आज घटस्थापना, नेपालीहरूको महान पर्व बडा दशै शुरू

 ३० आश्विन २०६९, मंगलवार ०४:४७   | न्यूज अफ टोखा

असोज ३०, नेपालीको महान चाड बडादसै आजदेखि पन्ध्रदिनसम्म अर्थात आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म परम्परानुसार दुर्गाभवानीको पूजाआराधना गरी हर्षोल्लासका साथ मनाइदैछ ।
बडादसैको पहिलो दिन आज बिहान आआफ्ना घरको पूजाकोठा तथा दसैघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टासी जौ र मकै रोपेर घटस्थापना गरिदैछ ।
आज ११:०७ बजे बिहान घटस्थापना, कात्तिक ८ गते बुधवार विजयादशमीका दिन बिहान १०:३५ बजे देवी विसर्जन र बिहान ११:२९ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसैगरी कात्तिक ५ बुधवार फूलपातीका दिन बिहान ०९:११ बजे तुलजाभवानीको यात्रा तथा ०९:५१ बजे थिराशनका लागि साइत र कात्तिक ८ गते बुधवार विजयादशमीका दिन ११:४३ बजे तुलजाभवानीको यात्रा तथा १२:३९ बजे थिराशनका लागि साइत जुरेको छ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ ।
यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आआफ्ना घरआगनलाई लिपपोत गरी सिगारेर सफासुग्घर राखिन्छ ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
बडादसैको सातौ दिन मुलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्रयाइने, महाअष्टमी र महानवमीका दिन दसैघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौ दिनसम्म दसैघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूणिर्माका दिन घटस्थापनाका दिन राखिएको जमरा विसर्जन गरी साझ महालक्ष्मीको पूजाआराधना गरिने प्रचलन छ ।
यस चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गाभवानीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ ।
परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौको हनुमानढोका दरबारमा रहेको दसैघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठमा नवरात्रि पूजा आरम्भ गरिन्छ ।
बडादसैका अवसरमा आजदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालत कोजाग्रत पूणिर्मासम्मका लागि बिदा दिने चलन छ ।
नेपाल तथा बिश्वभर रहेका समस्त नेपाली दाजु भाई तथा दिदी बहिनीहरु मा बडा दशै २०६९ को हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछौं ।

न्युज अफ टोखा परिबार

Facebook Comments

अन्तिम अपडेट: ३० आश्विन २०६९, मंगलवार ०४:४७

तपाईको प्रतिक्रिया