टोखाका रहस्यमय भूतहरु -भाग ३

 २२ बैशाख २०६८, बिहीबार ०६:०४   | न्यूज अफ टोखा

लसींलाखेसंग कुस्ती 
२०६८ वैशाख २२ गते,काठमाडौं- यस ऐतिहासिक सहर टोखामा बेला–बेलामा अपत्यारिला र अलौकिक रहस्यमय घटनाहरु हुनु स्वभाविकै मानिन्छ । यस्तै घटजनाहरुमध्ये लसींलाखेको घटना पनि एक अनौठो घटना हो । नेवारी भाषामा लसीं भन्नाले ३२ लक्षणले युक्त नारीलाई बुझाउँछ  भने लाखे भन्नाले पुरुष राक्षस वा भूतप्रेतलाई बुझाउँछ । यी दुई संगसंगै हिँडने भएकाले संयुक्तरुपमा लसींलाखे भन्ने चलन छ ।
          केही वर्षपहिले टोखा सहरमा दुई जना पहलमान दाजुभाई थिए । तिनीहरुको नाम क्रमश ःधम्मनसिंह र कम्मासिंह  थियो । यिनीहरुको सम्पत्ति, जमिन भएकाले उनीहरुलाई सबैले सम्मान गर्थे । पहिले टोखास्थित भूतखेलको माथि खप्तटार भन्ने ठाउँमा लसींसहिल डरलाग्दो लाखे बस्थ्यो । सो लाखे एक किसिमले भूतखेलको राजा नै थियो ।
         उसको साथमा अरु धेरै लसींलाखेहरु पनि थिए । मध्यरातमा लसींलाखेहरु यस कालिकामाईको मसानघाटमा आगो बाली वरिपरि नाच्ने, गाउने गर्थे । त्यस बेला कोही मानिस त्यतातिर आयो भने उसलाई मारेर खान्थे । यस टोखाका मानिसले लसींलाखेलाई निर्मुल पार्न धेरै प्रयत्न गरे तर कसैको केही लागेन । तर टोखाका पहलमान धम्मनसिंहले लसींलाखेसंग कुस्ती खेलेको कुरा निकै चर्चित छ ।
        एक दिन खप्तटारको उखुबारीमा चियो गर्नको लागि राति १० बजे खाना खाएर भूतखेलको बाटो हुँदै गइरहेको थिएँ । अचानक भूतखेल चौर सम्पुर्ण उज्यालो भएर आयो । मैले केही सोच्न नै पाइँन । मेरा आँखा हेर्न असमर्थ भइसकेको थियो । लसींसहितको लाखेले मलाई हे मनुष्य ! हाम्रो आहारा बन्नको लागि तिमी तयार होऊ भन्न थाल्यो । म पनि आँटिला र लक्का जवान भएकाले एउठा सर्त राखी भनें–हामी दुईबीच कुस्ती खेलौं यदि मैले जिते भने तेरी श्रीमती लसींलाई लैजान्छु तर तैले मलाई हरा जितिस भने मलाई खानु ! तिम्रो सर्त मलाई मन्जुर छ भनी लसींलाखेले भने पछि हामी  दुबै जना कुस्ती खेल्न थाल्यौं । पहिला मैले लाखेलाई पछारे भने दोस्रो पटल उसले मलाई पछारिदियो । हामी दुईबीच कुस्ती खेल्दाखेल्दै रात बित्न लाग्यो । भोक, चिन्ता र डर केही नभनी म लाखेसँग कुस्ती खेलिरहें । लसींले यो खेल बडो चाख मानेर हेरिरही । लगभग ४ घण्टासम्म कुस्ती खेलेपछि अन्त्यमा मैले लाखेलाई हराईदिएँ । रातको तेस्रो प्रहर हुन लागेको थियो र भाले पनि बास्न थाल्यो । लसींलाखेको प्रकट हुने समय पनि सकिन लागेको थियो । उनीहरुको समय सकिन लागेकोले लाखे मसँग डराउन थाल्यो । लाखेले मसंग हार खाएको स्वीकार गर्यो । पहिलेको सर्तबमोजिम लसीं मैले राख्न पाउने भएँ । लसींलाई मैले समात्यर घरमा ल्याउन खोज्दा ऊ मसँग रोईकराउन गर्न थाली । लसींले मलाई राती–राती मेरो घरमा श्रीमती बनेर आउने सर्त राखेकाले मैले छोडिदिएँ । त्यस दिनदेखि लसीं मेरो कोठामा सुत्न आउँथी र बिहान भाले बासेपछि मात्र आफ्नो ठाउँमा जान्थी । तर लसींको तर्फबाट भने मेरो कुनै सन्तान भएनन् ।
        खेतको कामको लागि कोही पनि ज्यामी राख्नुपर्दैन । सामान उपलब्ध गराइदिएपछि  भोलिपल्ट घैयाबारीमा हेर्न जाँदा पूरा बारी उक्त लसींले गोडिसकेको हुन्छ । उक्त घरमा अहिले पनि बाहिरी मान्छे पाहुना बनेर सुत्न जाँदा  तर्साउने, खाटबाट उठाएर भुईमा सारिदिने र मानिस बिरामी हुने गर्छ । अचेलका मानिसलाई दैवीशक्तिमाथी विश्वास नभएकोले उक्त घटना पत्याउदैनन् । सुन्दा किंवदन्ती जस्तो लाग्ने यो घटना विवरणलाई अधिकांश स्थानिय बासिन्दा सत्य ठान्छन् ।
Facebook Comments

अन्तिम अपडेट: २२ बैशाख २०६८, बिहीबार ०६:०४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया