बाबुराम बने ३५ औं प्रधानमन्त्री / संक्षिप्त जीवनी

 ११ भाद्र २०६८, आईतवार १५:५७   | न्यूज अफ टोखा

काठमाडौं, भाद्र ११ – माओवादी उपाध्यक्ष बाबुराम भट्टराई आइतबार नेपालको ३५ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । 
चौथो शक्ति संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संविधानसभाका अधिकांश साना दलको समर्थनमा भट्टराई प्रधानमन्त्री निर्वाचित भएका हुन् । व्यवस्थापिका संसदमा भएको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् ।
भट्टराईले ३ सय ४० मत पाए भने पौडेलले २ सय ३५ मत पाए । ६ सय १ सदस्यीय संसदमा ५ सय ७५ सभासद् मतदानमा भाग लिएका थिए ।
भट्टराई माओवादीका तर्फबाट दोस्रो, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो र पाँचौ कम्युनिष्ट प्रधानमन्त्री हुन् । उनी यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अर्थमन्त्री थिए ।




पार्टी संसदीय दलको नेता अध्यक्ष दाहाल नै रहे पनि उपाध्यक्षद्वय मोहन वैद्य, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापासहितको मोर्चाले भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो ।
भट्टराईको पक्षमा मधेसी मोर्चामा आबद्ध मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी,  तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल र सदभावाना पार्टीले समर्थन गरे । चार बुँदे सहमति भएपछि मोर्चा भट्टराईलाई समर्थन गर्ने निर्णयमा पुगेको थियो ।
यसैगरी भट्टराईलाई मोर्चा बाहिरको मधेसी जनअधिकार फोरम नेपालसहित अधिकांश साना दलले समर्थन गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल लोकतान्त्रिक समाजवादी दल, राष्ट्रिय जनमोर्चा, समाजवादी प्रजातान्त्रिक दल, नेपाल परिवार दल, नेकपा माले-समाजवादी, दलित जनजाति पार्टी र नेपाः राष्ट्रिय पार्टीले समर्थन गरे ।
यसैगरी भट्टराईलाई सदभावना पार्टी आनन्दीदेवी, नेकपा एकीकृत, जनमुक्ति पार्टी र स्वतन्त्र सभासद् सदरुल मियाँ हकले समर्थन गरे ।
कांग्रेसका पौडेललाई एमाले, माले, राप्रपा, जनशक्ति पार्टी  र स्वतन्त्र सभासद् बबन सिंहले समर्थन गरे ।
प्रधानमन्त्रीका दुवै उम्मेदवारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले मतदान बहिष्कार गर्‍यो । राप्रपा नेपाल भने निर्वाचनमा भाग लिएन ।
 डा बाबुराम भट्टराईको संक्षिप्त जीवनी
डा बाबुराम भट्टराईको जन्म विसं २०११ असार ४ गते (सन् १९५४ जुन १८) मा गोरखा जिल्लाको खोप्लाङ गाविसमा पिता भोजप्रसाद भट्टराई र माता धर्मकुमारी भट्टराई कोखबाट भएको हो।
मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका डा भट्टराई यसअघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सङ्घीय गणतन्त्र नेपालको पहिलो सरकारको अर्थमन्त्री हुनुभएको थियो।
अर्थमन्त्रीमा रहँदा उहाँले मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन निकै लोकप्रिय कार्यक्रम अघि सार्नु भएको थियो। एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष समेत रहनुभएका डा भट्टराई आफ्नो राजनीतिक तथा बौद्धिक व्यक्तित्व र क्षमताका कारण अन्तर्राष्ट्रिय जगत्मा समेत परिचित हुनुहुन्छ।
अध्ययनमा सँधै प्रथम
औपचारिक अध्ययनमा सधैं प्रथम स्थान हासिल गर्न सफल डा भट्टराईले बाल्यकालमा अनौपचारिक शिक्षा गाउँकै सेवानिवृत्त सैनिक भक्तबहादुर भुजेलबाट हासिल गर्नुभएको थियो भने औपचारिक शिक्षा २०२० सालमा गोरखा जिल्लाकै लुइँटेल गाउँको अमरज्योति जनता हाइस्कुलमा तीन कक्षाबाट सुरु गर्नुभएको थियो।
उहाँ २०२६ सालको एसएलसी परीक्षामा देशभर सर्वोत्कृष्ट (बोर्ड फस्ट) हुनुभएको थियो।
उच्चशिक्षाका क्रममा अमृत साइन्स कलेज, काठमाडौँमा विज्ञान विषयको अध्ययन थाल्नुभएका उहाँले २०३४ सालमा कोलम्बो प्लानअन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्ट विषयमा स्नातक गर्नुभयो। २०३६ सालमा नयाँ दिल्लीबाट स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चरबाट भट्टराईले सहरी र क्षेत्रीय योजना विषयमा स्नातकोत्तर गर्नुभयो।
पीएचडी प्रधानमन्त्री
उहाँले नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयबाट ‘द नेचर अफ अन्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल’ विषयमा शोधपत्र लेखी विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्नुभयो।
दिल्ली बसाइको क्रममा उहाँको विवाह नेपालका राजनीतिक व्यक्तित्व धर्मरत्न यमीकी छोरी हिसिलासँग भयो।
सानैदेखि राजनीतिक गतिविधिमा चाख राख्नुहुने डा भट्टराई भारत बसाइका क्रममा २०३४ सालमा अखिल भारत नेपाली विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष बन्नुभयो। भारतमै उहाँले बिपी कोइराला, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह, ऋषिकेश शाहलगायतका राजनीतिक नेताहरुसँग सम्पर्क गर्नुभएको थियो।
राजा वीरेन्द्रलाई कालो झण्डा
२०३७ सालमा नयाँ दिल्ली भ्रमणमा आएका तत्कालीन राजा वीरेन्द्र शाहलाई कालोझण्डा देखाएको आरोपमा भारतीय प्रहरीले पहिलो पटक उहाँलाई पक्राउ गरेको थियो।

काठमाण्डौं र राजनीतिसँग बाबुराम


२०२७/२०२८ तिर राजनीतिक दलहरु प्रतिवन्धित थिए । राजनीतिक गतिविधि भनेका विद्यार्थी गतिविधि मात्रै थिए । कम्युनिष्ट पार्टीहरु पनि फुटेका थिए । काँग्रेस नेताहरु प्रवास तिरै थिए । शेरबहादुर देउवाको नेतृत्वमा नेविसंघ भरखरै गठन भएको थियो । अखिल पनि भरखरै गठन भएको थियो । विद्यार्थीहरु अखिल र ने.वि.संघ भनेर चुनाव लडथे । अमृत क्याम्पसमा भने प्यानल सहित चुनाव हुन्थेन । तर वामपन्थी प्रभाव भने थियो ।
बाबुरामको राजनीतिक चेतना त्यतिवेला राजतन्त्र विरोधी मात्रै थियो । काँग्रेस वा कम्यूनिष्ट थिएन । उनी राजतन्त्र विरोधी कसरी भए होलान् ? २०१७ सालमा बहुदलिय व्यवस्था खारेज गरी राजा महेन्द्रले निर्दलीय व्यवस्था स्थापना गरेपछि नेपाली काँग्रेसले स-सस्त्र संघर्ष शुरु गर्‍यो । त्यतिवेला उनकि जेठी आमाका दाजु मामा कृष्णप्रसाद न्यौपाने काँग्रेसका नेता थिए । उनी वारेन्टेड रहेछन् र बाबुरामको घरमा भूमिगत बसेका रहेछन् । बाबुरामहरु त्यतिवेला ६/७ बर्षका थिए । उनको घरमा भूमिगत बसेका मामाले राजतन्त्र विरोधी कुराहरु गरिरहने, के के थरि पर्चाहरु लेखिरहने गर्थे । त्यसबाट राजतन्त्र विरोधी प्रारम्भिक चेतना उनमा जाग्यो । पछि २०२५ सालतिर भरत शमशेरले “राजामहेन्द्रका अपराधहरु” भन्ने पर्चा लेखेका थिए । त्यो पर्चा पनि उनै मामा मार्फत उनले पढ्न पाए । राजा भनेको त वदमास पो रहेछ भन्ने उनलाई भित्रदेखि लाग्यो । स्कूले जीवनमा जागेको राजतन्त्र विरोधी भावना अमृत क्याम्पसमा पढ्दा झन बलियो हुदै गयो । त्यतिवेला स्नातक तर्फबाट राष्ट्रिय पंचायत सदस्यमा चुनाव लडेका राजराजाप्रसाद सिंहले जिते । रामराजाप्रसाद सिंहलाई सपथ ग्रहण गर्न दिइएन । उनी राजतन्त्र विरुद्ध गणतन्त्रका पक्षमा उम्मेदवार भएका थिए । उनको गिरफतारी र उनलाई सपथग्रहण गर्न नदिएको विरोधमा अमृत क्याम्पसमा आयोजित विरोध कार्यक्रममा उनी सहभागी भए । यो नै उनको पहिलो राजनीतिक काममा सक्रिय सहभागीता थियो । गणेशमान पुत्र प्रदीपमानसिंह, मनमोहनका छोरा प्रकाश अधिकारी संगै पढथे । अमिक शेरचनका भाई प्रान्ति शेरचन अमृत क्याम्पसका स्ववियू सभापति उम्मेदबार थिए र उनले जितेका थिए । उनी यति वेला आफ्नो ज्ञान वढाउन राजनीतिक नेताहरुसँग भेटघाट गरिरहन्थे । एस.एल.सी. बोर्ड र आइएस्सीको पनि प्रथम विद्यार्थी भएकाले उनलाई सवैले चिन्थे । उनी सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय जस्ता व्यक्तिहरुसँग ज्ञान हासिल गर्न भेट्थे । तर कुनै राजनीतिले प्रेरित वा राजनीतिक उद्देश्य हासिल गर्नकालागि भने होइन । काठमाण्डौंमा पढ्दा उनको राजनीतिक चेत अंकुरित मात्रै भएको थियो ।



बाबुराममाथि आरोपको श्रृङ्खला
जव सबैतिरबाट बाबुराम सर्वप्रथम बन्दै गए, प्रवासमा भएका नेपालीहरुलाई जव उनले संगठित बनाएर नेपालको राजतन्त्र विरुद्धको संघर्षमा लामवद्ध बनाउन थाले तव उनी विरुद्ध षड्यन्त्र र आरोपको श्रृङ्गखला सुरु भयो । नेपालबारे केही गर्नु पर्छ भन्ने सोचका साथ भारतमा डाक्टर, इन्जिनियर, कृषि बिषय पढने विद्यार्थीलाई समेटदै एउटा साझा संगठनका रुपमा बाबुराम भट्टराईले नेतृत्व गरेको अखिल भारत नेपाली विद्यार्थी संघ बन्दै गयो । त्यो संगठन सारमा राजतन्त्र विरोधी थियो । २०३४ असोजमा बाबुराम त्यो संगठनका अध्यक्ष बने । 



अघिल्लो साल वि.पि. कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किदा गिरफ्तार भएका थिए । उनी क्यान्सरका विरामी थिए । उनको उपचार गर्न दिनुपर्छ भन्ने आवाज विभिन्न मानवअधिकारवादी संगठनहरुले उठाएका थिए । त्यही वेला बाबुरामले नेपाली विद्यार्थीहरुको साझा संगठनका अध्यक्षका हैसियतले वि.पि. कोइरालाको उपचार हुनु पर्छ भनेर वक्तव्य निकाले । त्यो वक्तव्य निकालेपछि भारत स्थित नेपाली दुतावासले बाबुरामलाई उनको संगठनको अध्यक्षबाट निष्कासन गरिएको वक्तव्य दिन लगायो । वि.पि.को स्वास्थ्य उपचारका पक्षमा वक्तव्य निकाल्नेलाई अध्यक्षबाटै निष्कासन गरिएको खवर पछि बाबुरामको जनसम्पर्क झन् व्यापक हुदै आयो । दुतावासले दिल्ली यूनिटका अध्यक्ष प्रभात घिमिरे र सचिव विनोद श्रेष्ठलाई दुरुपयोग गरेको थियो । पछि भारत भरी हलचल भयो । बाबुरामकै अध्यक्षतामा बसेको अखिल भारत नेपाली विद्यार्थी संघको अर्को बैठकले भारत स्थित नेपाली दुतावासको योजनामा राजतन्त्रका पक्षमा लाग्नेहरुलाई कारवाही गर्‍यो । यो घटनाबाट बाबुराम गणतन्त्रका पक्षमा दरिलो अडान भएका व्यक्तित्व हुन् भन्ने कुरा पुष्टी भयो र उनले नेतृत्व गरेको संगठन जनतन्त्र पक्षीय सबै शक्तिहरुको साझा संगठनका रुपमा झन् स्थापित भयो । नेपाली काँग्रेस, तुलसीलाल अमात्य समूह, तत्कालिन चौम लगायतका दलहरुले त्यसपछि बाबुरामलाई सम्पर्क गर्न थाले । २०३४ सालकै माघमा ओखलढुङ्गाको टिम्वुरवोट काण्डका क्याप्टेन यज्ञ बहादुर थापा र भिमनारायण श्रेष्ठ लगायतलाई पञ्चायती शासकहरुले मृत्युदण्ड दिए । पञ्चायती व्यवस्थाले घटाएको त्यो काण्ड विरुद्ध दिल्लीमा बाबुरामकै नेतृत्वमा विरोध जुलुस निकालियो । यो नै बाबुरामको जीवनमा सहभागी भएको त्यतिवेलाको पहिलो ठुलो राजनीतिक गतिविधि थियो । पञ्चायती सामन्त्त र राजावादीहरुले बाबुरामको गणतन्त्र पक्षीय आन्दोलनलाई रोक्न सकेनन् ।


बाबुराम नेपाल फर्के


२०४२ सालमा उनी काठमाण्डौं फर्के । काठमाण्डौं फर्किनु अघिनै उनले निर्णय गरी सकेका थिए कि “म अव पूर्ण कालीन राजनीति नै गर्छु” । उनी मसालको काठमाण्डौं जिल्ला सेक्रेटरी र वागमति व्यूरो सदस्य भएर कम्यूनिष्ट राजनीतिमा सक्रिय भए ।
उनी नेपाली कम्यूनिष्ट आन्दोलनलाई नयाँ ढंगले लैजानु पर्छ भन्ने मान्यता राख्ने भएकाले पुरानै ढाँचा परित्याग गर्न नसक्ने मोहन विक्रमसंग मतभेद बढ्यो । तर उनी संधै क्रान्तीकारी पार्टीहरु विचको एकतामा जोड दिन थाले । त्यतिवेला दुध काण्ड, रंगशाला काण्ड, मेघालयका षडणार्थी बिषयमा उनी संघर्ष गर्न थाले र साझा मञ्च बनाएर पद्मरत्न तुलाधर लगायतसँग पंचायत शासन विरुद्धको आन्दोलनमा सरिक भए ।
२०४६ सालको जनआन्दोलन ताका मसाल, मशाल, सर्वहारा श्रमिक संगठन, शम्भुराम समूह, कृष्णदास समूह आदि मिलेर संयुक्त राष्ट्रिय जन आन्दोलन नामक मोर्चा बन्यो । त्यसको उनी प्रवक्ता बने जुन अघोषित रुपमा संयोजक नै हुन्थ्यो । सोही मोर्चाले २०४६ साल चैत्र २४ गते गरेको वन्द नै त्यो आन्दोलनको उत्कर्ष थियो । र त्यो दिनको उत्कर्षले नै पंचायत व्यवस्थाको अन्त गर्‍यो ।
२०४६ को परिवर्तन पछि नयाँ प्रक्रियामा जानका लागि उनी पार्टी एकताको पहल गर्न थाले । बाबुराम, सिन्धुनाथ प्याकुरेल, काईलावा, दिलबहादुर श्रेष्ठ सिताराम तामाङ्ग लगायत मिलेर पार्टी एकताको लागि २०४७ जेष्ठमा ‘फोरम फर यूनिटी’ बनाए । त्यतिवेला एकता केन्द्र बनेको थिएन । एकता केन्द्र २०४७ मंसिरमा बन्यो । पार्टीगत रुपमा मोहन विक्रमसँग विद्रोह गर्न ढिला भएकाले एकता केन्द्र निर्माणका क्रममा भने बाबुरामहरु अलिढिलो समावेश भए । संयुक्त जनमोर्चा निर्माण गरेर क्रान्तीका लागि नयाँ ढंगले जानुपर्छ भन्दै बाबुरामहरुले एकताकेन्द्रसँग पार्टी एकता गरे । बाबुरामले नेतृत्व गरेको संयुक्त जनमोर्चा नेपाल नै एकता केन्द्रको जनसंघर्ष र चुनावी प्रयोगको मोर्चा बन्यो । यसले २०४८ को चुनावमा ९ वटा सिटमा विजय हासिल गर्‍यो र तेश्रो ठूलो दल भयो ।
सडक र सदन दुवै मोर्चाबाट संयुक्त जनमोर्चा नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संघर्ष जारी राख्यो । बानेश्वरमा भारतीय पोशाकमै प्रहरी आएर नेपालीलाई गिरफ्तार गरेकाले २०४९ बैशाख २१ गते संयुक्त जनमोर्चाले बन्द आयोजना गर्‍यो । त्यसपछि चैत्र २४ लाई लोकतन्त्रको र बैशाख २१ लाई राष्ट्रियता सम्बन्धी संघर्षको दिनका रुपमा मनाइन थालियो । २०४६ को जनआन्दोलनबाट प्राप्त सिमित अधिकारबाट मात्र पुग्दैन जनतालाई पूर्ण मुक्ति चाहिन्छ भन्दै नेकपा (माओवादी)ले २०५२ जनयुद्ध शुरु गर्‍यो । संयुक्त जनमोर्चा नेपालले बाबुराम भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालिन देउवा सरकारसँग राखेर ससस्त्र युद्धमा जाने घोषणा गर्‍यो । र व्यवस्थित युद्धमा उनीहरु सामेल भए ।


२०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दा बाहेक सबै समय भूमिगत वसे । तर जनतासंग संधै सम्पर्कमा रहने बाबुराम भूमिगत भए पनि कहिल्यै रहस्यमय पात्र बनेनन् । कहिले दाह्री पालेका, कहिले चे टोपी लगाएका त कहिले फैजी पोशाकका बाबुराम संधै जनताको सम्पर्कमै रहे । भूमिगत होस वा खुल्ला उनको जस्तो सादगी र पारदर्शी जीवन सम्भवतः हालसम्मका राष्ट्रिय राजनीतिमा चर्चित नेताहरु कसैका छैन ।
सुरुमा काँग्रेस पछि कम्युनिस्ट
सुरुमा उहाँको झुकाउ नेपाली काँग्रेसतिर भए पनि पछि २०३८ सालमा उहाँ मोहनविक्रम सिंहमार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको थियो। अखिल भारत नेपाली एकता समाजमार्फत उहाँले भारतमा रहेका प्रवासी नेपाली कामदारलाई सङ्गठित गर्ने कार्यमा सक्रियतापूर्वक लाग्नुभएको थियो।
पत्रिकाका सम्पादक पनि
डा भट्टराई २०३४ देखि २०४३ सालसम्म भारतबाट प्रकाशित हुने ‘जनमानस’ र ‘नेपाली एकता’ पत्रिकाका सम्पादक हुनुहुन्थ्यो भने २०४३ देखि २०४८ सालसम्म उहाँ ‘झिल्को’ मासिक पत्रिकाका प्रधानसम्पादक हुनुभएको थियो।
२०४३ सालमा नेपाल फर्केपछि उहाँ पार्टीको पूर्णकालीन सक्रिय सदस्य बन्नुभएको थियो। पञ्चायतकालमा उहाँ २०४३ साल र २०४६ सालमा दुईपटक गिरफ्तारीमा पर्नुभयो।
पञ्चायती शासन विरुद्धको जनआन्दोलनका बेला उहाँ संयुक्त राष्ट्रिय जनआन्दोलनका केन्द्रीय प्रवक्ता हुनुहुन्थ्यो। संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल कम्युनिष्ट पार्टी (मसाल), सर्वहारावादी श्रमिक सङ्गठन र अन्य वामपन्थी पार्टीहरुको गठबन्धन थियो।
बहुदलीय प्रजातन्त्र स्थापना भएपछि २०४७ सालदेखि उहाँको राजनीतिक क्रियाशीलता अझ बढ्यो। उहाँको आफ्नै शब्दमा २०४७ पछि जीर्ण र अशक्त संसदीय व्यवस्थाका कमजोरी र सीमा विरुद्ध उहाँको आन्दोलन जारी रह्यो। यसैक्रममा २०५१ सालमा तत्कालीन सरकारले समेत उहाँलाई गिरफ्तार गरेको थियो।
२०४८ साल यता डा भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) र पछि नेपाल कम्युनिष्ट पार्टी (माआवादी)को पोलिटब्युरो सदस्यका रुपमा नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नुभयो। उहाँ संयुक्त जनमोर्चाको अध्यक्ष पनि रहनुभयो।
जनयुद्धको समयमा २०५२ देखि २०६३ सालसम्म भूमिगत रही उहाँले विभिन्न मोर्चामा क्रान्तिको नेतृत्व गर्नुभयो।
२०५९–६० मा सरकारसँग शान्तिवार्ताका लागि उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को वार्ताटोलीको नेतृत्व गर्नुभयो। उहाँलाई २०६२–६३ को संयुक्त जनआन्दोलनका एक योजनाकारका रुपमा लिइने गरिएको छ। उहाँ २०६३ सालमा हस्ताक्षर भएको बृहत् शान्ति सम्झौताका मुख्य वार्ताकार पनि हुनुहुन्छ।
सबैभन्दा बढी मत ल्याएर जित्ने
२०६४ सालमा भएको ऐतिहासिक संविधानसभाको चुनावमा आफ्नै जन्मथलो गोरखाबाट उठनुभएका डा भट्टराई निर्वाचित सभासद्मध्ये सबैभन्दा बढी मत ल्याउन सफल सभासद् हुनुहुन्छ।
उहाँ नियमितरुपमा पत्रपत्रिका मार्फत विचार सम्प्रेषण गरिरहने एक सक्रिय लेखकका रुपमा पनि परिचित हुनुहुन्छ। उहाँका नेपाली भाषामा लेखिएका १० र अङ्गे्रजी भाषामा लेखिएका चार वटा पुस्तक प्रकाशित छन। उहाँ एक छोरी मानुषीका पिता हुनुहुन्छ। 

Facebook Comments

अन्तिम अपडेट: ११ भाद्र २०६८, आईतवार १५:५७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया