नयाँ वर्षको शुभकामना

 ९ कार्तिक २०६७, मंगलवार ०६:४२   | न्यूज अफ टोखा

कार्तिक २१ गते
नेपाल संबत ११३१ कछला पारु
टोखा, काठमाडौं   
   
     तपाईँहरु मध्ये केहीलाई अचम्म लाग्न सक्छ नयाँ वर्षको उल्लेख गर्दा। किनभने अहिले विक्रम संवतमा कात्तिकको महिना हो भने इस्वी संवत अनुसार भर्खर नोभेम्बर महिना हो। यो नयाँ वर्ष चाहिँ हाम्रो देशको नामबाट चलाइएको नेपाल संवतको हो। देशको नामबाट चलाइएको यो विश्वकै एकमात्र संवत हो। आज यो स‌ंवत अनुसार नयाँ वर्ष ११३१ को पहिलो दिन। देशभर विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाइँदैछ। नेपाल संवत ८ सय ८८ वर्षसम्म नेपालमा आधिकारिक संवतका रुपमा प्रचलनमा रहेको थियो। तर विक्रम संवत् १९६० मा राणा शासक चन्द्रशमशेरको पालामा राज्यस्तरमा नै यसमाथि रोक लगाइएको थियो। नेपाल संवतलाई नेवार जातिको मात्र संवतका रुपमा मात्र सीमित पार्ने षडयन्त्र पनि त्यसैबेला चर्किएको हो। सात सालमा प्रजातन्त्र प्राप्तिपछि नै नेपाल संवतलाई पुनर्जीवित पार्न विभिन्न प्रयास हुँदै आएको थियो। तर १६ सालमा राजा महेन्द्रले कू गरेरपछि स्थिति बदलियो। नेपाल संवतको खुसियाली मनाउन शुभकामना जुलुसका लागि भेला हुनेहरुलाई समेत गिरफ्तार गर्ने काम त्यतिबेला भयो।

०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनापछि बल्ल खुला रुपमा यो संवत् मनाउने स्वतन्त्रता प्राप्त भयो। यो संवतको खुसियालीमा निकालिने शुभकामना र्‍यालिपछिको जुलुसमा प्रधानमन्त्रीको समेत उपस्थिति हुन थाल्यो। नेपाल संवत् सुरु गरेर समाज र राष्ट्रलाई दिएको युगान्तकारी योगदानको कदर गर्दै यस संवतका प्रवर्तक शङ्खधर साख्वालाई सरकारले वि. सं. २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो। नेपाल संबतलाई राज्यले राष्टिय मान्यता पनि दिई सकेको छ ।

नेपाल संवत प्रादुर्भावलाई हेर्ने सही दृष्टिकोण

कुनै पनि कुरालाई जुन रुपमा प्रस्तुत गरिएको छ त्यसै अनुरुप मात्र बुझदा त्यो बुझाई एकाँगी र अपूरो हुन जान्छ । प्रत्येक कुराको अध्ययन त्यसको ऐतिहासिकता र द्वन्दात्मकताको आलोकमा गरिनु पर्छ । त्यस पछि मात्र त्यसको सहि बुझाई वा निष्कर्षमा पुग्न सकिन्छ । राज्यले गर्ने हरेक काम राजनीतिबाट अलग रहन सक्तैन । नेपाल संवत लिच्छवी राजा मानदेव द्वितीयको नाममा प्रचलित मानदेव संवतलाई निषेध गरी आएको संवत हो । के शंखधर शाख्वाले प्रजाहरुको ऋण तिरिदिएकै कारण उनको इच्छा बमोजिम राजा राघवदेवले आफ्नै पुर्खाको नाममा स्थापित मानदेव संवतलाई खुसुक्क प्रतिसंहरण गरी लुसुक्क नेपाल संवत प्रचलनमा ल्याएको घोषणा गरेका होलान् । यस अहं प्रश्नको उत्तर खोजी गर्ने क्रममा त्यसको ऐतिहासिकता र द्वन्दतात्मकताको आधारमा नेपाल संवतलाई बुझदा त्यसको प्रादुर्भावका वास्तविक कारण बारे एउटा अलग्गै अन्तरकथा प्रस्तुत हुन आउँछ ।
एकजना प्रजाले अर्को प्रजालाई तिर्नु पर्ने ऋणसंग राजा राघवदेवलाई र उनको राज्यसंयन्त्रलाई केको चासो । त्यसैले शंखधर साख्वाले तिरिदिएको ऋण प्रजा-प्रजा बीचको ऋण नभएर राज्यलाई तिर्नु पर्ने कर र जरिवाना भन्ने बुझिन्छ । शासक र शासित बीच नरम गरम द्वन्द चलिरहनु राज्य संचालनको सामान्य प्रकृया नै हो । रातीराती विष्णुमति पारी गएर ज्यामीहरुले लखुतिर्थबाट सुनयुक्त बालुवा निकाली शंखधर साख्वाको घरमा संकलन गर्नुलाई राज्यलाई तिर्नु पर्ने चर्को कर र जरिवानाबाट पीडित प्रजाहरु भूमिगत रुपमा संगठित भएको, विद्रोह गर्न अर्थ संकलन गरेको र ती सबैलाई श्रखधर साख्वाले संयोजन वा नेतृत्व गरेको सजिलै अनुमान गर्न सकिन्छ । यसरि पीडित प्रजाहरुको संगठित बल र संकलित अर्थ सहित आएका शंखधर साख्वाको प्रचण्ड दवावका अगाडि राजा राघवदेव झुक्न र प्रजाको माग बमोजिम नेपाल संवत घोषणा गर्न वाध्य भएको प्रतित हुन आउँछ ।
राजनीतिक दृष्टिकोणले हेर्दा शंखधर साख्वाले प्रजाहरुको ऋण तिरिदिएको घटनाले त्यति महत्व राख्दैन जति त्यसमा अन्तरनिहित देशप्रेम, राष्ट्रियताको भावना र जनताको संगठित बलले सामन्ती राज्यसत्तालाई झुकाउन सफल भएको कुराले महत्व राख्दछ । यस अर्थमा शंखधर साख्वालाई नेपाल संवतका प्रवर्तक मात्र होइन नेपालका प्रथम देशभक्त एवं राष्ट्रवादी जननेता मान्दा अतिसयोक्ति हुने छैन । देशको क्षेत्रफल बढे तापनि नेपाल संवत माथि प्रतिवन्ध लागेदेखि नेपालको राष्ट्रियता कुण्ठित भएको छ । र्सवसमावेशी नेपाली समाज निर्माणको महान प्रकृया अवरुद्ध भएर नेपालको शासनसत्तामा एउटा खास जातिको प्रभूत्व कायम भएको छ । त्यसको विरुद्ध आज देशमा गणतन्त्रको स्थापना र सबै जातिको समानुपातिक प्रतिनिधित्व तथा सहभागिता सहितको राज्य संरचना खोजिरहेका शक्तिहरुका लागि नेपाल संवत प्रादुर्भावको अन्तरकथा एउटा गतिलो सन्देश हुन सक्छ ।
नेपाल संवत र नेपालको सामाजिक जीवन
नेपालका केही अल्पसंख्यक धार्मिक वा जातीय समुहहरु बाहेक नेपाली जनताको अत्यधिक बहुसंख्याको धार्मिक, साँस्कृतिक, सामाजिक तथा जन्मदेखि मृत्युपछि समेतको कार्यमा नेपाल संवत अक्षुण्ण र अभिन्न रुपले गाँसिएको छ । हाम्रा बच्चाका पास्नीका साइतहरु, विवाह तथा व्रतवन्धका साइतहरु नेपाल संवतको तिथि बमोजिम तय गरिन्छन् । हामीले मनाउने जन्मोत्सवहरु, जीवित पुर्खाका जङक्वहरु (बुढा पास्नीहरु) नेपाल संवतकै तिथि अनुसार मनाइन्छन् । मृत पुर्खाका नाममा गरिने श्राद्ध, तर्पण, पीण्डपानी अर्पण गर्ने कार्यहरु नेपाल संवतकै तिथिको आधारमा गरिन्छन् । साउने संक्रान्ति, माघे संक्रान्ति जस्ता केहि अपवादलाई छोडेर संस्कृतिका धनी हामी नेपालीका असंख्य चार्डपर्वहरु नेपाल संवतकै तिथि अनुसार मनाइन्छन् । हाम्रा अधिकाँश चार्डपर्वहरु धर्मसंग गाँसिएका छन् । तर्सथ हाम्रा सम्पूर्ण धार्मिक कार्यहरु र चाडवपर्वहरु पनि नेपाल संवतकै तिथि अनुसार मनाइन्छन् । नेपालका जातिवादी शासकहरुले नेपाल संवतलाई राजकीय मान्यताबाट गलहत्याए तापनि यो संवत नेपाली जनजीवनको पलपलमा, रगरगमा अत्यन्त गहिर्राईका साथ अभिन्न रुपले भिजेर बसेको छ । कुनै आततायी शासक वा शासक गूटले प्रतिबन्ध लगाउँदैमा नेपाल संवतको अस्तित्व र प्रयोग समाप्त हुनुवाला छैन । हाम्रो धर्म, संस्कृति, परम्परा र रितिरिवाज जीवित रहेसम्म नेपाल संवतको अस्तित्व पनि जीवित रहने छ ।
नेपाल संवत प्रयोग सम्बन्धमा थप कुरा
विश्वमा प्रचलित चन्द्रमानक वा सूर्यमानक कुनै पनि संवत समस्या मुक्त छैनन् । अत्यन्त वैज्ञानिक र विश्वनीय भइकन पनि चन्द्रमानक नेपाल संवतका पनि आफ्नै खाले समस्या र सिमाहरु छन् । प्रत्येक तेस्रो वर्ष १३ महिनाको हुनु, केहि तिथिहरुका बीचबीचमा टुटहरु हुनु र दुई दिनसम्म एकै तिथि पर्नु यसका समस्याहरु हुन् । मानिसको धार्मिक, सामाजिक तथा साँस्कृतिक जीवनमा यसले केहि फरक पार्दैन । तर द्रूत गतिमा चल्नु पर्ने र बढी भन्दा बढी यान्त्रिक बन्दै गएको वर्तमान समाजका लागि यसले केहि असुविधा सिर्जना गर्न सक्छ । त्यसैले राष्ट्रिय संवत घोषणा भए पछि पनि नेपाल संवतलाई कसरि प्रयोग गर्ने भन्ने विषयमा बहस हुनु आवश्यक छ ।
यातायात तथा संचार प्रतिधिको अभूतपूर्व विकास, व्यवसायको विविधता तथा रोजगारीको अवसर, उदारीकरण तथा भूमण्डलीकरणले गर्दा विश्व मानव समाज एउटा ठूलो परिवारमा परिणत हुँदै गइरहेको छ । राम्रो नाराम्रो जे भए पनि नेपाल त्यस प्रकृयाबाट अलग रहन सक्तैन । यस परिप्रेक्ष्यमा नेपालले विश्व समुदायसंग र्सर्म्पक गर्न र राजकीय कामकाजलाई विश्वस्तरमा एकरुपता कायम गर्न दुई-संवतको नीति अपनाउनु पर्छ । यसका लागि हामीले संसारभरका मुलुकमा प्रचलित इसवी संवतलाई सरकारी तथा संस्थागत कामकाजको संवत (Business Calendar) को रुपमा अपनाउनु पर्छ । यसलाई हामीले अघोषित रुपमा अपनाउँदै आएका पनि छौं ।
नेपालले विश्वसम्पर्क र सरकारी कामकाजका लागि हाल प्रयोगमा रहेको विक्रम संवतको प्रयोगलाई नै निरन्तरता दिएमा पनि फरक पदैनथ्यो । तर विक्रम संवतको उद्गम थलो भारतमै पनि त्यसको प्रयोग अति सिमित ठाउँका सिमित मानिसहरुले सिमित प्रयोजनका लागि मात्र गर्ने भएको हुँदा हाम्रो उद्देश्यका लागि त्यो उपयुक्त छैन । तर्सथ नेपाल संवतलाई राष्ट्रिय मान्यता र उच्च सम्मानका साथ सरकारी तथा संस्थागत कामकाजको संवत (Business Calendar) को रुपमा इस्वी संवतलाई मात्र प्रयोग गरिनु पर्छ र विक्रम संवतलाई विस्थापित गरी नेपाली जनतालाई हरदम तीन तीन वटा संवत मान्नु पर्ने झनझट र वाध्यताबाट मुक्त गरिनु पर्छ ।
Facebook Comments

अन्तिम अपडेट: ९ कार्तिक २०६७, मंगलवार ०६:४२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया