अब त बोल्नुस्, नेताहरू !

 २९ बैशाख २०६९, शुक्रबार ०८:३१   | न्यूज अफ टोखा

प्रदीप ज्ञवाली‘ती लामा र एकांकी दिनमै हो, जतिबेला मेरा आफ्नै जनताको स्वतन्त्रताको मेरो भोक सबै जनताको- गोरा र काला सबैको, स्वतन्त्रताको भोकमा बदलियो । मैले के पनि जानें भने उत्पीडकहरू पनि मुक्त हुनुपर्छ, जसरी उत्पीडितहरू मुक्त नभई हुँदैन । त्यो मान्छे जसले अरूको स्वतन्त्रता खोस्छ, ऊ घृणाको बन्दी हो, ऊ पूर्वाग्रह र सङ्कीर्ण मानसिकताको फलामे बारभित्र थुनिएको हुन्छ । …उत्पीडित र उत्पीडक दुबै आफ्नो मानवीयता लुटिएको अवस्थामा छन् ।

…जब मैले जेलबाहिर पाइला राखें, मेरो मिसन थियो- उत्पीडित र उत्पीडक दुबैलाई मुक्त गर्ने । कसै-कसैले भन्छन्, त्यो उद्देश्य पूरा भयो । तर मलाई थाहा छ, कुरा त्यसो होइन । सच्चाइ के हो भने हामीले खालि स्वतन्त्र हुने स्वतन्त्रतामात्रै पाएका छौं, उत्पीडनमा नपर्ने हक पाएका छौं । हामीले यात्राको अन्तिम कदम राखेका छैनौं, बरु अझ लामो र कठिन बाटोमा पहिलो पाइलामात्रै चालेका छौं । स्वतन्त्र हुनुको अर्थ साङ्ला चुँडाएर फाल्नुमात्रै होइन, बरु त्यसरी जिन्दगी जिउनु हो, जहाँ अरुको स्वतन्त्रताको सम्मान र अभिवृद्धि हुन्छ । स्वतन्त्रताप्रतिको हाम्रो समर्पणको साँचो परीक्षा त बल्ल पो सुरु भएको छ । ….’ नेल्सन मण्डेला’

राज्य पुनर्संरचनाको बहस जटिल मोडमा पुगिरहेको र कतै यही विवादले संविधानसभा र शान्ति प्रक्रिया नै असफल हुने त होइन भन्ने चिन्ताले हामी नेपालीहरूलाई गाँजिरहेको बेला फेरि एकपल्ट नेल्सन मण्डेला प्रासङ्गकि बनेर आए । त्याग र लामो जेलजीवनको नैतिक बल, अपार लोकपि्रयता र संविधानसभामा दुई तिहाइ सामथ्र्य- उनीसँग राष्ट्रलाई आफ्नै ढाँचामा ढाल्ने पर्याप्त जनादेश र शक्ति थियो । ८० प्रतिशत काला जातिलाई विशेष महत्व दिनेगरी दक्षिण अफ्रिकालाई वर्ण या जातीय पहिचान दिने प्रस्ताव अगाडि सारिएको भए अल्पसङ्ख्यक गोराहरूको केही लाग्दैनथ्यो । नौ प्रतिशत ‘सवर्ण’ र दुई प्रतिशत भारतीयहरूको आपत्तिको पनि अर्थ रहँदैनथ्यो सायद । तर उत्पीडकको स्वतन्त्रताका लागिसमेत लड्ने यी ‘लिजेण्ड’ले कसैलाई होच्याउन चाहेनन् । ‘यदि मैले अरुको स्वतन्त्रता खोसिरहेको छु भने म साँचो अर्थमा स्वतन्त्र हुनसक्दिन, जसरी मेरो स्वतन्त्रता खोसिएको बेला म स्वतन्त्र हुनसक्दिन’ भन्ने आदर्श बोक्ने यिनलाई थाहा थियो- घृणाले घृणा नै जन्माउँछ । उनले दक्षिण अफ्रिकालाई ‘इन्द्रेणी राष्ट्र’को पहिचान दिए । आज उनको देश ‘बि्रक्स’ समूहको सक्रिय सदस्यको रूपमा विश्व राजनीतिलाई नै प्रभाव पार्ने ठाउँमा पुगेको छ ।
राज्य पुनर्संरचनाको हाम्रो समग्र बहस राज्यको मूलचरित्र निर्धारणका मुख्य विषय छाडेर सङ्घीयताको प्रश्नमा खुम्चिएको छ । हामी जातीय पहिचानयुक्त प्रदेश निर्माणको प्रस्तावको वरिपरि रिङ्गेको-रिङ्ग्यै छौं । गलत ढङ्गले उठान गरिएका विषयहरूका कारण सिङ्गै मुलुक तनावमा फँस्न पुगेको छ । नेपाली समाजको चारित्रिक विशेषताको रूपमा रहेको सामाजिक सद्भाव, जातीय सहअस्तित्व र सांस्कृतिक सहचार्य सङ्कटमा फँस्न थालेको छ । दुर्भाग्यवस, यस्तो बेलामा चाहिने विशाल हृदय, सिङ्गो राष्ट्रको नेतृत्व गर्ने सामथ्र्य र पर-परसम्म दृष्टि लगाउनुपर्ने हाम्रो राजनीतिक नेतृत्व क्षमतामा ठूलो खडेरी परेको छ ।
झन्डै पाँच हजार वर्ष अघिदेखि आगमन र बसाइँ-सराइ, अन्तरघुलन र सहकार्य, आन्तरिक द्वन्द्व र एकताको जटिल प्रक्रियाबाट गुजि्रने क्रममा आर्य र मङ्गोलहरू, अष्ट्रिक र द्रबिडहरू, हिन्दु र बौद्धहरू, मुस्लिम र प्रकृतिपूजकहरू, मैदानी र पहाडीहरू सबै ‘कम्प्याक्ट’ हुँदाहुँदा आज एउटा ‘मार्बल’को रूपमा नेपाल राष्ट्र बनेको छ । रङ्ग फरक-फरक छन्, तर त्यो ‘स्ल्याब’ एउटै छ । दुर्भाग्यवस, मतान्धतामा डुबेका केही दल, केही जातीय कार्यकर्ता र केही प्रायोजित बुद्धिजीवीहरूले नेपाल राष्ट्रको यो ऐतिहासिक विकासक्रमलाई अपव्याख्या गर्दै नेपाल राष्ट्रलाई स-साना टुक्राहरू जोडेर बनेको ‘मोजाइक’को रूपमा चित्रित गरे । नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको यथार्थलाई उपेक्षा गर्दै युरोपेली उपनिवेश र बसाइँ-सराइका कारण ल्याटिन अमेरिका, अष्ट्रेलिया या अमेरिकामा सिर्जित अवधारणालाई कलमी सारियो र यहाँ पनि ‘आदिवासी’ र ‘आप्रवासी’को गलत बहस सिर्जना भयो । प्रत्येक सामाजिक समूह ‘राष्ट्र’ या ‘राष्ट्रियता’ हो र तिनलाई स्वतन्त्रता दिएपछि मात्रै नेपाल पूर्ण राष्ट्र बन्छ भन्ने गलत ‘डिस्कोर्स’को परिणाम आज हामी जटिलतामा फँस्न पुगेका छौं ।
निश्चय नै नेपालमा सामाजिक विभेद थियो र आज पनि गहिरो छ । तपाईलाई त्यो पीडाले नछुएको हुनसक्छ- तर मधेसमा बस्ने कैयौं नेपालीहरूले आफ्नो वर्ण कालो भएकै कारण पटक-पटक आफ्नो राष्ट्रिय निष्ठामाथि औंलो ठडिएको भोग्नुपरेको छ । तपाइर्ँलाई त्यो घाउ नदुखेको हुनसक्छ- तर कैयौं दलितले बाटोमुनि पन्छिएर हिंड्नुपरेको या पानी छुँदा बर्बर दुव्र्यवहारको सामना गर्नुपरेको छ । तपाईलाई आफ्नो मातृभाषा नै सरकारी कामकाजको भाषा हुनाले यो कठिनाइको सामना गर्नुपरेन होला- तर कैयौं जनजातिहरूले भाषिक कठिनाइकै कारण लोकसेवाको परीक्षा गुमाउनुपरेको या संवादका महत्वपूर्ण अवसरबाट बञ्चित हुनुपरेको छ । तपाईलाई यस्तो अनुभूति नभएको होला- तर नेपाली महिलाले आफैले नौ महिनासम्म गर्भमा राखेको बच्चाको नाममा आफ्ना नामसम्म दिन नपाउने पीडा भोग्न या यौनतिर्खा मेटाएर भाग्ने पिपासुसँग बच्चालाई नाम देऊ भनेर गिडगिडाउनुपरेको छ । तपाईलाई त्यस्तो भएन होला- तर इराकमा कुनै अपराधी गिरोहले नेपाली युवा मार्दा यहाँका मुस्लिमले दुर्दिन भोग्नुपरेको छ । यी सामाजिक उत्पीडन र विभेद समाजका कटु यथार्थ हुन् । त्यसैले तपाई पहाडी मूलको र नेपालीभाषी हुनुहुन्छ भने तपाई बाहुन/क्षत्री जातीय आधारको र हिन्दु पृष्ठभूमिको हुनुहुन्छ भने अनि तपाई पुरुष हो भने एकछिन आफूलाई ती-ती ठाउँमा उभ्याएर त्यस्ता पीडालाई अनुभूत गर्नुपर्छ । तपाईले आफ्ना एजेन्डामा तिनलाई समेटेर समाधानको विकल्प दिनुपर्छ । प्रतिकृयात्मक भएर, ‘जातिवाद’को विरोध गर्ने नाममा, ‘विखण्डन’को विरोध गर्ने नाममा तपाईले आफूलाई अर्को कुनामा पुर्‍याउनु हुँदैन र आफूलाई एउटा जाति या भूगोल विशेषको नेता बनाउन सुहाउँदैन ।
तर माथि उल्लेख गरिएका जति पनि उत्पीडन छन्, तिनको कारण विभेदकारी राज्यसंरचना हो, कुनै जातिविशेष होइन । राणाशासनको विरोध गर्दा ‘बाहुन’ सुब्बा कृष्णलाल पनि मारिएका थिए, मगर जातिका लखन थापा पनि । प्रजातन्त्रका लागि दशरथ चन्दले सहादत दिनुपरेको थियो, थीरबम मल्ल मारिनुपरेको थियो- राणासँग ‘जात’ मिल्थ्यो, तर उनीहरूले कुनै उन्मुक्ति पाएनन् । राजतन्त्र विरुद्ध लड्दा जसरी दुर्गानन्द झा मारिए, त्यसरी नै सरोज कोइरालाले पनि ज्यान गुमाउनुपर्‍यो । पञ्चायती शासकहरूले ‘बाहुन’ रामनाथ दाहाल, नेत्र घिमिरे र कृष्ण कुइँकेलसँगै ‘जनजाति’ वीरेन राजवंशी र नारायण श्रेष्ठ कसैलाई बाँकी छाडेनन्, सुखानीको जङ्गल सबै सहिदको रगतले रातो भयो । हरि नेपाल र चन्द्र पुरीलाई त्यसरी नै मारियो, जसरी केही समय अगाडि रत्नकुमार वान्तवालाई नियन्त्रणमा लिएर मारिएको थियो । भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिंदा क्याप्टेन यज्ञबहादुर थापालाई पनि त्यसरी नै सिध्याइयो -सायद यस्तो फैसला गर्ने न्यायाधीश आफै क्षत्री नै थिए ।) 
भन्नुको तात्पर्य- आजसम्मको राज्य जातीय राज्य थियो र निश्चित जातिहरू शासक थिए, अनि तिनीहरूलाई किनारामा धकेलेपछि मात्रै आदिवासी-जनजाति, मधेसी र दलितहरूले मुक्ति पाउँछन् भनेर जसरी प्रस्तुत गर्ने गरिएको छ, यो गलत हो । सिङ्गो जातिलाई शासक/उत्पीडकको रूपमा प्रस्तुत गर्ने र सिङ्गो जाति/समुदायलाई शासित या उत्पीडकको रूपमा घृणाको विजारोपण गर्ने तरिका राज्य पुनर्संरचनाको सही तरिका होइन । आफ्नो पछाडिको जुलुसले ‘….नाक काटिन्छ, भित्तामा टाँसिन्छ’ भनेर जहर पोख्दासमेत त्यसलाई रोक्न या यो गलत हो भनेर भन्न नसक्ने नेतृत्वले राष्ट्रनिर्माणको नेतृत्व गर्न सक्ला ?
राज्यको पुनर्संरचना गर्दा हामीले पहिचान र सामथ्र्यलाई आधार बनाउनेमा सहमति गरिसकेका छौं । पहिचानका पाँच आधार पनि निक्र्यौल भइसकेका छन् । तर यतिबेला बाँकी सबै कुरालाई छाडेर जसरी पहिचानको एकमात्र आधार जातीयतालाई बनाउने र एकल जातीय पहिचानका आधारमा प्रदेश निर्माणको हठ चलिरहेको छ, यो एकैसाथ अव्यावहारिक, त्रुटिपूर्ण र हानिकारक हुनेछ । अव्यावहारिक यस मानेमा कि यसले प्रत्येक जातिलाई आफ्नो नाममा प्रदेश निर्माणका लागि दबाब दिन नजिर बस्नेछ र सबैलाई थाहा छ- सयभन्दा बढी जातिको बसोबास गर्ने मुलुकमा यसो गर्नु सम्भव छैन । त्रुटिपूर्ण यसर्थ कि यसले बहुसङ्ख्यामाथि अल्पसङ््ख्याको चाहना थोपरिदिएको हुनेछ । अनि हानिकारक यस मानेमा कि यसले हाम्रो पुँजीको रूपमा रहेको सामाजिक सद्भाव, जातीय सहअस्तित्व र सांस्कृतिक अन्तरघुलनलाई अस्वीकार गर्दै जातीय द्वन्द्वतिर मुलुकलाई धकेल्नेछ । यसका सङ्केत त देखिन थालिसकेका छन् । बुद्धिमानले त ढोकाको ढकढकबाटै आसन्न खतराको पूर्वानुमान गर्नुपर्ने होइन र ? त्यसैले ‘मिनी नेपाल’ भन्न सकिने मिश्रति प्रदेश, त्यसभित्र जातीय, भाषिक, सांस्कृतिक र अन्य पहिचानको सम्वोधन तथा यसका आधारमा समुन्नत नेपालको निर्माण आजको बाटो हुनुपर्छ ।
कसैले सुनाएको थियो- जमिनमा रहँदासम्म खालि सोभियत रूसको पैरवी गर्ने युरी गागरिन जब अन्तरिक्षमा पुगे र जब तलतिर र्फके, साइबेरियादेखि अलास्का हुँदै अमेरिकासम्मको विशाल भूमि त माथिबाट हेर्दा एउटैजस्तो पो देखिंदो रहेछ ! त्यतिबेला उनीभित्रको सङ्कीर्णता भत्किएर ‘वसुधैव कुटुम्वकम्’को  फराकिलो भावना पलाएको थियो रे र हाम्रा नेताहरूले अन्तरिक्षमा त होइन, चन्द्रागिरिमा मात्रै पुगेर हेरे पनि देख्नेछन्- विविधतायुक्त र बहुलवादी नेपाली समाजको एक झलक । त्यहाँबाट काठमाडौं उपत्यकाको काकाकुल ‘घाँटी भिजाउने’ मेलम्ची र उसको ‘आची फाल्ने’ ओखरपौवा दुबै देखिनेछ । यति विघ्न अन्तरनिर्भर नेपाली समाजमा घृणा, विद्वेष र कटुताको जगमा उभ्याउन खोजिएको जातीय ढाँचा कसरी टिक्न सक्छ ? 
नेताहरू, तपाईहरू घरको धुरीमा हुनुहुन्छ । त्यहाँबाट पक्कै पनि पर-परसम्म देखिरहनुभएको होला, सम्भावनाका विशाल फाँट र चुनौतीका गहिरा खाडल पनि । अब मुख फोर्ने बेला भयो । भनिदिनुस्- हामी पहिचान र सामथ्र्य दुबैलाई सन्तुलनमा राखेर राज्य पुनर्संरचना गर्छौं । आन्दोलनकारी जनसमुदायहरू, तपाईहरूको पहिचान समाजको सप्तरङ्गी इन्द्रेणीमा छ । तर त्यसबाट छुट्टाछुट्टै रङ्ग छुट्याउन नखोज्नुहोस्, त्यसले हाम्रो सुन्दर इन्द्रेणी भत्किन्छ ।
कि यसो भन्दा भोट घट्छ भनेर मुलुकको खरानीमा भोटको अवशेष खोज्नेतिर लाग्नुहुन्छ ?
sours -ekantipur.com
Facebook Comments

अन्तिम अपडेट: २९ बैशाख २०६९, शुक्रबार ०८:३१

तपाईको प्रतिक्रिया