प्रेम दिवस(भ्यालेन्टाइन डे)

 १ फाल्गुन २०६८, सोमबार ०३:२०   | न्यूज अफ टोखा

प्रेम दिवस, हातमा गुलाफको फूल, प्रेम निवेदन र मोजमस्तीसँगै घुमफिरको दिन। यो दिन युवाहरूको प्रिय चाड नै भैसकेको छ। यो दिन आउनुअघि नै युवाहरू प्रेमको रङ्गमा रंगिएका हुन्छन्। महिना पहिलेदेखि यसको तयारीमा जुटेका हुन्छन्। ठूलाबडालाई प्रेम दिवस जति नै असहज किन नलागोस् युवामनका निम्ति यो आत्मीय चाड हो। 



१४ फरवरीलाई विभिन्न देशमा रोमान्स र मायाको पर्वका रूपमा मनाइन्छ। क्याथोलिक र रोमनहरूको यो चाड आज संसारभरिका युवाका लागि मनपर्ने चाडका रूपमा प्रख्यात भैसकेको छ। यो चाडको प्रारम्भ कसरी भयो ? भन्ने विषयमा भिन्दाभिन्दै धारणा छ। हजारौं वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरून् भन्ने उर्दी जारी गरेका थिए। राजाको सोच थियो- सेना विवाहको झन्झटमा फसे भने युद्ध गर्न सक्दैनन्। भ्यालेन्टाइन पादरी थिए, उनले राजाको आज्ञाविरुद्ध धेरैको विवाह गराए, फलस्वरूप राजाले उनलाई फाँसी दिए। १४ फरवरीका दिन नै भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो र त्यही दिन उनले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएका थिए। त्यस दिनदेखि यो दिवस ‘सेन्ट भ्यालेन्टाइन डे’ का रूपमा विख्यात भयो।
पश्चिमी सभ्यताको यो चाडले बिस्तारै हाम्रो देशमा पनि प्रवेश गर्‍यो र प्रचलित भयो। यो दिन युवाहरूको चाहना र माया व्यक्त गर्ने दिनका रूपमा प्रख्यात छ। आजका युवाहरूले जुन भावले पश्चिमी सभ्यता र फेसनलाई स्वीकार गरेका छन् त्यसैगरी मदर्स डे, फादर्स डे, फ्रेन्डसिप डे, भ्यालेन्टाइन डे पनि सहज रूपमा स्वीकार्य भएका छन्। 
आज हाम्रा पुराना मान्यता, संस्कार र परम्परा खण्डित भैरहेका छन्। आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ। प्रदर्शन गर्ने होड नै चलेको छ। ‘गर्लफ्रेन्ड’ र ‘ब्वाइ फ्रेन्ड’ बनाउने त फेसन नै चलेको छ। 
आजका युवा मस्तिष्कले मात्र होइन, मनले पनि सोच्छन् र बढी काम गर्छन्। क्याम्पसकी एक छात्राको राय छ- ‘भ्यालेन्टाइन डे मनाउनुमा के नराम्रो छ र ? जिन्दगीको गोरेटोमा हामीलाई अंकुश होइन, खुसी, माया र स्वतन्त्रता चाहिएको छ। सँगसँगै पढ्दा, घुम्दा र काम गर्दा प्रेमको अंकुरण हुन्छ जुन स्वाभाविक र सहज हो। यसमा आश्चर्य मान्ने कुरै छैन।’ समयको विकाससँगै भ्यालेन्टाइन डे मनाउने परम्परामा पनि भिन्नता देखा परिरहेको छ। पहिले-पहिले आफ्नो भाव व्यक्त गर्ने दिन यही हुन्थ्यो। १९ औं शताब्दीमा प्रेमपत्रद्वारा प्रेमी-प्रेमिकाहरू आ-आफ्ना भाव व्यक्त गर्थे, पछि १९६० को बेला रातो गुलाफ र फूलका गुच्छाको चलन आयो। १९८० देखि डायमन्ड कम्पनीहरूले विभिन्न डिजाइनमा गहना डिजाइन गरी त्यसको भव्य प्रचार-प्रसार गर्न थाले। 
धेरैजसोले कार्ड, खेलौना मुटु आकारका खेलौना, चकलेट, पर्फ्युम, मग तथा फूल उपहार दिन मन पराउँछन्। यो दिन गुलाफको फूल नै किन दिइन्छ भने गुलाफको फूल मायाको प्रतीक हो। संसारको सबैभन्दा सुन्दर फूल गुलाफ हो जसले केवल प्रेमको भाषा बोल्छ। धेरै जनाको विचार छ- ‘यो केवल युवाहरूको चाड हो तर यो माया-प्रेम गर्ने सबैको चाड हो, यो दिन प्रत्येक युगल जोडीले प्रेम गर्न सक्छन्, तिनीहरू श्रीमान् र श्रीमती हुन सक्छन्। यो दिन सबै श्रीमान्-श्रीमतीले आ-आफ्नो जोडीलाई प्रेमको चिनो दिन कन्जुस्याइँ गर्नु हुँदैन। भ्यालेन्टाइन डेलाई लोकप्रिय बनाउन आर्चिज कम्पनीको ठूलो हात छ। आर्चिजले आफ्नो उत्पादनमा कार्ड्स्, मुटु आकारको मग, टोय, स्टेसनरी, प्रेमसन्देश, ज्वेलरी, पर्फ्युम, गृहसज्जाका सामान प्रमोट गर्छ। यसै दिन कतिपय होटलमा गीत, नृत्य र संगीतको विशेष कार्यक्रम पनि हुने गरेको छ। 
यो दिन अरूलाई फाइदा होस्-नहोस् तर फूलका व्यापारीलाई धेरै फाइदा हुन्छ। यो दिन एउटा गुलाफको कोपिलाको मूल्य १ सय रुपैयाँसम्म पुग्छ। सक्कली मात्र नभै नक्कली गुलाफको बिक्री पनि उत्तिकै हुन्छ। 
चाडको मौलिकतालाई ध्यानमा राख्दै यसलाई मनाउनुपर्छ। भद्दा प्रदर्शन र अश्लीलताबाट बच्नुपर्छ। माया प्रदर्शन गरेर होइन, साथीको मन शालीन व्यवहारबाट जित्नुपर्छ। विश्वासपूर्ण रूपमा आफ्नो भावना व्यक्त गर्नुपर्छ। अरूको लहलहैमा लागेर आफ्नो बजेट बिगार्नु मुख्र्याइँ हुन सक्छ। तसर्थ प्रेम दिवस मनाउनुहोस् तर सीमाभित्र रहेर, किनभने माया प्रदर्शन गर्न एउटा छड्के नजर नै पर्याप्त हुन्छ ।
                                                                प्रकाशित मिति -2068-11-1

Facebook Comments

अन्तिम अपडेट: १ फाल्गुन २०६८, सोमबार ०३:२०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया