नेपाल भाषाः ईतिहास देखि वर्तमान सम्म

 १५ आश्विन २०६८, आईतवार १०:४५   | न्यूज अफ टोखा

२०६८ आश्विन १५ गते-सिनो–तिब्बतीका हजारौ भाषाहरुमध्य नेपाल भाषा एक हो र यो तिब्बत–बर्मा हागामा पर्दछ । वि.सं २०५८ को जनगणना अनुसार नेपाल भित्र यो भाषा १२,४५,२३२ नेवार मध्य ८,२५,४५८ जनाले दैनिक बोलिचालीमा प्रयोग गरेको पाईन्छ  भने देश बाहिर पनि केही ठाउँमा यो भाष प्रयोग गरेको पाईएको छ ।
नेपाल भाषा प्रयोग हुने मुख्य ठाउँहरु
नेपालमाः काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, धुलिखेल, वनेपा, भिमफेदी(मकवानपुर),पनौती, पाल्पा,  विरातनगर, विरगञ्ज, वन्दिपुर, हेटौंडा लगाएत अरु व्यापारि केन्द्रहरुमा यो भाषा बोलिन्छ । नेपाल बाहिर भारतमा सिक्कीम, कालिम्पोङ, दार्जलिङ्ग, बेटिहा, अन्धमास आदि ठाउँहरुमा नेपाल भाषा बोलिने गरेको देखिन्छ । त्यस्तै गरी अन्य मुलुकहरुमा भुटान, अमेरिका, बेलायत र जापान आदि मुलुकहरुमा पनि नेपाल भाषा बोलिने गरिएको पाईन्छ ।
नेपाल भाषाको ईतिहास
१२०० वर्ष पुरानो मानिएको नेपाल भाषा धेरै उताचढाप बोकेको भाष हो । यसले नेपालको मध्य युगतिर नै संस्कृत भाषलाई उछिनेर आधिकारिक दर्जा पाएको शिलालेखहरुले प्रमाणित गर्दछन् । यस भाषाको ईतिहासलाई निम्न काल खण्डमा विभाजन गरी हेरौँ ।
  
प्राचिन कालखण्डः
नेपाल भाषाको पहिलो लिखित तथ्य प्रमाण नै नेपाल सम्वत २३५(सन् १११४)मा उकुबहालमा सालको पातमा लेखिएको एक व्यवसायिक वार्तालाप हो जसमा लेखिएको छ–“छिन ढाको तृसंघोष परिभोग । छु पुलेंग कीत्य बिपार यस्त्र बिवु मिखा तिवु मदुगुन छु सात दुगुनव ल्है”
यो प्रमाण लिच्छवीकालीन हो । यस लिखित तथ्यबाट के बुझ्न सकिन्छ भने लिच्छवी कालमा आधिकारिक भाषा संस्कृत भएपनि नेपाल भाषा चलनचल्तीमा व्याप्त भइसकेको थियो ।
मध्य कालखण्डः
यो समयमा नेपाल भाषाको विकास तिब्र रह्यो र सो समयका राजाहरुलृ यस भाषलाई प्यारो भाषाका रुपमा आफ्ना कविता लगायतका कृतिहरुमा समेत प्रयोग गरे । महेन्द्र मल्ल, सिद्धिनरसिंह मल्ल, जगतप्रकाश मल्ल आदि तत्कालीन मल्ल राजाहरुले नेपाल भाषामा थुप्रै कृतिहरु लेखेर यो भाषाको समृद्धिमा ठोस योगदान पु¥याए । कान्तिपुरका राजा महेन्द्र मल्लले वि.सं.१६१७ मा रचना गरेको गीतिकाव्य नै नेपाल भाषाको ईतिहासमा पहिलो काव्य मानिन्छ भने महेन्द्र मल्ल पहिलो कवि । जगतप्रकाश मल्लले शिवको महिमा गाउँदै लेखेका कविता मुलदेवशहीदेवको एक अंश यस्तो छ ,
“धु छेगुकी पाछाव वहान
तिलहिल यिबा हिङ लाहाति थाय थायस”
यो समयमा नेपाल भाषाले संस्कृतलाई कार्यालय प्रयोजनका लागि विस्थापन गरिसकेको थियो ।
अन्धकार कालखण्डः
काठमाडौं उपत्यकालाई पृथ्वी नारायण शाहले एकिकरण गरेदेखि राणाकालीन समयसम्म नेपाल भाषका लागि अप्ठ्यारा दिनहरु शुरु भए । एकिकरण पछि कार्यालय तथा अदालतम खस भाषालाई मात्र मान्यता दिएपछि नेपाल भाषाको प्रयोग खुम्चिन थाल्यो । अझ राणा शासकहरुले वि.सं.१९०५ म नेपाल भाषाम लेखिएका कुनै पनि कागजातलाई मान्ता नदिने नियम बनाएपछि त झन् नेपाल भाषाले ठुलो दुर्गति भोग्न प¥यो । यस निर्णयले लिखित भाषा र बोलिचालीको भाषामा दुरी फराकिलो पार्दै लग्यो । राणा शासकको अन्त्यपछि पनि यो निययम हटाउन त्यसपछिका शासकले चासो देखाएनन् ।
यद्यपि प्रताप शाहको पालामा भएको नेपाल र भोटबीच सन्धि नेपाल भाषामा नै लेखिएको थियो भने प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणमा रहँदा नेपालको राष्ट्रिय गानको माग हुँदा त्यस समयमा नेपालमा राष्ट्रिय गानको रुपमा नेपालमा राष्ट्रिय गान नभएकाले उनले “ राजमति कुमति….” लाई राष्ट्रिय गानको रुपमा दर्शाएका थिए । त्यति मात्र नभई उनले बेलायती महारानिलाई उपहार स्वरुप यहाँबाट नेवारी पोशाकहरु लगि प्रदान गरेका थिए ।

पुनर्जागरणको कालखण्डः
वि.सं.१९६५ देखि १९९७ सम्मको समयलाई नेपाल भाषाको पुनर्जन्मको संज्ञा दिइएको छ जुन समयमा नेपाल भाषाको विकास र समृद्धिका लागि थुप्रै मानिसहरुले संघर्ष गरे । संयोज नै यस्तो प¥यो कि नेपाल भाषा माथि सबभन्दा दमन यही समयमा भयो भने नेपाल भाषाको विकासका लागि थुप्रै कामहरु प्नि यसै घडि मै भए । यतिसम्म कि राणा प्रधानमन्त्री जुद्ध शमसेरले सबै नेपाल भाषाका स्रष्टाहरुलाई जावलाखेल दरवारमा बोलाई नेपाल भाषाको प्रचार प्रसारमा नलाग्न र यस भाषाको प्रचार प्रसारमा नलनाग्न उपस्थित सबैलाई चेतावनी समेत दिएका थिए । पण्डित निष्ठानन्द बज्रचार्य, सिद्धिदास माहाजु, जगत सुन्दर मल्ल, योगविर सिंह कंसाकार, शुक्रराज शास्त्रि, धर्मदित धर्माचार्य, सिद्धिचरण श्रेष्ठ लगायतले नेपाल भाषामा लेख्ने, अनुवाद गर्ने, सिकाउने र पुनसंरचना गर्ने काम गरे । शुक्र राज शास्त्रिले नेपाल भाषामा व्याकरण र बालकथा रचना गरे भने सिद्धिदासले रामायणलाई नेपाल भाषामा अनुवाद गरे । जगत सुन्दरले मातृ भाषामा शिक्षा ग्रहण गर्न पाउनु पर्ने माग सहित आन्दोलन नै थाले । यो समयमा नेपाल भाषा बारे थुप्रै अध्ययन पनि शुरु भयो र यो भाषा सिनो तिब्बती हो भनेर समेत प्रमाणित भयो । यस समयमा देखिएको सिद्धिदास माहाजुको कृतिको एक अशं यस्तो छ,
“सज्जन मनुष्यया संगतनं मुर्ख नापं भिना वै
पलेला लपते ल वंसा म्वती थें ल सना वै ।”

आधुनिक कालखण्डः
यो कालखण्डमा अनेकौं साहित्यकारले आफ्नो रचनाले नेपाल भाषालाई सिंगार्न मद्दत गरे । अग्रपंक्तिमा नाम आउनेहरुमा चित्तधर(हृदय), दुर्गालाल श्रेष्ठ आदि हुन् ।
महेन्द्र शाहले एक राष्ट्र एक भाषा) नीति ल्याई खस भाषालाई राष्ट्रिय भाषा बनाई अरु भाषालाई अप्रत्यक्ष बन्देज लगाएपछि त अरु मातृ भाषा जस्तै यो भाषा लोपको संघारमा पुग्यो । रेडियो नेपाल लगायत सरकारी कार्यालयमा यो भाषा बन्देज लगायो । अझ यो भाषाको प्रयोग खुम्च्याउन नेपाल भाषालाई नेवार भाषा भनाउन थालियो भने खस भाषालाई नेपाली भाषाको संज्ञा दिइयो । यस घटनाले नेपाल भाषालाई माया गर्ने सज्जनहरुलाई असह्य बनायो र नेपाल भाषा आन्दोलन शुरु भयो । महेन्द्र शाह नेपाल भाषाप्रति जति नै क्रुर रहेपनि उनकै पालामा नेपाल संयुक्त राष्ट्र संघमा आवद्ध हुन खोज्दा राष्ट्र भाषको रुपमा प्रस्ताव गरिएको खस भाषा हिन्दीसाग मिल्ने भनेर संयुक्त राष्ट्र संघमा नेपाल भाषा र रञ्जना लिपीलाई राष्ट्र भाषाको दर्जा दिई दर्ता गराएका थिए ।
नेपाल भाषाको प्रवद्र्धनका लागि भएको आन्दोलन अन्तर्गत नेपाल भाषामा गीति क्यासेट (लःसे ह्वोंगु विरोध)निकालिए, सोही भाषाकै पहिलो चलचित्र “सिलु” बन्यो, र अनेक कार्यक्रमका साथ आन्दोलन सशक्त रुपमा अगाडी बढ्यो । यसै आन्दोलनलाई मलजल गर्न दुर्गालाल श्रेष्ठले लेखे ः
घाः जुयाः जक ख्वइगु खःझी
स्याःगुली सः तइगु खः।
झी मसिनी झी मसिनी
धाइगु चिं जक तइगु खः ।

प्रजातन्त्रको पुनस्र्थापना लगतै नीजि संचार माध्यम खुल्ला भएपछि भने नेपाल भाषामा विभिन्न कार्यक्रमहरु संचालन हुन थाले र नेपाल भाषाले व्याकता पाउन थाल्यो । त्यसै गरी जगतसुन्दर ब्वनेकुथी, थेचो नेवा इंग्लिस स्कुल, सिद्धिलास हाई स्कुल जस्ता नेपाल भाषामा प्राथमिक तहसम्म विद्यालय पनि खुलिए । विभिन्न लेख रचनाहरु, पत्रपत्रिकाहरु पनि सो भाषामा प्रकाशित हुन थाले । साथै नेवार भएर पनि खस भाषा बोल्नेहरु पनि यो भाषाको श्रीबृद्धिका लागि होमिन थाले र विस्तारै यो भाषाको विकासले गति लियो । वर्तमानमा जुन गतिले यो भाषाको प्रचार र प्रयोग भइरहेको छ, यो गति कायम रहेमा यो भाषाको विकास अवश्यंभावी छ ।
Facebook Comments

अन्तिम अपडेट: १५ आश्विन २०६८, आईतवार १०:४५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया