गेस-गाइडभन्दा पाठ्यपुस्तकको अध्ययन नै राम्रो -श्यामकुमार सिंह

 १० चैत्र २०६७, बिहीबार ०९:२२   | न्यूज अफ टोखा

काठमाडौं २०६७ चैत्र

    वर्षौंदेखि गेसपेपर र गाइडको निर्वाध प्रयोग हुँदैआएको छ । ट्युसन प्रवृत्ति मौलाएको छ । अहिलेको समयमा गेसपेपर नकिन्ने विद्यार्थी कमै होलान् ।  भनिन्छ, पाठयपुस्तकको तुलनामा गेसपेपर र गाइड किन्ने विद्यार्थीको संख्या बढी हुन्छ । एसएलसीलाई लक्षित गरेर प्रायः सबै विषयका गेसपेपर प्रकाशन  हुन्छन् । मुख्य विषयका गाइड त चार कक्षादेखिकै उपलब्ध हुन्छन् । एक पुस्तक विक्रेताका अनुसार पाठयपुस्तकभन्दा गेसपेपर र गाइडमा बढी मुनाफा  आर्जन हुनेहुँदा यो एउटा व्यवसायकै रूपमा फस्टाएको छ । यसको वैधानिकता र प्रकाशित सामग्रीहरूको सत्यताका बारेमा सम्बन्धित निकायहरू मौन  नै देखिन्छन् । प्रायजसो अदक्ष व्यक्तिहरूबाट नाफा कमाउने उद्देश्यले निकालिएका गेसपेपर, गाइड तथा प्रश्नोत्तरका संगालोहरूमा व्यापक मात्रामा त्रुटि  पाइन्छन् ।

    नेपालमा पढ्ने र पढाउने संस्कृतिको विकास हुन सकेको छैन । विदेशमा पाठयक्रम पढाइन्छ भने हामीकहाँ पाठयपुस्तक । पाठयपुस्तकहरूले पुस्तकमा जे  छ, त्यही कुरा मात्र समेट्छन् भने पाठयक्रम कुनै विषय अध्ययन अध्यापन गराउनुको उद्देश्य, विषयवस्तु र मूल्यांकन प्रक्रियाको संयुक्त रूप हो ।  पाठयक्रममा पाठयपुस्तक वा अन्य पाठयसामग्रीहरू सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरिन्छन् जसले मौलिक ज्ञान प्राप्त गर्न सहयोग पुर्‍याउँछन् । हामीकहाँ भने पाठयक्रमअनुसार नभै पाठयपुस्तकमा आधारित रहेर पढाइ हुने हुँदा यसले विद्यार्थीलाई मौलिक ज्ञान आर्जनको सट्टा धोकेर पास गर्ने, गेसपेपर र  गाइडहरूमा भएका रेडिमेड प्रश्नहरूलाई प्रयोगमा ल्याउनेतर्फ प्रेरित गर्छ । त्यसैले हामीकहाँ मौलिक ज्ञान लिनेभन्दा पनि गेसपेपर तथा गाइडको प्रयोग  गरेर परीक्षा उत्तीर्ण गर्ने प्रवृत्ति मौलाएको छ । विद्यालय तहको पढाइमा हुने यस्तै हेलचेक्र्याइँका कारण दस जोड दुई तहमा निकै कम प्रतिशत विद्यार्थी  उत्तीर्ण हुने गरेका छन् । यसले एकातर्फ विद्यार्थीको भविष्यमा र अर्कातर्फ राष्ट्रकै भविष्यलाई अन्धकारमा पार्न सक्छ । यसमा सरकारले पनि चासो  लिनुपर्छ र विद्यार्थीहरू आफ्नो भविष्यलाई लिएर गम्भीर हुनुपर्छ ।

     अहिलेको शिक्षा प्रणाली कण्ठ गर्ने तर अर्थ नबुझ्ने, विचारविवेक प्रयोग गर्न नसक्ने जनशक्ति निर्माण गर्ने खालको छ । यस्तो शिक्षा र मूल्यांकन प्रणाली  उपयुक्त छैन । गाइड र गेसपेपर प्रयोग नगरि मौलिक क्षमता प्रयोग गरेर एसएलसी उत्तीर्ण गरेका कुनै पनि विद्यार्थी आज बेरोजगार छैनन् र उनीहरूले  उच्च शिक्षा लिँदा पनि कठिनाइ बेहोर्नुपरेको छैन, तर गाइडको भरमा परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरू दश जोड दुई तहमा गएर असफल हुन्छन्, काम  पाउँदैनन् जसले उनीहरूको जीवनलाई अझ बोझिलो र कष्टकर बनाउँछ । गेसपेपर तथा गाइडको पढाइ सीमित र क्षणिक हुन्छ, जुन प्रयोगमा ल्याउन सकिँदैन । गेसपेपर तथा गाइडको पढाइ सतही हुन्छ,  यसबाट प्रतिस्पर्धी जनशक्ति उत्पादन हुन सक्दैन ।

      विद्यालयमा राम्रोसँग पढाइ नुहुनु, विद्यालयको पढाइलाई बेवास्ता गरेर ट्युसनतर्फ आकषिर्त गर्ने प्रवृत्ति बढनु, परीक्षा प्रणाली मौलिकतामा आधारित  नहुनु जस्ता कारणले गेसपेपर, गाइड तथा ट्युसन संस्कृतिलाई टेवा पुगिरहेको छ ।

      विद्यालयमा राम्रोसँग पढाउने फुर्सद नभएका शिक्षकहरूले विद्यार्थीलाई प्राइभेट टयुसनमा बोलाउने एवं पाठयपुस्तक पढ्न जाँगर नचलाउने विद्यार्थीले  परीक्षाका बेला गाइड र गेसपेपर धोक्न थाल्दा परीक्षामा असफल हुने मात्र होइन, बुद्धिमा समेत विर्को लाग्छ । हाम्रो शिक्षा प्रणालीमा परिवर्तन ल्याउने  एवं मौलिकतालाई प्राथमिकता दिने हो भने गेसपेपर तथा गाइडजस्ता कुराहरू आफंै हराएर जान्छन्, कुनै नियन्त्रणको आवश्यकता पर्दैन ।
साभमरः साप्ताहिक २०६७ चैत्र ४  बाट
Facebook Comments

अन्तिम अपडेट: १० चैत्र २०६७, बिहीबार ०९:२२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया