के सिकायौ गुरु यस्तो!

 ११ बैशाख २०६९, सोमबार १०:४६   | न्यूज अफ टोखा

रघुनाथ लामिछाने –छोरीको किताब हुँदोरहेछ १३ वटा। विद्यालयले दिएको ठेगानाको टुक्रो लिएर पुस्तक पसल खोज्दै गएँ। निकैबेर लाम लागेपछि पालो आयो। पसलमा १३ मा सातवटा पुस्तकमात्र रहेछ। भोलिपल्ट छोरीले खबर ल्याइन् – सबै किताब बोकेर आउनु भन्नुभएको छ। भोलिपल्ट फेरि गएँ लाम बस्न। साहुजीले बाँकी किताब आउन ५-७ दिन लाग्ने बताए। घरमा आएँ र छोरीलाई त्यही सुनाएँ। छोरी नियाउरी भइन् र ‘अब गाली गर्छन् मलाई’ भनिन्।
हे भगवान! नभएको किताब मैले कहाँबाट ल्याऊँ? किन एउटै पसलमा किन्न बाध्य पार्छ विद्यालयले? अनि उसले सिफारिस गरेको पसलले किन एकै पटक सबै किताब उपलब्ध गराउन सक्दैन? यसरी एकै पटक किताब ल्याउन र दिन सक्दैन भने त्यही पसललाई ठेक्का दिने बाध्यता किन आइपर्छ विद्यालयहरूलाई?
आफैँ पसल सिफारिस गरेर पाइने ठाउँबाट किताब किन्न नदिने विद्यालयलाई एकै पटक सबै किताब लेऊ भन्न सुहाउँछ? अनि एक दिन सबै किताब नबोक्दैमा के के न गरेजस्तो अपराधबोध महसुस गराउने कस्तो शिक्षा हो? गजब लाग्यो मलाई कि के सिकाउँछन् अचेल गुरुहरू?

त्यतिमात्र हैन, अन्यत्र पुस्तक पसलमा २० प्रतिशत छुट सहजै दिने भएकाले आफूले पनि पाउनुपर्ने माग गर्दा पसलको रेडिमेड उत्तर थियो- कमिसन त विद्यालयले लिइसक्यो। कमिसन कसले लिन्छ? के विद्यालय व्यापारिक संस्था हो? ठेकेदार हो? दलाल हो? मेरी छोरीले सोधेका यी प्रश्नको उत्तर मैले दिन सकिन। मात्र मनमनै सोचेँ – के सिकायौ नि गुरु यस्तो?
त्यतिमात्र हैन, विद्यालयको शुल्क तिर्न एक दिन ढिला होस् वा परीक्षा शुल्क तिर्ने बेला। म विद्यालयमै आएर तिरिदिन्छु तिमी जाऊभन्दा पनि केटाकेटी मान्दैनन्। रुन्चे मुख लगाउँछन्। मानौ, उनीहरूमाथि कुनै ठूलै सजाय हुँदैछ। के एक दिन शुल्क ढिला गर्न पाइँदैन? अभिभावकलाई कुनै बेला अप्ठेरो पर्न सत्तै्कन? विद्यार्थीलाई के त्यस्तो सिकाइन्छ जसले गर्दा उनीहरू बाबुआमाको मर्काभन्दा विद्यालय सञ्चालकको गोजी कम वजनदार होला भन्नेमा चिन्तित रहन्छन्?
हाम्रा गुरुबाले सिकाएका थिए – टालेको भए पनि हुन्छ तर सफा लुगा लगाउनुपर्छ। तर अहिले भने एउटा कक्षाबाट अर्कोमा जाँदा अघिल्लो वर्षको ‘ड्रेस’ लगाउन नहुने शिक्षा पनि खुबै रटाएका छन् विद्यालयले। त्यसमा पनि कारण छ- आफूले सिफारिस गरेको टेलर्सको व्यापार फस्टाइदिने। अनिसँगै आफू पनि फस्टिने। हैन भने, अघिल्लो वर्षको कपडा लगाउने नहुने, आफ्नै दाजु वा दिदीले प्रयोग गरेको किताब दोहोर्‍याएर पढ्न नहुने बोर्डिङे संस्कृतिमा कुन तर्क छ?
ठिकै छ, कुनै तर्कै नभए पनि सुरुमा भर्ना हुँदा एक पटकलाई केही अतिरिक्त शुल्क तिर्नुलाई माफ गर्न सकिएला तर सोही विद्यालयमा पढ्ने विद्यार्थीले हरेक वर्ष माथिल्लो कक्षा चढ्दा भर्ना शुल्क तिरिरहनुपर्ने बाध्यतालाई लुट भन्ने कि नभन्ने? यसरी किताब, कपडा, भर्ना शुल्क, मर्मत शुल्क दर्जनौ नाममा घुमाउरो कमाइको कर त पक्कै तिर्दैनन् होला विद्यालय सञ्चालकले। विद्यालयले यसरी लिइरहेका पैसालाई ‘अवैध धन्दा’ किन नभन्ने? घुम्दैफिर्दै रुम्जाटार भनेझै समस्या फेरि पनि गोठालोमै छ। उनीहरूलाई यसरी दिउँसै लुट गर्न छुट दिने काम सरकारले गरिरहेको छ भने छोराछोरीलाई साक्षी राखेर विद्यालयले उनीहरूकै बाबुआमासँग ‘फिरौती’ शैलीमा रकम असुल्ने काम गरिरहँदा पनि ऊ चुपचाप छ। हैन भने अहिले किताब, पोसाक र भर्ना शुल्कका नाममा अर्बौं रुपियाँको धन्दा चलिरहँदा पनि किन शिक्षा नाम गरेको मन्त्रालय अट्टहास गरिरहेछ? आमूल परिवर्तनको नारा लिएर सरकारको टुप्पोमा पुगेको माओवादी किन बुझ पचाइरहेको छ? कतै यस धन्दामा उनीहरूको पनि मिलेमतो त छैन?
सबैभन्दा बढी त यस्ता विद्यालयबाट बालबच्चाले के सिक्लान् भन्ने चिन्ता हुन्छ। फिरौती र असुलीका सारा तरिका उछिन्दै भलाद्मी पाराबाट अभिभावकको ढाड सेक्न खप्पिस विद्यालयबाट नैतिकता र इमानदारीको पाठ सिक्ने आशा गर्नु नै गलत छ। सरकारी विद्यालयका गुरुहरूले राजनीतिमा लागेर शैक्षिक स्तर ध्वस्त पारेको वास्तविकताको अनुचित फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले गरेका यस्ता ठगी नरोकुन्जेल तिनले दिने शिक्षा सही हुने अपेक्षा पनि गर्न सकिँदैन।
कतै भेट्दा वा नाममात्र सुन्दा पनि गुरुप्रति आस्था पलाए हुनेथियो। गुरुको अर्थ दीक्षा दिने व्यक्ति हो, गहकिलो हो, गरिष्ठ हो, अनि गम्भीर हो र गरिमामय पनि हो। व्यापारी वा कालोबजारी पक्कै हैन।
nagariknews.com
Facebook Comments

अन्तिम अपडेट: ११ बैशाख २०६९, सोमबार १०:४६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया