टोखामा टहिलंदा

 १२ माघ २०६६, मंगलवार १०:४३   | न्यूज अफ टोखा

अशोक सिलवाल

बिहान सबेरै शहरमा हल्ला सुरु नहुँदै छात्रछात्रासहित टोखा गएका थियौं । हामीले शहर नछोड्दै पानीको हाहाकार सुरु भइसकेको थियो । पानीको जोहो गर्न खाली गाग्री लिएर मिर्मिरेमा भौंतारिरहेका महिलाहरु देख्दा यात्रा असफल हुने हो कि भन्ने आशंका उत्पन्न भएको थियो । हाम्रो मष्तिष्कमा रहेका अन्धविश्वासले यस्तो आशंका जन्माएको थियो । तर चण्डेश्वरी मन्दिर छेउमा टुटी बिनाको धारामा निरन्तर पानी बगिरेको दृश्य देखेर अपसकुनको आशंका हरायो । र एकसाथ लोभ ईष्या र आन्नद लाग्यो ।
न गाउँ न शहर । शहर मिश्रित गाउँ वा गाउँमिश्रित शहर अर्थात टोखा । चाकुको लागि यो प्रख्यात रहेछ । स्थान वा सम्पदाका हिसाबले भने भुतखेल चण्डेश्वरी र सपनातीर्थले टोखाको नाक राखेको रहेछ । भुतखेलको खुला चौर सल्लाका रुखहरु र कलेज ड्रेस लगाएका विद्याथीहरु । यी तिनको फ्युजनु कहिल्यै नटुटे पनि हुन्थ्यो भने झैं लाग्यो ।

पिता ठुलो कि पति एकाबिहानै मन्दिरबीचमा बसेर भक्तिभाव गर्नुको साटो यही प्रश्नको सेरोफेरोमा हराउन थालें । जन्म दिने पिता र विहेपछि जीवन बिताउनुपर्ने पतिमध्ये कुनै एकलाई छान्नु परे कसलाई छान्छौ? टोखाको चण्डेश्वरी मन्दिर वरिपरि झुम्मिरहेका छात्रामध्यै कुनै एकलाई सोधौं कि जस्तो लाग्यो । तर शिक्षक हुनुको औपचारिकताले मनको कुरो मनमै बाधें ।
नयाँ बसपार्कबाट करिब एक घण्टाको पैदल दुरीमा रहेको चण्डेश्वरी मन्दिर क्षेत्रको एक भाग देखाउँदै स्थानीय बालकृष्ण श्रेष्ठ भन्दै थिए ुसतीदेवी होमिएको अग्निकुण्ड यही हो । महादेवपत्नी एवम दक्षपतिकी छोरी सतीदेवी र उनको मृत्युसंग जोडिएको यो प्रसंगले सानो छदाँ ध्यानपुर्वक स्वस्थानीकथा सुनेको समय सम्झना आयो । परिवारका सबै सदस्य जम्मा भएर स्वस्थानी सुनेको विगत साँझहरु बिहानको चीसो हावाले हानिरहेको दिमागभरि नाच्न थाले ।
स्वस्थानीकथा अनुसार पिता दक्षपतिले लगाएको महायज्ञमा आफ्ना पति महादेवलाई नबोलाएपछि अपमानित भएको ठानी सतीदेवले सोही अग्निकुण्डमा हामफाली प्राण विसर्जन गरकी थिइन् । चण्डेश्वरी मन्दिरमा मुख्यत महाकाली शिवको मन्दिर र यज्ञकुण्ड छ । चार बर्षअघि महाकालीको आर्कषक मुर्ति निर्माण गरिएको रहेछ ।
यहाँ प्रत्येक बर्षको बैश्ाख १ गते मेला लाग्छ विस्केट जात्रा, युथ भिजन कलेजमा अध्ययनरत पत्रकारिता तथा आमसंचार विषयका तीन दर्जन विद्यार्थीलाई मन्दिरछेउबाट नियालिहेका एक वृद्ध भन्दै थिए । बैशाख आउनै लागिसक्यो, हतारिए झैं उनले भने, प्रत्येक शनिवार प्रशस्त मान्छे आउँछन् ।
स्थानीय बालकृष्णसंग राजनीतिबारे बुझ्न मन लाग्यो । प्रश्न झर्न नपाउँदै भन्न थाले, हाम्रो क्षेत्रका नेता नरहरि आर्चायले चुनावताका मीठो र अनावश्यक आश्वासन दिएका छैनन् । भनेका छन् कि संविधान बनाउनेतिर नै जोड दिन्छु । यदि कांग्रेस नेता एवम संविधानसभासद् आचार्यले चुनावताका सस्तो लोकपि्रयताको लागि झुटा आश्वासन नबाँडेको हो भने उनलाई सलाम गर्नैपर्छ । भोटको लागि जे पनि बोलिदिने आम नेपाली नेताभन्दा उनी फरक छन् भने त्यो त राम्रै हो नि ।
बालकृष्ण हाम्रा लागि टोखाको प्रतिनिधि पात्र भएका छन् । आगामी संविधानबारे उनी भन्छन्, जनमैत्री संविधान बनोस् । सायद टोखाको आवाज पनि त्यही हो ।
टोखाको मुख्य पेशा कृषि रहेछ । घरैपिच्छे सिकर्मी डकर्मी । यहाँका कतिपय हजुरबा र हजुरआमाहरु अझै पनि नेपाली भाषा बोल्न सक्दैनन् रे । कुरा तत्कालै प्रमाणित भयो । सपनातीर्थमा भेटिएकी एक वृद्धा कुल पोख्रलको गीत बोलाउँदा पनि बोल्दिनौ, भने झै प्रश्न पुरा नभइसक्दै हामीभन्दा टाढा पुगिसकेकी थिइन । यो ती वृद्धाको मात्र होइन स्थानीय बालबालिकाको पनि समस्या हो । विद्यालयमा नेपाली नजान्ने नेवार समुदायका कतिपय विद्यार्थीका कारण पठनपाठनसमेत प्रभावित हुने गरेको टोखा बजारमा भेटिएका एक स्थानीय शिक्षक बताउँदै थिए ।
फर्कने बेलामा विद्यार्थीहरु एक बृद्धासँग झुम्मिएका थिए । आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने उखानलाई पत्रकारिताका विद्यार्थीले अनुसरण गरेको देख्दा त्यतै जान मन लाग्यो । तर समय हाम्रो नियन्त्रणमा थिएन । हामीलाई चाँडै कलेज फर्किनु थियो । हल्का हाँसेर वृद्धासँग विदा भएँ ।
ashoksilwal@gmail.com

Facebook Comments

अन्तिम अपडेट: १२ माघ २०६६, मंगलवार १०:४३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया