टोखा

शुरु भयो पाहाँ चर्‍हे नखः

शुरु भयो पाहाँ चर्‍हे नखः

काठमाडौं । आज चैत कृष्ण चतुर्दशी अर्थाल पाहाँ चर्‍हे । आज विहान थनेलाछिमा रहेको यँसि गाल्यमा यँसि (लिङ्गो) उठाएसँगै पाहाँ चर्‍हे नखःको विधिवत रुपमा शुरु भएको छ । यँसि उठाउनु पूर्व यँसि गुठीका खलकहरुले यँसिको आफ्नै मौलिक र प्राचीन विधिबाट विशेष पूजाआजा गरिन्छ । यँसि गुठीका सदस्यसहित जनसमुदायहरु होइस्ते र हइस्ते गर्दै एक आपसको सहकार्यमा यँसि उठाइन्छ ।यँसिलाई महादेवको प्रतीकका रुपमा मानिन्छ । हरेक वर्ष चैत कृष्ण चतुर्दशी देखि कृष्णपक्ष तीनदिन सम्म हर्षोल्हासका साथ पाहाँ चर्‍हे नखः मनाईदै आईरहेको छ । 

पाहाँ अर्थात पाहुना र चर्‍हे अर्थात पर्व, बिहे गरि पठाइसकेका छोरीहरुलाई घर व्यवहारले नभ्याइ रहने हुँदा वर्षो एक दिन भए पनि अनिवर्य रुपमा यस पर्वको उपलक्ष्यमा निम्तो गरेर भोज खुवाउने परम्परा छ ।

आज बेलुका लुक्माद्यः जात्रा गरिन्छ । द्यः छेँ बाट वंतुली (अजिमा द्यः) र सपनविनायकको मुर्तीलाई खटमा राखी जात्रा गरिन्छ । अजिमा द्यः -पार्वती) आमा, यँसि -शिव) पीता र सपनविनायक -गणेश) लाई छोराको प्रतीकका रुपमा लिइन्छ । साँझपख टोल, चोक, ननी, बहालमा निगालो बालेर बाजागाजा सहित अजिमा द्यः र सपन विनायकको मुर्तीलाई खटमा राखि टोखा नगर परिक्रमा गरिन्छ । टोखाको धार्मिक तथा सामाजिक मान्यतालाई अघि सारेर हेर्दा अजिमा द्यः (आमा) र सपनविनायक (छोरा) दुबै मिलेर लुकिरहेको महादेवलाई खोजि हिडेको प्रतीकको आभाष मिल्दछ । यसै समयदेखि "हे राम गन वने गन च्वने, वने थास मदु दैब..." भन्ने करुणा रसले भरिएको राग गाउने गर्दछ ।

यस पर्व सम्बन्धी  "महाकाल तन्त्रे शिव बचन" शास्त्र अनुसार यस दिन महदेव -लुकुमहा द्यः)लाई मासु, लाभा, रक्सी, थ्वं, लुँबु, बह बुँ, आदि चर्ढाई, बत्तिबाट बनाइएको गाजल लगाएर अष्टमात्रिका अजिमाहरुको दर्शन गर्नाले सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।


News Tokha times

कमेन्ट