नेकपा-माओबादी लगायत ३३ दलीय मोर्चाको प्रेस-विज्ञप्ति सार्वजनिक

 २४ कार्तिक २०७०, आईतवार १५:३५   | न्यूज अफ टोखा

२४ कात्तिक, काठमाडौं/ आसन्न निर्वाचन बहिष्कारको माग राख्दै आएको नेकपा-माओबादी लगायत ३३ दलीय मोर्चाले भोलि २५ गते आमहड्ताल गर्ने र २६ गतेदेखि मंसिर ५ गतेसम्म ८ दिन यातायात बन्द गर्ने ३३ दलले आज प्रेस-विज्ञप्ति सार्वजनिक गरेको छ ।
प्रेस विज्ञप्तिको पूर्णपाठ
आज मिति २०७० कार्तिक २४ गतेका दिन ३३ दलीय राजनीतिक मोर्चाको बैठक नेकपा-माओवादीको केन्द्रीय कार्यालयमा बुद्धनगरमा बसी निम्न निर्णयहरु लिइएका छन् ।
१. मुलुकको विद्यमान सङ्कटलाई समाधान गर्नका लागि राजनीतिक शक्तिहरुको बीचमा राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन । त्यसैले सबै राजनीतिक शक्तिहरुको बीचमा गोलमेचसभाको आयोजना गरी नयाँ संविधान निर्माणको मार्गचित्र सुनिश्चित गर्दै संविधानसभाको निर्वाचनको प्रक्रियामा अगाडि बढौं भनी ३३ दलको तर्फबाट निरन्तर रुपमा सरकार र ४ दलसँग आग्रह गर्दै आइरहेको यथार्थता सर्वविदितै छ । परन्तु, उक्त प्रस्तावलाई निषेध गर्दै ४ दल र सरकारले जबर्जस्त रुपमा राष्ट्रघाती तथा जनघाती निर्वाचनको प्रायोजन गर्दैछ । त्यसको हामी घोर विरोध एवम् भत्र्सना गर्न चाहन्छौं ।
२. राष्ट्रिय सहमति कायम गर्नका लागि हामीले आन्दोलनका विभिन्न चरणका कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेका छौ्रं । यसै क्रममा यही कार्तिक २५ गतेदेखि १० दिनसम्म देशव्यापी आम हडतालको कार्यक्रम घोषणा गरेका थियौं । उक्त कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउन त्यसका रुपहरुमा परिमार्जन गर्नुपर्ने विभिन्न समुदायहरुको सुझावलाई पनि ध्यानमा राख्दै आन्दोलनका कार्यक्रमहरुलाई निम्न अनुसार परिमार्जन गरिएको छ ।
क) यही कार्तिक २५ गते बिहान ६:०० बजेदेखि बेलुका ५:०० बजेसम्म देशव्यापी आमहड्ताल गर्ने निश्चित गरिएको छ । उक्त दिन सम्पूर्ण यातायात, बजार, कलकारखाना, शिक्षणसंस्थाहरु आदि सबै बन्द रहनेछ ।
ख) कार्तिक २५ गते बिहान ६:०० बजेदेखि मंसिर ४ गते बेलुका ५:०० बजेसम्म दिनरात २४ सै घण्टा सम्पूर्ण यातायात हड्ताल गर्ने निश्चित गरिएको छ । जसअनुसार – एम्बुलेन्स, रेडक्रस, हस्पिटलका गाडी, शववाहन, फोहार बोक्ने गाडी, पानी बोक्ने गाडी, दूध र तरकारी बोक्ने गाडी, प्रेस, मानवअधिकार, कूटनीतिक नियोगका गाडीहरु, रिक्सा, साइकल र ठेलागाडा बाहेक सम्पूर्ण यातायातको चक्काजाम हुनेछ ।
ग) यस अवधिमा राष्ट्रघाती तथा जनघाती निर्वाचनको विरोध तथा बहिष्कारको पक्षमा देशव्यापी रुपमा प्रचार-प्रसार, विरोधसभा, विरोध प्रदर्शन, जनप्रतिरोधका कार्यक्रमहरु आदि सञ्चालन हुनेछन् ।
३. उपरोक्त आन्दोलनका कार्यक्रमहरुलाई समर्थन र सहयोग गरिदिनुहुन सम्पूर्ण मजदूर, किसान, यातायात मजदुर, यातायात व्यवसायी, उद्यमी, व्यापारी, बुद्धिजीवी, शिक्षक-विद्यार्थी लगायत सबै जनसमुदायहरुमा हार्दिक आग्रह गर्ने निश्चित गरिएको छ ।
४. निर्वाचन बहिष्कार गर्ने वा भाग लिने दुवै लोकतान्त्रिक तथा मौलिक अधिकार हुन् । परन्तु, राज्यले बहिष्कार आन्दोलनको विरुद्ध दमन-धरपकड, झुठा मुद्दा र धम्की दिंदै आतङ्क सिर्जना गर्न खोजिएको छ । त्यसको विरोध एवम् भत्र्सना गर्दै गिरफ्तार गरिएका साथीहरुलाई विनाशर्त रिहा गर्न माग गर्दछ ।
५. मुलुकको राजनीतिक निकासको निम्ति संवाद र सहमतिको मार्ग अवलम्बन गर्दै राष्ट्रिय राजनीतिक सहमति कायम गर्नका लागि निर्वाचनको कार्यक्रम स्थगन गरी सहमतिको मार्गमा अगाडि बढ्नका लागि सरकार, ४ दल, अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाजलगायत सबैमा ३३ दलीय मोर्चा फेरिपनि हार्दिक आग्रह गर्दछ ।
Facebook Comments

अन्तिम अपडेट: २४ कार्तिक २०७०, आईतवार १५:३५

तपाईको प्रतिक्रिया