टोखा बिस्केट जात्रा विशेष जानकारी सहित

 ३० चैत्र २०६७, बुधबार ११:५४   | न्यूज अफ टोखा

२०६७ चैत्र ३० गते–सुबिन्द्र श्रेष्ठ –चैत्र ३० गते– बेलुका सपनाविनायक गणेश तथा चण्डेश्वरी भगवतीको खटलाई विशेष बाजागाजा र मुस्याप्वाँ(दियो)का साथ संयुक्त नगर परिक्रमा गराई सपनाविनायक गणेशलाई सपनातिर्थमा र चण्डेश्वरी भवतीलाई चण्डेश्वरी परिसरमा लगेर विसाइन्छ र रातभर जागाराम तथा देव देवीको आराधाना गरिन्छ । यता राती मसानकाली देवीघरबाट नवदुर्गाका मूर्तिहरु सहितको जाली खटमा राखेर टोखाको महोत्वपुर्ण चोकमा घुमाउँदै विसाउँदै नगर परिक्रमा पश्चात मन्दिरको पुर्वपट्टि ज्यापुको मसानघाटमा खट विसाएर मूर्तिहरु मन्दिर भित्र सजाउने कार्य गरिन्छ । गणेश,कोथु गणेश,महादेव, सरस्वतीको मूर्तिहरु पनि आ–आफ्नो मन्दिर परिसरमा लगेर रातभर सजाउने कार्य गरिन्छ । यस्तै साँझ तपलाछीस्थित लिङ्गेश्वर महादेवको प्रतिककारुपमा रहेको यंसी –लिंगो)मा विशेष प्रकारको पटाका सजाउने गरिन्छ जसलाई हलपंता पनि भनिन्छ ।

बैशाख १ गते– सिद्धिपोखरीमा सपनातिर्थ मेला,मेलामा स्नानका साथ सपनाविनायक सिद्धिगणेशको दर्शन गरी चण्डेश्वरी माईको प्रार्थना साँझ भुतखेल स्थित मसानकाली मन्दिर परिसरमा हृदयविदारक महायज्ञ गरिन्छ । आचाजुमार्फत देवीलाई जमिनमा उम्रिएका १ सय ८ प्रकारका अन्न, एक जोडी जिउँडो भंगेरा, एक जोडी सर्प र एउटा निख्खर कालो बोको जीविततै दनदनी
बलिरहेको आगोमा हृदयविदारक होम गर्ने र पुजा गर्ने गरिन्छ यो बेलुका ४ बजे तिर प्रारम्भ गरिन्छ । 
सपनातिर्थ परिसरबाट सपनाविनायक गणेशको खटलाई साँझ नगरमा फर्काउने काम गरिन्छ । नासल पाचा( ओकालो) मा अवस्थित पाटीमा एक घन्टा जति विसाएर फल्चा गुठीद्धारा सम्य्य बजि दिने चलन छ र पुजा आजा गरे पछि सम्य्य बजि दिइन्छ ,त्यस लगतै खटलाई नगर परिक्रमाका लागि चण्डेश्वरी भगवतीको खटलाई प्रतिक्षाका साथ दुबै खटको तालमेल मिलाइन्छ । चण्डेश्वरी परिसरमा चण्डेश्वरी देवीलाई मरजा(विशेष प्रकारको चात) खुवाएपछि खटलाई विशेष बाजागाजा साथ नगर परिरक्रमा गराइन्छ ।त्यस संगसंगै सपनाविनायक गणेशको पनि उपस्थिती रहन्छ र नगर परिक्रमा पश्चात साँझ ७ः३० बजे तिर चण्डेश्वरी देवीको खटलाई थलाग टोल र सपनाविनायकलाई यलाग टोलमा विसाइन्छ र रातभर भजनकृतन गरिन्छ ।

बैशाख २ गते
विहानी जात्राविहानै ६ः०० बजे मुल खलकका ५ जना मध्य तिन घर धुरीबाट जाड संकलन गरी भैलद्यः भन्ने तामाको ठुलो ध्यामपोमा हालि टोखा परिक्रमा पछि मासानकाली मन्दिर परिसरमा मरजा खुवाइन्छ । बिस्केट जात्राको पहिलो प्रमुख सुरुवाट विशेष देवी मध्यको एक नवदुर्गा मसानकालीको खट अगाडी बढाउन विशाल जन भक्तजनहरुको ओहिरो एक प्रकारको विशेषता नै हो । हातमा लावा, सुकुन्दा पूजाका साथ विविध बाजागाजाका साथ उपस्थित भक्तजनहरुको सहभागितामा विहान ७ः१५ बजे खटलाई नगर परिक्रमा गराइन्छ । खटले कुनै घरमा धक्का दिएमा वा छोएमा मात्र अनिष्ट हुने सम्भाविय जनविश्वासका कारण विशेष सावधानि पुर्वक खटलाई अगाडी बढाइन्छ ।
         सपनाविनायक तथा चण्डेश्वरी भगवतीको खट पनि विशेष बाजागाजा तथा सिन्दुर जात्राका साथ नगर परिक्रमा गराइन्छ । विहानै पहिला चण्डेश्वरी तथा सपनातिर्थको खट अगाडी बढाइ सकेपछि मात्र मसानकालि नवदुर्गाको खट अगाडी बडाइन्छ । यी तीन वटा खटको विशेष तालमेलले जात्रालाई निकै रोमाञ्चक बनाई दिन्छ ।  मासनकालीको खट नगर परिक्रमा पछि भुतखेलको ढुङ्गेधाराको पाटीमा बिसाई कोथु गणेशको पूजा गरी देवीको पूजा गर्न पूजारी त्यहाँ सामेल हुने गर्छन र पाटीका गुठियारहरुको तर्फबाट विशेष पूजा गरी थुम्बा(भ्याँचा) बलि दिई सम्या बजि दिइन्छ र संगसंगै कोथु गणेश र मसानकालीको खटले पुनः टोखा परिक्रमा गर्छ र हासल टोलमा अर्को विशेष पूजा गरिन्छ । यो संगै मसानकाली र कोथु गणेशको खट थलाग टोलमा विसाइन्छ । गणेशको खट पनि मरली खुवाएर नगर परिक्रमा पश्चात थलाग टोलमा विसाइन्छ र यसरी नै महादेव र सरस्वतीको खटलाई नगर परिक्रमा बिनानै थलाग टोलमा दिउसो १ः०० बजे सम्ममा सबै खटलाई बिसाइन्छ ।

दिउँसो सिन्दुर जात्रा-सबै खलः , पुचः, गुठी तथा संघ संस्थाको आ–आफ्नो विशेषता गत बाजागाजाका साथ दिउँसो ३ः०० बजे पूजाआजा सहित जात्राका लागि सयौँ संख्यामा सिन्दुर जात्रामा सामेल हुन्छन् । ३ः०० बजे सरकारी पूजा संगै खटलाई नगर परिक्रमा गराइन्छ । र कोने लाछी तथा थने लाछीमा विशेष सिन्दुर जात्रा गरिन्छ । साँझ ६ बजे सम्ममा सात वटै खटहरु थनेलाछीमा विसाइन्छ । खट बिसाउने ठाउँमा पहिला नै रातो माटोले लिटपोट गरिएका हुन्छन् । २,३ र ४ गते टोखामा भएभरका बाजागाजाहरु बाहिर प्रदर्शन गर्ने गरिन्छ । 
साँझको याँ प्याखँ जात्रा
        साँझ ७ः३० बजे दाफा खलक, भजन खलकहरु सातै वटा खट अगाडी सात भजनमण्डलीहरु आफ्नो भजन आरधनाका लागि उस्थित हुन्छन् सँगै दियो मत्च्या जात्राका लागि मत्च्या गुठीका सबै गुठी पुचः तथा दियो बाल्न ईच्छुक ब्यक्ति , परिवार, समुहहरु धमाधम उपस्थित हुने गर्दछन् । लगतै इन्द्रायणी दाफा खलक याँ प्याखँ(नृत्य) प्रदर्शनका लागि यलाग टोल स्थित नाथेश्वरी मन्दिरमा पूजाआजा गरी थने लाछीमा  राति ९ बजे बैधिक याँ प्याखँ नृत्य प्रदर्शन गर्दछन् । जहाँ याँ प्याखँ, माक प्याखँ, मयुर प्याखँ, नाग प्याखँ लगाएत विविध बैधिक नृत्यहरु देखाउने गर्दछन् । यो नृत्यमा संगित र गीतको बोलमा आफ्नो ध्यान केन्दीत गरी नृत्य प्रस्तुत गर्नु पर्छ । जति हेर्न रमाईलो र आनन्द लाग्छ यो नृत्य गर्न त्यतिनै कठिन र मुस्किल पनि ।

बैशाख ३ गते 
       यो दिन नारायण पोखरीमा खट स्नान मेला हुनेभएकाले विहान ६ बजे थनेलाछीमा खट उठाएर चाँडैनै खटलाई हासल टोलमा बिसाइन्छ । यता यंसि (लिंगो) खलकहरु जम्मा भएर लिंगोमा हालिएको हलपटा(विशेष आभुषण) निकाल्ने काम गर्दछन् र नायख्यी बाजाका साथ चण्डेश्वरीको विशेष जात्रा सकिएको उद्घोष गर्दछन् । अपरान्ह १२ बजे सम्ममा सबै खटहरु बिसाई सकेका हुन्छन् र दिउँसो ३ बजे पुनः सिन्दुर जात्रा संगै रथ नारायण पोखरीमा लगेर स्नान मेलामा ५ वटा खटलाई जात्रा गरी मसानकाली मन्दिरमा परिसरमा घुमाएर पुनः पोखरी मार्ग भएर नगर परिक्रमा गर्न लाग्दा मसानकाली तथा कोथु गणेशको मिल्यमत्तोमा जात्रालाई केही समय लम्ब्याउन बाटो छेक्ने कार्य गरिन्छ । जसमा गणेशले पनि साथ दिइन्छ भने चण्डेश्वरी र सपानाविनायक एक समुह बन्ने गर्दछ भने मसानकाली, कोथु गणेश र गणेश दोस्रो समुह बन्छ । केही समय पछि कोने लाछीमा पनि यस्तै बाटो छेक्ने काम हुन्छ ।
       यो साँझ खटहरु कोनेलाछीमा बिसाउने भएकाले चण्डेश्वरी  र सपनाविनायकलाई अतिथ्य स्वीकार्न मसानकाली र कोथु गणेशले आग्रह गर्छ, तर भक्तजनले पाँचै जनाको दर्शन गर्न लालायित भएकाले भक्तजनहरुलाई दर्शन दिन जाऔँ भन्दै सपनाविनायकले लिड गर्छन र सबै खटहरु आपासि मैत्रिका साथ अगाडी नगर परिक्रमामा अघि बद्छन् । यो कार्यले आपसी मित्रता तथा माया सद्भावलाई बढवा दिएको छ । नबुझनेहरुले गल्त अर्थ निकालेकाले थने र कोने अर्थात सरस्वती र चण्डेश्वरी बिचको खाडल खन्ने गर्दछन् तर जे होस जात्रालाई सहज र रमाईलो पार्न यो कार्यले निकै प्रसंशनिय भूमिका खेलेको छ जसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ। रात्रिकालिन समयमा अघिल्लो २ गतेको राति जस्तै दियो जात्रामा याँ प्याखँको आयोजना हुँने गर्दछ ।

बैशाख ४ गते अन्तिम दिन – विहानै खटहरु उठाई नगर परिक्रमा पश्चात गछेँ टोलमा विसाइन्छ, मसानकाली भने आफ्ना खल पुचःका घरघरमा गई बाली उठाउँने कार्य गर्दछन् । दिउँसो २ बजे सम्ममा मसानकाली माईको खट बिसाइ सक्छन् । अन्तिम जात्राको  तयारीमा प्रत्येक टोलका टोलबासीले आफ्ना वरपरका क्षेत्रमा सफा गरी रातो माटोले लितपोत गरी स्वागत योग्य कार्य गर्दछन, ४ः३० बजे अन्तिम जात्राको तयारी सरकारी पूजाबाट गरिन्छ र खट अगाडी बढाइन्छ । खटलाई व्यवस्थित तथा अनुसासित ढङ्गबाट अगाडी बढाउन बसः(विशेष प्रकारको कपडा)ल्यागु अर्थात कपडा बिछ्याई खट अगाडी बढाउने कार्य गरिन्छ । कोनेलाछीमा गएर जात्राको बिधिवत अन्त्य भए पनि पाँचवटा खटहरु पुनः थनेलाछीमा आएर यंसीलाई आफ्नो नियम अनुसारले परिक्रमा गरे पछि प्रत्यकका आ–आफ्ना प्रतिनिधि बाजाले लिन आउने गर्दछन् ।  देवता घरमा देवी देवतालाई बिधिवत पूजा आजाका साथ यथास्थानमा एक वर्षका लागि सुरक्षित राख्छन् । यहि रात केही बुढापाकाहरु तथा  स्थानियवासीहरु हृदयविदारक गीत गाउने चल्न पनि छ ।

बैशाख ५गते लिसपूजा– बिधिवतरुपमा जात्राको सम्पन्न भएको जानकारी दिन बज्रयोगिनीमा गएर पूजाआजा गरी भोजभट्टेरको आयोजनागरी टोखा नगर परिक्रमा गर्दछन् । यो दिन सिन्दुर जात्रामा सामेल सबै खलः,पुच,गुठी तथा संघसंस्थाहरु बज्रयोगिनीमा गएर पूजागरी भोज खाई नगर परिक्रमा गर्न पर्ने प्रवधान रहेको छ । ५ गतेलाई विशेष बाजागाजा  तथा बाद्यबाधकहरुको पर्वका रुपमा परिचित गराउन सकिन्छ ।

Facebook Comments

अन्तिम अपडेट: ३० चैत्र २०६७, बुधबार ११:५४

तपाईको प्रतिक्रिया