टोखा

टोखाको ऐतिहासिक बिस्काः जात्रालाई यस बर्ष भव्य र सभ्य बनाइने

काठमाडौं । काठमाडौंको प्राचीन शहर टोखामा हरेक बर्ष मनाइदै आएको बिस्काः जात्रालाई यसपटक थप व्यवस्थित बनाइने भएको छ । नेपालको सबभन्दा पुरानो बिस्काः जात्रा मानिएको यस जात्रा आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको भन्दै टोखा बिस्काः जात्रा मूल व्यवस्थापन समिति नेवाः गुथी टोखाले यसपटक जात्रालाई भव्य र सभ्य बनाउने भएको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले ऐतिहासिक एवं वैभवशाली शहर टोखामा हरेक बर्ष नयाँ वर्षको अवसरमा मनाइने सपनतीर्थ मेला र वैशाख १ देखि ४ गतेसम्म हुने बिस्काः जात्रा मेलामा दश लाख बढी तीर्थालु र पर्यटक उतार्ने लक्ष्य लिइएको छ । नयाँ बर्षको स्वागत मौलिकरुपमा गरिदै आएको टोखाको उत्खनन र अध्ययनमा पुरातत्व विभागले पनि चासो देखाएपछि जात्रा व्यवस्थापन समितिले टोखामा मनाइदै आएको परम्परागत पर्वहरुलाई अब विशेषरुपमा मनाउने भएको छ ।

व्यवस्थापन समितिका सल्लाहकार गणेशमान श्रेष्ठले टोखावासीकै कमजोरी र अज्ञानताका कारण बिस्काः जात्राले पाउनु पर्ने चर्चा बटुल्न नसकेको भन्दै यसपटक सरकारका विशिष्ठ व्यक्तित्वहरुलाई पनि मेला र जात्रामा सहभागी गराइन लागेको जानकारी दिनुभयो । कार्यक्रममा समितिका सल्लाहकार मनिष जोशीले नयाँ वर्ष मनाउने आफ्नै शैलीलाई संरक्षण गरेको टोखाले देशवासीलाई नै सांस्कृतिक सन्देश दिने योजना बनाएको बनाउनु भयो ।

उक्त पत्रकार सम्मेलनमा टोखा बिस्काः जात्रा मूल व्यवस्थापन समिति नेवाः गुथी टोखा संयोजक तथा अध्यक्ष देवराज डंगोलले टोखामा मनाईने बिस्काः जात्राको महिमा र महत्वको बारेमा पत्रकारहरुलाई जानकारी गराउनु भयो ।


nentravel

कमेन्ट