हृदयविदारक टोखाको बिस्केट जात्रा

 २९ चैत्र २०६७, मंगलवार १२:३६   | न्यूज अफ टोखा

२०६७चैत्र २९ गते-हिक्मत डंगोल
       नेपालका अधिकांश जात्रा चन्द्रतिथि अनुरुप माइन्छ, तर विस्केट मात्रै यस्तो जात्रा हो जुन सौर्यमान अनुसार मनाउने गरिन्छ । 
        प्राचीन कालका पुराण र मृच्छकलिकम हशमोङकमा उल्लेख भए अनुसार विसर्जन गरेको ध्वचा हेर्नु हुँदैन । तर टोखाको बिस्केट जात्रा यस हिसाबमा पनि पृथक छ । कारण जात्राको प्रमुख आकर्षण भनेकै ध्वजायुक्त लिंगो उठाउने र ढाल्ने हो । अरु मानिसहरुले ध्वजायुक्त लिंगो ढलेको हेरेमा सुख शान्ति र रोगव्याधि नलाग्ने बिज्ञहरुको धारणा छ ।
      टोखाको बिस्केट जात्रा सम्बन्धी अनेकैं किम्वदन्ति छन् । परापुर्वकालमा टोखाको उत्तरतर्फ सत्यवन्त राजाले राज्य गरिरहेका थिए । राजाका सात छोरीमध्ये ६ जनाले आफुले चाहे अनुसारको पति पाएर विवाह गरी घरजम गरे । कान्छी छोरी सत्यकेशरी मैयाले भने पिताले भनेको ठाउँमा विवाह गर्ने इच्छा प्रकट गरिन् । राजाले छोरीलाई ठट्टै ठट्टामा औंलाले देखाएर  त्यसो भए कृ त्यो महारोगीसँग विवाह गछ्यौ त भनी सोध्दा राजकुमारीले स्वीकारिन् । मुखको बोली र नालको गोली फिर्ता नआउने हुँदा राजकुमारी सत्यकेशरीले महारोगीसँग विवाह गरी सिद्धमान ज्यापुले बनाइदिएको झुप्रोमा बस्न लागिन् ।
      
      एकदिन महारोगीले सपनामा बहुमुखी गंगा र दुधमुखी गंगाको संगममा स्नान गरे रोग सबै निको हुन्छ भन्ने सपना देखे । गंगा नजिकै गोठालाहरु गाई चराउँदै थिए । एकजना गोठालाको गालामा फट्यांग्रो पर्न आएछ । हातले च्याप्प समाउँदै फट्यांग्राको खुट्टा खस्यो । खुट्टा नभएको फट्यांग्रालाई गंगामा फालिदिंदा तन्दुरुस्त भई पाखा लागेछ । यो दृश्य महारोगीले देख्ना साथ राति देखेको सपना सम्झन पुगेछन् अनि वामे सर्दै गंगामा डुबुल्की मारेछन् । यसपछि रोगमुक्त भई अति सुन्दर युवकको रुपमा बाहिर आए । त्यसपछि लुला–लंगडा रोगीहरु प्नि गंगामा नुहाउन थाले र सबै रोगमुक्त भई फर्कन थालेपछि  त्यहाँ मेला लग्न थालेको विश्वास गरिन्छ ।
        सत्ययुगमा नेपालमण्डल अर्थात काठमाडौं उपत्यका पानीले भरिएको नागदह थियो । सत्ययुगमा विपश्वी बुद्धले नागार्जुन जामाचो डाँडामा बसी स्वयम्भू चैत्यमा कमलको फूलको बीजारोपण गरेका थिए । तेत्रायुगमा ल्हासापासाले चोभार स्थित डाँडालाई छेदन गरी पानी बाहिर पठाएपछि बस्न योग्य उपत्यकामा आदिबुद्धहरु आउन थालेका थिए । तिनै आदिबुद्धहरुमध्ये तेत्रायुगमा हालका लुम्बिनी अञ्चलमा जन्मिएका बुद्ध आफ्ना ब्राह्मण शिष्यका साथ नेपाल आए भन्ने विश्वास गरिन्छ । उनले आफ्ना ब्राह्मण शिष्यहरुका साथ सिफुर्चा अर्थात शिवपुरी पहाडमा पानी नभएको हुँदा आफ्नो तान्त्रिक वाक् शक्तिबाट पानी सिर्जना गरेकाले वाक्मती अर्थात बागमति भएको भन्ने जनविश्वास छ । यसैको सम्झना स्वरुप प्रत्येक वर्ष बैशाख १ गते सपनातिर्थको मेला हाली सिफूर्चामा मेला भर्न जानेहरुको घुइचो देखिन्छ । बुद्धको सम्झनामा बागद्धार नुहाउनेहरु मेला भरी भोलि पल्ट सपनातिर्थ पुग्ने गर्छन् ।
     
      तर पनि यसको सरुवात किन र कहिलेबाट भयो भन्ने यकिन हुन सकेको इतिहासबिद साफत्य अमात्य बताउँछन । उनका अनुसार कान्तिपुका राजा रत्नमल्लले यो जात्रा अवलोकन गरेका थिए । पाँच दिन सम्म चल्ने बिस्केट जात्राको  सुरुवाट भुतखेल चौरमा रहेको इन्द्रायणी मूर्ति मन्दिरबाट रथमा प्रतिस्थापना गरेपछि सुरु हुन्छ । नयाँ वर्षको चार दिनसम्म इन्द्रायणी, गणेश, सरस्वती, चण्डेश्वरी,महादेव, सपनाविनायक र धुधुँ गणेशको जात्रा अति रोमाञ्चकारी हुने गर्दछ । 
         
          प्रत्येक वर्ष बैशाख १ थते बागद्धार सपनातिर्थ मेला भरी भक्तजनहरु आ–आफ्नो घरमा हिडिसकेके हुन्छन् । ठीक त्यसैदिन साँझपख मसानकाली पिंगद्योमा एउटा सानो तर हृदयविदारक होमको आयोजना गरिन्छ । पिंगद्यो मन्दिर अगाडि आयोजित पशुपंक्षी बलि हेर्न टोखाबासीहरुको ठुलो भिड लाग्छ । किम्बदन्ती अनुसार प्रत्येक साँझ कालिका मन्दिरमा पुगृका मान्छेहरुको मृत्यु हुन थालेछ । कालिकामाजुसँग आँखामात्र जुधे पनि मान्छेहरुको मृत्यु हुनथाले । पछि टोखाबासीहरु काठमाडांैका शक्तिशाली तान्त्रिक समक्ष गुहार माग्न पुगेछन् । तान्त्रिकले देवीलाई जुम्रा हेरिदिन्छु भनी टाउको निहु¥याउन लगाई जमिनमा धस्सिने गरी टाउकोमा किला ठोकीदिएछन् । हाल पनि मसानकालिमा मन्दिर भित्र घोप्टो परिरहेको दुङ्गरुपी देवीको मूर्ति नै पुजा गरिन्छ । त्यसैको शान्तिको कामना गर्दै हरेक वर्ष टोखाबासीले मसानकाली पीठमा बैशाख १ थते आचाजुमार्फत देवीलाई जमिनमा उम्रिएका १ सय ८ प्रकारका अन्न, एक जोडी जिउँडो भंगेरा, एक जोडी सर्प र एउटा निख्खर कालो बोको जीविततै दनदनी बलिरहेको आगोमा हृदयविदारक होम गर्ने र पुजा गर्ने परम्परा रहेको छ । जसले यी बलेका बस्तु उठाउछन्  कालिकाले त्यसको ज्यान लिदिन्छन भने डरले कसैले पनि उठाउँदैनन् ।
        यसप्रकार हृदयविदारक ढंगले सुरु हुने टोखाको बिस्केट जात्राको २ गते सोही मसानको समिपमा रहेको इन्द्रायणीको  खटलाई कोटा गणेद्योको साथमा सांस्कृतिक बाजागाजा सहित सिन्दुर जात्रा गरी नगर परिक्रमा गराइन्छ । यसमा महिलाहरु कालो सारीमा रातो किनारा भएको परम्परागत हाकुपटासी श्रीपेच बुट्टाको घरबुना चोली, पोते र सुनका माला हात र कान ढाक्ने गरी सुनका गहना अनि कपालमा रातो चुल्ठो बाटेर सगुन चढाउन जान्छन् । परम्परागत धिमेबाजा, बाँसुरी बाजा, धाँ बजाई नेवारी शैलीको भोज देउतालाई चढाउने सस्कृति हरेकालाई जीवन्त लाग्ने गर्दछ । सोही बिस्केट जात्रामा कालिकामाजुको खटले गहना खोज्छ भने कोथ गणेश, सरस्वती,चण्डेश्वरी,महादेव,सपनापिनायक कोथ गणेश र पिगंद्यो लश्करै थनेलाछिमा रातभर जाग्राम बसाइन्छ । सांस्कृतिक बाजागाजा सहित सिन्दुर जात्रा गरी देवताहरुलाई देश घुमाएर थने तप लाछीमा रातभरी जागा राखी,दबु प्याखँ देखाउने गरीन्छ । 
        ३ गते बिहान सम्पुर्ण देवताका खटहरुलाई विभिन्न टोलमा जात्रा गर्दै पोखरीमा गहना खोज्ने र गहना खोजेका देवताहरुलाई देश घुमाएर कुनने लाछीमा रातभरी जागा राखी,दबु प्याखँ देखाउने गरीन्छ । ४ गते दिउँसो गछेँमा राखेको सबै देवताका खटलाई धुम्धाम संग सिन्दुर जात्राका साथ बसला ओछ्याई देश घुमाइन्छ । सबै देवताको खटलाई देश घुमाइ सके पछि साँझ बाँसको कप्टेरा बालेर खटलाई पालो परेका गुठीले रुपमा भित्र्याउँछन् । बैशाख ५ गते बिहान टोखामा उठाएको योंसि ठुलो जनसमुदाय मिलेर ढालेपछि जात्रा समाप्त हुन्छ ।
      टोखावासी नेवारहरुले विशेषरुपमा मनाउने बिस्केट जात्राको अवलोकन गर्न देशका बिभिन्न कुनाबाछ संस्कृति प्रेमीहरु टोखा आउने गर्छन् ।

Facebook Comments

अन्तिम अपडेट: २९ चैत्र २०६७, मंगलवार १२:३६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया