आत्महत्याको मनोदशा

 १३ असार २०६९, बुधबार १२:१३   | न्यूज अफ टोखा

मनबहादुर बस्नेत-काठमाडौँ महादेवस्थानकी रुविना केसी, १८, गत वर्षको एसएलसीमा असफल भएकी थिइन्। यसपटकको परीक्षामा समेत फेल भएपछि उनले आत्महत्या गरनि्। थानकोटको प्रभात माध्यमिक विद्यालयबाटै केसीसँगै एसएलसी दिएकी सबला बानियाँ, १६, ले समेत परीक्षामा असफल भएपछि विष सेवन गरेकी थिइन्। अहिले उनको उपचार भइरहेको छ।

अभिभावक, समाज र विद्यालयको आकांक्षा पूरा गर्न नसक्दा कतिपय विद्यार्थीले आफ्नो ज्यानै गुमाउनुपर्ने बाध्यता बढ्दो छ। अध्ययनमा असफल विद्यार्थी सबैतिरबाट तिरस्कृत हुने भएकाले मनोबल कमजोर भई आत्महत्या गर्न बाध्य बन्ने मनोविज्ञहरू बताउँछन्। यस्तै मनोविज्ञानको सिकार भए, यसपटकको एसएलसीमा असफल भएका १० विद्यार्थी।

यसपटक आत्महत्या गर्ने विद्यार्थीको संख्या अघिल्लो वर्षको भन्दा दोब्बर हो। एसएलसीको परिणाम सार्वजनिक भएपछि हरेक वर्ष आत्महत्याका खबर पनि आउने गरेका छन्। सोचेजस्तो शैक्षिक उपलब्धि नभएकै कारण कतिले आत्महत्या गर्छन् भन्ने तथ्यांक प्रहरीमा नभए पनि बर्सेनि यस्तो संख्या बढ्दै गएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद सिंह बताउँछन्।

विद्यार्थीको रुचि एकातिर र शिक्षक-अभिभावकको करबल अर्कोतिर भयो भने उनीहरूको उन्नतिमा तगारो मात्रै लाग्दैन, जीवनलीला नै समाप्त हुन्छ। एक वर्षअघि मात्रै राजधानीको एक निजी विद्यालयमा ९ कक्षामा पढ्ने छात्रलाई अभिभावकले ‘सेकेन्ड भइस् भने घरै नआउनू’ भनेर डर देखाएपछि ती विद्यार्थीले आत्महत्या गरेका थिए। मनोविज्ञ प्राध्यापक ऐनबहादुर श्रेष्ठ भन्छन्, “पास भए लायक र नभए नालायक भन्ने रेखा कोरििदयौँ हामीले। सबैतिरबाट निराश भएकाहरू यो विन्दुमा आएर आत्महत्या गर्ने स्थितिमा पुग्छन्। यो कुरा गम्भीर छ।”

अनियन्त्रित महत्त्वाकांक्षा भएका व्यक्तिले आफ्नो लक्ष्य पूरा नगरेमा आफैँलाई समाप्त पार्छन्। इलामको ग्रीन भ्याली एकेडेमीमा १० कक्षामा पढ्ने सिद्धार्थ सुवेदीले विराटनगरमा हुने प्रदर्शनीका लागि हेलिकप्टर बनाउन नसक्दा आत्महत्या गरे, ५ असारको राती। पढाइमा समेत अब्बल सुवेदी आफूले चाहेको कुरा हुनैपर्ने जिद्दी स्वभावका थिए। राती १ बजेसम्म बनाउँदा पनि गुड्ने मात्रै भएको हेलिकप्टर उड्न सक्ने नभएपछि उनले झुन्डिएर आत्महत्या गरेको प्रहरी विवरणमा उल्लेख छ। धादिङ, च्यामरुङस्थित रानीपौवा उच्च माविबाट एसएलसी दिएकी रेश्मा कँडेल, १७, आफू प्रथम श्रेणीमा पास हुनेमा ढुक्क थिइन्। विद्यालय र अभिभावकले समेत त्यही अपेक्षा राखेका थिए। तर, फेल भएपछि उनले झुन्डिएर संसारबाट बिदा लिइन्।

काभ्रेको टुकुचा नालास्थित सपनेश्वर माविबाट एसएलसी दिएकी रोजिना लामिछानेले अप्रत्यासित नतिजा आएपछि ०६६ मा आत्महत्या गरनि्। विद्यालयका प्रधानाध्यापक लक्ष्मण दाहालका अनुसार लामिछाने पढाइमा राम्रै थिइन्। तर, तीनवटा विषयमा फेल भएको माक्र्ससिट हेरेपछि उनले आत्महत्या गरनि्। एसएलसीमा असफल भएपछि यसपालि नेपालगन्ज र काठमाडौँमा दुई, पाल्पा, मोरङ, धादिङ, सिन्धुपाल्चोक, धनुषा र कञ्चनपुरमा एक-एक जनाले आत्महत्या गरे। आत्महत्या गर्ने एक जनाबाहेक सबै छात्रा छन्। छोराछोरीलाई गरनिे असमान व्यवहारको नतिजा यहाँसमेत देखिन्छ।

विभेदपूर्ण व्यवहारले छोरीलाई मानसिक रूपमा बढी कमजोर बनाएको हुन सक्ने त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वविभागीय प्रमुख प्राध्यापक रामबहादुर क्षेत्री बताउँछन्। “छोरा फेल भए अझ राम्रो स्कुलमा हाल्छौँ, पास गर्ला भनेर कम प्रेसर दिन्छौँ तर छोरी फेल भए यत्रो खर्च गरेर पढाएको काम लागेन भन्दै गाली गर्छौं। त्यसैको परण्िााम हो यो,” उनको मूल्यांकन छ। अझ फेल भएपछि विवाह गरििदएर पठाउने धम्की र विवाह नै नहोला भन्ने त्रासजस्ता सामाजिक बन्धनसमेत छिचोल्नुपर्छ किशोरीहरूले। “हामी के गछौर्ं, के सोच्छौँ भन्ने संस्कृति, सामाजिक मूल्य मान्यताले निर्धारण गर्छ। यी चीज समाजका नियमजस्तै बनेका हुन्छन्,” क्षेत्री थप्छन्, “त्यस अनुकूल उपलब्धि भएन भने व्यक्ति सामाजिक रूपमा बहिष्कारमा पर्ने खतरा हुन्छ र हतासमा आएर उसले आत्महत्या गर्छ।”

आत्महत्याको बाटो रोज्ने अधिकांश सरकारी विद्यालयका विद्यार्थी छन्। राज्यको दायित्वमा रहेका विद्यालय कसरी कमजोर बनिरहेका छन् भन्ने प्रमाणसमेत हो यो। “यसको सम्पूर्ण जिम्मा शिक्षा मन्त्रालयले लिनुपर्छ,” शिक्षाविद् तीर्थ खनियाँ भन्छन्, “सरकारी शिक्षाको स्तर छर्लंग भइरहेको छ।”

२०६१ सालमा धनुषास्थित झटियाही माविबाट एसएलसी दिएका विवेककुमार झाले एसएलसीमा असफल भएपछि आत्महत्या गरे। उनको आर्थिक पृष्ठभूमिसमेत कमजोर थियो। त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागका पूर्वविभागीय प्रमुख शिशिर सुब्बा कमजोर मनोबल भएका र बढी आत्मविश्वासी किशोरकिशोरीले परीक्षामा असफल भएपछि आत्महत्या गर्ने बताउँछन्।

एसएलसीलाई फलामे ढोका भनेर आवश्यकताभन्दा बढी उछालिएको छ। यसमा असफल हुँदा जीवन अन्धकारमा धकेलिने छाप विद्यार्थीमा पारएिको छ। घरमा अभिभावकद्वारा बालबालिकालाई यतिसम्म दबाबमा राखिएका हुन्छन् कि ‘डिस्टिङ्सन’ ल्याउनैपर्छ भन्ने जस्ता दबाबको बारम्बार सामना गर्नुपर्छ उनीहरूले। छोराछोरीले परीक्षामा यति प्रतिशत ल्यायो भन्दै फूर्ति लगाउने र आफूलाई ठूलो देखाउने अभिभावकको पनि कमी छैन, समाजमा। श्रेष्ठ थप्छन्, “जसले बाआमाले भनेजस्तो गर्न सक्दैन, उसले घरबाटै गाली खान्छ र निराशा पैदा हुन्छ। यो निराशा बढ्यो भने त्यसले आत्महत्यासम्ममा पुर्‍याउन सक्छ।” अभिभावकले बालबालिकालाई सधैँ फलानोले जस्तो गर्नुपर्छ भनेर अरूसँग तुलना गर्ने र दबाब दिने संस्कार बढी नै छ, हामीकहाँ ।त्रिभुवन विश्वविद्यालयकी मनोविज्ञ नन्दिता शर्माका अनुसार विद्यार्थीलाई अरूसँग तुलना गर्दा उनीहरूमा नकारात्मक भावनाको विकास हुन्छ, जुन हरेक विद्यालय र परविारको ठूलो समस्या हो। यसो गर्दा विद्यार्थीमा दोहोरो नकारात्मक असर पर्छ। पहिलो, आफूलाई बेकामे ठान्दै हीनताबोध हुन्छ। दोस्रो, अरूसँग दुस्मनीको भाव विकास हुन्छ। पढाइलाई मात्रै आधार मानेर दिदीले यति राम्रो गरेकी छे, भाइचाहिँ लद्दू रहेछ भनिँदा भाइको अन्य क्षमता लत्याइन्छ। “जीवन आफ्नो रुचि, खुबी र क्षमता अनुसार चलाउन सकिन्छ भन्ने सिकाउन नसक्दा र एउटै असफलताले व्यक्तिमा अत्यधिक निराशा उत्पन्न हुँदा यस्ता घटना हुन्छन्,” उनी भन्छिन्।

एसएलसीमाथिको पढाइमा थुप्रै विद्यार्थी असफल हुन्छन्, खासगरी मानविकीमा। त्रिभुवन विश्वविद्यालयका अनुसार मानविकी संकायमा जम्मा एक प्रतिशत मात्रै विद्यार्थी नियमित पास हुन्छन्। तर, यो तहमा फेल हुनेले आत्महत्या गरेको कमै सुनिन्छ। उता, विद्यालय तहको अन्तिम खुड्किलोमा भने यस्ता घटना भइरहेका छन्। सरकार, समाज, सञ्चार माध्यम सबैले अनावश्यक हल्लाखल्ला गरेर एसएलसीलाई हाउगुजीका रूपमा चित्रित गरेका कारण पनि त्यसको असर विद्यार्थीमा परेको विश्लेषण छ खनियाँको।

शिक्षाविद्हरू शिक्षा प्रणालीकै कारण यस्ता घटना हुने गरेको बताउँछन्। विद्यालयीय शिक्षा जीवनलाई फरकफरक ढंगले हेर्ने दृष्टिकोणको विकास गराउनेभन्दा कागजी परीक्षा केन्दि्रत भएकाले विद्यार्थी लगाम लगाएको घोडाजस्तै बनेको उनीहरूको टिप्पणी छ। विद्यार्थीलाई सिर्जनशीलभन्दा पनि गाइड, गेसपेपर, नोट, किताब कण्ठ गराउनेमा बढी केन्दि्रत गराइँदा पनि यस्तो समस्या देखिएको छ। विद्यालयहरूसमेत आफ्नो पास प्रतिशत राम्रो बनाएर विद्यार्थी तान्ने होडबाजीमा छन्। “परीक्षामा जसरी हुन्छ, बढी ल्याऊन् भन्नेमा मात्रै हाम्रो ध्यान हुन्छ,” एक निजी विद्यालयका प्रधानाचार्य भन्छन्, “यसले राम्रो गर्दैन भन्ने थाहा हुँदाहुँदै पनि हामी यसैमा छौँ।”

अघिल्लो वर्ष मात्रै एसएलसीमा पास/फेलबारे अध्ययन गरेका शिक्षाविद् खनियाँ विद्यालय सिकाउने थलोभन्दा बढी तालिम केन्द्र बन्दै गएको बताउँछन्। पछिल्लो पाँच वर्षे अवधिमा एसएलसीमा सोधिएका प्रश्नमा समेत नयाँपन छैन, दोहोरएिका छन्। अनि, विद्यार्थीसमेत सोही प्रश्नपत्र हेरेर कण्ठ गर्नतिर लाग्छन्। “कण्ठ गरेको आयो भने पास, नभए फेल,” उनी भन्छन्, “परीक्षा चिट्ठाजस्तै बन्यो।” खनियाँको अध्ययनले अत्यधिक विद्यार्थीले विज्ञान, गणित र अंग्रेजीको ट्युसन पढ्ने गरेको देखाएको थियो। यी विषयमा ८० प्रतिशत विद्यार्थीले ट्युसन पढ्छन् र सबैभन्दा बढी यिनै विषयमा फेल हुन्छन्। ट्युसन पढ्नु पनि सिर्जनशील बन्नु होइन, परीक्षाका लागि पास हुन कण्ठ गर्नु मात्रै हो।

नेपालको शिक्षा पद्धतिले किताबी ज्ञानलाई मात्रै महत्त्व दिएकाले यो समस्या आएको मनोविज्ञ श्रेष्ठको भनाइ छ। मनोविज्ञानले भन्छ, हरेक व्यक्तिको दिमागमा आठ भिन्दाभिन्दै क्षमता हुन्छन्। विद्यार्थीको यही क्षमता, रुचि र खुबी नहेरी खालि जाँच दिन लगाएर निराश पाररिहेको उनको तर्क छ। भन्छन्, “नसक्नेलाई जाँच दिन लाउने अनि फेल भयो भनेर दोष पनि दिने ? यो कुरा गलत छ।”

विद्यालयमा सिकेका कुराले विद्यार्थीलाई लगाम लगाएको घोडा नबनाई उनीहरूको समग्र व्यक्तित्व विकासमा सहयोग पुग्नुपर्ने हो। कुनै विषयमा कमजोर विद्यार्थी अतिरत्तिm क्रियाकलापमा विलक्षण हुन सक्छ, जसलाई नेपालको शिक्षाले पढाइ मान्दैन। “गल्ती यहीँनेर भएको छ,” खनियाँ भन्छन्।

परीक्षा नियन्त्रण कार्यालय -पनिका)मा नतिजाप्रति चित्त नबुझेर पुनःयोग -रटिोटलिङ्)को आवेदन दिनेहरूको लर्को देख्दा परीक्षा प्रणालीमा खोट देखिन्छ। बर्सेनि देशभरका करबि पाँच हजार विद्यार्थी पनिकाको दैलो ढक्ढक्याउन पुग्छन्। यसले के पनि संकेत गर्छ भने, एसएलसी परीक्षा प्रणाली र परीक्षण विधिप्रति विद्यार्थीको विश्वास निकै कम छ। सात वर्षअघि गरएिको ‘एसएलसीमा विद्यार्थी उपलब्धिसम्बन्धी अध्ययन’ले परीक्षा नियन्त्रण कार्यालयमा परीक्षकको चयन प्रक्रिया मात्र होइन, अंक दिने प्रक्रियालाई समेत दोषी औँल्याएको थियो।

विसं १९९० बाट नेपालमा एसएलसी परीक्षा सुरु भएयता परीक्षा प्रणालीमा आन्तरकि सुधारबाहेक अन्य परविर्तन गरएिको छैन। विकसित देशमा विद्यार्थीमैत्री परीक्षा प्रणाली सुरु भइसके पनि नेपालमा भने तीनघन्टे परीक्षा प्रणालीलाई उत्तीर्ण/अनुत्तीर्णको आधार मानिन्छ। परीक्षा प्रणालीमा देखिएको यही दोषले पनि समस्यामाथि समस्या थपेको विज्ञहरूको मत छ।

एक जना विद्यार्थीलाई एसएलसीसम्म पढाउन राज्यले वाषिर्क आठ हजार रुपियाँसम्म प्रत्यक्ष लगानी गरेको हुन्छ। अहिले माध्यमिक तहसम्म देशभर करबि चार लाख विद्यार्थी अध्ययनरत छन्। यसमध्ये १५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढ्छन्। निजी विद्यालयको संख्या कटाउँदा सामुदायिक विद्यालयका विद्यार्थीमा सरकारले यो आर्थिक वर्षमा मात्रै २७ अर्ब २ करोड रुपियाँ लगानी गरेको छ। यसबाहेक विद्यार्थीमाथि अभिभावकको लगानी र समय त छुट्टै छ। तर, शैक्षिक गुणस्तर र असफलताले निम्याउने अवस्था भने भयावह छ।

विद्यार्थीको गिर्दो मनोदशा उकास्न समाज, विद्यालय, अभिभावक सबैले बालबालिकालाई पढाइ र परीक्षालाई सहज रूपमा लिन सक्ने अवस्थामा पुर्‍याउनुपर्ने विज्ञहरू सुझाउँछन्। जीवनलाई हेर्ने दृष्टिकोण बदल्ने खालको शिक्षाप्रणाली आवश्यक रहेको खनियाँको तर्क छ।

हुन पनि विद्यार्थीको व्यक्तित्व विकासका अन्य पाटालाई अहिलेको शिक्षाले मूल्यांकन नै गर्दैन। कोकिल कण्ठ भएको वा कलात्मक खेल खेल्ने विद्यार्थीले परीक्षाको परण्िााम बिगार्‍यो भने आकाशै खसेजस्तो अनुभूत गराइन्छ। बर्सेनि एसएलसीमा दुई लाखभन्दा बढी विद्यार्थी असफल हुन्छन्। सफल हुनेहरू उच्च शिक्षा अध्ययनमा लाग्छन् भने असफल हुनेहरूको व्यवस्थापन सरकारले गर्न सकेको छैन। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परष्िाद् -सीटीईभीटी)ले यस्ता तालिम दिने गरे पनि यसमा एसएलसीमा असफल हुनेहरू थोरै मात्र समेटिन्छिन्। टीएसएलसी भनेर एसएलसी असफल हुनेहरूलाई लक्षित गरी चलाइएको २९ महिने कार्यक्रमले वर्षमा तीन हजारलाई मात्रै समेट्छ। बाँकी विद्यार्थीका लागि अवसरको ढोका बन्द छ।

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार घोकेर पास गर्ने अहिलेको शिक्षा प्रणालीबाट भुत्ते जनशक्ति उत्पादन भइरहेको छ। विद्यार्थीको विश्लेषणात्मक क्षमता बढाउने र सिर्जनशील बन्न प्रेरति गर्ने परीक्षा प्रणाली र सिकाइ विधि बसाल्नुपर्ने उनको सुझाव छ। जाँचमा पास हुने खालको परीक्षा प्रणालीले गुणस्तरीय शिक्षामा समेत असर पारेको छ। विद्यार्थीको परीक्षण निरन्तर मूल्यांकनको एकाइ भएकाले वर्षभरकिो उसको समग्र प्रस्तुति जाँचिनुपर्ने कोइरालाको ठहर छ। यो परपिाटी विश्वव्यापी रूपमा प्रचलनमा छ भने अनलाइनमा समेत परीक्षा दिन पाउने सुविधा थपिएको छ। तर, नेपालमा भने बिरामी भएको विद्यार्थीले समेत पुनः परीक्षा दिन पाउँदैन र अर्को एक वर्ष कुर्नुपर्ने हुन्छ। अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, “विश्वबाटै आउटडेटेड प्रणाली हामीकहाँ छ। यसले विद्यार्थी र अभिभाक दुवैलाई पीडा दिएको छ।”
sours: ekantipur.com/nepal/article/

Facebook Comments

अन्तिम अपडेट: १३ असार २०६९, बुधबार १२:१३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया