टोखाःचुनौती र अवसर

 २४ भाद्र २०६९, आईतवार ०३:४६   | न्यूज अफ टोखा

प्रकाश डंगोल
मात्र ९ किलो मिटर रत्नपार्कबाट, केवल ४ कि.मी चक्रपथ सामाखुशीबाट, समयका हिसावले ४० मिनेटको दुरी राजधानीको मुटु असन इन्द्रचोकबाट । यति छोटो दुरी, समयको केन्द्र उपत्यकाको उत्तरी शिवपुरी जंगलको दक्षिण तर्फ फर्किएको टोखा आज सबैको आकर्षणको बिन्दू बनेको छ । उसो त राजधानीको उत्तरी क्षेत्र तीव्र विकासको गतीमा छ र राजधानीमा यहि क्षेत्र मात्र सम्भावित विकास कार्यका गन्तब्य र योग्य भूमी पनि ।
टोखा चण्डेश्वरी र सरस्वती गा.वि.स २०२१÷०२२ तिर प्रशासनिक रुपमा विभाजित भएपनि परम्परागत पर्व, उत्सव, सांस्कृतिक क्षेत्र धरोहरहरु अखण्ड एकताबद्ध छन् । यहाँका भाषा, कला, साहित्य, रितिरिवाज, प्रथा, जीवनशैलीमा समानता छन् । ५ वर्षसम्म सतप्रतिसत नेवार समूदायको बाहुल्यता भएको टोखामा हाल देशका विभिन्न भागबाट बसाई सर्दै आउने क्रममा यहाँ नेवार समूदाय ६० प्रतिशतमा सिमित भएको छ । टोखा सरस्वतीमा तीव्र रुपमा विकसित आवास र हाउजिंगले गर्दा सरस्वतीलाई पूर्ण रुपमा आवासभूमीका रुपमा विकास गर्न सक्ने सम्भावना देखा परेको छ । कूल भूभागको ७० प्रतिशत भूमी टोखाबासीको हातबाट अन्यन्त्र सरेको छ ।
मतलब बेच विखन भैसकेको छ । जसमा ४० प्रतिशत भूभागमा प्लानिंग, हाउजिंग र आवास विस्तार भइरहेको र सम्पन्न भई बसोबास समेत भइसकेको छ भने ३० प्रतिशत जग्गा जमिनमा टोखाकै रैथानेले खनजोत गर्दै आएका छन् । केही वर्ष पछि सो क्षेत्रमा पनि आवासको कार्यसम्पादन हुनेछ । र टोखाबासीको हातमा अव केवल ३० प्रतिशत जमिन रहेका छन् यसमा पनि मोही तलसिनको भागबण्डा गर्ने धेरै जग्गाहरु रहेका छन् । टोखा सरस्वतीका स्थानीय जनताहरु साधुरीदै गइरहेको अवस्था छ भने यता चण्डेश्वरीमा पनि कूल भूभागको ४० प्रतिशत जमिन बेच विखन भई सकेको अवस्था छ । केही वर्ष पछि यहाँ पनि तीव्र रुपमा आवासिय क्षेत्र, घर घडेरीको विकास हुने सम्भाबना छ । ६० प्रतिशत भूभाग मध्ये यहाँ पनि मोही तलसिनको लेनदेनका कामहरु धेरै नै बाँकी छन् । विस्तारै भिल्ली क्षेत्रबाट यहाँको बाहिरी नयाँ बस्तीको बृद्धि हुने क्रम सुरुभएको छ । भूगोलको हिसावले टोखा सरस्वती भन्दा टोखा चण्डेश्वरी २ गुणाले बढी छ । तर जग्गा जमिन चण्डेश्वरी, सरस्वती दुबै गा.वि.स.का स्थानीय बासीन्दाको जग्गा जमिन प्रायः दुवै गा.वि.स.मा रहने गरेका छन् ।
यसरी जनसंख्याको चापको बृद्धि पछि र संख्यात्मक हिसावले वढ्दै गएको हाउजिंग, आवास क्षेत्रले जनतालाई तिनिहरुको दैनिक आधारभूत आवश्यकताको बोध गराउँछ । जीवनस्तर उकास्न विभिन्न आय आर्जनका उपायहरुको खोजी गर्न बाध्य पार्छ । राज्यको दायित्व पनि गाँस, बास, कपाल, शिक्षा, स्वास्थ्य र रोजगार । टोखा क्षेत्रमा फैलिदै गएको आवसले गर्दा यहाँ कुनै कलकारखानाको स्थापना हुने सम्भावना न्यून छ । उद्योगधन्दाका लागि उपयुक्त स्थानको समेत अभाव खड्किन थालेको अवस्था छ भने टोखा सरस्वती गा.वि.स. पूर्ण रुपमा आवासीय क्षेत्र र टोखा चण्डेश्वरीलाई साना मझौला, लधु उद्योगका रुपमा स्थापीत गर्न सकिने सम्भावना रहेको छ । टोखामा कृषी क्षेत्रमा ब्यापक जनसहभागीता र लगानी अभिबृद्धि भइरहेको अवस्थामा धेरै खेती योग्य जमिन चण्डेश्वरीमा मात्र बाँकी रहेकाले पनि कृषी उद्योगका रुपमा पनि प्रतिस्थापित गर्न सकिने अवस्था छ । टोखा चण्डेश्वरीको तथ्यांक अनुसार गत वर्ष मात्र कृषी कार्यका लागि १७ वटा कृषी फर्म दर्ताका लागि निवेदन परेकाले विस्तारै यो क्षेत्र कृषी उद्योग तर्फ लम्केको आभाव भएपनि दीर्धकालिन रुपमा चल्ने सम्भावना कमै छ । किनकी छिमेकी गा.वि.स.विचको तुलनामा यो अझै तल अविकसित भएकै कारण पनि आवास क्षेत्रकै रुपमा पछि निरन्तरता पाउने छ । यद्यपी केही वर्षका लागि कृषी क्षेत्रमा केही समय विताउने छन् ।
नेपाल सरकारले कृषी क्षेत्रमा १५ प्रतिशत लगानी गर्दै गरेको अवस्थामा यहाँका जनता आपसमा मिलेर सामूहिक खेती गर्नुको साटो सबै जग्गाहरु भाडा दिनुले पनि कृषी कार्य दीधकालिन नहुने सम्भावना बढेको हो । राज्यको १५ प्रतिशत रकमलाई सदुपयोग गरी सामूहिक खेतीमा लगानी गर्ने हो भने यहाँका जनताको आयस्तर निकै सुढृत हुने देखिन्छ यद्यपी यहाँका जनतामा आत्मविकासको कमीले यसो हुन सकेको छैन । भएभरको जमिन भाडामा दिएर मासिक भाडादरबाट दैनिक गुजारा चलाउने सोचको विकासले केही वर्ष पछि कृषी विषयमा बेखर भई जग्गा बेच्नुको साटो अर्को विकल्प नहुन सक्छ । या आफूले दिएको भाडा जग्गामै कामदारको रुपमा काम गर्नुपर्ने अवस्था पनि देखा पर्न सक्छ । समय अझ छ टोखाको प्रत्येक टोलबासीहरु पायक पर्ने आसपासको जग्गाधनीहरु मिलि सामूहिक खेती अन्तर्गत विभिन्न तरकारी तथा अन्न बाली लगाउने हो भने काठमाडौंका लागि चाहिने तरकारी १० प्रतिशतले आपूर्ति सहजिकरण गर्न सकिन्छ ।
यहाँका जनताले कुनै उद्योग संचालन गर्ने वा केही कार्य गर्ने तिर लगानी गर्ने देखिन्न । कमाएका वा पुख्यौली सम्पति बेचि बरु बैंकबाट ब्याजको स्वाद चाख्न लालायित छन् आफू मालिक भएर बस्न चाहदैन । आज टोखाबासीमा मात्र अबौं रुपैया बैंकमा सडेका छन् । बैदेशिक रोजगारमा रहेका युवाहरु आफूले कमाएको पैसाले प्रथमतः घर घडेरी जोड्न तिरै लाग्छन् कुनै उद्यममा लगानी गर्न चाहदैनन । जग्गा बेची घर बनाउने, भोज खुवाउने कार्य मै आफूलाई अभ्यस्त बनाउदै लगेका छन् । थोपा थोपा पानीलाई संचित गर्न चाहदैनन । विडम्वना यही नै टोखाबासीमा कुनै हिम्मत र लगानीमा विश्वास नै छैन । आपसी अविश्वासले टोखा यहाँसम्म आईपुग्दा धनी मानिस धनी त गरिव मानिस झन दरिद्र बन्दै गइरहेका छन् । अव केही गर्ने बेला आएको छ । शिक्षा क्षेत्रमा लगानी गरी तयार पारेको शैक्षिक पूर्वाधार जस्तै डाक्टर, इन्जिनियर, नर्स, पाईटल जस्तै उद्यम र उद्योगका लागि पनि यसरी नै सामूहिक रुपमा लगानी अगाडी बढाउने बेला आइसकेको छ । बरु झुपडी मै बसौं, घर भोली बनाउन सकिन्छ तर आफ्नो हातमा भएको त्यो शक्ति, जोश भोली नहुन सक्छ । त्यो सोच, विबेक र योजना भोली सिथिल बन्न सक्छ । भोकाएका लागि रोटी हैन रोजगार दिन जान्नुपर्छ । गरिवलाई सहयोग हैन सँग सँगै लैजानुपर्छ । अनि मात्र देशको विकास अगाडी बढ्नसक्छ, आर्थिक रुपमा सबै सवल हुन्छ ।
टोखाका युवा शक्ति ५० प्रतिशत भन्दा बढी बाहिरी मुलुकमा आफ्नो परिश्रम बेचिरहेका छन् । बाँकी युवाहरु विभिन्न कूलतमा फसिरहेका छन् । भर्खर भर्खरका नव युवाहरुमा बेग्लै खालको नसा लागू औषध जस्ता दुब्र्यसनीमा फसिरहेका छन् । अध्ययन पुरा गरेका वा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल सरकारले कुनै रोजगारीको प्रबन्ध गर्न नसक्नु नै यी र यस्ता घटनाका कारक हुन । देशमा शैक्षिक बेरोजगारको संख्या ह्वातै बढेको छ । आफूले अध्ययन गरेको विषयमा काम गर्न पाउनु उसको मौलिक अधिकार हो । तर त्यो अधिकार दिनानुदिन हनन भइरहेको छ । देशको भू राजनीतिक अस्थिरताले गर्दा अध्ययन र शिप अनुसारको काम र काम अनुसारको दाम पाएका छैनन । परिणामतः २, ३ वटा डिग्री होल्डरले पुनः कृषी खेतीमा फर्कनुपर्छ । इन्जिनियर पढेकाहरु अन्य मुलुकमा भौतारिनुपर्छ ।  यसले गर्दा शैक्षिक क्षेत्रपनि अस्तब्यस्त नै छ । लगानी गर्न नै डग्मगाएका छन् । अन्त्यमा उही अर्थसँग सम्बन्धित हुनेहुनाले जीवन गुजाराका लागि पैसाको आवश्यकता विच विविध सामाजिक अपराधहरु सिर्जित भइरहेका छन् । यति हुदा हुदै पनि हामी किञ्चित एक पाईला सार्न कठिन भएका छौं । अरुको समस्या आफ्नो हैन भनि बसिरहेका छौं । समस्यालाई समस्या नदेख्ने परिपाती बढ्दो छ । आजको सानो समस्या भोली बृहत रुप लिदा पछुताउने बाहेकका केही काम गरेका छैन
माथि कुरा गरेजस्तै विकास सँगसँगै विविध समस्याहरु देखा पर्न सक्छन, पर्दै आएका पनि छन् । यो सबै रोजगारसँग सम्बन्धित छ । आफूले जाने बुझेको अध्ययन गरे अनुसारको काम र काम अनुसारको ज्याला सबैले पाउदै जाने हो भने आज जति पनि टोखामा देखीएको वा सिंगो नेपालमा देखा परेको समस्याहरु आजको भोली नै समाधान हुन सक्छ । यसका लागि लगानी मैत्री बनाउनु पर्छ । कृषी, पशुपालन, शिक्षा, स्वास्थ्य, कलकारखानाहरु प्रत्येक गाउँमा हुन जरुरी छ । आफ्नो गाउको विकास स्वयं आफैले विकास गर्ने हो भने यी सबै पूर्वाधारहरुको नीतिगत तर्जुमा नेपाल सरकारले गर्नुपर्दछ । 
टोखाको कुरा गर्ने हो भने टोखामा रहेको घरेलु उद्योगलाई विस्तारित रुप दिई निरन्तरता दिई सहज बजारिकरण गर्ने हो भने प्रत्येक घर परिवार रोजगार सम्पन्न हुनेछन् । परम्परागत चाकु ब्यवसायलाई ठुलो उद्योगका रुपमा विकास गर्न सके हरेक उत्पादन गर्न सकिन्छ । राज्यले लगानी गरेको १५ प्रतिशत कृषी अनुदानलाई सामूहिक ब्यवासायिक खेती कार्यमा लगानी गर्ने हो भने र टोखाबासीमा रहेको कलात्मक कालीगडीलाई पनि अझ समुन्नत गर्दै लैजाने, टोखामा रहेको ऐतिहासिक पुरातात्विक महत्वको सांस्कृतिक क्षेत्रको सम्वद्र्धन गरी प्रचारप्रसारमा ब्यापकता दिने, शार्वजनिक जग्गालाई सुरक्षित स्थान पार्क वा यस्तै रमनीय स्थलका रुपमा विकसित गराई आय आर्जनको स्रोतका रुपमा लैजाने हो भने टोखाका झण्डै ६० प्रतिशत युवाहरुले आफ्नै घरमा रोजगारको अवसर पाउने छन् । यस विषयमा साझा बहस छलफल हुन जरुरी भैसकेको छ । टोखामा रहेको सामाजिक संस्था, सरकारी, अर्धसरकारी या गैरसरकारी संस्था राजनीतिक दल लगायत नागरिक समाज एक ठाउँमा बसी यस विषयमा गम्भिर विमर्श आजको आजै अत्यन्तै जरुरी भइसकेको छ ।
                                     उत्तरी दर्पणको २०६९ भाद्र अंकमा प्रकाशित
Facebook Comments

अन्तिम अपडेट: २४ भाद्र २०६९, आईतवार ०३:४६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया