आज आमाको मुख हेर्ने दिन / आमाको त्यागको कथा

 १९ बैशाख २०६८, सोमबार १८:५६   | न्यूज अफ टोखा

२०६८ बैशाख २० गते- आज आफुलाई जन्म दिने महान ब्यक्ति ममताकि खानी स्नेहकी देवी आमाको मुख हेर्ने दिन। आज हरेक सन्तानले आफ्ना आमाको मुख हर्ने दिन विभिन्न मिठाई खुवाई तथा राम्रा लुगा कपडा दिई हर्षउल्लासका साथ मनाउदै छन् । हिन्दु धर्मालम्वी हरुले मातातिर्थ औंषीलाई आमाको मुख हेर्ने दिनको रुपमा लिइन्छ । आमाको ऋणको एक किस्ता भुक्तानी गर्ने यो पवित्र दिनमा परम्परागत औपचारिकताको साङ्लो चुँडेर, त्यस्तो केही नौलो प्रारम्भ गरौँ जसबाट आमा शब्दको मर्यादा सुनिश्चित होस्। कुनै मिठाईको प्याकेट र पैसामा आमाको ममता नतौलौँ। के आमाको ममता एक पोका फलफूलसँग जोखिएला ? यो पवित्र दिन आमाले हामीलाई जन्म दिँदा जुन सपना देखेकी छन्, त्यो सपनाको परिपूर्तिका लागि खर्च गरौँ। वर्षमा एकदिन होइन, आमाको महिमा र उत्सर्गलाई दिनहुँ सम्झना गरौँ, यसले आमाको उत्सर्ग र त्यागको सम्मान हुनेछ।

डेविड तलमेजले भनेका छन्— ‘आमा भनेको त्यस्तो बैँक हो जहाँ हामी हाम्रो दुःख र पीडा डिपोजिट गर्छौं।’ त्यसैगरी जर्ज हबर्टले भनेका छन्— ‘विद्यालयका हजार शिक्षकभन्दा एक असल आमा मूल्यवान् छिन्।’ आमाको महानताका सम्बन्धमा हजारौं कथा र कथन प्रचलित छ। आमाको उत्सर्ग र महानताका बारेमा एउटा कथा यहाँ उल्लेख गर्नु उचित होला। एकपटक राक्षसकुलकी एक युवतीको कुनै युवकसँग प्रेम हुन्छ। ती युवतीले ती युवकसँग प्रेम उपहारस्वरूप उसको आमाको मुटु माग्छिन्। आफ्नी प्रेमिकाको वचनमा बाँधिएको त्यो प्रेमीले आफ्नै आमाको हत्या गरी मुटु लिएर ती युवतीतर्फ दौडन्छ। बाटोमा एउटा ढुंगामा ठोक्किएर उनले बोकेको मुटु भुइँमा खस्छ, जसबाट एउटा आवाज निस्कन्छ- बाबु ! तिमीलाई चोट त लागेन ?
           आमाले आफ्नो दुख र पीडालाई बेवास्ता गरी हामीलाई हुर्काएकी हुन्छिन्। आमाको काखमा सुरक्षाको जुन प्रत्याभूति हुन्छ, त्यो संसारको कुनै पनि वस्तुमा हुँदैन। यसैकारण रामायणमा ‘जननी जन्मभूमि स्वर्गादपी गरियसी’ भनिएको हो। संसारमा त्यस्ता महान् र दार्शनिक व्यक्ति छँदै छैनन्, जसले आमाको महिमा गाएनन्। कवि सिद्धिचरण श्रेष्ठको ‘आमा’ होस्, गोपालप्रसाद रिमालको ‘आमाको सपना’ वा मेक्सिम गोर्कीको ‘आमा’ नै, हरेक सर्जकले आमाका बारेमा साहित्य रचना गरेको पाइन्छ र उनको महानतालाई शब्दमा अभिव्यक्त गर्न खोजेको देखिन्छ। क्रूर शासक अशोकलाई तरबारबाट शान्तिको पुजारी बनाउनमा उनकी आमाको उपदेश र सल्लाहको ठूलो भूमिका थियो। त्यसैगरी महात्मा गान्धीले भनेका छन्— ‘मैले जे बोलेको छु, त्यो सबै मेरी आमाको देन हो।’ 
            आमाको काखप्रति कुनै पनि शिशुलाई यति अगाध आस्था हुन्छ कि उनले स्तनपान पनि आँखा चिम्लेर गर्छ। किनभने त्यो शिशुभित्र यस्तो ईश्वरीय विश्वास हुन्छ कि जुन तरल चीजले उसको अधर रसियो, त्यो अमृत नै हो, विष हुनै सक्दैन। कुनै पनि शिशुले स्तनपानमा जति अरू कुरामा विश्वास गरेको पाइँदैन। किनभने जुन काख टेकेर उसले स्तनपान गर्छ, त्यो आमाको काख हो।          महाभारतको एक प्रसंगमा भगवान् श्रीकृष्णलाई यशोदाले केरा ख्वाउँदा, कृष्णले आमाको ममतामा चुर्लम्म डुबेर केरालाई यसरी भोजन गर्छन् कि उनी केराको समाप्तिपछि पनि केराको बोक्रामा केराकै स्वाद लिइरहेका हुन्छन्। जब यशोदाले चाल पाउँछिन् केरा सकिएको छ, तैपनि उनी कृष्णलाई केराको बोक्रा ख्वाइरहेकी छिन् तब उनी आफै लज्जित हुन्छिन् तर भगवान् श्रीकृष्ण त्यो बोक्रामै तृप्त हुन्छन्। यो एउटा सन्तानको आमाको ममताप्रतिको अगाध आस्था थियो, जसले केराको बोक्रामा पनि केराकै स्वाद पायो। 
          हरेक प्राणीका आमा पूजनीय छिन्, चाहे त्यो मानिस होस् वा यो धर्तीको सानो कीरा नै किन नहोस् ? प्रकृतिलाई हेर्ने, अवलोकन गर्ने हो भने पनि हरेक प्राणी आफ्ना आमाप्रति निर्भर छन्। कंगारुलाई नै हेरौ, उनीहरू आफ्नो पेटमा आफ्नो शिशुलाई राखेर मरुभूमिको लामो यात्रा गर्छन्। कंगारुहरू मरुभूमिको प्रचण्ड गर्मी आफ्नो शरीरमा थाप्छन् तर त्यो प्रचण्ड घामबाट आफ्ना सन्तानलाई बचाउँछन्। गँगटोको प्रसवपीडामा उसको मृत्यु छ, तर पनि आफ्नो सन्तानको जन्ममा समर्पित छ ऊ। संसारभरिका आमाले उत्सर्ग नै गरेका छन्, संसारमा विवेकशील गनिने प्राणी मानिसदेखि लिएर माटोभित्र टाउको गाडेर बस्ने गँड्यौलाजस्ता साना कीरा पनि। यसकारण आमा जति पवित्र शब्द यो संसारमा अर्को छँदै छैन। माँ, आमा, जननी र महतारी भनी जुन सम्बोधनले गरे पनि त्यो जन्म दिने आमाप्रतिको सम्मान हो। 

जिउँदो हुन्जेल नै आमाको पूजा गरौँ र उनलाई तृप्त गरौँ। बाँचुन्जेल आमालाई बेवास्ता गरी मृत्युपछि आमाको प्रतिविम्ब खोज्नु मूर्खता मात्र हो।
Facebook Comments

अन्तिम अपडेट: १९ बैशाख २०६८, सोमबार १८:५६

तपाईको प्रतिक्रिया