टोखा

प्राचीन सहर टोखाको ऐतिहासिक पक्ष

टोखाको नामाङकरण
नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ फल्ने ठाउँ वा चौर भन्ने बुझिन्छ । टोखा शहर पहिले पहिले उखु खेती तथा चाकु उत्पादनको लागि प्रख्यात थियो । हालसम्म पनि टोखाको चाकुलाई मौलिक र विशिष्ट चाकुका रुपमा लिइन्छ । यस अनुसार यो क्षेत्रको नाम ‘टुख्यः’ बाट अपभ्रंस हुँदै ‘टोखा’ हुन गएको लोक–कथन जीवित छ ।
 
२०३८ सालदेखि टोखालाई प्रशासनिक हिसाबले टुक्राएर उत्तर पट्टि टोखा चण्डेश्वरी र दक्षिणपट्टि टोखा सरस्वती गरी दुई अलग गाविसमा अलग्याइएको छ । राजनीतिक एवं प्रशासनिक हिसाबले टोखालाई दुई टुक्रा बनाएपनि धार्मिक, सांस्कृतिक एवं सामाजिक सम्बन्धका दृष्टिले यसलाई सिमांकन गर्नै नसकिने गरी यी सम्बन्धित छन् । तसर्थ टोखा चण्डेश्वरी र टोखा सरस्वती भन्दा ‘टोखा’ शब्द धेरै नै लोक–जीब्रोमैत्री छ र चलन चल्तीमा समेत समग्र ‘टोखा’ शब्दको मात्र प्रयोग पाईन्छ । यी दुई गाविसलाई छुट्याउने प्रशासनिक बाहेक अन्य कुनै आधार र मान्यता देखिंदैन ।

टोखाको प्राचीनता
नेपालको प्रमुख परम्परा – हिन्दु परम्परामा स्थान, सम्मान र महत्व पाएका ३३ कोटी देवी देवतासँग गाँसिएको चौसठ्ठी शिवलिङ्गमध्ये यस टोखा क्षेत्रमा तीन शिवलिङ्ग– चण्डिकेश्वर, धर्मेश्वर र गोकर्णेश्वर पर्ने कुरा उल्लेख छ । हालको गोकर्ण गाउँको पश्चिम बाग्मती नदीको किनारमा अवस्थित गोकर्णेश्वर महादेवलाई टोखाको सुप्रसिद्ध तीर्थका रुपमा नेपाल महात्म्यले चिनाउन खोजेको छ । माथिको कुराले प्राचीन कालमा टोखाको फैलावट हालको भौगोलिक सिमानाभन्दा निकै विशाल थियो भन्ने थाहा हुन्छ । हिमालयकी पुत्री पार्वतीले श्री महादेवलाई पतिको रुपमा प्राप्त गर्न टोखाको पिण्डारक तीर्थमा नुहाई चण्डिकेश्वर महादेवको पूजा तथा आराधना गरेको स्वस्थानीमा उल्लेख पाइन्छ । यसबाट टोखा कति प्राचीन नाम र बस्ती हो भन्ने समेत अनुमान सहजै गर्न सकिन्छ ।
चण्डेश्वरी मन्दिर परिषर
लिच्छवि राजा शिवदेव द्वितीय र महासामन्त अंशुवर्माका शासन समयमा निर्मित तथा स्थापित टोखा चण्डेश्वरीको सांस्कृतिक केन्द्र तपलाछिमा अवस्थित नारायणस्थान नजिकको लिच्छवि सम्वत ५१९ को शिलापत्रले यहाँको ऐतिहासिक गरिमालाई प्रकाश पार्न मद्दत पु¥याएको छ (तिर्थलाल नःघः भनी राजभण्डारी, ‘चण्डेश्वरी’, बनेपा नगरपालिका, बनेपा, २०५०, पृष्ठ ६१) ।
लिच्छवि कालिन शिलालेख
सो शिलालेखमा तिलमक (कुलो) र गुल्म शब्दको समेत उल्लेख छ । सो समयको यस्तो पुरानो शिलालेखमा यस्ता वैज्ञानिक शब्दहरुको उल्लेख हुनुले एकातिर टोखामा त्यतिबेलैदेखि नै सिंचाइको राम्रो बन्दोबस्त गरी खेती गर्ने वैज्ञानिक कृषि विकास भइसकेको दर्शाउँछ भने अर्कोतिर टोखाले आफूलाई उतिखेरै सुरक्षात्मक दृष्टिकोणले मजबुद शक्ति–किल्लाको रुपमा स्थापित गरिसकेको पनि स्पष्ट हुन्छ ।
 
ने. सं. ३७४ मा आश्विन कृष्ण चतुदर्शीका दिन रातिको समयमा भ्वन्त श्री जयदेव प्वहले टोखा किल्लामा जबर्जस्ती पसी किल्लामा रहेको सुन कब्जा गर्न खोज्दा आफ्नो अस्तित्व रक्षाका लागि नेपिंक्वाठ र टोखाक्वाटले त्यसको विरुद्ध विद्रोह गरेको कुरा इतिहासका पानाले स्पष्ट पारेका छन् (धनवज्र वज्राचार्य र कमल मल्ल, ‘गोपालराज वंशावली’, सन् १९८५, पृष्ठ ९४) । यस कुराले टोखालीहरु स्वभूमिको रक्षा र प्रतिष्ठाको लागि त्यतिबेलै संगठित भइसकेको स्पष्ट हुन्छ ।
 
त्यसैगरी नेपाल सम्वत ४६० मा पनि टोखालाई अधिनमा राख्न खोज्ने बाहिरिया शक्तिका बिरुद्ध टोखा–नगरले सक्रिय युद्ध गरी आफ्नो गरिमालाई जोगाएर राखेको ऐतिहासिक तथ्य समेत भेटिन्छ (धनवज्र वज्राचार्य र कमल मल्ल, ‘गोपालराज वंशावली’, सन् १९८५्, पृष्ठ १०६) ।
 
देवमाला वंशावलीमा टोखाको ऐतिहासिक विशेषता तथा प्राचिनताको वर्णन गर्दै भनिएको छ ः ‘श्री राजा रत्न मल्लका पालामा टोखामा नेपाल सम्वत् ६२९÷३० सालमा कुं कुं नाम गरेका भोटे देवानहरुको रखबारी निमित्त ३ सय घरको शहर बनाई प्रजा बसाएका हुन् । त्यस्तै गरी वंशावलीले शहरका मुख्य देवताका रुपमा चण्डेश्वरी देवीलाई अगाडि सारेको छ’ (देवमाला वंशावली, २०१३, पृ ९६) । यस अर्थमा प्राचीनताको कुनै काल खण्डमा टोखा एक छुट्टै राज्य थियो भन्ने दर्शाउँछ वा कम्तीमा यो सो राज्यको केन्द्र थियो भन्ने अनुमान गर्न सकिन्छ । साथै, शहरकै तत्कालीन मुख्य मन्दिरका रुपमा मानिएको चण्डेश्वरी यहीं स्थापना गरिनु र हुनुले सो समयमा यो केन्द्रीय स्थान थियो भन्ने तर्कमा जोड मिल्छ ।
 
यता १६ औं सताब्दीमा यस टोखा नगरीलाई जयपुरी र लक्ष्मीपुर नामले चिनिन्थ्यो भन्ने पनि थाहा पाइन्छ । सोही शताब्दीतिर वि.सं १७४४ मा प्रताप मल्लका नाति भूपालेन्द्र मल्ल कान्तिपुरका राजा भएको बेला आफ्ना पिता पार्थिवेन्द्र मल्ललाई विष खुवाई मार्न लगाएको शङका गरी व्यभिचारीणी आमा ऋद्धिलक्ष्मी मल्ललाई उनले टोखामा कैद गरेको प्रसङ्ग नेपालका मल्लकालीन अभिलेखमा उल्लेख गरेको छ (मोहनप्रसाद खनाल, नेपालका केही मल्लकालीन अभिलेख, पृ ३१) । यस तथ्यले पनि टोखाको प्राचीन केन्द्रताको बारे थप प्रमाणको काम गर्दछ ।
 
टोखा चण्डेश्वरी देवलको सिंढीमा अंकित अभिलेखले नेपाल सम्वत् ७९३ को महत्वपूर्ण ऐतिहासिक तथ्यलाई प्रस्तुत गर्न खोजेको देखिन्छ । बनेपाको चण्डेश्वरी मन्दिरमा नेपाल सम्वत् ८३५ र भक्तपुरको चण्डेश्वरी मन्दिरमा ने.सं. ८४८ सम्मका मात्र अभिलेख भेटिएका छन् (प्रभात सापकोटा, टोखाः संस्कृति एक पस्किन बाँकी अनेक, जस्केलो वर्ष १ अङक १, २०५५, पृष्ठ २२) । सो अनुसार टोखाको चण्डेश्वरी मन्दिर भक्तपुर र बनेपामा रहेका चण्डेश्वरी देवीका मन्दिरभन्दा पहिले नै निर्माण भएको प्रष्ट हुन्छ । यस तथ्यले समेत टोखालाई सुदुर प्राचीनस्थलका रुपमा उभ्याउन मद्दत गरेको छ ।
 
भाषा वंशावलीको सातौं पृष्ठमा ६४ शिवलिङ्गको नामावली दिइएका छन् । यी ६४ शिवलिङ्गमध्ये ५२ औं स्थानमा रहेको पिण्डारक तीर्थ ‘श्री चण्डिकेश्वर–टोखामा अवस्थित’ भनी उल्लेख गरिएको भेटिन्छ (तीर्थलाल नःघः, पूर्ववत्, पृष्ठ ६५)। यस सम्बन्धमा विभिन्न आंकलन प्रस्तुत गर्दै आएकाले स्पष्ट निस्कर्षमा पुग्नका लागि थप अध्ययनको खाँचो देखाइएको छ । टोखाको ऐतिहासिक तथा पुरातात्विक महत्वका बारेमा यसले थप तथ्य र तथ्याङक प्रस्फुटन गर्न सक्दछ ।
 
पौराणिक भनाईतर्फ फर्किंदा जनताहरु चण्डेश्वरी मन्दिरको दक्षिणमा रहेको माटाको कालो थुम्को, दक्षप्रजापतिको बोकाको टाउको भएको प्रस्तर मूर्ति तथा दक्षको यज्ञशाला भएको विश्वास गरिने ठाउँ देखाउँदै टोखाको यही चण्डेश्वरी मन्दिरनिर दक्षप्रजापतिले यज्ञ गरेको र सतीदेवीले यज्ञकुण्डमा हाम्फालेको भन्ने कुरामा विश्वस्त हुँदै आएका छन् । लोककथनमा नै सिमित यस विषयमा इतिहासवेत्ता र पुरातत्वविदहरु भने एकमत भएको पाइन्न । यसको थप अध्ययन गरी प्रष्ट तथ्य बाहिर ल्याउनु जरुरी छ ।
 दक्षको यज्ञशाला 
समग्रमा टोखाको प्राचीनता दर्शाउने ऐतिहासिक तथ्यहरु –
 
नेपाल महात्म्यले गोकर्णेश्वर महादेवलाई टोखा अन्तर्गत देखाएको छ ।
टोखाका राजा धर्मदत्तले विशाल नगरादि जितेर साँखु अथवा वज्रयोगिनीदेखि दक्षिणमा शङखमूलसम्म आफ्नो राज्य विस्तार गरेको पाइएको छ ।
अहिलेसम्म पनि ‘तीनसय टोखा सातसय फेरा’ भन्ने आहान चल्दै आउनुले टोखाको सिमाना अति फराकिलो थियो भन्ने अझ स्पष्ट हुन्छ ।
भ्वन्त श्री जयदेव प्वहले आक्रमण गरी सुन लिन खोज्दा टोखाले विद्रोह गरेको ने.सं ३७४ को मिति मात्र हेरे पनि टोखामा संगठित बसोबास आजभन्दा ७४५ वर्ष अघिदेखि नै अस्तित्वमा रहेको देखिन्छ ।
तपलाछिटोलमा अवस्थित लिच्छवि सम्वत ५१९ को शिलालेखलाई हेर्दा टोखा नगरी आजभन्दा १४२३ वर्ष पुरानो ठहरिन्छ (तीर्थलाल नः घः राजभण्डारी, पूर्ववत्, पृष्ठ ६१) ।
पौराणिक भनाइ जस्तो लाग्ने र स्पष्ट प्रमाण नभेट्ता नभेट्तै पनि टोखाका राजा धर्मदत्तको राज्यकालमा उनका समकालीन छिमेकी राजा विक्रमादित्यको नेपाल आगमन र सोही समयदेखि विक्रम सम्वतको आरम्भ मान्दा पनि टोखाको प्राचिनता २००० वर्षभन्दा अगाडि पुग्छ । राजाको आज्ञा जारी गर्ने प्रसङ्गमा सोझो प्रमाणको रुपमा आएको लिच्छवि सम्वत ५१९ को अभिलेखको विषय र यसमा प्रयोग भएको तिलमक शब्दको अर्थ तथा उपयोग–आरम्भको समयलाई खोतल्ने हो भने पनि यहाँको इतिहास २००० वर्ष पुरानै ठहरिन्छ । विद्वानहरुले ‘तिलमक’को अर्थ ‘कुलो’ बताउँदै यो शब्द किराँत भाषाबाट आएको बताएका छन् ।
यसलाई हेर्दा टोखामा लिच्छविभन्दा अघि किराँत कालअघिदेखि नै तिलमक अथवा कुलाको प्रयोग गरी खेती गर्ने चलनको विकास भइसकेको विश्वास हुन्छ (धनव्रज बज्राचार्य, लिच्छवि कालका अभिलेख, नेपाल र एसियाली अनुसन्धान केन्द्र, कीर्तिपुर, काठमाडौं, द्वि.सं २०५३, पृ. २७०) ।
अतः यस्ता विभिन्न आधार, प्रमाण र तथ्यलाई अगाडि सारेर हेर्दा टोखाको इतिहासले स्पष्टतः २००० वर्ष पुरानो परम्परा बोकेको थाहा पाइन्छ । क्रमश...

News Tokha times

कमेन्ट