चारसय टोखा सातसय फेरा (ऐतिहासिक पाटो)

 ८ फाल्गुन २०६७, आईतवार १४:२९   | न्यूज अफ टोखा

फाल्गुण ८ गते
टोखा,काठमाडौं

         टोखा क्षेत्र चारसय टोखा सातसय फेराको रुपमा प्रख्यात छ । यो उखान कुनबेला देखी चलेको भन्ने थाहा नभए पनि टोखा इलाका धेरै ठूलो थियो भन्ने कुरा यसबाट प्रष्ट बुझिन्छ । यो उखानबाट टोखा इलाकामा त्यस समयमा नै सातसय जनसंख्या भएको अनुमान गर्न सकिन्छ ।बूढापाकाहरुको भनाइ अनुसार टोखा इलाकामा निम्न गाउँ ठाउँ रहेको बताइन्छ । पूर्वी भागमा बूढानिलकण्ठ, टुप्या, टुसाल, चपली र खड्का भद्रकाली, दक्षिणमा बाँसबारी, धापासी र गोङ्गबु, पश्चिममा मनमैजू, धर्मस्थली र फुटुङ्ग अनि उत्तरमा झोर, साङ्गला र डाडाँगाउँ पर्दछन् । टोखाको टपालाछीमा नारायण मन्दिर नजिकको लिच्छवी कालिन ५१९ को शिलालेखले यस भेगको प्राचिनताको

पुष्टि गरेको छ । तलेजुको पूजा आचार्यद्वारा गरिन्छ । यही ठाउँका द्वारे तथा नायःमाहरुले टोखा इलाकाको विभिन्न ठाउँमा जात्रा पर्व चलाउन जाने गर्थे । जस्तै साङ्गलामा बालकुमारीको जात्रा हुन्छ, सो जात्रामा टोखाको द्वारे र आचार्य गएर पूजा चलाउनु पर्दथ्यो । देवतालाई बलि दिएको राँगा र बोकाको सिउ (टाउको) यहाँका पूजारी र द्वारेलाई दिइन्थ्यो । यतिमात्र नभई पूजारी र द्वारेलाई १८ मुरीधान समेत खान्कीको नाउँमा साङ्गला बासीले तिर्न ल्याउँथे । २०२२ साल यता गुठी जग्गा उनीहरुको नाउँमा गएपछि पूजारी र द्वारेले जात्रा र पर्व चलाउन नगएको बूढापाका बताउँछन् । चपली र भद्रकालीमा पनि यहाँका द्वारे र आचार्य गएर पूजा गर्ने चलन थियो । अहिले चुनिखेलको नौलिङ्गेश्वरमा मात्र यहाँका आचार्य गएर पूजा गर्न जाने चलन छ । साङ्गला, चपली, भद्रकाली र चुनिखेलमा यहाँका पूजारी र द्वारे गएर पूजाआजा गर्ने चलन थियो । पहिला यी तीनै गाउँबाट कुत तिर्न ल्याउने चलन थियो । हाल त्यस्तो कुत तिर्न ल्याउने काम बन्द भएको छ । त्यस्तै फुटुङ्गमा पनि टोखासँगसँगै अजिमाको जात्रा गर्ने चलन थियो । पहिले त्यहाँ पनि टोखाको द्वारे र आचार्य गएर जात्रा चलाउने गर्थे । टोखाको मसानकालीको रथ उठाएपछि उनीहरुको रथ पनि उठाउने गरिन्थ्यो । कुनै एक वर्ष टोखाको मसानकालीको रथ उठाएको होला भनि बाजाको आवाजको भरमा फुटुङ्गमा मसानकालीको रथ उठाएको र टोखामा मसानकालीको रथ नभइ मान्छेको सवयात्रा मसानकाली तिर लम्केको उनीहरुले केही छिनपछि थाहा पाए । यस्तो भुल भएदेखि फुटुङ्गमा मसानकालीको रथ उठाउने  परम्परा बन्द भएको कुरा बूढापाकाहरु बताउँछन् । 

   स्रोत ः तादी २०६२ बैशाख -राजबीर डंगोल (उक्तरी दर्पण२०६४ भाद्र अंक)

Facebook Comments

अन्तिम अपडेट: ८ फाल्गुन २०६७, आईतवार १४:२९

तपाईको प्रतिक्रिया