टोखा

प्राचीन सहर टोखाको सांस्कृतिक तथा सामाजिक पक्ष

समाज तथा संस्कृतिका विश्लेषक गोपालसिंह नेपालीले ‘द नेवार’ मा नेवारहरुको उच्च संस्कृति र आर्थिक साधनहरुका कारणले सभ्यतामा पछि परेका अन्य समुदायहरुले आफूलाई त्यसमा मिलाउन सकेनन् भन्ने कुरा उल्लेख गरेका छन् (पूर्ववत्, पृष्ठ २५) । उनका अनुसार नेवारहरु अरुसँग मिसेर जीजीविषा अघि बढाउन इच्छुक रहेपनि व्यापार–व्यवसायमा निपुण यी समुदाय निकै विकसित रहेकाले अरु समुदायले सँगै बस्ने र सम्बन्ध स्थापित गर्न नसकेको हो । यसले गर्दा नेवार समुदाय अलग्गै समाज बनाएर बसोबास गर्दै आएका हुन् । साथै उनीहरु सामाजिक रुपमा छिमेकी इष्ट–मित्रसित अति नै घनिभूत हुने स्वभावका भएकाले उनीहरुको बस्ती अति नै बाक्लो र घरहरु एकअर्कासँग जोडिने गरी नजिकिने हुन गएको समेत सो पुस्तकमा उल्लेख छ । नेवार जाति र समाजमा पाईने यी सम्पूर्ण गुण टोखाली समाजमा हालसम्म पनि विद्यमान छन् ।
 
आर्थिक दृष्टिले आत्मनिर्भर भएर जिउन खोज्ने यहाँको मौलिक संस्कृतिका कारण यहाँको समाज शान्त प्रकृतिको छ । धर्मको अनुशरण गर्नु र परम्परागत संस्कृतिको जगेर्ना गर्नु टोखाका बासिन्दाहरुको जीवन शैली नै हो । त्यसैले धर्मकर्म, चाडपर्व, जात्रा, उत्सव, मेला, आदिका रिवाज स्वीकार्नु, आफ्नो सामाजिक मान्यतामा विकसित भएका गुठी, देवखलः, दाफाखलः, भजनखलः, आदिमा चलनअनुसार सहयोग गर्नु र यस्ता परम्परामा लागेर आफूलाई पनि प्रतिष्ठित गर्न अग्रसर हुनु यहाँका नेवारहरुको विशेषता हुँदै आएको देखिन्छ । आफ्ना परिश्रमबाट उब्जेको सम्पत्ति र अन्न प्रयोग गरी उनीहरु आफ्नो मौलिक संस्कृति, रीतिरिवाज र चाड–पर्व मनाउँछन्, कायम राख्छन् । आफ्नो परिश्रमको कमाईले उनीहरु संस्कृतिलाई जीवन्त राख्छन् । धर्म–संस्कृति टोखाली परम्पराका जीवन्त पक्ष हुन् । घरको जग खन्दा होस् वा मुख्य बाली भित्र्याउँदा, नयाँ घरमा प्रवेश गर्दा होस् अथवा घर लितपोत गर्न रातोमाटो आदि ल्याउँदा होस् निश्चित समय, तिथि, वार, महिना आदिको राम्रो ख्याल गरी शुभ मुहुर्त मिलाएर गरिन्छ ।

संस्कृतिका प्रत्येक पक्षमा यहाँ धार्मिक प्रभाव परेको देखिन्छ । जन्म, विवाह, मृत्युलगायतका संस्कारलाई संस्कृतिको रुपमा भन्दा पनि धार्मिक मान्यताको रुपमा विश्वास गरिंदै आएको छ । रोग लाग्दा वा स्वस्थ हुँदा, आफूले थालेको काम असफल हुँदा अथवा सफल हुँदा त्यसको सम्पूर्ण जश देवतालाई दिन खोज्नु पनि अधिकांशमा धार्मिकभन्दा यहाँको सामाजिक मान्यता बन्दै आएको देखिन्छ । यहाँको मुख्य चाड विस्केट जात्रा र दशैं अगाडि परिवारका सम्पूर्ण सदस्यहरुको स्वास्थ्य–लाभको कामना र शुभेच्छाका साथ मुख्य–मुख्य मन्दिरमा पूजा गर्नु र वा भाखल राख्नु जस्तो धार्मिक मान्यता समेत यहाँको संस्कृतिको रुपमा विकसित हुँदै आएको छ । कृषि प्रधान यस गाउँका किसानहरु प्रमुख बाली धानको बीउ राख्दा र धान रोप्दा शुभ–मुहुर्तमा पूजा गरेर मात्र सो कामको थालनी गरिनुले धार्मिक मान्यता स्थानीय जीवनका हरेक पक्षमा समेटिएको प्रष्ट हुन्छ । साथै उनीहरु आफूले उत्पादन गरेका बाली भित्राउने बित्तिकै देउतालाई चढाउँछन् अनि मात्र आफू उपभोग गर्दछन् ।
 
हरेकका घरको मूल ढोका अगाडि पोतिएको गोलाकार चिन्ह हुन्छ, जसलाई कुमार देवता भनिन्छ । नेवारहरुको हरेक पूजापर्वमा सर्वप्रथम यिनै कुमारको पूजा हुन्छ । त्यसपछि मात्र गणेशको पूजा गर्ने परम्परा छ । यी दुवै देवताको पूजा नगरी अन्य कुनै पनि देवताको पूजा गर्नु हुँदैन भन्ने यहाँको मान्यता छ । हिन्दु धर्मको कुनै कथनमा अंकित शिवको वरदानपश्चात निर्मित यो धार्मिक मान्यताले यहाँ संस्कृतिको रुपधारण गरिसकेको छ । साथै, कुनै पर्व, उत्सव, चाड, महत्वपूर्ण तिथि आदिमा अथवा घरमा मीठो व्यञ्जन पाकेको दिन पाकेका सम्पूर्ण परिकारको पहिलो गाँस चोखो सालको पातमा राखि ढोका अगाडिको कुमार देवताको सिरानमा चढाई कुकुरलाई भोजन गराउने चलन छ । यस चलनको महत्व र शुरुवाताको कथा जे भएपनि यसले धेरै पक्षलाई एकैचोटि छोएको छ । जस्तो कि जनावरप्रतिको सद्भाव, भगवानप्रतिको आस्था र सायद ती परिकार स्वास्थ्यका लागि लाभदायक छ कि छैन भन्ने कुराको परिक्षण !
 
४.२ चाडपर्व र जात्रा
चाडपर्व वास्तवमा सांस्कृतिक जीवनको उल्लासमय क्षण हो । विभिन्न तिथी र समयमा पर्ने यस्ता चाडपर्वहरुले मानिसलाई सरसफाइप्रति सजग हुन प्रेरित गरेको हुन्छ । चाडको दिनमा चोखो चुलोमा, चोखो भाँडामा, चोखो शरीरले पकाएको परिकार चोखो वस्त्र लगाएको चोखो शरीरले मात्र ग्रहण गर्न मिल्ने परम्पराका कारण व्यक्तिगत तथा पारिवारिक सरसफाईमा ठूलो योगदान गरिरहेको हुन्छ । साथै, अर्कातिर धार्मिक मान्यतामा अग्रसर हुन समेत यी पर्वहरुले प्रेरणा दिन्छ । प्रत्येक पर्व कम्तिमा एक देवता अथवा देवीमा समर्पित हुन्छ र त्यसै देव–देवताको भक्ति र आराधनामा सो पर्व व्यथित हुन्छ । यसले स्थानीय मानिसलाई पर्वको अवसरमा गरिने क्रियाकलाप मार्फत धार्मिक आस्थामा गाढापन ल्याइदिन्छ । मिठो खाने र राम्रो लगाउने कुरामा पनि चाडपर्वले प्रभावित पार्ने हुनाले शारिरिक सुगठन र व्यक्तित्व निर्माणमा समेत यसको प्रभाव देखिन्छ ।
 
टोखामा चडपर्वको सामाजिक महत्व समेत ज्यादै छ । वर्षभरिका अनेकौं चाडपर्व र जात्रा–उत्सवमा यहाँका मान्छेहरु सक्रिय सहभागि हुन्छन् । यस्तो सहभागिताले टोखाको सामाजिक एकताका लागि समेत सकारात्मक भूमिका खेलिरहेका हुन्छन् । यो पनि एक कारण हुन सक्छ कि यहाँका दुई गाविसका सम्पूर्ण मानिसहरु एक–अर्कासँग परिचित छन्÷हुन्छन् । वर्षभरिका लगभग सबै दिनमा केही न केही सांस्कृतिक पर्व परिरहने भएपनि यहाँ मनाइने केही महत्वपूर्ण चाडपर्वहरुको सम्बन्धमा संक्षिप्त परिचय संगाल्ने प्रयास तल गरिएको छ ।
 
४.२.१ अक्षया तृतीया 
टोखाका नेवारहरुको प्रत्येक जाति तथा गोत्रहरु पिच्छे आ–आफ्ना छुट्टै कुलदेवताका मूर्ति र मन्दिर हुन्छन् । जुठो पर्ने बाहेकका सबैको देवाली पूजा यही अक्षया तृतीयाका दिन गरिन्छ । यस पूजाका लागि तेह्र दिने दाजुभाई सबै एक ठाउँमा जम्मा हुन्छन् । यो दिन देवाली पूजा नगरेसम्म केही खानु हुन्न भन्ने भनाइ छ, र पानी बाहेक केही खाएमा त्यसले अनिष्ट निम्त्याउने कथन भएकाले पूजा नसकेसम्म उनीहरु केही पनि ग्रहण गर्दैनन् । देवाली पूजामा नयाँ दुलही र नवशिशुलाई गोत्रमा भित्रयाउने चलन छ । यहाँको भाषामा ‘नकिं’ भनिने खलककै सबैभन्दा जेठी आईमाईले नयाँ दुलहीलाई परम्रागत लामो ताल्चाको साँचो समाउन लगाई कुलदेवता मूर्तिको वरिपरि तीन पटक परिक्रमा गराईन्छ । त्यसपछि नयाँ दुलहीलाई सो खलकको कुल देवताको पूजा गराउने चलन छ । पूजा गरेर देवस्थलमै समयबजी खाइसकेपछि सबै जना देवालीको पालो पर्ने घरमा गई भोज खान्छन् । दुई दिनसम्म चल्ने यस भोजको विशेष परिकार चतामरी हो । नयाँ दुलही भित्रयाएको छ भने उक्त दुलहीका माइत पक्षबाट चिउरा, मासु, जाँड तथा अन्य विभिन्न खानेकुराको परिकार ल्याएर सबै परिवारका मुली–मुली व्यक्तिहरुलाई भोज खुवाउनु पर्छ । नयाँ दुलहीका माइतीले घरका दाजुभाईहरुलाई भोज खुवाएपछि नवबधु सो परिवारमा आधिकारिक रुपमा भित्रिएको ठहर्छ ।
 
४.२.२ सिठी नखः
यो पर्व जेष्ठ शुक्ल षष्ठी तिथिका दिन मनाउने चलन छ । सिठी शब्द ‘षष्ठी’को अपभ्रंश हो । महादेवको छोरा कुमार कार्तिकेयको जन्म यसै तिथिमा भएको मानिने हुनाले यस दिनलाई कुमार षष्ठी पनि भनिन्छ । सिठी नखः यिनै कुमारको सम्मानमा मनाइने पर्व हो । पहिले–पहिले यस दिन इनार, कूवा आदि सफा गर्ने गरिन्थ्यो । यसो गर्दा नजिकै आएको वर्षामा उब्जिने अथाव जम्मा हुने पानी कञ्चन होस भन्ने मान्यता रहेको बुझिन्छ । हिजोआज टोलटोलमा सार्वजनिक धारा वितरण हुन थालेको हुनाले इनार÷कुवाको प्रयोग र सफा गर्ने चलन भने हराएर गयो । गहुँ भित्रयाइसकिएको र असारको मेलो आरम्भ भइनसकेको प्रायः फुुर्सतको समयमा आउने यस चाडलाई रमाइलो पर्वका रुपमा मनाइँदै आएको छ । यस दिन टोखामा मासुका साथै मास र मुङको विशेष परिकार ‘बारा’ खाने र खुवाउने चलन छ । यस दिनमा असार महिना भरी रोपाईं गर्न आवश्यक शक्ति सञ्चय गर्न सकिने गरी शक्तिवद्र्धक परिकार खाने चलन छ । यस हिसाबले प्रोटिनले भरिपूर्ण मासु तथा बारा र मुङ जस्तो गेडागुडी विशेष रुपले खानु संयोग मात्र नभइ खाद्य गुणसम्बन्धी प्राचीन ज्ञान पनि हुन् । साथै यस दिनमा ओसारेको मल विशेष हुने (स्थानीय भाषामा त्यस्तो विशेषता बोकेको मललाई ‘खौ’ भनिन्छ) लोक कथन भएकाले सम्पूर्ण खेतमा कम्तीमा एक डोको मल ओसार्ने चलन छ । यसले बढी पोषिलो खानेकुरा पचाउन शारीरिक अभ्यास आवश्यक पर्छ भन्ने वैज्ञानिक सुत्र यहाँका पूर्खाहरुलाई थाहा भएको संकेत मिल्दछ ।
 
ह्वंगजात्रा
टोखामा मनाइने ह्वगंजात्राको बेग्लै महत्व छ । गठेमंगल पर्वभन्दा पहिले आउने यो जात्रा मुल नाइकेको निर्देशन बमोजिम भाइनाइकेहरुद्वारा संचलित हुँदै आएको छ । यस जात्रालाई यहाँका मान्छेहरु असार लाग्ने संकेतका रुपमा मनाउँदछन् । ह्वगंजात्रामा एकमाना चामलको भात पकाएर भाइनाइकेहरुबाट छर्ने चलन छ । मूलनाइकेबाट एककली छ्वाली भाइनाइकेहरुलाई दिइन्छ । यिनीहरुले इच्छा हुने एकजनालाई छ्वाली बालेर भूतखेल चौरको कालीका मन्दिरको पछाडि रहेको खाल्डोलाई घुम्न पाउँछन् । फर्केर आएपछि टोखाको मूलढोकाबाट छ्वाली मव्युसा पय् हो भनी मन लाग्नेहरु छ्वालीको राँको बालेर दौडिन्छन् । सबैले झ्याल झ्यालबाट छ्वाली फालिदिन्छन् । टोखाको यस्तो परम्परालाई ह्वगंजात्रा भनिन्छ । यो बेलादेखि गठेमंगल पर्वसम्म अश्लील शब्दहरु बोल्न प्रतिबन्ध नभएको मानिन्छ । यसले गर्दा असार महिनाको चर्को घाममा मनभरीको बह पोख्न अश्लील वार्तालाप र गाना गाएर कामको थकान मेट्छन् ।
 
गठेमंगल (घण्टाकर्ण)
गठेमंगल पर्व साउन महिनाको कृष्ण पक्षमा पर्दछ । टोखामा यो पर्व भूत धपाउने चाडका रुपमा मनाईन्छ । यस जात्राको घण्टाकर्ण माथिल्लो लाछिमा मनाईन्छ । यस कामको लागि तलेजु गुठीका मूल नाइकेबाट छ्वाली तथा पराल संकलन गर्ने व्यवस्था मिलाईन्छ । सो छ्वाली खड्गे जातिलाई दिइन्छ र कुस्लेले बाँधी घण्टाकर्ण राक्षसको रुपमा तयार गर्छन् । त्यसपछि सिस्नुले पिटेर आगो दिई गुठीका एक व्यक्तिले तान्छन् । तानेर ल्याउँदा ‘पय् हो’ जस्ता अश्लील शब्द बोल्ने चलन छ । यसक्रममा टोलटोल अर्थात समूह समूहमा घण्टाकर्ण राक्षसको पुत्ला तानातान गर्ने रमाइलो परम्परा पनि छ । अन्त्यमा उक्त घण्टाकर्ण सरस्वती गाविसका पक्षहरुले टोखाका मूल बस्तीको दक्षिणपट्टि रहेको गठेमंगलको खाल्डोमा फ्याक्ने गर्छन् । यता घरमा दुई मुठा छ्वाली बालेर घरको प्रत्येक चोटा कोठा घुमाई भूत धपाउने गरिन्छ । कर्कलो, सिस्नु, उनिउँ, धसिकठी आदि वनस्पती समेत मिलाएर बाँधिएका छ्वालीका यी दुई मुठा मध्ये एउटा ढोका अगाडिको कुमार देउतामा राखिन्छ । अर्को चाहिं बालिएको सुकुन्दा हँसियामा समेत सँगै लगेर छ्वासेमा फ्याकिन्छ । छ्वासेमा जानेहरु वरिपरि बसेर सुकुन्दाबाट निस्केको ज्वालामा हँसिया थापि आँखामा लगाउने गाजल तयार गर्छन् । यसरी तयार गरिएको गाजल घरका अधिकांशले लगाउँछन्। गाजल लगाउँदा आँखा नदुख्ने विश्वास पनि गरिन्छ । उता घरबाट छ्वाली बालेर निस्केपछि झ्याल ढोकामा फलामको छेस्का किल्ला ठोकेर घरमा भूत प्रवेश गर्न नसक्ने मान्यता कायम गरिन्छ । यो पर्वमा टोखाका मान्छेहरुले जिउको भूतको असर नपरोस भनेर फलाम आदिबाट बनेका औंठी पनि लगाउने गरेका छन् । असारको प्रदुषण, कामको व्यस्तताले घरमा फोहोर जम्मा हुने हुँदा असारको व्यस्तता पछि ती सबै फोहोर हटाउने कार्यका लागि यो पर्व महत्वपूर्ण छ । साथै यो दिन जडिबुटी समेत पोको पारेको छ्वाली बाल्दै घरको कुना–कुनामा धुँवा छर्ने हुँदा जडिबुटिको धुवाँबाट किटाणु मारी संक्रमण रोक्ने वैज्ञानिक आधार समेत यसमा हुन सक्ने अनुमान छ ।
 
हिलो फाल्ने (सिन्जे बेन्केगु)
रोपाईको समयमा प्राय सबैले सँगै बसेर खानु पर्ने बाध्यता हुन्छ । खेतीको बेलामा यस्ता कुराबाट सतर्किन पनि सकिंदैन । त्यसैले यो दिन छोइछाइ आदिबाट चोखिने गरेको विश्वास लिइन्छ । असारको काम सकिएपछि हिलो फाल्ने काम गरिने हुँदा टोखामा प्राय यो साउने संक्रान्ति वा गठेमंगल चाँड पर्दा यीनै दिनहरुमा टोखाको किसान समाज हिलो फाल्ने पर्व सम्पन्न गर्दछ ।
 
क्वाँटी पूर्णिमा
यस पर्वलाई क्वाँटी पूर्णिमा बाहेक जनैपूर्णिमा, ऋषितर्पणी र ‘क्वाँटी पुन्हि’ भनेर पनि जानिन्छ । टोखाको किसानहरुमध्ये यो दिन जोशी, राजोपाध्याय आदिले जनै ग्रहण गर्ने कुरालाई बढी ध्यान दिएर पनि सबैले विभिन्न प्रकारका गेडागुडी भिजाई पकाईने विशेष परिकार ‘क्वाँटी’को झोल खाने गर्दछन् । रोपाई आदिमा खर्च भएको शारिरिक शक्तिलाई पूर्ति गर्न खाइने यो पर्व पछि यहाँका बूढापाकाहरु लामखुट्टेले दुःख दिन छोड्ने विश्वास गर्दछन् ।
 
गाईजात्रा
भाद्रकृष्ण प्रतिप्रदा अर्थात् क्वाँटी पूर्णिमाको भोलिपल्ट पर्ने यो पर्वमा वर्षभरीमा कसैको घरमा कोही मरेको छ भने प्रत्येक मृतकका घरबाट मरेको आत्माको शान्तिका लागि गाईजात्रा गर्ने चलन छ । यस दिन गाईलाई लिएर यात्रामा अगाडि बढ्दा गाईका सिङ्गले घच्याडी दिएपछि बन्द रहेको स्वर्गद्वार खुल्छ र मृतकले स्वर्गको सुख प्राप्त गर्छन् भन्ने विश्वास गरिन्छ । टोखाका नेवार जातिमा भने गाइको सट्टा गाईको मखुण्डो तथा सिङ्ग बनाएर गाईको रुप मान्छेले लिने र समूहमा मिलेर टोखा नगर परिक्रमा गर्ने चलन छ । गाई बनेर नगर परिक्रमा गर्दै हिंड्दा गाई बन्नेलाई मर्ने मान्छेका घरका सदस्यहरुले विभिन्न खालका खाद्यान्न परिकारहरु दान गर्दछन् । नगर टोल घुम्नेहरु चण्डेश्वरी गाविस १ नं वडास्थित नासल चोक भएर तलेजुको मन्दिरमा पुगेपछि क्रमशः आ–आफ्नो घरतिर लाग्ने परम्परा छ ।
 
हिलेजात्रा
टोखामा गाईजात्राको भोलिपल्ट हिलेजात्रा मनाउने चलन छ । हिलेजात्रा आरम्भहुनुभन्दा पहिले कसाई बाजा बजाएर ‘न्याखिं च्वके’ गरिन्छ । वर्ष दिनभरि घटेका विभिन्न घटना सुमधुर लयमा सुनाएर अनेकौं किसिमले व्यंग्य गर्दै छेड हानिन्छ । वर्षभरिको घटनालाई समाचारका रुपमा गाउँभरि पस्किने यो चलनले प्राचीन समयमा पनि यो ठाउँका मानिसहरु संचारको विकासका लागि अग्रसर रहेको भान हुन्छ । जात्रामा उपस्थित भएकाहरुलाई सकेसम्म हँसाउने चेस्टा हुन्छ । हिले जात्राको नेतृत्व गर्ने एउटा समूह हुन्छ । त्यो समूहले हिले जात्राभन्दा एक महिना अघिदेखि नै बाजा बजाएर टोल घुम्दै हिले जात्रा आउँदै गरेको संकेत गरेको हुन्छ । यिनैले जात्राको अगुवाई गर्दै गुंलाबाजाको ढोलक बजाउँछन् । ३÷४ जनाले स्थानीय असारे गीतका बोलमा कनाठ बाजा फुक्ने पनि गर्दछन् । यिनीहरुले जिउमा सेतो जामा र कालो कोट, अनुहारमा ध्वाँसो र आँखामा कालो चश्मा लगाएका हुन्छन् भने शिरमा सेता फेटा बाँधेका हुछन् । कम्मर मर्काई मर्कार्ई बाजा बजाउँदै यिनीहरु अगाडि बढ्छन् । यसभन्दा अघिअघि दुईजना काँधमा जुवा राखी गोरुर्झं नारिएर हिड्दा पछाडिबाट हलीले जोत्दै धपाएको अभिनय मिल्ने गरी हिंडेका हुन्छन् ।
 
अनुकारमा ध्वाँसो लगाएका गोरु जोताइको ढाँचामा हिड्ने व्यक्तिहरु कहिले दायाँ र कहिले बायाँ गाई मान्छेलाई बाधा पु¥याउँदै अघि बढ्छन् । यसभन्दा पछाडि कोदालो आकारको सामान बोकेका व्यक्तिहरु खेत खन्ने र सम्याउने नक्कल गर्दै अघि बढेका देखिन्छन् । यसभन्दा पनि पछि ३०÷३५ जना ठूला मान्छे र केटाकेटीहरु आइमाइको जस्तो भेषभुषा लगाएर बाजाको ताल र नृत्यको सुरमा धान रोपेको अभिनय गर्दै अगाडि बढ्छन् । चण्डेश्वरीको लाछीटोल पुगेपछि समाप्त हुने यो हिलेजात्रा निकै रमाइलोसँग सम्पन्न गरिन्छ । यसै दिन मान्छेहरुले विभिन्न झाँकी वा दृश्य प्रस्तुत गरेर दर्शकहरुलाई हँसाउने चलन पनि टोखामा विद्यमान छ । नयाँ दुलाहा दुलहीको भेष र अभिनयमा पुरुषकै जोडी रक्सी खुवाउँदै हिंड्ने पनि चलन छ ।
 
श्रीकृष्णाष्टमी
भगवान श्री कृष्णको जन्म दिनका रुपमा हिन्दुहरुले मनाउने यस पर्वमा कृष्णको पूजा–जात्रा गर्दछन् । रातभरि जाग्राम बसी भोलिपल्ट भजनखलः द्वारा खट जात्रा गर्दै टोखा नगर परिक्रमा गर्ने चलन छ । भिक्षा (केपु) को रुपमा हेरक घरबाट कृष्णलाई चामल गहुँ आदि दिईन्छ । भिक्षा दिनेले कृष्णको फूलप्रसाद लिएर आफ्ना घरका सबैलाई बाँड्ने परम्परा रहेको छ । रथयात्रा गर्दा कृष्णको प्रतिक स्वरुप मानेर रथमा भगवान कृष्णको फोटो अथवा मूर्ति राख्ने चलन छ । भजनखलः को संख्याका आधारमा टोखाका विभिन्न ठाउँबाट रथजात्रा गरी टोल घुम्ने चलन छ । यसरी रथयात्रा गर्दा भिक्षाको रुपमा प्रशस्तै खाद्यान्न सङकलन हुन्छ । यसरी संकलित अन्न भण्डारण गरी श्रीकृष्णाष्टमी जात्राको भोज इन्द्रजात्राको दिन खाने चलन छ । यस दिनदेखि लाखे नाच नचाईन्छ ।
 
ईन्द्रजात्रा
इन्द्रजात्रा पर्व भाद्रकृष्ण एकादशीदेखि पूर्णिमासम्म ५ दिनसम्म मनाईन्छ । पाँच दिनसम्म प्रत्येक साँझ मन्दिरमा बत्ती बाल्ने कामलाई यहाँ बत्ती दिने भनिन्छ । एकादशीको दिन टोखाको प्रत्येक टोल तथा लाछीहरुमा खम्बा ठड्याउने परम्परा छ । त्यसमा इन्द्रको मूर्ति–प्रतीक स्थापित गरिन्छ । बत्ती दिन जाँदा मान्छेहरु समूह समूह भई बाजा बजाउँदै जान्छन् । यसमा केटीका भेषमा आएका केटाहरु पनि सामेल हुन्छन् । यसबेला युवाहरु बारी बगैंचा आदिमा प्रवेश गरी काँक्रा, उखु, बदाम आदि चोरेर खाने गर्छन् । यहाँको परम्परागत विश्वासअनुसार इन्द्रदेवता नै चोर भएको हुनाले यस अवधिमा चोरेर खाँदा पाप र श्राप लाग्दैन ।
 
पूर्णिमाको दिन बेलुका सपनातीर्थबाट चण्डेश्वरी हुँदै गणेशस्थान र ईन्द्रायणी लगायत गाउँ तथा गाउँ बाहिरका सबै मन्दिरमा बत्ती दिने गरिन्छ । धेरै जसो घरबाट दही चिउरा दिने चलन पनि छ । यस दिनमा परम्परागत लाखे नाच पनि देखाईन्छ । लोककथनअनुसार यो जात्रामा महादेव र पार्वतीसँगै बसेको बेला पार्वतीले महादेवको अपमान गरेको अड्कल गरिछन् र सो अपमानबाट मुक्त पाउन पृथ्वीको भ्रमण गरिछन् । टोखाका ग्रामीणहरुले पार्वतीलाई देखी फकाई फकाई गर्दै गल्ली, कुना र अँध्यारो ठाउँतिर घुमाएछन् । बिहान हुँदा पार्वतीको वास्तविक रुप थाहा पाई शरणमा गएछन् । त्यसै बेलादेखि यो पर्वमा मान्छेहरु गीत गाउँदै समुह समुह भएर गाउँ घुम्ने चलन रहँदै आएको जनविश्वास छ । यस्तो घुमाइसँग इच्छा पूर्तिको सम्बन्ध पनि गाँसिएको बताइन्छ । त्यसो हुनाले सकिन्छ भने ३–४ पटक गाउँ घुम्नु पर्ने र सकिन्न भने एकपटक मात्रै भए पनि गाउँको परिक्रमा गर्दा राम्रो हुने अड्कल गरिन्छ । यो गाउँ घुमाइको रोचक पक्ष के छ भने सकेसम्म बढी फोहर, काँडा आदि भएको ठाउँबाट जुत्ता चप्पल नलगाई हिड्नुपर्छ  यसो गर्दा काँडा, सिसा खादि बिझे पनि ऐया भन्नु हुँदैन । घुम्ने क्रमको १२–१ बजेको समयलाई टोखाका मान्छेहरु ‘वाल्ख म्हुलेगु’ भन्दछन् । यो पर्वमा यसरी फोहर, अँध्यारो आदिमा घुमेपछि यमराजले पनि काँडा, सिसा आदिमा टेक्न लगाउँदैन भन्ने मान्यता रहेको छ । साथै, यस सामाजिक पर्वका पाँच दिन घरबाट राती बाहिर निस्कन बन्देज नहुने हुँदा युगल जोडीलाई प्रेम प्रस्ताव तथा प्रेम साटासाट गर्ने अवसर मिल्दछ । बत्ति दिंदै परम्परागत नेवारी पोशाकमा सजिएर लस्करमा हिंडेका युवतीमध्ये आफूलाई मन पर्ने युवतीलाई बकाइनोको गेडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने चलन अझै जीवित छ । यसरी राखिएको प्रस्तावमा युवतीको पक्षबाट सकारात्मक जवाफ छ भने सो युवती मुस्कुराउने चलन पनि छ ।
 
कुमारी पुजा
टोखामा जीवित देवी कुमारी पूजाको परम्परा पहिलेदेखि चल्दै आएको छ । कुमारी राख्दा घाउचोट नलागेको, दाँत नझरेको र रजस्वला पनि नभएको हुनुपर्ने मान्यता छ । कुमारी छनोट गर्ने काममा तलेजु गुठीका पदाधिकारीहरु अग्रसर हुन्छन् । पूजाका लागि व्यवस्था गरिएकी कुमारी रजस्वला भएमा तिनको ठाउँमा अर्की कुमारी राख्नुपर्ने चलन छ । जात्राको समयमा कुमारीलाई शिरमा मतुल आभुषण पहिराइन्छ र शरीरमा रातो पोसाक लगाएर सिंगारिन्छ । गणेशलाई पनि यसैगरी सिंगारेर खड्गजात्रा र बैशाखमा हुने विस्केटजात्राको २ गतेका दिन दुवैलाई एउटै रथमा राखी जात्रामा सामेल गरिन्छ । यिनीहरुलाई जात्रामा तलेजुगुठीका मूलनाइके समेत अरु सर्वसाधारण मानिसले पनि पूजा गर्छन् । यसरी पूजा गर्दा कुमारीलाई केही दक्षिणा दिने गरिन्छ । जात्रा तथा पूजाको काम सकिएपछि कुमारी जुन घरकी हुन्, रथ कुमारीले प्रयोग गरेको मतुल– आभुषण पनि त्यही घरमा लगेर राख्ने चलन छ । जात्रा बाहेक प्रत्येक मङ्गलबार, शनिवार र चतुर्दशी तिथिका दिन सम्बन्धित घरका मान्छेले धूपवत्ती आदि गरेर कुमारीको पूजा गर्ने परम्परा छ ।
 
विजयादशमी
स्थानीय भाषामा ‘म्हनी’ नामले जानिने दशैं पर्व आश्विन शुक्ल परेवा तिथिदेखि पूर्णिमासम्म मुलुक भरिका मान्छेहरुले जस्तै यहाँ पनि हर्षोल्लास पूर्वक मनाउँदछन् । यहाँका बासिन्दा पनि घटनस्थापना, फूलपाटी, महाअष्टमी, विजयादशमी आदिका विशेषता देखाउँदै यो पर्वमा सहभागी हुन्छन् । घटस्थापनाका दिन आफूलाई पायक पर्ने खोलाबाट बालुवा ल्याई धान, जौ आदि मिलाएर घरभित्र निश्चित ठाउँमा जमरा राखिन्छ । घटस्थापनादेखि नवमीसम्म विहान सबेरै वाजागाजा सहित प्रत्येक दिन फरक तिथिमा स्नान गरी घर फर्कन्छन् र जमरामा चोखो पानी अर्पण गर्छन् । टोखाका केही मान्छेहरु दशैं खर्चवर्च मिलाउन हाँस कुखृुरा आदि लिएर शहरतिर बेच्न जाने चलन पनि छ । सप्तमी अर्थात् फूलपातीका दिनदेखि नवदुर्गाको विशेष पूजा हुने हुँदा चण्डेश्वरी तथा मसानकालीको मन्दिरमा घुइँचो हुन्छ । टोखाभन्दा बाहिर गएर विभिन्न देवी देवताका पूजा तथा दर्शन गर्ने चलन पनि छ ।
 
यहाँका नेवारहरुले महाअष्टमीका दिन ‘कुछी भ्वे’ भनिने भोज खान्छन् । परिवारका प्रत्येकले एक–एक कुरुवा चिउराको भोज खाने गर्छन् । साना उमेरकाले खाई नसक्ने हुनाले करुवाभित्र कागत आदि राखेर पनि यसको प्रक्रिया पूरा गरिन्छ । पंक्तिबद्ध बसेका परिवारका सबै सदस्यलाई गणेश आदि गृहदेवताको पूजा गरेपछि घरमूलीद्वारा ‘कुछी भ्वे’ मा सामेल भएकाहरुलाई सगुन दिइन्छ र टीकाटाला गरिन्छ । त्यसपछि चिउरा, अचार, मासु आदिका परिकार सहित ‘भोज’ खाने चलन छ । पहिले पहिले यस्ता भोज आदिमा केराका पात उपयोग हुने गर्दथ्यो । हिजोआज भने थाल, प्लेट आदिलाई पनि प्रयोग गर्न थालिएको छ । दशैंको विशेष दिन दशमीमा आफूभन्दा पाका उमेरका अभिभावकसँग टीका थाप्ने चलन छ ।
 
तलेजु मन्दिर, बलि र खड्गजात्रा
टोखाको तलेजु मन्दिर जात्राका लागि प्रशिद्ध छ । यहाँस्थित कोतमा महानवमीका दिन राँगो काट्ने चलन छ । तलेजु मन्दिर, बलि तथा खड्गजात्रासँग सम्बन्धित सबै व्यवस्था मूल नाइकेको निर्देशन र रेखदेखमा हुने परम्परा रहेको छ । कोतमा काटिएको राँगाको मासु प्रसाद थकालीदेखि लिएर राँगो काट्ने खड्गे, केश–नङ्ग काट्ने कुस्ले, प्वँ बाजा बजाउने ज्यापू लगायतका सम्बन्धित सबैलाई गरेर ८४ भोजको भाग लगाई खुवाउने गरिन्छ ।
 
तलेजु मन्दिरमा १३ वटा खड्ग सहितकी भगवती देवी रहेकी छिन् । यी देवीलाई भक्तपुरबाट ल्याएको विश्वास गरिन्छ । त्यसैले खड्गजात्रा गर्दा बाँसभित्र लुकाएर फूलैफूलको छत्रजस्तो आकृति बनाई ढाक्ने गरेको मान्छेहरु बताउँछन् । विजया दशमीको दिन हुने यस जात्रामा समावेश गरिने कुमारी र जालीदेवतालाई नारायण मन्दिर घुमाएर ल्याएपछि निश्चित ठाउँमा अड्याइन्छ । त्यसपछि मूलनाइकेले पूजा गर्छन् । जालीदेवता ल्याउनेहरुलाई बलिको लागि भुइफसी (कुभिण्डो) दिइन्छ । तलेजु मन्दिरको नजिक रहेका यस क्षेत्रका सुरक्षा देवता क्षेत्रपालमा लगेर भुइफसी काट्छन् । औषधि हुने विश्वासले गर्दा काटिएको भुइफसी पाउन मान्छेहरु लुछाचुँडी गर्छन् । यो हेर्नलायक जात्रा समेत बन्दछ ।
 
यस कार्यक्रमपछि देथकालीलाई अगाडि लगाएर १३ जनाले खड्गको रथ बोकी सकेसम्म दौडिंदै अगाडि बढ्छन् । यो समयमा थकालीहरु भने कामी रहेका हुन्छन् । तलेजु मन्दिरमा पुगेपछि मूलनाइकेले रथमा भएका फूलमाला कुमारीलाई चढाउँछन् । अन्य थकालीलाई एउटा एउटा माला दिन्छन् । अरु जात्रा हेर्न आउने श्रद्धालुहरुलाई पनि फूलप्रसाद बाँड्ने गर्छन् ।
 
तिहार
यमपञ्चक, लक्ष्मीपूजा, दीपावली तथा तिहारजस्ता विभिन्न नामले जानिने यो पर्व कागतिहार, कुकुरतिहार, लक्ष्मीपूजा, म्हःपूजा, भाइटीका आदि क्रमशः आउने चरणहरु पूरा गरेपछि तिहार टुंगिन्छ । तिहारको पहिलो दिन काग र दोस्रो दिन कुकुर पूजा गर्ने अथवा यी पशुपन्छीप्रति सम्मान प्रकट गर्ने परम्परा टोखामा पनि छ । तिहारको तेस्रो दिनमा गाईप्रतिको सत्कार हुन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा भनेर कुनै एउटा भाँडामा चामल आदि राखी धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । कार्तिक शुक्ल परेवाका दिन गोवर्धन पूजा र म्हः पूजा हुन्छ । टोखाका नेवारहरु पनि गोवर्धन पूजा पछि आत्मपूजा अर्थात म्हः पूजा गर्दछन् । विशेष गरी म्हः पूजा गर्नेहरुमा यहाँ जोशी, कर्माचार्य आदि देखिन्छन् । म्हः पूजामा सामेल हुनेहरु उमेरक्रमको आधारमा लहरै बस्छन् । यस्तो पूजामा घरमुली महिलाले अग्रसरता देखाउँछन् । फलफूल आदिको वृष्टि गराएपछि टीका सगुन भोज आदि गर्दै म्हः पूजा सिद्धिन्छ । यस दिनलाई नेपाल सम्वत्को नयाँ दिनका रुपमा मान्न उत्साह तथा तत्परता देखाउनेहरु पनि यहाँ देखिन्छन् । कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका गरिन्छ । दिदी–बहिनीले दाजुभाइलाई पञ्चरंगी टीका, पाँच रङ्गको लुगा काँचो धागाको मालामा बेरेर लगाइदिने गर्छन् । अन्त्यमा सगुन दिएर दिर्घायुको कामना पनि हुन्छ ।
 
सकिमन्हा पुन्ही
यो पर्व कार्तिक शुक्लपक्षमा पर्छ । पूर्णिमालाई टोखामा पुन्ही भनेर जानिन्छ । यस पर्वमा लगातार ५ दिन बेलुका टोखामा भजन मण्डलीहरुले विभिन्न खाद्य परिकार तथा फलफूल आदि उपयोग गरी देवीदेवताका आकार बनाउने चलन छ । बेलुकीको भजन सकेपछि खलःको नाईकेले इशारा गरेपछि भजन श्रवण गरिरहेको सम्पूर्ण व्यक्तिहरु तँछाड मछाड गरी देवता–आकार बनाइएका खाद्यान्न सोहोर्छन् । देवताका आकार बनाउन उपयोग गरिएका विभिन्न खाद्यपरिकारहरु प्रसादको रुपमा खान सकेमा पेट दुख्ने रोग निको हुने कुरा विश्वास गरिन्छ । भजन खलःहरु यस दिन बुढानिलकण्ठसम्म पुगेर भजन प्रस्तुत गर्दछन् । बाजाखलःहरु पनि बाजा बजाउँदै मन्दिर परिक्रमा गर्दछन् । बेलुका चण्डिकेश्वर महादेव र चण्डेश्वरी देवीलाई खटमा राखेर परिक्रमा गराउने चलन छ । टोखामा यस दिन सखरखण्ड र पिंडालु उसिनेर खाने चलन पनि छ ।
 
योमरी पुन्ही (धान्य पूजा)
मंसिर शुक्लपूर्णिमालाई टोखामा यःमरी पुन्हि भनिन्छ । धान भित्र्याएपछि आनन्दले मनाउन पाइने यो पर्वमा टोखाका बासिन्दाहरु यःमरी बनाएर खान्छन् । अरु जातका मान्छेले बनाउने नगरेको यो परिकार भर्खरै भित्राएको नयाँ धान पिसेको चामलको पीठो मुछेर त्यसभित्र चाकु, तिल आदि राखी स्तुप अथवा शङ्खाकार बनाइन्छ । यसलाई वाफमा उसिनेर पकाइन्छ । यसलाई सर्वप्रथम सम्पूर्ण देवताहरुलाई चढाएपछि आफूले ग्रहण गर्ने चलन छ । जुठो परेको घरमा यो परिकार नपकाउने हुँदा उनीहरुका आफन्त र छिमेकीले सो घरमा पु¥याइदिने चलन छ । ब्वलखलः मा मिलेर काम (पर्मपात) गर्नेहरु बेलुका भोज खाने र वर्ष भरिको मेलाको हिसाब मिलाउने काम पनि गर्छन् । यसको बेलुका युवा–युवती समूहमा हिंडी घर–घरमा गई यःमरी माग्ने चलन छ, जुन द्यौसी–भैलोसँग मिल्दो छ । तर यसमा भने पैसा नभई यःमरी र अन्य खानेकुरा मात्र दिने चलन छ ।
 
स्वस्थानी व्रत
माघ महात्म्यको रुपमा महिनाभरि मनाइने भएको हुनाले यो पर्वलाई माघमहात्म्य पनि भनिन्छ । पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूािर्णमासम्म यो चाड मनाउँदा प्रत्येक दिन माध गाउनेहरुको समूह तयार गर्न एक जना संयोजकले विहान सबेरैदेखि शङख बजाएर स्थानीय मानिसलाई उठाउने गर्टन् । चण्डेश्वरीमा पुगी नुहाइ–धुवाइ गरेर फर्किन्छन् र प्रत्येकदिन बेग्लाबेग्लै माधः (भजन) गाउँदै टोल घुम्ने गर्दछन् । यो क्रम एक महिनासम्म चलिरहन्छ । माघको लामो रातमा मानिसहरु अल्छि भई ढिलोसम्म सुत्ने हुनाले उनीहरुलाई बिहानै उठाउन र धर्म–कर्ममा जागरुक बनाउन यो चलन चलाइएको बुढापाका बताउँछन् । सबैजसो घरका मान्छे व्रत नबसे पनि कथा भन्ने र सुन्ने काम चाहिं धेरैजसोका घरमा हुन्छ । माघको पूर्णिमाको दिन व्रतबस्नेहरु रोटी, बदाम आदि लिएर प्रत्येक मन्दिरमा चढाउँछन् । यो दिन विशेष गरी व्रतालुहरु चण्डेश्वरी मन्दिर प्राङ्गणमा बसी स्वस्थानी देवीको पूजा अर्चना गर्छन् । कुमार कुमारालाई महादेव–पार्वतीको रुप सम्झेर सिंगार्ने चलन पनि छ र बेलुकी पख गणेशस्थानदेखि मुख्य मुख्य टोल घुम्दै दण्डवत् (लट्ठी जस्तै ढले) को ढाँचामा नमस्कार गर्ने, त्यसभन्दा अघि अघि वत्ती बाल्ने र केही व्यक्तिहरु घडा हल्लिंदा जल सबैतिर पर्ने गरी बनाइएको कलश टाउकामा राखेर पङ्क्तिवद्ध उभिएकालाई जल छ&

News Tokha times

कमेन्ट