आमा सिकिस्त, छोरा लुँडोमा मस्त

 १४ बैशाख २०६९, बिहीबार १६:२१   | न्यूज अफ टोखा

– सुगतरत्न कंसाकार नेपोलियन बोनापार्ट (ई.सं.१७६९-१८२१) ले दिएका धेरै विचार र दर्शनमध्ये रोचक र प्रख्यात भनाइ हो, ‘विजयको क्षणमा सबभन्दा ठूलो संकट उत्पन्न हुन्छ ।’ परेको खण्डमा दुईपाइला पछि हटेर आउँदा दिनहरूको संकटलाई मध्यनजर राखी रणनीति बनाइन्छ । नेपालमा ६ वर्षपहिले भएको जनआन्दोलनपछि सातवटा पार्टीका शीर्ष नेताहरूको व्यवहार र काम-कारबाहीबाट प्रस्ट देखिन्छ कि नेपोलियनको उपर्युक्त उपदेशको ठीक उल्टो सम्पूर्ण संकट टरिसकेको मान्यतामा व्यक्तिगत र पार्टीगत स्वार्थलाई, प्राथमिकता दिएर अघि बढ्न थालियो । विजयको उन्मादले ग्रस्त भई ‘विचरा जनतालाई जथाभावी ठुल्ठूला सामाजिक परिवर्तनको सपना अनि महत्त्वाकांक्षी विकास निर्माणका लोभ देखाउने काम ती नेताले गरे ।


संविधानसभाको निर्वाचन सम्पन्न भएको चार वर्ष बित्दा पनि भव्य परिवर्तनहरूको सुरुवातसम्म भएको जनताले आभाष पाएको छैन । जसले गर्दा नेताहरूको भाषणमा ताली बजाउने पार्टी कार्यकर्ताबाहेक अधिकांश जनतालाई उकुसमुकुस छ । जनआन्दोलनपछि सात पार्टीका नेताहरूमा चाहिनेभन्दा बढी आत्मविश्वास बढेकै हो । त्यसैको उपज हो- धर्मनिरपेक्षताको घोषणा । जातीय संविधानसभाको वकालत र अधिकांश जनताको भावना नबुझी विश्वको एउटै हिन्दू राष्ट्रको पद्वी रातारात हटाई धर्मनिरपेक्ष मुलुक घोषणा गरिनु ठीक थिएन । त्यसैगरी, मुलुकलाई जातीय संघीयतामा लानु पनि उचित भएन ।

विजयको उन्मादबाट दंग भएका नेताहरूले बिर्सिए कि राजनीतिक शक्ति भन्ने वस्तुको एक निश्चित आकार, ताल र रंगढंग हुन्छ । राजनीतिमा सफल नेतृत्व त्यही ठहर्छ, जसले विशेष प्रकारको शक्तिलाई नियन्त्रणमा राखेर जनताको आशा र आकांक्षा तथा मनोबलमा समेत सही हस्तक्षेप गरी प्रगतिको रफ्तारलाई सधँै काबुमा राखेर जान सकोस् ।

जनआन्दोलन सात पार्टीको सामूहिक विजय हो । तीनवटा महत्त्वपूर्ण पक्षमा पार्टीको सामूहिक ध्यान जानैपथ्र्यो । विजय हासिल गर्नुअघि, आन्दोलनको दौरान लिएको रणनीति र दिशामा विजय हासिल गरिसकेपछि तत्कालै पुनर्मूल्यांकनसहित उक्त रणनीति र दिशालाई परिमार्जन गर्दै अधिकांश जनताको चाहना र मागलाई समेत सम्बोधन गरेर जनतालाई शिक्षित गराउनुपर्ने थियो । तर, यसको ठीक उल्टो जनताको इच्छा, आकांक्षा र चाहनालाई झन् उत्ताउलो ढंगले उचाइमा पुर्‍याउने काम गरियो ।

नेताहरूले हेलचेक्रयाइँ गरेको दोस्रो पक्ष हो उन्मादको नियन्त्रण । सक्षम नेताले विजयको क्षणमा स्वाभाविक रूपमा आउने आवेगलाई रोक्न वा नियन्त्रण गर्न सक्नुपर्छ । दुई कदम पछि हटेर भए पनि निकट भविष्यको बाटो के हुनुपर्छ भन्ने कुराको लेखाजोखा गरी अघि बढ्नुपर्छ । यसको ठीक उल्टो व्यक्तिगत र पार्टीगत स्वार्थलाई अग्रपंक्तिमा राखेर हरेक पार्टी आ-आफ्नो डम्फु बजाई जनतालाई अलमल्याउन लागे ।

जनआन्दोलन सफल भएपछि पार्टीहरूले राम्ररी व्यवस्थापन गर्न नसकेको तेस्रो पक्ष हो- कार्यकर्ता तथा लडाकुको जोश र जाँगर तथा विजय उन्मादको नियन्त्रण । यो ध्रुवसत्य हो कि कुनै पनि संघर्ष वा आन्दोलनको दौरान कार्यकर्तामा उच्छृंखलपनको ठूलो भूमिका हुन्छ । तर, आन्दोलन सकिएपछि सडकबाट शासन चलाउन मिल्दैन । विडम्बना के छ भने लोकतन्त्रको नाममा हामी नै ‘लोक’ हो भन्दै नेताहरूलाई कार्यकर्ताले पेल्ने काम भएका छन् । सरकारी प्रशासन यन्त्रमा कर्मचारीहरूको सरुवाजस्तो एक साधारण कार्यमा समेत नेताहरूले क्षणमा देखाउन नसकेकोलाई जनताले कुन रूपमा लिने ?

अहिले मुलुक त असाधारण मोडमा छ । तसर्थ मुलुक हाँक्नमा नेतृत्वको ठूलो भूमिका हुनैपर्छ तर नेतृत्व कता छ भन्नेमा जनतामा अझै भ्रम छ- नेतृत्व मुख्य तीनवटा राजनीतिक दलका तीनजना अध्यक्षको हातमा छ कि, ठूला ६/७ वटा पार्टीका १०/१२ जना शीर्ष नेताहरूको हातमा छ कि तीनवटा ठूला पार्टीका केन्द्रीय समितिहरूको हातमा छ कि, ६०१ जना सभासद् भएको संसद्को हातमा छ कि, मन्त्रिपरिषद्को हातमा छ कि, कुनै विदेशी शक्तिको हातमा छ कि अथवा पौने तीन करोड जनताको हातमा छ । निश्चित रूपमा भन्न सकिन्छ कि जनआन्दोलन सकिइसकेकाले जनताको हातमा नेतृत्व छैन र सडकबाट मुलुक हाँक्न सक्दैन । शान्ति र संविधान जनताले ल्याउन सकिदैन ।

वास्तवमा लोकतन्त्रको सामान्य सिद्धान्तअनुसार शक्तिकेन्द्र ६०१ जनाको संविधानसभा नै हो । उक्त संविधानसभाले आफ्नो शक्ति अन्य कसैलाई वा कुनै संस्थालाई सुम्पिन पाइँदैन । सुम्पिएको खण्डमा त्यसलाई राजनीतिक अपराधी मान्नुपर्ने हुन्छ । सर्वशक्तिमान संविधानसभाले आगामी दिन गत चार वर्षको अलमल र कमी-कमजोरीलाई सच्याउने आँट गर्नैपर्छ र जनआन्दोलनमा विजय प्राप्त भएपछिको रणनीतिक बाटो अर्कै हुन्छ, अब त्यो बाटोमा मुलुक जान्छ भनी स्पष्ट रूपमा किटान गरी जनतालाई शिक्षित गराउनैपर्छ । जनआन्दोलनमा जाने निर्णय र १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने निर्णयभन्दा गहकिलो र साहसिलो निर्णय गर्ने समय आएको छ । सो कार्यको जिम्मेवारी जनताले ६०१ जनाको सभालाई सुम्पेको छ, आँट देखाउनैपर्छ ।
राजनीतिक शक्तिको प्रयोगलाई एक सामाजिक खेल पनि भनिन्छ भने यस खेललाई अत्यन्त मनमोहक, आकर्षक र साथसाथै कपटपूर्ण, भ्रान्तिजनक रूपमा पनि प्रस्तुत गर्ने गरिएको छ । शक्ति प्रयोगको खेलमा छलकपट, दाउपेच, घोचपेच भइ नै रहन्छ र यो स्वाभाविक नै मानिन्छ । यसलाई अन्यथा लिनु हुँदैन । तर, मुलुक अहिले एक असाधारण मोडमा छ । घरमा आमा सिकिस्त बिरामी भइरहेको बेला छोराछोरीहरू चेस, लुँडो र तास खेलेर बस्नु बेवकुफीपनाको पराकाष्ठा हो । 
sours: www.janaaasthanews.com

Facebook Comments

अन्तिम अपडेट: १४ बैशाख २०६९, बिहीबार १६:२१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया