साहित्य दर्पण (मायाँ र विश्वास)

 ३ चैत्र २०६७, बिहीबार ०९:००   | न्यूज अफ टोखा

– अर्पण दि श्रेष्ठ

        यदि कोही मान्छेले “म तिमी बिना बाँच्न सक्दिन” भन्छ भने पत्याउनुस्, त्यो मान्छे झुठो बोलिहेको छ र उसले तपाईंलाई प्रभाव पार्ने हेतुले भावनात्मक खेल खेलिरहेको छ । वास्तवमा मानिस जो विना पनि बाँच्न सक्छ र जोसँग पनि बाँच्न सक्छ । मानिस सामाजिक प्राणी हो भन्ने सर्वमान्य सिद्धान्तको व्याख्याले पनि यसलाई पुष्टि गर्छ । मानिसको लागि सर्वप्रिय भनेको आफ्नो आमा–बुबा हो र आजसम्म कोही पनि छोरा–छोरीले आफ्ना आमा–बुबाको देहान्तमा आत्म दाह गरेको इतिहास छैन । त्यसैले हामी जो विना पनि बाँच्न सक्छौं, जसरी म मेरी अति प्रियसँग अति नै टाढा रहेर पनि संभवतः खुशी नै भएर बाँचिरहेको छु । सायद यही नै मेरो उनीप्रतिको आत्मीय मायाँको दसी हुनसक्छ कि ऊ मसँग भौतिक रुपले कहिल्यै पनि नजिकिन नसकिने गरी टाढा गएपनि म आत्तिन, बरु उसको विवाहमा म हाँसी हाँसी खुशिसाथ सहभागी हुन सकें, उसलाई नयाँ जीवनको शुभकामना दिन सकें । 
      प्रेममा सबभन्दा दरिलो पक्ष भनेको विश्वास हो । वास्तवमा विश्वास

मायाँभन्दा एक तह माथिको अनुभूति हो । हामी धेरैलाई मनपराउँछौं, मायाँ गर्छौं तर थोरैलाई मात्र विश्वास गर्न सक्छौं । यो मानव जीवनको अति नै महत्वपूर्ण पक्ष हो । यदि हामी कसैलाई विश्वास गर्छौं भने मायाँ स्वभाविक रुपमा त्यहाँ हुन्छ तर हामी कसैलाई मायाँ गर्छौं भने आवश्यक छैन त्यहाँ विश्वास हुनै पर्छ भन्ने । जस्तो हामी राम्रा कलाकारहरुलाई मायाँ गर्छौं तर ती सबैमा कहाँ विश्वास हुन्छ र ? मेरी मायाँ पनि यस्तैमा थिइ जो मसित अति नै मायाँ गर्थिन् तर विश्वास भने पट्टक्कै नगर्र्ने । उनी मबाट एक सेकेण्ड टाढा रहन पनि कष्ट महशुस गर्दथिइन्, मेरो कार्य, समय, थकान, समस्या, स्वास्थ्य आदि हरेक कुरामा ध्यान दिन्थिन्, सायद आफुलाई भन्दा बढी, तर विश्वास भने अति न्युन ।
        उनी मलाई आफ्नो जीवनको अभिन्न अँग मान्थिन्, मेरो उनीप्रतिको मायाँ उनी आफ्नो जीवनको उपलब्धि सम्झिन्थिन् । तर मलाई विश्वास भने पट्टक्कै नगर्ने । उनी मेरा हरेक गतिविधिमा शंका गर्थिन्, मैले उच्चारण गरेका हरेक शब्दमा उनी शंकालु दृष्टि प्रस्तुत गर्दथिईन् । यसरी के जीवन चल्छ र ? उनी मेरो जीवन सङ्गिनी हुन भने हरदम खुशी रहन्थी तर म त्यसमा तयार रहेको कुरामा चाहिं शंका गर्थी । म उनीसँग जीउन पाउनु मेरो लागि सौभाग्य हो भन्दा उनी शंका गर्थिन भने कसैले मेरो कोही अरुसँग विवाह हुने कुरा चलेको छ रे भन्दा विश्वास गर्थिन्, सम्झाउनै नसक्ने गरी रुन्थिन पनि । हो, म मान्छु मेरो विगत कालो छ । के यसको मतलब मेरो वर्तमान र भविष्य सेतो हुन सक्दैन भन्ने हो ? मेरो विगतमा कोहीसँग असफल संगत थियो त के म सफल सम्बन्ध निर्वाह गर्नै सक्दिन त, के म भोगी नै हुँ त ? म अरुलाई चोखो मायाँ गर्न सक्दिन त ? सकिन्छ साथी । सायद उनले पनि अब यही महशुस गरिसकी होली किनभने कुनैदिन मेरी प्रेमिका उनी आज अर्कैकी अर्धाङ्गिनी भइसकी । मेरा हरेक विपरित लिङ्गिय साथीहरुसँगको सम्बन्धमा उनी शंका र आक्रोश व्यक्त गर्दथिईन् । फलस्वरुप लामो मन्थन पछि मेरो अन्तिम निष्कर्श रह्यो, उनी मसँग खुशी रहन सक्दिनन् ।
       प्रेमको अन्तिम विन्दु विवाह हैन, हुनुहुँदैन पनि । हामी आफ्नो मायालुसँग जसरी पनि विवाह गर्न चाहन्छौं, यो किनभने हामीलाई लागेको हुन्छ कि उसलाई खुशी राख्न सक्ने सबभन्दा सक्षम व्यक्ति आफु नै हो । तसर्थ आफ्नो मायालुसँग विवाहको लागि सँगालिएको इच्छाको पछाडि आफ्नो मायालुलाई खुशी राख्ने उद्देश्य नै निहित हुन्छ, न कि कुनै भौतिक स्पर्श वा निकटता । यदि मलाई थाहा छ मेरी मायालु मसँग खुशी र सन्तुष्ट रहन सक्दिन भने म उनीसँग विवाह गरेर उनको जीवनलाई किन बर्बाद पारुँ ? मैले अठोट गरें, म उनीसँग टाढा रहन्छु, र यदि उनले मभन्दा असल र विश्वासी जीवन साथी पाउन सकिन् भने म उनको जीवनरेखाबाट टाढिन्छु । कथंकदाचित उनले त्यस्तो साथी पाइनन् भने म त हरदम तयार विकल्प त भइहालेँ नै । यही निष्कर्ष सहित म उनीबाट टाढा हुन थालें । मलाई खुशी यस कारण लाग्यो कि त्यसको केही समयपछि नै उनको अरु कोहीसँग विवाहको कुरा छिन्यो । मेरो निष्कर्ष आखिर सही निक्ल्यो कि कोही पनि व्यक्ति कोही बिना पनि बाँच्न सक्दारहेछन्, बाँच्नुपर्दोरहेछ । हाल उनी आफ्नो जीवनसँग सन्तुष्ष्ट छिन्, खुशी छिन् । यो भन्दा खुशीको क्षण मेरो लागि अरु के हुनसक्छ र ? आखिरमा मेरो दशक लामो प्रेमले सही दिशा र सन्तुलन हासिल ग¥यो, यो मेरो आत्मअन्दाजको विजय हो । तर यदि प्रेमको अर्थ पाउने मात्र हो भने म पूर्णतया असफल भएँ, विवाह प्रेमको अन्तिम विन्दु हो भने म यात्राको अन्तिम विन्दु पार गर्न असफल भएँ, भौतिक एकता मात्र प्रेमको उद्देश्य हो भने म साँच्चै नै उद्देश्यहीन भएँ ।
     त्याग प्रेमको आदारभूत आवश्यकता हो । मैले यदि मेरी मायाँलाई नत्यागेको भए के आज उनले यस्तो सुख–सयलको जीवन पाउँथिन त ? म उनीसँगै रहेको भए आज उनी मसँग प्रेम गर्ने नाममा ममाथि अविश्वासको भुमरीमा फस्दै आफ्नो गलत निर्णयको पश्चातापमा जल्दै हुन्थिन, जसको कुनै समाधानको उपाय र समय बितिसकेको हुनसक्थ्यो । मेरो भौतिक सुखमा उनको उपस्थिति नरहेपनि मानसिक सुखमा सँधै साथ नै हुन्छिन उनी, अझैपनि । मलाई यस्तो अनुभव हुन्छ कि मेरा हरेक गतिविधिमा उनी सुक्ष्म नियालिरहेकी छिन् । त्यसैले त म कुनै गलत कार्य गर्न हिच्किचाउँछु, कतै उनको चित्त दुख्छ कि भनी । यो मेरो मायाँको सकारात्मक उपज हो ।
       साथी कथंकदाचित तिमी यो पढ्ने संयोगमा छौ भने पत्याउनु मानिसले राम्रो मान्छे भेट्नु अघि थुप्रै नराम्रा मान्छेहरु भेट्नु पर्दोरहेछ । नत्र अन्तिममा भेटेको राम्रो मान्छेको महत्व किन बढ्थ्यो त ? विश्वास गर, म जस्तो नराम्रो मान्छे नभेटेको भए आज तिमीले उहाँजस्तो राम्रो मान्छे भेटाउँदैनथ्यो, र भेटिहाले पनि महत्व दिन्नथ्यो तिमी । म नराम्रो मान्छेसित सँगत गरेकोले त आज उहाँ राम्रो मान्छेको महत्व तिमीले बुझ्यो, हैन र ?
      पत्याउनुस्, कोही पनि मानिस कोही पनि बिना बाँच्न सक्दोरहेछ । बरु यति फरक पर्ला कि खुशी कम होला, सास फेर्न गाह्रो होला, मुटुको चाल अनियन्त्रित होला, कामप्रतिको मोह कम होला, तर बाँच्न चाहिं सकिँदोरहेछ । नपत्याए मलाई हेर्नुहोस, मेरो शरीर अझै तातो छ, मुटु चलायमान नै छ, र नाकबाट सास आवत जावत नै गरिरहेछ । फरक यत्ति हो कि …
Facebook Comments

अन्तिम अपडेट: ३ चैत्र २०६७, बिहीबार ०९:००

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया