ट्राफिक पोस्टमा छापा /२८ ट्राफिक पोस्टका कागजात नियन्त्रण

 ११ बैशाख २०६९, सोमबार १०:२१   | न्यूज अफ टोखा

काठमाडौं, वैशाख १० – प्रहरी प्रधान कार्यालयले उपत्यकाका ट्राफिक प्रहरी पोस्टहरूमा शनिबार छापा मारेको छ । आर्थिक अनियमितताको आशंकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट कागजात नियन्त्रणमा लिएको भोलिपल्ट पोस्टहरूमा छापा मारेको हो ।
प्रहरी प्रमुख रवीन्द्रप्रताप शाहको निर्देशनमा महाशाखा र मातहतको कार्यालयमा सर्वसाधारणले तिरेको जरिवाना बैंकमा जम्मा भए/नभएको, गल्ती गर्दा काट्ने रसिदअनुसार जरिवाना लिए, नलिएको छानबिन गर्न छापा मारिएको हो ।
महाशाखा प्रमुख गणेश राईले नक्कली बिल बनाएको, पोस्टका इन्चार्जबाट मासिक रकम असुलेको, चिट काटेअनुसार रकम असुली नगरेको लगायतको आरोप लगाएर प्रधानमन्त्री कार्यालयमा उजुरी परेको थियो । त्यसको आधारमा प्रधान कार्यालयले ट्राफिकमा छानबिन सुरु गरेको हो ।

शनिबार गौशाला, एयरपोर्ट, सातदोबाटो, कमलपोखरी, थापाथली, जनसेवा, कालिमाटी, जावलाखेल, महाराजगन्ज, बसपार्क, सुकेधारा, बौद्ध लगायतको ट्राफिक पोस्टमा अनुसन्धान गरेको छ । छानबिन टोलीले शुक्रबार महाशाखाबाट अन्य ट्राफिक परिसर, वृत्त, प्रभाग र पोस्टले लगेको नगदी रसिदको रेकर्डअनुसार सम्बन्धित कार्यालयसँग मिल्छ/मिल्दैन छानबिन भइरहेको स्रोतले जनाएको छ ।
‘महाशाखा मातहतको कार्यालयमा पठाएको रसिद र चिटको विवरण छानबिन टोलीले लगेका थिए, उक्त रेकर्डमा भएको रसिदको विवरण र कार्यालयमा भएको रसिद मिल्छ/मिल्दैन छानबिन गरेको हो,’ महाशाखाका लेखा शाखाका एक कर्मचारीले भने, ‘अरू केही कागजपत्र लगेको होइन ।’ त्यस्तै टोलीले रसिद सक्कली हो/होइन, मातहतको ट्राफिक कार्यालयले पठाएका सबै राजस्व जम्मा गरे/नगरेको छानबिन भइरहेको स्रोतले जनाएको छ ।
‘सर्वसाधारणले गल्ती गर्दा दिइने चिटअनुसार बिल काटेको छ छैन ? छानबिन भइरहेको छ,’ प्रधान कार्यालय उच्च स्रोतले भन्यो, ‘छानबिनको प्रतिवेदन चाँडै सार्वजनिक हुन्छ ।’ छानबिनमा लेखा प्रणालीबारे जानकारी लिन प्रहरी खटिएका छन् । ट्राफिक महाशाखाका अधिकारीहरूले भने डीआईजी गणेश राई मुलुक बाहिर भएको मौका छोपेर छापा मारेको आरोप लगाएका छन् ।
‘राईले मापसे कारबाही र सडक भत्काउन सघाउ पुर्‍याएर प्रधानमन्त्रीको निकट बनेपछि अरूले प्रतिशोधको भावले प्रचार गरेको हो,’ महाशाखाका उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘जतिसुकै गलत प्रचार गरे पनि गल्ती भेटाउन सकेको छैन ।’ राई पिताको उपचारका लागि भारतमा छन् । प्रहरी प्रवक्ता विनोद सिंहले ट्राफिक कार्यालयको अनुगमन नियमित भएको बताए ।

प्रकाशित मिति: २०६९ वैशाख १०

२८ ट्राफिक पोस्टका कागजात नियन्त्रण

काठमाडौं, वैशाख ११ – प्रहरी प्रधान कार्यालयले उपत्यकाका २८ वटा ट्राफिक पोस्टबाट राजस्वसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ । आर्थिक अनियमितताको आशंकामा छानबिनका लागि आइतबार कागजात नियन्त्रणमा लिएको हो । प्रधान कार्यालयले बिहीबारदेखि यसबारे अनुसन्धान सुरु गरेको हो । 
कार्यविभागको टोलीले उपत्यकाको सबै इकाइलाई मापसे (मादक पदार्थ सेवन) कारबाहीका लागि महाशाखा पठाएको विवरण पेस गर्न निर्देशन दिएको थियो । ‘एक घन्टाभित्र मापसे चेकिङ सुरु भएदेखि दैनिक कारबाहीका लागि बग्गीखाना पठाएको रेकर्ड माग गरेको थियो,’ एक ट्राफिक इन्चार्जले भने, ‘हामीले त्यो सूचना बुझायौं ।’ छानबिन टोलीले मापसेमा परेका सर्वसाधारणको विवरण माग्दै सबैलाई कारबाही गरे/नगरेको विवरण अध्ययनका लागि पोस्टबाट कागजात लिएको हो । ट्राफिकले मंसिर १७ देखि मापसे चेकिङ सुरु गरेको थियो ।
महाशाखा मातहतको पोस्टले राति कारबाही गरेर लाइसेन्स/बिलबुक लिएर छाड्ने गरेको थियो । त्यसको भोलिपल्ट नियन्त्रणमा लिएको कागजपत्र र कारबाही गर्नुपर्ने व्यक्तिको नामावलीसहित विवरण महाशाखा पठाउने गरेको थियो । प्रधान कार्यालयको आन्तरिक लेखा परीक्षण शाखाका डीएसपी गोपीमान श्रेष्ठको संयोजकत्वमा छानबिन बोर्ड गठन भएको छ । छानबिनका क्रममा सर्वसाधारणले गल्ती गरेबापत तिरेको रकमको अभिलेख नपाएको स्रोतले जनाएको छ । ‘कसले कति जरिवाना तिर्‍यो ? भन्ने व्यवस्थित रेडर्क पाइएन,’ छानबिनमा संलग्न एक अधिकारीले भने । 
छानबिन टोलीले महाशाखाको लेखा शाखाको केही फाइलसमेत कब्जामा लिएको स्रोतको जनाएको छ । छानबिनमा संलग्न एक प्रहरीले भने, ‘महाशाखाले छाप्ने नगदी रसिद र त्यसको विवरणको छानबिन भयो, बदनियत रूपमा रकम हिनामिना गरेको पाइएको छैन ।’

महाशाखा मातहतको पोस्टले पठाएको राजस्व बैंकमा जम्मा भए नभएको अध्ययन हुन बाँकी छ । रकम हिनामिना भए/नभएको दुई दिनभित्र अनुसन्धान पूरा हुने ती अधिकारीले बताए । ‘राजस्वको प्याड सिरियल छ कि छैन ? त्यही नम्बरको रसिदको अर्को प्याड छाप्यो कि ? भन्ने अनुसन्धान भइरहेको छ,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘उपत्यकाको २८ वटा पोस्टले महाशाखामा पठाउने गरेको राजस्वको रेडर्क नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित मिति: २०६९ वैशाख ११ (ekantipu.com)

Facebook Comments

अन्तिम अपडेट: ११ बैशाख २०६९, सोमबार १०:२१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया