुर्वाधार बनाउन कहिलेबाट शुरु गर्ने - पर्यटकीय वातावरण र मानसिकताको विकास कहिले गर्ने - यस्ता प्रश्नमाथि छलफल चलाइयोस्, राजनीतिक नाफाघाटाबाट धेरै पर पुगेर योजना बनाओस् । शुभकामना ।


News Tokha times

कमेन्ट