स्थानीय निकायको दलीय संयन्त्र खारेज

 २० पुष २०६८, बुधबार १०:२९   | न्यूज अफ टोखा

काठमाडौ, पुस २० – स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय सञ्चालनका लागि गठित दलीय संयन्त्र खारेज गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार मन्त्रीस्तरीय निर्णयबाट संयन्त्र खारेज भएको हो ।
स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले अख्तियारको निर्देशन कार्यान्वयन गरिएको जनाउँदै भने, ‘तत्काललाई स्थानीय निकायका कामहरू हेर्ने जिम्मा कर्मचारीलाई नै दिइएको छ, छिट्टै अर्को निर्णय हुनेछ ।
अख्तियारले गतसाता दलीय संयन्त्र खारेज गर्न र उपभोक्ता समितिलाई जिम्मेवार बनाउन स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । निर्देशनअनुसार मन्त्रालयका उच्च अधिकारीहरूले दुई दिनअघि नै खारेजीको निर्णयसहितको फाइल तयार गरे पनि मन्त्री रायमाझीको व्यस्तताका कारण मंगलबार मात्रै निर्णय भएको हो ।

दलीय संयन्त्र खारेजीको निर्णयपछि जिविसका स्थानीय विकास अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृत र गाविस सचिवको हैसियत कामचलाउ भएको मन्त्रालयका सचिव शीतलबाबु रेग्मीले बताए । उनीहरूले महत्त्वपूर्ण निर्णय गर्ने अवस्था रहँदैन,’ रेग्मीले भने, ‘यो स्थिति केही समयका लागि हो, छिट्टै उपयुक्त विकल्प खोज्नैपर्छ ।
मन्त्रालयले उपभोक्ता समितिलाई जिम्मेवार र जवाफदेही बनाउन स्थानीय निकायहरूमा निर्देशन पनि दिने भएको छ । विगतमा बारम्बार उपभोक्ता समितिलाई जवाफदेही बनाउन जारी भएका मापदण्ड र कार्यविधि पालनाका लागि परिपत्र हुने मन्त्रालयका एक अधिकारीले बताए । दलीय संयन्त्र खारेजीसँगै मन्त्रालयले विकल्पबारे सरोकारवालासँग छलफलको तयारी गरेको छ ।

मन्त्री रायमाझीले संविधान निर्माणको कार्यतालिका ख्याल गरी दलहरूसँगको छलफलबाट निर्णयमा पुग्ने बताए ।
Facebook Comments

अन्तिम अपडेट: २० पुष २०६८, बुधबार १०:२९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया