प्राचीन सहर टोखा एक परिचय

 २ मंसिर २०६८, शुक्रबार १५:०४   | न्यूज अफ टोखा

ने.सं.११३२ कछला गा शुक्रवार-अष्टमी यो ब्लग हेरेर टोखाको पृष्ठभुमीको बारेमा धेरैले जान्ने जिज्ञासा राख्नु भयो । तपाईहरुको यही ईच्छालाई सकार गर्नका लागि आज प्राचीन सहर टोखाको पृष्ठ भुमी ऐतिहासिक, भौतिक, तथा साँस्कृतिक पक्षलाई यहाँहरु समक्ष प्रस्तुत गर्ने जर्मको रहेको छु । मैले विश्वास लिएको छु यो लेखले टोखालाई माया गर्ने टोखा प्रति सद्भाव राख्नेहरुलाई त निकैनै जानकारी मुलक हुने नै छ यसका साथै टोखामा रहनु भएका र टोखाको बारेमा धेरै कुरा थाहा नपाएकाहरुलाई पनि यो एउटा उपयुक्त लेख हुनेछ , अझ भन्नु उनिहरुलाई थप जानकारी हासिल गर्ने उपयुक्त लेख सावित हुनेछ । यसलेखलाई तयार गर्न दिपेन्द्र श्रेष्ठले गत वर्ष भिलेज प्रोफाईलका लागि तयार पारेको किताबको सहयोग लिएको छु । 
पृष्ठभुमी
          राजधानी काठमाडौंको मुटु शंकधर पार्क(रत्न पार्क)बाट ९ कि.मी. दुरीमा रहेको यस टोखाको उत्तर तिर झोर महाँकाल गाविस, पूर्वतिर खड्ग भद्रकाली गाविस, दक्षिणतिर गंगबु, धापासी गाविस र पश्चिमतिर फुटुङ्ग गाविस रहेको छ । पहिला एउटा मात्र गाविस रहेको टोखा २०३८ सालमा दुई गाविसमा बिभाजित हुन पुग्यो । तसअर्थ हाल टोखा सरस्वती र चण्डेश्वरी गाविस मिलेर टोखा बनेको छ । जातीय हिसावमा यहाँ नेवार जातीको अधिकतम उपस्थिति छ । यहाँ श्रेष्ठ, डंगोल, मानन्धर, नापीत, कर्माचार्य, कुस्ले, खड्गी, पोडे, जोशी इत्यादी थरका जनताको बसोबास छ । यहाँका सम्पूर्ण मानिसहरु मातृभाषा नेवारीलाई बोलीचालीका लागि उपयोग गर्दछन् । यो गाउँ एउटा ऐतिहासिक राज्य भएको हुनाले थुप्रै साँस्कृतिक रितिरिवाज तथा परम्परा यहाँ विद्यमान छन् । 

     ऐतिहासिक पक्ष केलाउने हो भने यो ठाउँ प्राचीन कालमा विकसित र प्रचलित ठाउँ भएको अनुमान गर्न सकिन्छ । वि.सं ५९७ को शिलालेख यहाँ विद्यमान रहनु र अंशुवर्माले बनाएको चण्डेश्वरी मन्दिर र सोको शिलालेख हालसम्म पनि जीवित हुनुले यो ठाउँ इतिहासको कुनै कालखण्डमा तत्कालीन राज्यको केन्द्रविन्दु समेत रहेको संकेत मिल्दछ । मन्दिर, बाजा–गाजा, पाटी–पौवा, चोक, पुरानो ढुङ्गेधारा, इनार–कुवा इत्यादी जस्ता ऐतिहासिक भौतिक पक्षमा यस ठाउँ धनी भएकाले यहाँका पूर्खाहरु आर्थिक रुपमा सम्पन्न थिए भन्ने अनुमान सजिलै गर्न सकिन्छ । हालसम्म पनि धेरै चाड पर्वहरु मनाउने परम्परा कायम हुनुले पनि यहाँका पूर्खाहरु मोज मस्तीमा मस्त रहेको र आर्थिक रुपमा सवल रहेको संकेत गर्दछ । पूर्खाको आर्थिक सम्पन्नताको मूल कारण यहाँको मलिलो माटो र घरेलु उत्पादनको सिप नै हुनुपर्छ । कपडा बुन्ने, माटोको भाँडो बनाउने, चाकु उत्पादन गर्ने, सिकर्मी, डकर्मी, बुट्टा भर्ने जस्ता सिपमा यहाँका जनताहरु हालसम्म पनि निपुण छन् । यही आर्थिक सम्पन्नताले गर्दा यहाँका जनताहरुको जागीर–सेवा पेशामा इच्छा जाहेर नभएको हुनसक्छ । यसले गर्दा राज्य सञ्चालन तथा यसका विधिहरुमा यहाँका जनताहरुको हालसम्म पनि पहुँच छैन, यद्यपी यो गाउँ राजधानीबाट आँखे दुरीमा अवस्थित छ ।
      विकास निर्माणको हकमा २०१८ सालतिरै यहाँबाट शहरसम्म छिचोल्ने बाटो निर्माण गरिएको थियो । टोखाको आधुनिक विकास–निर्माणको सन्दर्भ खोतल्न खोज्दा वि.सं १९९४ सालको सार्वजनिक धाराहरुको वितरण कार्यलाई अगाडि सार्नुपर्छ । खानेपानी समस्यालाई सरलीकरण गर्न त्यतिबेलै तत्कालीन टोखा नगरमा ९-९ वटा धाराहरु बनाई खानेपानी वितरण गरेका थिए । 
२. भौगोलिक पक्ष
२.१ अवस्थिति
बाग्मती अञ्चलको काठमाडौं जिल्लामा यस टोखा अवस्थित छ । देशकै केन्द्र मानिने शंकधर पार्क (रत्न पार्क)बाट ९ कि.मि. टाढा काठमाडौंको उत्तरी सिमाना शिवपूरी राष्ट्रिय निकुञ्जको काखमा यो अवस्थित छ । २७.४५˚ल्याटिच्युड उत्तरी गोलाद्र्ध र ८५.१९˚लंगिच्युड पूर्वमा अवस्थित यस टोखा समुन्द्री सतहबाट १३४६ मिटर (४४१९ फिट) उचाईमा अवस्थित छ । यस टोखाको मध्य भाग समथर भूभागले बनेको छ भने उत्तरतिर शिवपूरी डाँडा अवस्थित छ र बाँकी तीनै तिरबाट उचाईमा छ । यस टोखाका सिमाना गाविसहरु निम्न छन् ः
उत्तरः          झोर महाँकाल गाविस
दक्षिणः  धपासी गाविस र गंगबु गाविस
पूर्वः   खड्का भद्रकाली गाविस
पश्चिमः फुटुङ्ग र साङ्गला गाविस
२.२ हावापानी
महाभारत पर्वत श्रृखंलमा अवस्थित यो भेगमा समशितोष्ण हावापानी पाईन्छ जुन मध्यम खालको हावापानी हो । अधिक गर्मी र अधिक जाडो यहाँ कहिल्यै पनि हुन्न । यहाँको माटो ल्याकुस्ट्रेन प्रजातिको छ जुनमा विरुवालाई आवश्यक र महत्वपूर्ण खनिजको उपलब्धता हुन्छ । यो हावापानी र माटो सुहाउँदो बनस्पती उत्तिस, शिरिष, पिपल, नासपाती, अम्बा, आरु, आरुबखडा, धान, मकै, गहुँ, आलु, साग, लसुन यहाँ आदि राम्रोसँग सप्रन्छन् ।
२.३ तापक्रम 
तापक्रमका हिसाबले यो ठाउँ मध्यम तापमान उपलब्ध हुने ठाउँ हो । यहाँ मापन गरिएको अधिकतम तापक्रम ३१ डिग्री सेन्टिग्रेड हो भने न्यूनतम तापक्रम २ डिग्री सेन्टिग्रेड हो (जल तथा मौसम विज्ञान विभाग, नेपाल सरकार) । उत्तरी गोलाद्र्धका अन्य ठाउँहरुमा जस्तै यहाँ पनि सबभन्दा गर्मी हुने महिना जेठ–असार महिना हो भने सबभन्दा जाडो हुने महिना पुष महिना हो । गाउँको दक्षिण, पूर्व र पश्चिममा खुला भएको र उत्तरमा मात्र शिवपूरी पहाड भएकाले सूर्यको किरण पर्याप्त मात्रामा यहाँ उपलब्ध हुन्छ । यही कारणले यहाँको सापेक्षित आद्रता घट्न खोजेपनि शिवपूरीको वाष्पयुक्त हावाले गर्दा सापेक्षित आद्रतालाई मौज्दात गरेको छ । 
२.४ वर्षा
असार, साउन र भदौ महिना प्रमृख वर्षा हुने महिनाहरु हुन्, त्यसमा पनि साउनमा अधिक वर्षा हुन्छ, यो महिनामा अधिकतम ३६० मिलिलिटरसम्म वर्षात हुन्छ । भिरालो ठाउँ र ठूलो खोला नहुँदा अधिक वर्षाका कारण हुने बाढी र पहिरोको ज्वलन्त समस्या भने यहाँ छैन ।    क्रमश…
(प्रकाशित मितिः२०६८ मंसिर २ गते शुक्रवार)
Facebook Comments

अन्तिम अपडेट: २ मंसिर २०६८, शुक्रबार १५:०४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया