साहित्य दर्पण

 ६ फाल्गुन २०६७, शुक्रबार १७:५०   | न्यूज अफ टोखा

फाल्गुन ७ गते शनिवार


“हामीले गत हप्ता देखि यस ब्बगमा साहित्यिक रचनाहरु पस्कन सुरुवात गरेका थियोँ । त्यसलाई निरन्तरता दिन आज पनि एउटा सिर्जनाका साथ यहाँहरुको साथमा उपस्थित भै सकेका छौं ।यहाँहरु स‌ंग पनि यस्ता सिर्जना भएमा हामीलाई उपल्बध गराउन नभुल्नु होला ।”

जिन्दगीलाई नजिकबाट नियाल्दा !

       
         जिन्दगीको अर्थलाई मैले नजिकबाट बुझ्ने हिम्मत गरें । यसलार्य सूक्ष्म तरिकाले नियाल्ने कोशिस पनि गरें । तर मैले जिन्दगीको वास्तविक अर्थ र परिचय कसैबाट पाउन सकिन । संघर्षलाई जीवन मानौ भने यति विध्न संघर्ष गर्दा पनि जिन्दगी भेट्न सकिन । माया नै जीवन ठानौं भने आजसम्म कसैको मायामा पनि मैले जिन्दगीलाई पाउन सकिन । रात आउँछ मलाई अँधेरीमा सताउन, विहानी आउँछ नयाँ आयामहरु भर्न, फेरी साँझको गोधुलीसँग विलाउँछ कताकता । यस्तै रैछ मेरो जिन्दगीको नियति । एकान्तमा लेखेको लेखान्त कस्तो हुन्छ होइन र !
 
        भन्नेले भन्छन् “जीवनको परिभाषा खोज्नु नै मूर्खता हो ।” हो नै तर के गर्नु फुलसरीको यो जीवनलाई टपक्क टिपेर शिरमा सिउरिन मन लाग्छ । क्यानभासमा उतारिएको सुन्दर तस्विर रूपी जीवनलाई आँखामा कैद गर्न मन लाग्छ । प्रत्येक विहानीमा लाली बोकी आउने रविसँग जीवन साट्न मन लाग्छ । सबैलाई सितलता छर्ने त्यो पूर्णिमाको चाँदनीसँग जीवन जोड्न मन लाग्छ । कापीको हरेक खाली पानामा कलमको माध्यमद्वारा जिन्दगीलाई बास्तविक परिचय दिलाउने अमूल्य शब्दहरुको माला बनाइ सजाउन मन लाग्छ । 
   
        जिन्दगी भोगाई हो, भोग्नुपर्छ आफैले सबै दुःख र पीडा, बोक्नुपर्छ हर्ष र विस्मात अनि चिन्ताको भारी । माला उनेर गलामा लगाएझंै जिन्दगीका हरेक अवयवहरुलाई हामीले उनेर हाम्रो गलामा पहिरिनुपर्छ । चाहे नयनभरिको आँसु धारा बनेर कर्णालीमै किन नमिसोस् । मुटुभरिको पीर ब्यथा बटुलेर पत्थर नै किन बन्न नपरोस् । किन यी कोमल पाउले काँडाको बाटो हिड्न नपरोस् । म भौतारिरहन्छु – ती अमूल्य शब्दको खोजी गर्न जसले जिन्दगीलाई परिभाषित गरोस् । म चाहन्छु, रातभरिको सपना विपनामा नहराओस् र आशाको पल निराशाको बादलले नछेकोस् ।
     
         जिन्दगी एउटा यस्तो उपहास हो जुन शब्दमा वर्णन गर्नु भनेको एउटा प्रेमीले उसकी प्रेमीकाको लागि आकासको तारा टिपेर ल्याइदिने शाब्दिक वचन दिनु सरी हो । तर पनि म हरेक स्पर्शमा यथार्थता भेटाउने कोशिस गर्छु । हरेक स्पन्दनमा जिन्दगीलाई छुने प्रयास गर्छु । सबैले जिन्दगी छ भन्छन् तर आजसम्म कसैले नि देखेको पनि छैन । कहाँ छ त यो, कस्तो छ ? अनि कुन मोडमा यो भेटिन्छ त ? यस्ता प्रश्नहरुको सञ्जालमा उत्तर अल्झिँदा जवाफ पनि फर्किदो रहेनछ । जिन्दगी विशाल आकास भरी फैलिएको छ । अनन्त सागरसँगै डुविरहेको छ । मुटुको गहिराईमा धड्कनसँगै प्रत्येक पल धड्किरहेको छ, अमृतसँग पलपल बाँचिरहेको छ । 
             जिन्दगी कोपिलासँगै फुलेर फूलसँगै ओइली झर्छ । आँसृुसँगै खसिदिन्छ, चोट ब्यथासँगै दुखिरहन्छ । भावनामा डुवि एकान्त अनि नितान्त एक्लोपनमा जिन्दगी बाँचिरहन्छ । मायाको साथ विना यो हरपल छट्पटिरहन्छ । जिन्दगी आफ्नो मुठ्ठीमा छ, त्यसलाई सदुपयोग गर्न जान्नुपर्छ । आफ्नो जिन्दगी आफैले बनाउनुपर्छ । नत्र उही हो – अर्काको आस भोकै बास ! आजको बैज्ञानिक युगले मागे अनुसार पिछडिएका मगजका केन्द्रिय शक्तिहरुलाई जिन्दगीसँग जोडी एउटा यस्तो उपकरणको आविष्कार गर्ने समय भइसकेको छ, जसले जिन्दगीलाई यथार्थताको धरातलमा ल्याएर सबैसामू परिचित गराइदेओस् , जिन्दगीलाई सबैले देख्न र बुझ्न पाओस् । 
             जीवन सधैँ आँसुसँग मात्र होइन, हाँसोसँग पनि बहनुपर्छ । दुःखसँग मात्र होइन, सुखसँग पनि झुम्नुपर्छ । काँडाजस्तो मात्र होइन, फूलसँगै मुस्कुराउनुपर्छ । शिशिरे तुषारो मात्र होइन, बसन्त झैँ खुल्नुपर्छ । पातालमा होइन आकाशमा सप्तरङ्गी इन्द्रेणीझैँ झल्किनुपर्छ । आंैसीको कालोसँग मात्र होइन जूनको उजेलीसँग पनि खेल्नुपर्छ । तिरस्कार, हेला र घृणामा मात्र होइन; माया, ममता र स्नेहमा पनि जिन्दगी भित्रिनुपर्छ । सबभन्दा ठूलो कुरो त जीवन मायाको उपमा भएर बाँच्नुपर्छ र ममताको उपनाम जपेर ज्युनुपर्छ । यस्तै हो जिन्दगी ! मैले नजिकै नियाल्दा ….. ।
-विप्लवराज
Facebook Comments

अन्तिम अपडेट: ६ फाल्गुन २०६७, शुक्रबार १७:५०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया