टोखाको पहिचान चाकु विगत र वर्तमान.

 ५ पुष २०६७, सोमबार ०४:०३   | न्यूज अफ टोखा

 टोखा काठमाडौं
 ने स ११३१ पुष ५ गते    
  
         ‘टोखाया चाकु मचा बुंल हाकु’ अर्थात् टोखाको चाकु बच्चा जन्मियो कालो । चाकु खाएरै यस्तो भएको रे । चाकुका लागि प्रसिद्ध टोखालाई चाकु संग जोडिएका यस्ता धेरै कथाहरु छन् । यहाँको सामाजिक धरातलमा गहिरो सम्बन्ध गाँसेको छ चाकुले । पहिले प्रत्येक घर परिवारमा कसैले एक रोपनी,कसैले आधा रोपनी उखु खेती गर्ने गरिन्थ्यो । उखु खेती गर्ने भएकाले सबैको घरमा चाकु हुने गर्थ्यो । टोखामा पहिला चाकु बनाउने ५ वटा उद्योग थिए । चिमतँ भन्ने ठाउँमा २ वटा, तरिचामा २ वटा र चुलु भन्ने ठाउँमा एउटा थियो । मान्छेहरु कहाँ पायक पर्छ, त्यहाँ उखु पेल्न र चाकु बनाउन जान्थे ।
           चाकु बनाउने प्रबिधिलाई स्थानिय भाषामा चाकु भुंगाय भनिन्छ । काम गर्ने कामदार र मालिक पनि त्यही सुत्थे । चाकु भुंगायमा करिब २० फुटको लामो लिङ्गो(मुढा) हुन्थ्यो । टाउकाको भाग माथि पठाउन खाल्टो खनिएको हुन्थ्यो । टाउकाको भागको १ फुट तलतिर एक डेढ फिटको पाइप जतिको कुलेसो भएको काठको डँुड हालिएको हुन्थ्यो । डुँडको तल माटोको भाडो राखिन्थ्यो र उखुको रस निकाल्न लिंगोलाई खम्बामा अड्याइन्थ्यो । डुँडनिर १ १ फुटका २० / २५ वटा उखुका टुक्राहरु राखिन्थ्यो । खम्बा निकालेपछि टाउकाको भागबाट एक जनाले लिंगोमा टेकेर थिच्दै जान्थ्यो , अर्कोले दुबै हातले लिंगोलाई थिच्दै टुप्पोसम्म पुग्थ्यो । टुप्पोमा पुग्दा दुबै जना लिंगो माथि टेकेर जोडले मच्चिने गर्थे । मान्छेको थिचाइले उखुमा भएका भएभरका सबै रस निस्किन्थ्यो र भाँडोमा जम्मा गरिन्थ्यो ।
   त्यही रसबाट चाकु बनाउन ठुलो तामाको भाँडोमा पकाइन्थ्यो । नेवारी भाषामा त्यसलाई फोसि भनिन्छ । चाकु बनाउनका लागि ३ वटा चुल्हो लहरैसंग बनाइन्थ्यो । पहिलो भाँडामा आधा घण्टा, दोस्रो भाँडामा आधा घण्टा उखुको रस पकाइन्थ्यो । टोखामा चाकुमात्र बनाइन्थ्यो, सखर बनाइन्नथ्यो । सायद टोखामा सखर बनाउने प्रविधिबारे थाहा नभएको पनि हुन सक्छ । पहिले पहिले ढुनीबेंसीमा निकै नै उखु खेती हुन्थ्यो रे । ढुनीबेसीमा प्रशस्त उखु खेती हुने भएकोले टोखाको मान्छेले त्यहाँ गएर चाकु बनाउन खोजेको थियो रे, तर त्यहाँको उखुबाट चाकु बनाउन नसकेकाले तिनीहरु टोखामा नै फर्केको भने कुरा अंग्रजहरुको मुखबाट सुन्न पाइन्छ । टोखामा पाइने उखु सानो खालको निगाले जातको बुढी औँला जतिको हुन्थ्यो । पहिला पहिला टोखामा चाकु बनाइए पनि बिक्रि गर्ने चलन थिएन । बाहिरबाट आउने मानिसहरुलाई दिएर पठाइन्थ्यो जुन अति नै मिठो हुँदा चाडै नै प्रख्यात भयो ।
    वर्तमान सन्दर्भमा हेर्ने हो भने स्थिति फेरी सकेको छ । पहिलाको जस्तो यो पेसालाई अंगाल्नेको संख्या निकै नै कम भई सकेको छ । पुर्खाको विडो थामेर चाकु पेशालाई निरन्तरता दिइ रहेकाहरुले अहिले बाहिरबाट सख्खर ल्याइ चाकु बनाउन थालेको पनि पाँच दशक बितिसकेको छ । टोखामा २०१२/२०१३ साल सम्म उखुको रसबाट चाकु बनाइन्थ्यो । निगाले जातको उखु खेती लोप भए पछि बाहिरबाट सख्खर ल्याएर यो कामलाई निरन्तरता दिइ रहेको छ । यसका साथै पानी नलाग्ने ठाउँमा मकै,भटमास छर्ने आदि खेतीपातीको बिकासले उखु खेती घटदै गयो । यसले गर्दा टोखामा असली चाकु बनाउने उद्योग समेत बन्द भए ।
     टोखामा विशेषतः स्थानिय, सादा र विशेष गरी तीन खालको चाकु बनाइने गरेको पाइन्छ । टोखाको चाकु हो वा होइन भनेर जान्नको लागि तपाई चाकुलाई फुटालेर हेर्न सक्नु हुन्छ । टोखाको चाकु फुटाउँदा सिसा फुटेझै झर्‍या्म्म फुट्छ भने अन्य ठाउँको चाकु यसरी फुट्न सक्दैन । फेरि बाहिर बनाएको चाकु ओसिएको पनि हुन्छ । यस्तो हुनुमा टोखाको चाकु बनाउनेहरुकै एउटा विशेष सिप र खुवी भएर नै हो । टोखाको जस्तो चाकु आज सम्म पनि बाहिरका मानिसहरुले बनाउन सकेका छैनन् । टोखाको झै चाकु बनाउन सिक्न मानिसहरु नआएका भने होइनन्  धेरै नै आए गए टोखाका चाकु व्यवसायीहरुले उनिहरुलाई त्यो विशेष कुरा सिकाएनन् । हुन त अहिले टोखा बाहेक अन्यत्रबाट पनि चाकु बनाएर टोखाको चाकु भनि आफ्नो चाकु ग्राहकलाई झुकाएर बेचिरहेको छ । यसले गर्दा टोखाका चाकु व्यवसायीहरुलाई निकै नै मर्का परिरहेको छ ।

           केही नयाँ पुस्ताहरु आफ्नो पुर्खाको विडो थाम्दै यस चाकु व्यवसायलाई उद्योगको रुपमा सञ्चालन गर्ने तर्खरमा लागि परेका छन् । यस मौसमी व्यवसायलाई बह्रौ महिना बनाएर लैजाने सोच पनि बनाउँदै छन् । नेपाल सरकारको घरेलु तथा साना उद्योगमा दर्ता गरी लाइसन लिइ यस्तो कार्य गर्न लागि परेका छन् । यसरी हेर्दा चाकु व्यवसायको आशा लाग्दो भबिष्य देखिन्छ ।

चाकु बनाउदै गरेका केही झलक
सख्खरलाई पकाई सके पछि अथामा राखि चिसाउदै
चाकु बनाउनको लागि लोडोलाई मिलाउदै
चाकुलाई यसरी तानेर रड्गाउदै
चाकुलाई प्याक गर्न तउलिदै
चाकुलाई प्याक गर्दै
वजारमा लैजानको लागि तयार गरेको चाकु
सन्दर्भ सामाग्रीःसुबिन्द्रको साथमा हिक्मत डंगोल (श्री भगवती स्मारीका २०६२ बाट)
Facebook Comments

अन्तिम अपडेट: ५ पुष २०६७, सोमबार ०४:०३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया