शंखधर साख्वाः र नेपाल संवत्

 ९ कार्तिक २०६७, मंगलवार ०६:३५   | न्यूज अफ टोखा

(यो लेख मध्यपुर थिमी-१३, भक्तपुर निवासी सुजेश श्रेष्ठले लेखनु भएको कान्तिपुर, २०६४ मंसिर २ गते, पेज नं : ६ मा प्रकाशीत भएको नेपाल संबत र शंखधर साख्वा सम्बन्धी लेख हो । तपाईहरुको जानकारीको लागि तपाईहरु समक्ष प्रस्तुत गर्दैछौ ।)

       नेपालमा मुख्यतयाः ३ वटा संवत् प्रचलनमा छन् । केही विदेसी चाडजस्तै (नयाँ वर्ष जनवरी १, क्रिसमस आदि) मनाउँदा इस्वी संवत्, त्यसपछि सरकारी कामकाज तथा घरायसी कामका लागि विक्रम संवत् तथा चाडवाड, शुभकार्य तथा जन्ममरणका तिथिमितिमा नेपाल संवत् प्रयोगमा छन् । दीर्घराज प्रसाईंको पत्र ‘राघवदेवले चलाएको नेपाल संवत् ‘(२८, कात्तिक) पूर्वाग्रही छ । उनले नेपाल संवत् तथा राष्ट्रिय विभूति शंखधर साख्वाःलाई होच्याएका छन् ।
        नेपाल संवत् स्थापनाबारे राजभोगमाला वंशावली, केशर-पुस्तकालय वंशावली आदिमा लेखिएको बेहोराबाट के थाहा हुन्छ भने लिच्छवि राजा राघवदेवको राज्यकालमा भक्तपुरका शासक आनन्ददेव प्रथमले काठमाडौंको लुँखु तीर्थ (लु ! सुन, खु ! खोल्सो, काठमाडौं कङ्केश्वरी स्थानपारि विष्णुमतीको पश्चिमी किनारमा छाउनीतिरबाट मिल्न आउने स्वर्णावती भनिने तत्कालीन सहायक नदीको दोभान) बाट ज्योतिषीले तोकिदिएको साइतभित्र ठीक पारेर बालुवा झिकेर ल्याउन भरिया पठाएका थिए । भक्तपुरे भरिया स्वर्णावती (लुँखु, हाल अप्रभंश भएर लखु पनि भनिने गरिन्छ) खोलाबाट झिकिएको बालुवाको भारी विष्णुमतीको पूर्वी किनारस्थित (आजकाल कङ्केश्वरी मन्दिरको दक्षिणतिर झोलुङ्गे पुलको छेउमा भत्किएको) पाटीमा बिसाएर बसिरहेका बेला त्यसै ठाउँका शंखधरले भरियासँग उक्त बालुवा किने । सुन मिसिएको बालुवाबाट सुन बटुलेर धनी भएका शंखधरले पछि राजा राघवदेवको हुकुमद्वारा जनताका सबै ऋण तिरी नेपाल संवत् चलाउन लगाए । प्रर्साईंले पत्रमा आनन्द मल्ल भन्ने नाम उल्लेख गर्नुभएको छ, नेपाल संवत्सँगै जोडिने नाम आनन्द मल्ल नभई राजा राघवदेवका समकालीन भक्तपुरका राजा आनन्ददेव प्रथम हुन् । साथै राघवदेव राजा थिए भने शंखधर साख्वाः कान्तिपुर निवासी र्सवसाधारण ।
       त्यस्तै नेपाल संवत्सम्बन्धी भाषा वंशावलीमा पनि उस्तैउस्तै तर अलि भिन्न प्रकारमा लेखिएको छ । उता ललितपत्तन सहरतर्फमानदेवका पुत्र राघवदेव राजा भई राज्य गरे । यिनले पनि आफ्ना राज्यमा नीतिले र शास्त्रानुसार प्रजाको पालना गर्थे । यिनैका पालामा भक्तपुरमा आनन्ददेवले राज्य गरेका बखत भक्तपुर निवासी कुनै ज्योतिषीले शास्त्रको विचार गरे । त्यसबाट बालुवाको सुवर्ण हुने साइत र सुवर्ण हुने बालुवा भएको जग्गासमेत यही हो भन्ने निर्णय गरे । अनि राजाका हजुरमा गई, ‘महाराज, आजका दिनमा कान्तिपुर लखुतीर्थको बालुवा सुवर्ण हुने योग परेको छ’ भनी बिन्ती गरे । राजाले पनि ज्योतिषीको सम्मत लिई त्यो बालुवा ल्याउन आफ्ना मानिस बोलाएर ‘तिमीहरूले अहिले गई विष्णुमती र भद्रमतीको सङ्गम लखुतीर्थको बालुवा उठाइ बोकेर सरासर यहाँ ल्याऊ’ भने । यस साइतमा उठाई ल्याउनू भन्ने केही खोलेनन् । राजाका मानिस पनि त्यही बमोजिम लखुतीर्थबाट बालुवा उठाई खर्पनमा हालेर बोकी भक्तपुरतिर लागे । कान्तिपुर सहरमा शंख नामक साख्वाः भन्ने एक ज्यापू थिए । उनले ती भरियाबाट बालुवा लिन आएको सुनेपछि यसमा अवश्य केही कारण छ, नत्र यहाँदेखि भक्तपुरसम्म बालुवा बोकी लानु पर्दैनथ्यो । कुनै उपायले आफ्नो घरमा पुर्‍याउनुपर्‍यो भन्ने विचार गरे । र, बालुवा बोक्ने मानिससँग नम्रतापूर्वक कुरा गर्दै घरमा पुर्‍याए । मीठा कुरा गर्दै सम्मानपूर्वक उनीहरूलाई खानेकुरा खुवाइसकेपछि भने- ‘मलाई पनि बालुवा चाहिएको थियो, बोकी ल्याउने मानिस पाइएको छैन, तिमीहरूले दया राखी त्यो बालुवा मेरा घरमा खन्याई लखुतीर्थबाट फेरि बालुवा उठाएर लगे ठूलो गुन मान्ने थिएँ । साथै ज्याला पनि चाहिए जति दिने थिएँ । प्रशस्त ज्याला दिँदा भरियाले त्यो बालुवा शंख नामक ज्यापूका घरमा खन्याइदिए । यो अरू कसैले थाहा पाएनन् । भरियाले दोस्रो पटक उठाई लगेको बालुवा भक्तपुर पुर्‍याउँदा सुवर्णसिद्धिको योग टरिसकेको हुनाले सुन भएन, बालुवै रह्यो । यता शंखको घरमा खन्याएको बालुवा सुवर्णसिद्धि हुने साइतमा उठाएकाले असल सुन भयो । यसरी धनी भएका शंखधरले पछि राजा राघवदेवको हुकुमद्वारा नेपाल निवासी सबै छोटाबडा प्रजाको ऋण सबै तिरेर कलिगताब्द ३९८१ र शालिवाहनीय शाके ८०२ लाई नेपाल संवत् १ कायम गरे । (राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको वेबसाइटबाट साभार गरिएको हो । ) वंशावलीमा साल र तिथिसहित राजा राघवदेवको राज्यकालमा शंखधरले संवत् परिवर्तन गरेको किटानसाथ लेखिएको छ । शंखधरले सूत्रपात गरेकाले यो संवत्लाई ‘शंखधरकृत नेपाल संवत्, नेपाली संवत्, नेपालीका संवत् वा नेपालदेशीय संवत् वा नेपालीय संवत् भनिएको हो ।’
     प्रसार्इंज्यू, तपाईंले ‘बालुवा सुनमा परिणत हुनसक्ने विषयलाई किंवदन्ती बनाएर जबर्जस्ती गर्न खोज्नु……’ भन्ने वाक्यलाई जुन आशयमा प्रयोग गर्नुभयो, त्यो पूरै पूर्वाग्रहको उपज हो । त्यसमा अलिकति वैज्ञानिक र अलिकति दूरदर्शीरूपमा यसरी पनि बुझन सकिन्थ्यो- कालीगण्डकी, मर्स्याङ्दी, बूढीगण्डकी तथा सुनकोसी नदीमा सुनखानी छ भनी वैज्ञानिक पुष्टि भइसकेको छ । त्यस्तै लखुतीर्थ नदीमा पनि त्यो बेलामा सुनको खानी थियो होला ।
प्रसाइंज्यूले भन्नुभए झैं नेपाल संवत् राघवदेवको शासनकालमा प्रादुर्भाव भएको हो । राघवदेवको शासनकाल इ.सं. ८८० ताकै पर्छ । नेपाल संवत्को प्रारम्भ संवत् ८०१ साल, मानदेव संवत् ३०४ साल, कलिगत वर्ष३९८१ सकिएपछि कार्तिक शुक्ल प्रतिपदाका दिन गरिएको थियो । यो नेपाल संवत् सुरु भएको दिनबारे किलहर्नले लामो ज्योतिषी गणना गरी यसको सुरुवात इ.सं. ८७९ साल अक्टोबर २० तारिख बृहस्पति बारका दिन भएको थियो भनेका छन् ।
       नेपाल संवत् र शंखधर साख्वासित सम्बद्ध भएको लिखित प्रमाण हालै भक्तपुरमा फेला परेको एउटा शिलालेख बनेको छ । जेला“टोलस्थित एउटा पाटी केही समयअगाडि साफसु“ग्घर गरिएको थियो । त्यसबेला त्यस पाटीमा स्थापित एउटा शिलालेख भेटियो । त्यसमा राजा भूपतीन्द्र मल्लको राज्यकालमा शंख्वा संवत् ८२७ मा पञ्चसकल मिली त्यस पाटीको जीर्णोद्धार गरेको उल्लेख छ । भूपतीन्द्रको राज्यकालमा प्राप्त अभिलेखअनुसार ने.सं.८१६ देखि ८४१-२ सालसम्म पर्छ । त्यसैले त्यस पाटीको शिलालेखमा अंकित शंख्वा संवत् ८२७ भनेको नेपाल संवत् हो । यसबाट पनि थाहा हुन्छ नेपाल संवत् शंखधर साख्वाःले चलाएका हुन् ।
        जेठो भएकाले राष्ट्रिय संवत्का रूपमा विक्रम संवत्लाई प्रयोग गर्ने तर्क अलि व्यावहारिक देखिएन । भारतका विक्रमादित्यले कलिगत संवत् ३०४४ मा चलाएको संवत् र ढिलै भए पनि कलिगत संवत् ३९८० मा कान्तिपुर निवासी शंखधरले चलाएको नेपाल संवत् तुलना गर्दा नेपाल संवत्मा धेरै राष्ट्रियता पाउन सक्छौं । अन्तमा चाहे नेपाल संवत् होस् वा विक्रम दुवै राष्ट्रिय संवत् हुन् । तर पनि नेपाल संवत् नेवारको मात्र हो भन्ने जुन धारणा वा मानसिकता छ त्यसलाई हटाउनु जरुरी छ । देशभरिका जनताको ऋणमोचन गराउने शंखधर साख्वाः नेवारको मात्र होइन, सारा देशको राष्ट्रिय विभूति हुन् ।
स्रोतः कान्तिपुर, २०६४ मंसिर २ गते, पेज नं : ६ (नोबेम्बर १८, २००७)
Facebook Comments

अन्तिम अपडेट: ९ कार्तिक २०६७, मंगलवार ०६:३५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया