चिल्ला चेलीका तीजे तिघ्राहरू !

 ११ भाद्र २०६८, आईतवार ०४:४७   | न्यूज अफ टोखा

२०६८ भाद्र ११ गते ‘गाउँले ‘ बलदेव– उहिलेउहिले चाडपर्वमा मिठोचोखो पकाएर भान्सा गरिन्थ्यो। अचेल नमिठो बिटुलो खाएर बान्ता गरिन्छ। महात्मा ‘ईसामसीह’को शुभजन्मोत्सवको स् मृतिस्वरूप इस्वी संवत् आरम्भ भएको जनवरीको पहिलो दिनमा होस् अथवा ‘जिसस क्राइस् ट ‘जस्ता कर्पूरगौर सन्तको सम्झना गर्ने ‘क्रिसमस ‘मा होस् नन्दीभृङ्गीजस्ता उभयलिङ्गीहरू मिसमास भएर मदमांसले मातिन्छन्, झल्लिन्छन् र ‘ड्रम सेट’को बेतालमा बिसुरसँग हल्लिन्छन्, यस्तै हो पश्चिमी सभ्यता? यतातिर जन्म दिन अथवा कुनै पनि शुभ दिनमा दीप, कलश र गणेशको पूजा गर्ने गरिन्थ्यो। शुभकर्मभरि नै दीप प्रज्वलित भइरहनुपर्थ्यो। उता बालिएको मैनबत्ती निभाएर मात्रै जन्म दिन मनाइने गरिन्छ, यता पनि त्यसै गर्न थालियो। निभाउनकै लागि बत्ती किन बालियो?
प्रश्नको उत्तर पर्खिन नसकेर आँखा चिम्म गर्दै हामीहरूले पनि अँध्याराको रहमा हामफालियो। पश्चिमी संस्कृति म जान्दिनँ र नहिँड्ने गाउँको बाटो सोध्न पनि आवश्यक ठान्दिनँ। मेरो पूर्वीय संस्कार आज विकारयुक्त र बेकार हुँदै गएको चाहिँ मलाई थाहा छ। व्रतबन्धकै दिन ब्राह्मण- वटुकको व्रतभङ्ग गराइन्छ। ‘ब्रान्डी, ह्विस्की र रम’ मिसिएको मदिरातालमा पौडी खेल्दाखेल्दै अनि रमणीहरूको रसपान गर्दागर्दै उपनयनको जनै झरिसकेको र ब्रह्मचर्य मरिसकेको पत्तो पाउँदैन, त्यो स् कुले ठिटो। बाह्र कक्षाको शिक्षा लिँदै गरेको त्यस केटाले भिक्षादानको लगनमै छड्के नेत्रपान गरिसकेको थियो। शिशुको सृष्टि गरिसकेपछि विवाह बन्धनीमा बाँधिने अनिमात्रै व्रतबन्धनीमा जनै र कन्धनी पहिरिने चलन चलेको छ, अहिले। त्यसको के दोष?


                                                                                                                                                                                                                                                                                        वर्णाश्रम धर्मको मर्म बुझ्न छोडेर हामी कसको पर्म तिर्दै छौँ? षोडश संस्कार खिइएर सकिनै लाग्यो, दोष लागे युगधर्मलाई लागोस्। सुख पाउन्जेल भगवान्लाई भतुवा कुकुरसरह पनि नमान्ने, शिवतत्त्व अलिकति पनि नजान्ने अनि शिवबुटी भन्दै अविच्छिन्न गाँजा र धतुरो तान्ने तन्नेरीहरूलाई के ठान्ने? फागु पूर्णिमामा चेलीबेटीलाई ताकेर रणभूमिमा गोला बर्साएझैँ लोला बर्साउने केटाहरू तर्साउने भूतभन्दा कम भएनन्। त्यसरी अन्धाधुन्ध शैलीले बटुवा ठिटीहरूका वक्षस्थल वा मर्मस् थलमा प्रहार गर्दा ठहरै भए भने ठिटाहरूको दशा के होला? मोबिल मिश्रित रङ्ग दलिदिएर रूपवती युवतीलाई कुरूपा बनाइदिनेदेखि ढलको पानी खन्याइदिनेसम्मका गतिविधिलाई समेत संस्कृति भनिरहनुपरेको छ, किनभने हामीभित्रको मानवता मरेको छ।
अलच्छिना दच्छिनाले दशैँमा दशा मिसाइदियो। देवीको पूजालाई दिनुपर्ने महइभ्व मांस र मदिरासमेतको ‘लन्च ‘ र ‘डिनर’लाई दिन थालियो। तिहारको पञ्चकलाई प्राणीहरूको सहअस्तित्व र सम्मान बुझाउने पर्व भन्ने कुरै भुलेर जूवातासमा डुबीडुबी सर्वस्व गुमाउनुलाई के भन्ने? यसै सन्दर्भमा घोक्रो सुकाईसुकाई सुनाइने स्याल हुइँयाँ देउसीका लागि चुलेसी भइसक्यो। दाताले रमाईरमाई दैलो खोल्नै पर्ने गरी महिलाबाट मात्रै गाइने ‘भैलो’लाई पुरुषको मिश्रणले मैलो भाँडभैलो बनाइसक्यो। ‘हामी त्यसै आएनौँ, बलि है राजाले पठाए। हे औँसी बार, गाईतिहार भैलो।’ उहिलेउहिले भैलिनी दिदीबहिनीले भन्थे। अहिलेका दाजुभाइले त, ‘हेलो भैलो! खोलो दैलो! भन न ओ डार्लिङ…! ‘यस्तैयस्तै भन्छन्।
भट्ट्याउन होइन केटी पट्ट्याउन हिँडेको अरे! गच्छे-अनुसार स् वेच्छाले बत्ती बालेर नाङ्लामा सदक्षिणा सेल, चामल र धान राखेर कात्तिके दान दिइन्थ्यो। देउसी अथवा भैलीले दिएको आसिक थाप्दा सबैलाई रमाइलो लाग्थ्यो। अचेल करबलै दान दिनुपर्छ। क्लबका नाममा, राजनीतिक भ्रातृसङ्गठनका नाममा रकम तोकिएरै पत्र काढिन्छ। शासक, प्रशासक र राजनीतिक नेतालाई बाध्यात्मक दान गराउने र भ्रष्टाचारका लागि प्रेरित गराउने वाचाल आध्यात्मिक  प्रवाचक बाजेहरूले आसर्जेको खेती गरेको गर्‍यै छन्।
शिक्षालय, औषधालय अथवा देवालय बनाउने भन्दै चन्दाको वैधानिक धन्दा चलाउनेहरूको कुरो पनि यतै बिसाएर म तपाईंलाई एक्कै छिन तीजको तडकभडकतिर आँखा तेर्स्याउन अनुरोध गर्छु। सत्ययुगतिर भगवती पार्वतीले पशुपति शिवलाई पतिका रूपमा पाउनका लागि निराहार व्रत बसेकी थिइन् अरे! उनको देह पो दिव्य थियो र भोक लाग्दैनथ्यो। नेपालका पतिव्रता अर्थात् सती महिलाहरूले समेत सभक्ति सजिलोसित पार्वतीको गति समाते। अविवाहिताहरूले रोजेकै पति पाउनका लागि, विवाहिता साध्वीहरूले आजीवन सधवास् वरूपमा रमाउनका लागि तथा विधवा भएकाले पतिको मुक्तिका लागि भनेर निर्जल र निराहार व्रत गर्ने परम्परा बसेको थियो, हिजोआज त्यसको नाकमुखै देख्न छोडियो।
अहिले पतिपरिवर्तनको कामना गर्नेहरूको गीत गुन्जिन्छ- ‘पोइल जान पाऊँ, शिव! पोइल जान पाऊँ!’ आदि। यस्तै गीतका प्रतापले त होला नि पैसाका लागि परदेसिएका पतिका कतिपय सती श्रीमतीहरू बियरको बोतल चुस्दै ठमेलतिर परपुरुषसँग मेलमिलाप गर्दै छन् भन्ने सुनिन्छ। त्यसो त चरित्रवतीका पात्तिएका पति परमेश्वरहरू पाशविक परम्परा-अनुसार प्रतिदिन पत्नीपरिपर्तन गर्दै छैनन् र! ‘एबिसिडी’ नचिने पनि अङ्ग्रेजी गीत गाउने तथा अङ्ग्रेजी रीतमा रमाउनेहरू पर्याप्त छन्। ‘पत्नीहरूले पतिको दीर्घायु चिताएर व्रत बस्नुपर्ने हो भने पत्नीको दीर्घायुका लागि पतिले पनि व्रत किन नबस् ने?’ महिला धिकारवादीहरूको तर्क तेर्सो पर्छ। यस तर्कलाई बल दिनकै लागि त होला नि केही वर्ष यतादेखि दर खाने दिनको दर बढेर एक दिनबाट एक महिना पुर्‍याइएको छ। कहिले कुन संस् थाको त कहिले कुन संस्थाको, कहिले अमुक पार्टी र कहिले अमुक पार्टीका महिला विभागको, कहिले कुन गृहिणीको भोजनगृहमा त कहिले कुन गृहिणीको।
बिहान, दिउँसो र बेलुकासमेत दर हाम गर्नमै व्यस्त छन्, काम नभएका मध्यमवर्गीय महिलाहरू। उपस्थिति जनाउन र आयोजना गर्न भ्याई-नभ्याई हुन्छ, तिनलाई। खर्च धान्न नसकेका जोइटिङ्ग्रे पोइहरू रोईरोई बसेका छन्। पहिलेपहिले मिठोमसिनो खानका लागि चाडपर्वकै मुख ताक्नुपर्थ्यो। वर्षको एकपल्ट भए पनि दिदीबहिनीलाई घरमा बोलाएर मुख मिठ्याइदिन पाउँदा दाजुभाइलाई आनन्द आउँथ्यो। त्यसैले माइतालु चेलीहरू तीजमा गाउँथे- ‘गोठमा राम्रो झालीमाली गाईले।
माइतमा राम्रो दाजुभाइले।। तीज आयो भन्छन् सबै माइत जान्छन्। मै चेली अभागी कसको माइत जाऊँ?।। बाघलाई देखेँ भने बाबा, बाबा भनुँला। बघिनीलाई देखेँ भने आमा भनुँला।’ अगिपछि पराधीन भएर बाँच्न बाध्य भएका महिलाहरू माइत गएर तीजका गीतका माध्यमबाट मुटुको घाउ निचोर्थे। सासूससुरा, नन्दआमाजू, सौतेनी आमा आदिबाट पाउनुपरेको यातना र कष्टलाई शब्दका माध्यमबाट बाहिर निकाल्थे। अहिलेका नगरवासी महिलाहरू तीजको दिन लुकीलुकी अन्न खालान् भन्न नसकिएला तर टन्न फलफूल खाएर ‘डिस्को’, ‘रक’ आदि शैलीका माध्यमबाट ‘हाइन्डसम ‘हरूको हात समातेर बुरुकबुरुक उफ्रिँदै कामुक प्रतिस्पर्धामा प्रस्तुत हुन्छन्। नाच्नेलाई भन्दा देख्नेलाई लाज! तीजमा चिल्ला र परिपुष्ट तिघ्राको आकर्षण देखाएर वयस्क पुरुषहरूलाई उत्तेजित बनाउनु नारीको नैसर्गिक अधिकार हो भने नारीलाई भन्दा तिनको अनाडीलाई प्रेम गर्नु पुरुषको पवित्र परम्परा हो।
संवेदनशील र प्रेमपरक गीतले महिलाको हित गर्दैन भन्दै बूढाबाजेका पालाको प्रगतिशील पङ्क्ति पियाउने पाखण्ड प्रवृत्ति अनि कम्मर मुनिका अङ्ग देखाउँदै गरिने अत्याधुनिक रसरङ्ग दुवैले तीजको मौलिकतालाई कताकता पुर्‍याइसके। हाम्रा आमा र बज्यैहरू तीजमा निराहार मात्रै बस्दैनथे। तिर्खाले प्याकप्याक्ती पार्दासमेत पानीको घुट्को मुखमा पार्दैनथे। तीजको भोलिपल्ट चतुर्थी तिथिको खाल्सा रहेको वर्ष त कर्कलो र भात खान्थे। खाल्सा नपर्नेबित्तिकै पञ्चमी तिथिमा कष्टपूर्वक ऋषिहरूको पूजा नगरेसम्म भुजा गर्दैनथे। दुईदुई दिन भोकभोकै बस्नुपर्ने भएकाले पनि द्वितीया तिथिमा गरिष्ठ भोजन गर्नु बाध्यता नै हुन्थ्यो। त्यही गरिष्ठ भोजनलाई दिदीबहिनीले दर भनेका हुन्। व्रतका नाममा फलफूल वा पानीसमेत नखाने बानीलाई समयसन्दर्भले पनि स् वीकार गर्दैन। धर्म त देश, काल र परिस्थितिअनुसार निर्वाह गरिने नैतिक अनुशासन मात्रै हो, निरङ्कुश शासन होइन तर तीजका नाममा पार्टीको पाखण्ड प्रचार गराउने, महिनौँसम्म दर कार्यक्रम राखेर समय र सम्पत्तिको नाश गराउने तथा निम्न आय भएका महिलाहरूलाई निहुराउने जस् ता कार्यलाई महिला अधिकारवादीले कसरी हेरेका होलान् ?

Facebook Comments

अन्तिम अपडेट: ११ भाद्र २०६८, आईतवार ०४:४७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया