मदन भएको भए…

 ६ जेष्ठ २०६९, शनिबार ११:०५   | न्यूज अफ टोखा

रमेशनाथ पाण्डे – २०४७ सालको जनआन्दोलनको परिणामलाई संस्थागत गर्ने राष्ट्रिय एजेन्डामा देश एकाग्र थियो । क्रियाशील संसद्, बहुमत प्राप्त नेपाली कांग्रेसको सरकार अनि बलियो प्रमुख प्रतिपक्ष नेकपा एमाले/संसदीय व्यवस्थाको दोस्रो अभ्यासका खम्बा बनेका थिए । कांग्रेसको सभापति भए पनि चुनाव हारेका कृष्णप्रसाद भट्टराईको संगठनमा पकड थिएन, पार्टीमा बलियो प्रभाव भए पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सभापतिको सहयोग पाउनुभएको थिएन । जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहलाई पनि अपमानित गर्ने गल्ती कोइरालाबाट हुन थालेको थियो । यसैले गणेशमान नेपाली कांग्रेसमा सम्मान जोगाएर बस्न नसक्ने पीडाबोध गर्न थाल्नुभएको थियो । पार्टी र सरकारबीचको द्वन्द्व बढ्दै गएको अवस्थामा सबैको ध्यान नेपाल कम्युनिस्ट पार्टी एमालेमा केन्दि्रत भयो । आकर्षक व्यक्तित्व भएका, जनतामा लोकपि्रय, जनसमूहलाई आफ्नो आवाजसँगै उभ्याउने ओजस्वी वक्ता अनि देशको दोस्रो ठूलो दल नेकपा एमालेमा पूर्ण पकड भएका महासचिव मदन भण्डारीलाई नेपालको भावी राष्ट्रिय नेताका रूपमा हेर्न थालियो ।
२०४९ साउन २७ गते एक राजदूतले मलाई आफ्नो निवासमा दिवाभोजका लागि आमन्त्रण गर्नुभयो । भवनको ढोकामा राजदूतले स्वागत गर्दै भन्नुभयो, ‘आज म तपाइर्ंलाई एक राष्ट्र्रवादी नेतासँग भेटाउँदै छु । तपाईंहरूको मित्रता नेपालको हितमा हुनेछ ।’ यस्तो अनपेक्षित कुरा सुनेर म छक्क परें । थप केही सोच्न नपाउँदै हामी कोठाभित्र पुगिहाल्यौं । त्यहाँ पश्चिमपट्टकिो सोफामा मदन भण्डारी बस्नुभएको थियो । राजदूतले हामी दुईलाई परिचय गराउनुभयो । म मदनसँगै बसेँ । ‘तपाईंहरूको मित्रताका लागि’ भनेर राजदूतले गिलास उठाउनुभयो, सुखद र सहज वातावरणमा तीनवटा गिलास आपसमा जोडिए । यसपछि ‘एकैछिनमा आउँछु’ भनेर राजदूत कोठाबाट बाहिरिनुभयो ।
मैले नियालेर हेरेँ- कालो टोपीमुनि मोटो चस्मा अनि त्यसभित्र उत्सुक आँखा, हँसिलो अनुहार । मलाई यी नेता निष्कपट,आफ्नो लक्ष्यप्रति प्रस्ट र आत्मविश्वसले बलवान् लागे । उहाँले कुरा सुरु गर्दै भन्नुभयो, ‘पाण्डेजी, हामीबीच राष्ट्रवादी सोचको समानता छ । मिलेर काम गरे पक्कै हाम्रो राष्ट्र जोगिन्छ, बलियो हुन्छ । यसैले तपाईंसँग भेट भएकामा म खुसी
छु । तपाईंको के विचार छ ?’ मैले भने, ‘तपाईंंलाई भेट्न पाएकामा प्रसन्न छु । तपाईंसँग मिलेर राष्ट्रिय हितका काममा सहभागी बन्न म तयार छु ।’
यसपछि हामीबीच पुनस्र्थापित प्रजातन्त्र सामुन्ने देखिएका जोखिमबारे कुरा भयो । हाम्रो समान चिन्ता र परिस्थितिबारे एकै किसिमको विश्लेषण थियो । केही बेरपछि फर्किएका राजदूतले दिवाभोजका लागि अर्काे कोठामा जान आग्रह गरेपछि मदनले भन्नुभयो, ‘म तपाइंसँग बसेर विस्तृत कुरा गर्न चाहन्छु ।’ मैले तुरुन्तै भनें, ‘अनुकूल भए भोलि बेलुकीको डिनर मेरो घरमा
गरौं ।’ उहाँ सहमत हुनुभयो ।
बिस्तारै हाम्रो सम्बन्ध घनिष्ट हुन थाल्यो । सामान्यतया महिनामा दुईपटक हामी डिनरमा भेट्थ्यौं । उहाँ नक्सालमा बस्नुहुन्थ्यो र राति उहाँलाई ल्याउने र पुर्‍याउने काम मेरा जेठा छोरा निश्चलले गर्थे । त्यसबेला कलेजका विद्यार्थी रहेका निश्चलसित मदनले युवापुस्ताको सोच र परिस्थितिको मूल्यांकनबारे जानकारी लिनुहुन्थ्यो । यसबाट युवापुस्ताको चिन्तनबाट आफ्नो दूरी नहोस् भन्ने उहाँको सतर्कता प्रस्ट हुन्थ्यो । मसँग कुरा गर्न बस्दा मदन सधैं एउटा मोटो डायरी खोल्नुहुन्थ्यो अनि आफूलाई घत लागेका बुँदाहरू टिप्नुहुन्थ्यो । अरूको कुरा ध्यान दिएर सुन्ने, आफ्नो कुरा प्रस्टसँग भन्ने तर सधैं गम्भीर, हलुका कुरा कहिल्यै नगर्ने, वचनका पक्का । वचन दिने तर पालन भने नगर्ने दुर्गुणको बन्दी बनेका नेपाली नेताहरूको भीडमा अहिले नेपालको भविष्य अल्मलिएको छ । यसैले नेपालमा राष्ट्रिय नेताको खडेरी परेर जोखिमपूर्ण संक्रमणकाल लम्बिँदै गएको हो । मदन अपवाद हुनुहुन्थ्यो । 
दक्षिण एसियामै पहिलोपटक जनताको मतदानबाट वैकल्पिक राष्ट्रिय राजनीतिक शक्तिका रूपमा कम्युनिस्ट पार्टी स्थापित भएको र नेपालीको सामूहिक अन्तः चेतनाको बलियो आवाज बन्न थालेकाले मदनमा विश्वको ध्यान केन्दि्रत हुनथालेको थियो । नेपालको राष्ट्रिय नेताका रूपमा उहाँलाई हेर्न थालिएको थियो । मदनको सादगीपन सम्झाउने एउटा प्रमाण मसित अहिले पनि सुरक्षित छ । उहाँले विष्णु पौड्याल, एमालेका नेता तथा पूर्वरक्षामन्त्रीको हातमा पुरानो अखबारलाई आफैंले स्टिच गरेर बनाएको खाममा राजनीतिक कृतिहरू राखेर मलाई पठाउनुभएको थियो ।  
एकदिन मदनले भन्नुभयो, ‘एमाले सबै देशभक्तहरू अटाउने बलियो राष्ट्रि्रय शक्ति बनोस् भन्ने म चाहन्छु । अहिले नै एमाले देशको सबैभन्दा संगठित जुझारु पार्टी छ । तर प्रचलित अर्थको राजनीतिक पार्टीको तहबाट धेरै माथि उठेर एमाले सबै प्रजातन्त्रवादी र सबै देशभक्तहरूको साझा संगठन बनोस्, यसमा सबै जाँगरिला युवा, परिश्रमी श्रमिक, अनुभवी व्यक्तित्व अटाऊन् भन्ने मेरो सोच छ ।’
हिजोको धङधङी र आजको अहंकारमा भोलिप्रति उदासीन रहने नेताहरूको भीडमा नेपाली समाज अहिलेसम्म पनि अल्मलिइरहेको छ । यस्तो दूरगामी सोच भएका नेता देखेर मैले प्रसन्न हुँदै भनें, ‘जोखिमपूर्ण भौगोलिक अवस्था भएको हाम्रो देशको सुरक्षा र उन्नतिका लागि यो नै अचुक विधि हो । तपाईंको यस्तो परिपक्व र मौलिक सोच सुनेपछि हामी इतिहासले रोजेको पुस्ता बन्ने कुरामा म विश्वस्त भएको छु ।’
केही बेरपछि भन्नुभयो, ‘अब तपाईं चुप लागेर बस्नु हुँदैन । राष्ट्रि्रयताको सवालमा यसै हप्ता म सर्वदलीय बैठक बाेलाउँछु, तपाईंलाई खबर पठाउँछु, आउनुस् ।’
बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि १९९२ डिसेम्बर १७ मा म पहिलोपटक सिंहदरबार पसेको थिएँ । नेकपा एमालेको संसदीय दलको कार्यालयमा ठूलो भीड थियो । म भित्र पस्दा डा. बाबुराम भट्टराई बोलिरहनुभएको थियो । सोफामा बसिरहनुभएका मदन भण्डारीले मलाई आफू र मनमोहन अधिकारीबीच राख्नुभयो । बैठक सञ्चालन गरिरहनुभएका माधवकुमार नेपालले नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेलाई बोल्न बोलाउनुभयो । उहाँपछि कम्युनिस्ट नेता निर्मल लामाले बोल्न थाल्नुभयो । मदनले बिस्तारै मलाई भन्नुभयो, ‘अब तपाईंलाई बोलाइनेछ ।’ बैठकमा धेरै सांसदहरू थिए । मैले आफ्नो संक्षिप्त भाषणमा भनें, ‘राष्ट्रियताको पक्षमा सबैलाई मिलाएर राष्ट्रिय शक्ति निर्माण गर्ने यो प्रयास नेपालको हितमा एक उल्लेखनीय शुभारम्भ हो ।’ (गोरखापत्र, १९९२ डिसेम्बर १८) । 
मदन भण्डारी अन्तर्राष्ट्रिय सम्बन्धको संवेदनशीलता बुभmनुहुन्थ्यो, नेपालको भूस्थापनलाई कसरी राष्ट्रिय हितमा उपयोग गर्ने भन्नेबारे परिपक्व र संयमी सोच थियो । उहाँले परराष्ट्र मामिलामा कहिल्यै असन्तुलित र व्यक्तिगत लाभहानिबाट लोभिएर बोल्नुभएन । वैदेशिक मामिलामा हामीबीच कुरा हुन्थ्यो, नेपाललाई असर पार्ने विषयमा टेलिफोनमा पनि मेरो राय सोध्नुहुन्थ्यो । राष्ट्रि्र्रय हितका विषयमा उहाँ अडिग रहनुहुन्थ्यो । यसको एउटा उदाहरण टनकपुरसम्बन्धी विवादास्पद सम्झौता स्मरणीय छ । भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव हरकिसन सिंह सुरजितले ‘नेपालका कम्युनिस्ट नेताहरूलाई टनकपुर सम्झौताको समर्थन गर्न सार्वजनिक रूपमा नै सल्लाह दिनुभएको थियो’ (दृष्टि साप्ताहिक, ३ फेब्रुअरी १९९१) । त्यो ‘सल्लाह’ प्रति प्रतिक्रिया व्यक्त गर्दै मदन भण्डारीले भन्नुभयो, ‘सुरजितको यो सल्लाह उपयुक्त भएन । हामी उहाँको विचारसँग सहमत छैनौं । हामीले के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने कुराको फैसला गर्ने अधिकार हामीसँग नै सुरक्षित छ’ (अमेरिकी पत्रिका न्युजविक, २७ मे १९९१) ।
२०५० वैशाख २२ गते राति मदन मेरो घरमा आउनुभयो । यो भेट दुई कारणले मेरा लागि सदा स्मरणीय रहेको छ । पहिलो हो, देशको बिग्रँदो अवस्था तर जनताबाट सरकार टाढिँदै गएकामा चिन्तित हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘नेपाली कांंग्रेसले सरकार चलाउन सक्दैन । कांग्रेसको आन्तरिक विवादले देशले चाँडै नै चुनावमा जानुपर्ने हुन्छ ।’ केहीबेर मौन बसेपछि उहाँले भन्नुभयो, ‘पाण्डेजी, सबै देशभक्तलाई समेट्ने विचार गरेको छु । देशभक्तहरूलाई संगठित रूपमा राष्ट्रिय हितका मुद्दामा एमालेसँग सक्रिय सहकार्य गर्न सक्ने बीचको बाटो बनाउन थालेको छु ।’ उहाँले एमालेको फराकिलो छातामुनि सबै प्रजातन्त्रवादी देशभक्त अटाउने योजना बनाएको मलाई अनुभूति भयो ।
दोस्रो कारण- यो सुखद भेटको सम्झना पनि मेरा लागि पीडादायी छ, किनभने यसपछि विलक्षण प्रतिभाले युक्त यी नेतासँग फेरि भेट भएन । ११ दिनपछि रहस्यात्मक सडक दुर्घटनामा आफ्ना सहयोगी जीवराज आश्रतिसँगै उहाँको निधन भयो । नेपालको राष्ट्रवादी आन्दोलनलाई कमजोर बनाउने  यो दुर्घटनाप्रति आमजनतामा विभिन्न आशंका व्याप्त भए । दुई दशक बित्न थाल्दा पनि यो आशंका मेटिएको छैन, प्रश्न थपिँदै छ, आशंका पत्यारिलो भइरहेको छ । यसको केही महिनापछि भएको मध्यावधि चुनावमा जनताले जिताएर एमालेको एकमना सरकार बन्यो । यसका अध्यक्ष र महासचिव प्रधानमन्त्री र उपप्रधानमन्त्री भए । एमाले यसपछिका नौवटा सरकारहरूमा सम्मिलित भयो, यीमध्ये तीनवटा सरकारको नेतृत्व पनि गर्‍यो । तर हत्यारालाई जनतासमक्ष उभ्याएर सजाय दिने प्रतिबद्धता पूरा भएन ।
जून १२, १९९४ मा नेकपा एमालेका नयाँ महासचिव माधवकुमार नेपाल र नेता वामदेव गौतम मेरो घरमा पहिलोपटक आउनुभयो । यो भेटमा मलाई मदन भण्डारीको विशिष्ट कार्यशैली र पार्टी संगठन सञ्चालनको परिष्कृत एवं लोकतान्त्रिक ढाँचाबारे जानकारी भयो । त्यस बेलासम्म कसैले पनि थाहा नपाएको मदन र मेरो सम्बन्ध कसरी स्थापित भयो र कुन दिशातिर उन्मुख थियो भन्ने कुरा उहाँहरूले बताएपछि एमाले र मेरो सम्बन्ध फेरि जीवन्त भयो । आफ्ना शीर्षस्थ सहयोगीहरूसँग पनि कुरा लुकाउने एकलकाँटे नेताहरू भोगिरहेको नेपालमा मदन भण्डारी बिल्कुलै भिन्न हुनुहुदोरहेछ भन्ने मलाई खुलस्त भयो । यस्तै विशेष गुणहरूका कारण मदन भण्डारीले कहिल्यै नेताको स्वाङ गर्नु परेन, नेता बन्न मरिहत्ते गर्नु परेन । उहाँ नेता हुनुहुन्थ्यो, नेपालले अनिवार्य भइसकेको राष्ट्रिय नेतृत्व उहाँबाट पाउन लागेको थियो ।
मदन भण्डारी जीवित रहेको भए नेपालले दूरदृष्टि भएको, वचनको पक्का, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान पाएको र सहयोग लिन सक्ने लोकपि्रय नेतृत्व पाएर दोस्रोपटक स्थापित संसदीय प्रजातन्त्रले असफलता भोग्नुपर्ने थिएन, नेपालले इतिहास नै जोखिममा परेको अहिलेको अत्यासलाग्दो अवस्था भोग्नुपर्ने थिएन भन्ने मेरो अन्तस्करणको आवाज हो ।
/ekantipur/

Facebook Comments

अन्तिम अपडेट: ६ जेष्ठ २०६९, शनिबार ११:०५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया